साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस मनाइयो

साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस– वैशाख ५ का अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको छ । पारिजात स्मृति केन्द्रले आयोजना गरेको एक कार्यक्रममा पारिजात बालसाहित्य सम्मान - २०८० बाट बालसाहित्यकार प्रा. डा. ध्रुव घिमिरेलाई, पारिजात कला सम्मान - २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान - २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान - २०८० बाट संघर्षशील नारी सम्मान  निर्मला देवी साहलाई  सम्मानित गरिएको छ ।

सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन  र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले सम्मानपत्र प्रदान गरेका थिए ।

उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनुभएको योगदानको चर्चा गरे ।

प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर 'विचारधारा' कै रूपमा स्थापित हुनुभएको व्यक्तित्व रहेको बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको पनि उल्लेख गरे ।

सोही कार्यक्रममा पारिजात स्मृति केन्द्र र प्रकाशक द्वय दिल 'वरदान' , सुवास श्रेष्ठबाट संयुक्त रूपमा प्रकाशन हुँदै आएको 'वेदना' साहित्यिक पत्रिका अबदेखि  www.ebedana.com का रूपमा अनलाइनमाध्यमबाट प्रकाशित  हुने जानकारी गराइएको थियो । उक्त अनलाईन संस्करणको  प्रगतिवादी समालोचक एवम् वेदनाका सल्लाहकार निनु चापागाईले सुभारम्भ गरेका थिए । उक्त अनलाईन संस्करणका सम्पादक एवम् कवि केशव सिलवाल र वेभसाइट डिजाइनर संगीतकर्मी केशर कालिकोटेले अनलाइनमा साहित्यिक पत्रिका प्रकाशन गर्दाका सीमा एवम् चुनौतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यकमको संचालन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गरेका थिए । स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले धन्यवाद तथा कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गरेका थिए ।