फासीवादको रूप र शैली

फासीवादका विशिष्टताहरू अहिले विकसित पूँजीवादी अर्थतन्त्र भएका मुलुकहरूमा मात्रै होइन, पिछडिएका राष्ट्रहरूमा पनि देखिएका छन् । चाहे ती अफ्रिका र एशियाका मुलुक हुन् या ल्याटिन अमेरिका र यूरोपका । अर्थतन्त्र कमजोर हुनु र सैनिक शक्ति सशक्त हुनुसँग फासीवादको साइनो नहुन थालेका उदाहरण देखिन थालेको छ, सैनिक तानाशाही र फासीवादीकरण तीव्र भइरहेका विश्वका मुलुकहरू हेर्दा ।

धेरै मानिसहरूको के धारणा छ भने फासीवाद भनेको पूँजीपतिवर्गको नग्न तानाशाहीमात्रै हो । त्यसैले सत्तामा टाँसिइरहन त्यो वर्गले फासीवादलाई हतियारको रूपमा प्रयोग गर्छ । यसका लागि जनतामाथि निर्मम र नृशंस दमन गर्छ । यो धारणा इटाली र जर्मनीमा शुरूमा फस्टाएको फासीवादबारेको अधकल्चो ज्ञानमा आधारित छ । हुन त फासीवादीहरू रक्तपिपाशु, युद्धखोर र परपीडनकारी हुन्छन् । तर यो फासीवादीहरूको अनुहारको एउटा पाटो मात्रै हो । र, यो पाटो धेरैपछि मात्र प्रकट हुन्छ । त्यसको अर्को पाटोमा रहेको असचेत जनताद्वारा उनीहरूमाथि गरिने समर्थन र सहयोगको पक्षलाई बिर्सन मिल्दैन ।
फासीवादले शुरूदेखि नै एकसाथ दमन र छलकपटको द्वैध नीति लिँदै आएको छ । त्यसले यहूदीजस्ता अल्पसंख्यकहरू, कम्युनिष्टहरूजस्ता विचारका कट्टरविरोधीहरूमाथि निर्मम दमन त गर्छ, यसका साथै आफ्नो जनाधार बलियो पार्न छलकपटको नीति पनि लिन्छ । निर्मम दमनद्वारा मात्रै जनसमर्थन नबढ्ने हुनाले छलकपटलाई प्रयोग गर्न त्यसले कहिले पनि बिर्सदैन । छलकपटद्वारा नै त्यसले फासीवादी नीति र कार्यक्रमहरू बोक्ने कार्यकर्ता, समर्थक र सहयोगी जनताको सिर्जना गर्छ । विनाजनाधार, विनाजनसमर्थन र सहयोग त्यो टिक्न पनि सक्दैन, अगाडि बढ्न पनि सक्दैन ।

फासीवादीहरू रक्तपिपाशु, युद्धखोर र परपीडनकारी हुन्छन् । तर यो फासीवादीहरूको अनुहारको एउटा पाटो मात्रै हो । र, यो पाटो धेरैपछि मात्र प्रकट हुन्छ । त्यसको अर्को पाटोमा रहेको असचेत जनताद्वारा उनीहरूमाथि गरिने समर्थन र सहयोगको पक्षलाई बिर्सन मिल्दैन ।

