कसरी तयार भएको थियो सोभियत सङ्घको पहिलो निसान छाप ?

सोभियत निसान छापको डिजाइन असाधारण महत्वको काम थियो। किनकि यो यस्तो निसान छाप हुनुपर्ने थियो जुन नियोजित हिसाबले पुँजीवादी राज्यहरुको निसान छापहरुमा भएका हरेक वस्तुभन्दा स्पष्ट रुपमा फरक होस्।

जन-कमिसार परिषदको कार्यालयमा वाटर-कलरमा चित्रित एउटा डिजाइन प्राप्त भएको थियो। त्यो डिजाइनको आकृति गोलो थियो र त्यसमा त्यही चिन्हहरु थिए जुन वर्तमान निसान छापमा छन्। तर त्यसको बीचमा एउटा लामो नाङ्गो तरवार राखिएको थियो। यस्तो लाग्थ्यो कि तरवारले सबै डिजाइनलाई ढाकिदिएको थियो। तरवारको बिंड डिजाइनको आधारमा रहेको अन्नको बालाहरुमाथि अडिएको थियो र त्यसको पातलो टुप्पो सुर्यको ती किरणहरु सम्म पुगेको थियो जसबाट अलंकरणको माथिल्लो भाग प्रकाशित थियो।

जतिबेला यो डिजाइनलाई भ्लादिमिर इल्यीच लेनिनको टेबलमा राखियो, त्यो समय उनि आफ्नो कार्यालयमा याकोव स्वेर्दलोव, फेलिक्स द्रजेंन्सकी र अन्य साथीहरुसंग छलफल गरिरहेका थिए।

"यो के हो, निसान छाप ? ल्याउनुहोस, यसलाई एक पटक हेरौ !" भन्दै लेनिन आफ्नो डेस्कमा झुके र चित्रलाई ध्यानपूर्वक हेर्न थाले। हामीहरु सबै निसान छापको त्यो डिजाइनलाई हेर्न लेनिनको वरिपरि उभियौ। यो डिजाइनलाई बैंक नोट तयार पार्ने छापाखाना 'गोजनाक' मा कार्यरत एकजना चित्रकारले तयार पारेर पठाएका थिए।

बाहिरबाट हेर्दा निशान छाप राम्रो बनेको थियो। रातो पृष्ठभूमिमा चम्किला गहुँका बालाहरुको अर्धवृत्तबाट घेरिएको उदाउदै गरेको सुर्यका किरणहरु, अर्धवृत्त भित्र हँसिया हथौडा स्पष्टसंग देखिन्छ। तर त्यो सम्पूर्ण चित्रमा धारिलो तरवार तलदेखि माथिसम्म यस प्रकारले हावी थियो कि मानौं त्यसले हरेक जनालाई सावधान गराइरहेको होस्।

"रोचक ! " भ्लादिमिर इल्यीचले उदगार प्रकट गर्दै भने, "अभिप्राय त ठिक छ, तर यो तरबार केको लागि ?’’ उनले फर्किदै हामीतिर हेरे।

"हामीहरु संघर्ष गरिरहेका छौं, हामी लडिरहेका छौं र तबसम्म लडिरहनेछौं  जबसम्म सर्वहारा वर्गको अधिनायकत्व सुदृढ हुँदैन। स्वेत गार्डहरु र हस्तक्षेपकारीहरुलाई देशबाट लखेटेर बाहिर भगाउदैनौं । तर यसको मतलब यो होइन कि युद्ध, सैन्यवाद र हिँसा कहिले पनि हामी माथि हावी हुन सक्नेछ। हामीलाई अर्काको जमिन जित्नु जरुरी  छैन। पराई देश जित्ने नीति हाम्रो लागि अपरिचित छ। हामी हमला गरिरहका छैनौं, बरु आन्तरिक र बाह्य शत्रुहरुको खिलाफ आफ्नो प्रतिरक्षा गरिरहेका छौं। हाम्रो युद्ध प्रतिरक्षात्मक हो र तरवार हाम्रो ध्वजचिन्ह होइन। जबसम्म हाम्रो शत्रु हुन्छन, जबसम्म हामी माथि आक्रमण हुन्छ, जब सम्म हाम्रो लागि खतरा रहन्छ तब सम्म हाम्रो सर्वहारा राज्यको रक्षार्थ यसलाई बलियोसंग पक्रिनु पर्छ तर यसको मतलव यो होइन कि यो सधैंको लागि हो। 

"यो कुरामा अलिकति पनि शंका छैन कि समाजवाद सबै देशमा विजयी हुनेछ। आम जनताको भातृत्वको घोषणाको घोषणा हुनेछ र यो सम्पूर्ण संसारमा एउटा वास्तविकता बन्नेछ। हामीलाई तरवारको आवश्यकता छैन। यो हाम्रो ध्वजचिन्ह होइन" भ्लादिमिर इल्यीचले आफ्नो कुरा दोहराउँदै भने।

"हामीले समाजवादी राज्यको निशान छापबाट तरवारलाई हटाइदिनु पर्छ," भ्लादिमिर इल्यीचले अगाडि भने। उनले तिखो टुप्पो भएको कालो पेन्सिल लिए र तरवार माथि प्रुफ रिडरहरुको लागि हटाउने संकेत दिने चिन्ह लगाइदिए र दाहिने हात पट्टिको मार्जिनमा फेरि लेखिदिए।

"अरु कुरामा यो डिजाइन राम्रो छ। हामीले यो रेखाचित्रलाई स्वीकृति दिनु पर्छ। पछि हामीले यसलाई हेर्न सक्छौं र जन-कमिसार परिषदले यस माथि विचार गर्न सक्छ। तर यो कामलाई छिट्टै नै गरिसक्नु पर्छ"

उनले यो रेखाचित्रमाथि आफ्नो सही गरिदिए।

मैले यो डिजाइनलाई 'गोजनाक' को चित्रकारलाई यसमा सुधार गर्नु भनेर फिर्ता गरिदिएँ।

जब यो चित्र तरवारबिना आयो तब हामीहरुले त्यसलाई मूर्तिकार आन्द्रियेभलाई देखाउने निर्णय गर्‍यौं। उनले, यसमा केही प्राविधिक सुधारहरु गर्नु उचित ठाने। यो डिजाइनलाई फेरि बनाए, अन्नका बालाहरुलाई अलिकति मोटा बनाए, सूर्यका चम्किला किरणहरुलाई अरु स्पष्ट बनाए र सामान्यतया सम्पूर्ण निसान छापलाई कुँदिएको रुप दिएर थप अभिव्यञ्जनापूर्ण बनाइदिए।

रुसी सोभियत संघात्मक समाजवादी गणतन्त्रको निसान छापलाई १९१८ को सुरुवात मै मान्यता दिइएको थियो।

प्रस्तुति: केदार सिटौला