त्यसैले लोकतान्त्रिक प्रक्रिया, व्यक्तिगत स्वतन्त्रता र राजनीतिक अधिकारहरूको कटौती गर्ने मामिलामा फासीवादले हठात् रूपमा नांगो हस्तक्षेप गर्दैन, फुकीफुकीकन पाइला चाल्छ । फासीवाद भनेपछि धेरैलाई लाग्छ- यो शुरूदेखि अन्त्यसम्म नै लोकतन्त्रविरोधी, राजनैतिक अधिकारविरोधी र व्यक्तिगत स्वतन्त्रताविरोधी नांगो तानाशाही हो । वास्तविकता के हो भने यो जनता, राष्ट्र र लोकतन्त्रमाथि आइपरेको खतरा टाल्ने अचुक औषधीको रूपमा चर्को विज्ञापन गर्दै प्रकट हुन्छ । अनि विस्तारै अधिकार, स्वतन्त्रता र लोकतन्त्रको सुरक्षाकै नाममा यसले ती सबैको हत्या गर्न थाल्छ, यसले दक्षिणपन्थी रूढिवाद वा सैनिक तानाशाहीले जस्तै प्रत्यक्ष र खुलेआम हमला गर्दैन । त्यसैले फासीवादीकरणको क्रममा शुरूमा त्यस्तो पार्टी जन्माइन्छ, जसले लोकतान्त्रिक हक, हित, अधिकार र व्यवस्थाकै हत्या त गर्छ गर्छ, तर देखिने गरी हिंस्रक आक्रमणद्वारा होइन, ब्वाँसोले जस्तै कन्याई कन्याई नदेखिने, नबुझिने र थाहा नपाउने गरी गर्छ । र, जनतालाई, विशेषतः निम्न मध्यमवर्गीय मानिसहरूलाई क्रान्तिकारी र लोकतान्त्रिक राजनीतिबाट टाढा-टाढा पुयाई उनीहरूको आफूप्रतिको भक्तिभावलाई अत्यधिक रूपमा बढाउँछ । फ्याउरो कन्याइको शैलीबाट लोकतन्त्रको आन्द्राभुँडी निकाल्न सकेमा मात्रै पूँजीपतिवर्गलाई जनताको आक्रोश र लोकतन्त्रको झन्झटबाट मुक्त गरी बेरोकटोक शासन र शोषण गर्ने सुनौलो मौका प्राप्त हुनेछ अनि दिग्भ्रमित भएका जनताकै समर्थन र सहयोगबाट सबै कुरा निष्कण्टक रूपमा चलाउन सहयोग प्राप्त हुनेछ ।
ब्वाँसो कन्याइको शैलीबाट लोकतन्त्रको हत्या नगर्ने हो भने पूँजीपतिवर्गका लागि ठूलो जोखिम छ त्यो जोखिम हो- लोकतान्त्रिक अधिकारहरूबाट वञ्चित जनता क्रान्तिकारी आन्दोलनतिर मोडिने डर त्रास । क्रान्तिको संभावना देखेर फासीवादी उपायको खोजीमा लाग्ने पूँजीपति वर्ग हरहालतमा यो जोखिमबाट पनि बच्ने प्रयास गर्छ ।

फासीवादीकरणको क्रममा शुरूमा त्यस्तो पार्टी जन्माइन्छ, जसले लोकतान्त्रिक हक, हित, अधिकार र व्यवस्थाकै हत्या त गर्छ गर्छ, तर देखिने गरी हिंस्रक आक्रमणद्वारा होइन, ब्वाँसोले जस्तै कन्याई कन्याई नदेखिने, नबुझिने र थाहा नपाउने गरी गर्छ ।

पूँजीपति वर्गको यो काममा सहायता दिन निर्माण हुने फासीवादी पार्टीले सोशल डेमोक्रेटिक नीति अख्तियार गर्छ । जनतालाई स-साना सुधारका कोसेलीहरू फ्याँकेर भुलाउँछ । पूँजीवादी अर्थतन्त्रले सिर्जना गर्ने अराजकताहरू, जस्तै : महँगी, असुरक्षा, बेरोजगारी आदिमाथि थोरबहुत नियन्त्रण पनि गर्छ । र, त्यस्ता पक्षहरूमाथि सैन्य तरिकाबाट भए पनि नियन्त्रण कायम गरी जनतालाई सुरक्षाको भ्रम बाँडिदिन्छ । कति हदसम्म भने पूँजीपतिवर्गको अधिकतम नाफाको स्वार्थमा धक्का नलाग्ने गरी व्यक्तिगत पूँजीपतिहरू र तिनका अराजक उत्पादनमाथि सीमारेखा कोरेर नियन्त्रण गर्छ । संक्षिप्तमा भन्दा फासीवादी राज्यले तथाकथित पूँजीपति कल्याणकारी राज्यका नीतिहरू अख्तियार गर्छ । तर यी सबैको उद्देश्य भनेको जनताको मुक्ति गर्नु होइन, आफ्नो सत्ता टिकाउनु र पूँजीपति वर्गको स्वार्थ रक्षा गर्नु हो ।

कम्युनिष्टहरूविरूद्ध जेहाद छेड्न फासीवाद निकै सफल भएको इतिहास छ, विशेषतः फासीवादी सांस्कृतिक हतियारद्वारा ।

फासीवादको यो दोहोरो चरित्रबारे राम्ररी वैचारिक संघर्ष चलाइएन भने असचेत जनता छलकपटको जालमा निश्चित रूपमा फँस्छन् । यसरी फस्ने जनताबाट समर्थन र सहयोग जब पाउँछन्, तब फासीवादले आफ्नो सम्पूर्ण सत्ता- शक्ति आफ्नो सबैभन्दा ठूलो शत्रु कम्युनिष्टहरूलाई अन्त्य गर्न थाल्छ, शुरूमा वैचारिक र आत्मिक रूपमा, अनि पछि शारीरिक रूपमै । कम्युनिष्टहरूविरूद्ध जेहाद छेड्न फासीवाद निकै सफल भएको इतिहास छ, विशेषतः फासीवादी सांस्कृतिक हतियारद्वारा ।

https://upload.wikimedia.org

शिवदास घोषका अनुसार, फासीवादी सांस्कृतिक हतियार भनेको सामाजिक जनवादी विचार (Social Democratism), उग्र राष्ट्रवाद (Jingoism) र रहस्यवाद (Mysticism) को अनौठो सम्मिश्रणबाट तयार हुन्छ । (Ghosh 1992 : Vol - 2 : 55-61) घोषले फासीवादको सांस्कृतिक आधारको विश्लेषण गर्ने क्रममा देखाउनुभएको छ फासीवाद अध्यात्मवाद (Spiritualism) र विज्ञानको अनौठो सम्मिश्रण हो । त्यसले राज्यको आर्थिक र सैनिक शक्तिको अभिवृद्धिका लागि विज्ञानको उपयोग गर्छ, विशेषतः प्रविधिको पक्षलाई प्रयोग गर्छ । र, वैज्ञानिक प्रवृत्तिको विरोध गर्छ । अर्कोतिर त्यसले अवैज्ञानिक खालका धार्मिक परम्परा, रूढि र रुचिका साथै आदर्शवादी इन्द्रजाल ( Idealistic Jugglery ) को उपयोग गर्छ । यी सबै रूढि र रूचिहरूलाई 'राष्ट्रिय संस्कृति' र 'देशीय परम्परा'का रूपमा पिलाएर जनतालाई नशाले लट्ट पारिन्छ । (Ghosh 1992 : Vol- 2 : 55-61)

घोषले फासीवादलाई सरल शब्दमा व्याख्या गर्ने क्रममा भन्नुभएको छ - फासीवाद अध्यात्मवाद हो, थोत्रा पुराना विचारहरू हो, मन मस्तिष्कलाई अतार्किक, कट्टरपन्थी र हठधर्मी रूझानमा झुकाउने तरिका हो र ती सबैसँग विज्ञानको प्राविधिक पक्षको अनौठो गठजोड हो । त्यसले मानिसलाई वैज्ञानिक र प्राविधिक बनाउन प्रोत्साहित त गर्छ, तर वैज्ञानिक मानसिकता बनाउनचाहिँ रोक लगाउँछ । त्यसले कुनै पनि विषयमा सन्देह गर्ने, प्रश्न गर्ने, सोचविचार र चिन्तन गर्ने वैज्ञानिक प्रवृत्तिमाथि चाहिँ कुठाराघात गर्छ । समाजको सन्दर्भमा जनताको मानसिक प्रक्रियालाई कार्य-कारण सम्बन्ध बुभने- बुझाउने वैज्ञानिक बाटो र प्रक्रियाबाट च्यूत गर्छ र अन्धविश्वास, पूर्वाग्रह एवं रूढिवादको रहस्यमय अँध्यारो गल्लीतिर डोयाउने प्रयत्न गर्छ, ताकि जनताले समाजको वर्ग संरचना बुझ्न नसकून् र अन्ततः उनीहरूमा सामाजिक सरोकारप्रति नै वितृष्णा पैदा गर्न सकियोस् । (एस.यु.सी.आई १९७६ : १००-१०२/ सर्वविदितै छ, समाजको बारेमा समाजको वर्गीय विभाजन र उत्पीडनको बारेमा वैज्ञानिक पद्धतिअनुरूप चिन्तन गर्न थालेमा जनता क्रान्तिको बाटोमा अग्रसर हुन सक्छन् । अतः फासीवादले समाजको बारेमा अत्यन्त भ्रमपूर्ण विचार फैलाउँछ । त्यसले सीधासीधै वर्गको कुरा, वर्ग- संघर्षको कुरा र वर्ग संघर्षद्वारा समाज विकसित हुने कुरालाई स्वीकार्दैन । रु सधैं गैरवैज्ञानिक र भ्रामक सामाजिक दृष्टिकोणसँग संगति मिलाउँदै फासीवादले वर्ग-संघर्षको वैज्ञानिक नियमलाई अस्वीकार गर्छ अनि त्यसको सट्टा वर्ग समन्वय, वर्गीय सहयोगको कुरा गर्छ ।
त्यसैले फासीवादको सिद्धान्त भनेको वर्गको अस्तित्वलाई नमान्ने वर्गोपरि (supra- class) विचारहरूको संस्कृति हो ।

अहिलेको सन्दर्भमा देशभक्त नभइकन अन्तर्राष्ट्रियतावादी हुन सकिँदैन, न त अन्तर्राष्ट्रियवादी नभइकन देशभक्त हुनसकिन्छ । अर्को कुनै देश र जनताविरूद्ध हुने शोषण उत्पीडनमा नदुख्ने मन कसरी देशभक्त हुनसक्छ ?

यो संस्कृतिमा 'उग्र-राष्ट्रवाद लाई शक्तिशाली हतियारको रूपमा लिइन्छ । यसलाई पूँजीपति वर्गले वर्ग संघर्षको सिद्धान्त र सर्वहारा अन्तर्राष्ट्रियवादको भावनाविरूद्ध घातक रूपमा प्रयोग गर्छ । यो हतियारबाट प्रभावित जनताको मन-मस्तिष्क अन्धराष्ट्रवादको किटाणुबाट अत्यन्त दूषित हुनपुग्छ । सैद्धान्तिक र ऐतिहासिक रूपले भन्ने हो भने राष्ट्रवाद र देशभक्ति एउटै प्रतिक्रिया होइन । राष्ट्रवाद मूलतः प्रतिक्रियावादी हुन्छ, यसलाई पूँजीपति वर्गले राष्ट्रिय एकता, सहमति र निर्माणको नारा लगाई आफ्नो वर्गीय स्वार्थ लुकाउन र जनताको देशभक्तिको भावनालाई मोड्न प्रयोग गर्छ । तर जनताको देशभक्तिपूर्ण भावनामा पूँजीपति वर्गको स्वार्थ लुकिरहेको हुँदैन । र, यो सर्वहारा अन्तर्राष्ट्रियतावादसँग कहीँ पनि बाझ्दैन । किनकि अहिलेको सन्दर्भमा देशभक्त नभइकन अन्तर्राष्ट्रियतावादी हुन सकिँदैन, न त अन्तर्राष्ट्रियवादी नभइकन देशभक्त हुनसकिन्छ । अर्को कुनै देश र जनताविरूद्ध हुने शोषण उत्पीडनमा नदुख्ने मन कसरी देशभक्त हुनसक्छ ?

तर पूँजीपति वर्गको राष्ट्रवादले अरू देशका जनताको पीडामा दुख्ने मनलाई दुत्कार्छ र मन-मस्तिष्कलाई अन्धराष्ट्रवादी बनाउँछ । अन्धराष्ट्रवादी यस अर्थमा कि पूँजीपति वर्गको राष्ट्रवादले राष्ट्र भनेपछि आँखा चिम्लेर मर्न- मार्न तयार त पार्छ तर राष्ट्रमाथि कुन वर्गको शासन र शोषण चलिरहेको छ भन्ने कुरा हेर्नका लागि आँखा खोल्नै दिँदैन । राष्ट्र र सरकारलाई पनि वर्गीय दृष्टिकोणले हेर्न नदिने यो अन्धराष्ट्रवादले जनतालाई राष्ट्रको भनेपछि जिजुबाजेका पालाको रूढिलाई पनि 'महान राष्ट्रिय संस्कृति को रूपमा स्वीकार्न वाध्य पार्छ पूँजीपतिहरूका सम्पूर्ण उत्पादनलाई राष्ट्रिय उत्पादनका नाममा किन्नका लागि मोहित पार्छ । अतः राष्ट्रवाद मूलतः स्वार्थी पूँजीपति वर्गको विश्व दृष्टिकोणको अभिव्यक्ति हो । यो दृष्टिकोण गरीखाने जनतामा पनि प्रसार भएमा उत्पीडनजन्य सामाजिक-आर्थिक-राजनैतिक व्यवस्थामा कुनै आँच आउन पाउँदैन । र, राष्ट्रिय एकता, राष्ट्रिय सहमति र राष्ट्र निर्माणको नाममा पूँजीवादी शोषण लामो कालसम्म जारी रहन्छ ।

प्रश्न गर्नु जरूरी छ- कहीं वर्गोपरि विचार गर्ने व्यक्ति वा संस्था फासीवादतिर ढल्किरहेका त छैनन् ? वर्गोपरि विचार बोकेरै फासीवादीहरूले महामानव वा अतिमानव (superman) को धारणालाई मलजल गर्ने काम गर्छन् ।

अतः वर्ग समन्वय, उत्पीडक वर्ग र उत्पीडित वर्गबीचको सहयोग र वर्गीय स्वार्थभन्दा माथिको 'राष्ट्रिय सहमति' जस्ता वर्गोपरि विचारको वकालत गर्ने जो कोहीको चिन्तन र कार्यप्रति सजग हुनु जरूरी छ । र, प्रश्न गर्नु जरूरी छ- कहीं वर्गोपरि विचार गर्ने व्यक्ति वा संस्था फासीवादतिर ढल्किरहेका त छैनन् ? वर्गोपरि विचार बोकेरै फासीवादीहरूले महामानव वा अतिमानव (superman) को धारणालाई मलजल गर्ने काम गर्छन् । अन्धराष्ट्रवादको भावनालाई चरम सीमामा पुऱ्याउन यस्ता महामानवहरूको निर्माणसम्बन्धी धारणा उपयोगी हुन्छ । यसका लागि महामानवलाई राष्ट्रिय हित र राष्ट्रको इच्छा साकार पार्ने व्यक्तिको रूपमा महिमामण्डन गरिन्छ । महामानवको रूपमा प्रस्तुत गरिने व्यक्तिलाई राज्यसत्ताकै साकार रूपको अर्थमा प्रस्तुत गरेर जनतामा 'अवतारवाद' को परम्परागत थोत्रो धारणालाई पुनर्जीवित गरिन्छ । त्यस्ता अवतारप्रति जनताको मनमस्तिष्कमा अन्धभक्ति, कट्टर समर्थन र पूर्ण वफादारीको अवैज्ञानिक भावना भरिन्छ । शिवदास घोषले यस्तो स्थितिमा चेतावनीपूर्ण ढंगले भन्नुभएको छ– जब कुनै देशमा वस्तुतः यस्तो स्थिति आउँछ, तब त्यहाँका मानिसहरूको दिमागमा कुनै पनि कुराको गहिराइमा गएर जाँचपरख गर्ने तार्किक र वैज्ञानिक रूझान नष्ट हुन्छ । यसको फलस्वरूप त्यस देशको प्रगतिशील क्रान्तिकारी आन्दोलनमाथि ठूलो नोक्सानी हुन्छ । ( Ghosh 1992, Vol-2 : 58-59) मलाई लाग्छ, यसबाट पूँजीवादी लोकतान्त्रिक आन्दोलनलाई पनि कदापि फाइदा हुँदैन ।

मूल्याङ्कन मासिक, २०६० माघ–फागुन अङ्कमा प्रकाशित । Title Photo: https://www.dailychela.com

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक