‘ईश्वर कण’को खोजकर्ता महान भौतिकशास्त्री पीटर हिग्स

ख्यातिको शिखरमा पुगेका वैज्ञानिक हिग्स टेलिभिजन, मोबाइल तथा इमेलसमेत प्रयोग गर्दैन थिए !

पिटर हिग्स एक प्रसिद्ध ब्रिटिश सैद्धान्तिक भौतिकशास्त्री हुन् । ब्रह्माण्डलाई नियन्त्रण गर्ने आधारभूत शक्तिहरू र कणहरूको बुझाइको लागि उनले गरेको योगदानले भौतिक विज्ञानको क्षेत्रमा एक क्रान्ति नै भएको छ । यो क्रान्तिका कारण विश्व ब्रम्हाण्डलाई बुझ्नका लागि मानव जातिले थप सफलता हासिल गरेको छ ।  उनको योगदानका कारण मास जेनेरेशन अर्थात् पिण्ड उत्पन्नको मेकानिजम क्षेत्रमा उनको नामलाई पर्यायवाचीको रुपमा लिइने गरिन्छ । उनले अघि सारेको ईश्वर कण (God Particles) अर्थात् हिग्स बोसोनको अवधारणा र पछि त्यसको प्रयोगात्मक पुष्टिले महाविस्फोटपछि सृष्टिको रचना कसरी भएको थियो भन्ने कुरा बुझ्न सजिलो भएको पनि मानिन थालिएको छ । उनले त्यही ईश्वर कणले ब्रम्हाण्डलाई जोडेर राख्ने अवधारणा प्रस्तुत गरेका थिए । सन् १९६० को दशकदेखि नै हिग्स लगायत अन्य थुप्रै भौतिकी वैज्ञानिकहरुले ब्रम्हाण्ड कुन चीजले बनेको छ भन्नेबारे व्यापक अध्ययन–अनुसन्धान गरेका थिए । त्यही क्रममा हिग्सले उक्त ईश्वर कणको अवधारणा अघि ल्याएका थिए ।

प्रारम्भिक जीवन र शिक्षा:

पिटर वेयर हिग्सको जन्म मे २९, १९२९ मा न्यूक्यासल अपन टाइन, इङ्गल्याण्डमा भएको थियो। उनका आमाबाबु थोमस वेयर हिग्स र विनिफ्रेड हेल्यान्ड थिए। उनका बुबा थोमर वार हिग्स बीबीसीमा साउन्ड इन्जिनियर थिए भने आमा गेरट्रुड माउड हिग्सले घर सम्हाल्थिन् । सानै उमेरदेखि हिग्स गणित र विज्ञानको क्षेत्रमा गहिरो अभिरुचि राख्थे। उनले ब्रिस्टलको कोथम ग्रामर स्कुलमा अध्यनन गरेका थिए । त्यहाँ उनले क्वान्टम मेकानिक्सका पितामध्येका एक मानिने पाउल डिराकको सान्निध्यमा अध्यनन गर्ने मौका पाएका थिए । स्कुले पढाइकै क्रममा उनले  गणित र भौतिकशास्त्रमा उत्कृष्ट ज्ञानको प्रदर्शन गरेका थिए ।

१७ वर्षको उमेरमा पिटर हिग्सले सिटी अफ लण्डन स्कुलमा भर्ना भएर गणितको अध्ययन गरे । त्यसको एक वर्षपछि उनी किंग्स कलेज लन्डनमा भर्ना भए । त्यहाँ उनले सैद्धान्तिक भौतिकशास्त्रको अध्ययन गरे। सन् १९५० मा हिग्सले भौतिक शास्त्रमा स्नातक तथा सन् १९५१ मा  स्नातकोत्तर गरे। हिग्सले गत्यसपछि पिएचडी गर्नतिर लागे । पिएचडिको तयारीमा प्रसिद्ध भौतिकशास्त्री क्रिस्टोफर लङ्ग्वेट हिग्गिन्सले उनलाई मार्गदर्शन गरेका थिए । सन् १९५४ मा उनले पिएचडीको शोध अनुसन्धान पूरा गरे । उनको शोधपत्रको शीर्षक "आणविक कम्पनको सिद्धान्तमा केही समस्याहरु"  (Some problems in the theory of molecular vibrations) थियो ।  

अध्यापन र अनुसन्धान

पीएचडीको अध्ययन पूरा गरेपछि हिग्सले एडिनबर्ग विश्वविद्यालय र युनिभर्सिटी कलेज लन्डनजस्ता संस्थाहरूमा बिभिन्न अनुसन्धान पदहरू सम्हाल्दै अध्यापन शुरु गरे ।  यसक्रममा उनले सैद्धान्तिक भौतिकी (theoretical physics) को क्षेत्रमा विशेष योगदान दिए । विशेष गरी उनले  इलिमेन्टरी पार्टिकल फिजिक्स र क्वान्टम फिल्ड थ्योरीको अध्ययनमा महत्त्वपूर्ण योगदान दिए।

त्यही दौरानमा उनको जोडी विलियमसनसँग मायाप्रेम बस्यो । उनीहरुले सन् १९६३ मा विवाह गरे । उनीहरुबाट छोराहरु क्रिस्टोफर (कम्प्युटर वैज्ञानिक) र जोनाथन (संगीतकार) को जन्म भयो । सन् २००८ मा उनको पत्नीको निधन भयो ।

सन् १९६४ मा साइन्स जर्नल ‘फिजिकल रिभ्यु लेटर्स’ मा उनको एउटा अनुसन्धान लेख प्रकाशित भयो । उक्त लेखको शीर्षक "ब्रोकन सिमेट्रीज, मासलेस पार्टिकल एण्ड गेज फिल्ड्स (Broken Symmetries, Massless Particles and Gauge Fields) थियो । त्यस शोध लेखले विज्ञान जगतमा ठूलो हलचल पैदा गरिदियो । उक्त शोधपत्रमा हिग्सले प्राथमिक कणहरू (elementary particles) ले कसरी द्रव्यमान (mass) प्राप्त गर्छन् भनेर व्याख्या गर्न एउटा संयन्त्रको बारेमा प्रस्ताव अघि सारेका थिए । त्यसक्रममा उनले हिग्स बोसोन भनेर चिनिने सैद्धान्तिक कण (theoretical particle) प्रस्तुत गरे, जुन ब्रह्माण्डमा व्याप्त छ । हिग्सको सिद्धान्त अनुसार, ईश्वर कण (God particles) समेत भनिएको ती सैद्धान्तिक कणहरूले यस क्षेत्रसँग अन्तर्क्रिया गरेर तिनीहरूलाई द्रव्यमान प्रदान गर्दछ। हिग्स मेकानिज्म भनेर नामाकरण गरिएको यस प्रणालीले कण भौतिकीको क्षेत्रमा त्यसबेलासम्म पत्ता लाग्न नसकेको त्यो कडीलाई उजागर गरिदियो, जसले गर्दा ब्रम्हाण्डको आधारभूत कणहरु एवं शक्तिहरुलाई व्याख्या गर्न सम्भव भयो ।

वास्तवमै हिग्सको यो खोज अद्भूत र महान् क्रान्तिकारी थियो । तर तत्कालीन विज्ञान जगतले त्यसलाई स्वीकार्न सकेन । उनको यस खोजका बारेमा विज्ञान जगतमा शंका उपशंकाहरु कायम थियो । तर त्यसपछिका दशकहरुमा हिग्स बोसनको अस्तित्व र हिग्स मेकानिज्मलाई पुष्टि गर्ने खालका प्रयोगात्मक प्रमाणहरू जम्मा हुन थाले। युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (CERN) मा लार्ज ह्याड्रन कोलाइडर (LHC) जस्ता उच्च-ऊर्जा कण प्रवेगकहरूको निर्माणले हिग्सको भविष्यवाणीहरूको परीक्षण गर्न तथा सत्यापन स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो। जब उनको त्यो हिग्स बोसानसम्बन्धी अवधारणा प्रयोगात्मक रुपमा पुष्टि भयो, त्यो खबर उनले युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (सिइआरएन)को व्याख्यान कक्षमा सुनेका थिए । त्यो सुनेपछि उनले गोजीबाट हाते रुमाल झिकेर आफ्नो आँसु पुछेका थिए । त्यो वेभमार्फत् प्रशारण गरिएको र त्यो दृश्य विज्ञानमा रुचि राख्ने लाखौं मानिसहरुले प्रत्यक्ष देखेका थिए । त्यसबेला उनले ‘मेरै जीवनमा सम्भव भएको यो अत्यन्तै विलक्षण कुरा हो’ भनी प्रतिक्रिया दिएका थिए ।

प्रतिष्ठा र पुरस्कारहरू :

भौतिकशास्त्रमा पिटर हिग्सको योगदानले व्यापक रूपमा मान्यता पाएको छ । आफ्ना अवधारणा र खोजका कारण उनलाई धेरै पुरस्कार र सम्मानहरू प्रदान गरिएका छन् । त्यसै क्रममा सन् १९८० मा उनी बेलायतका प्रमुख वैज्ञानिक संस्था रोयल सोसाइटीको फेलो चुनिए । सैद्धान्तिक भौतिकीमा उनको योगदानको लागि सन् १९९७ मा भौतिक विज्ञान संस्थानद्वारा उनलाई प्रतिष्ठित डिराक पदक प्रदान गरिएको थियो। सन् २००४ मा उनले हिग्स मेकानिजम र हिग्स बोसनको भविष्यवाणीको लागि भौतिक विज्ञानको क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्ये एक वुल्फ पुरस्कार प्रदान गरिएको थियो । उनलाई उक्त पुरस्कार भौतिकशास्त्रको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि दिइएको थियो ।

अझ सन् २०१३ मा आएर पिटर हिग्सलाई हिग्स मेकानिजम र हिग्स बोसनको सैद्धान्तिक खोजको लागि बेल्जियमका भौतिकशास्त्री फ्रान्कोइस एङ्गलर्टसँगै भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। हिग्स र एङ्गलर्टलाई पुरस्कार दिने नोबेल समितिको निर्णय ब्रह्माण्डको मौलिक प्रकृतिको हाम्रो बुझाइमा उनीहरूको कामको गहिरो प्रभावमा आधारित थियो ।

पिटर हिग्सले गरेको हिग्स बोसोनको खोज र हिग्स मेकानिज्मको विकासले कण भौतिक विज्ञानको क्षेत्रमा परिवर्तनकारी प्रभाव पारेको छ। अझ सन् २०१२ मा  हिग्सले अघि सारेको हिग्स बोसोनको सैद्धान्तिक मान्यताको प्रयोगात्मक पुष्टि नै भएपछि त उनको झनै ख्याति चुलियो । उनले थुप्रै पुरस्कार, मानसम्मान र मानार्थ पदवीहरु प्राप्त गरेका थिए ।

निधन

ख्यातिको शिखरमा पुगेका वैज्ञानिक अत्यन्तै विनम्र थिए । अनावश्यक प्रचारप्रसार उनलाई मन पर्दैनथियो । कतिसम्म भने उनी टेलिभिजन, मोबाइल तथा इमेलसमेत प्रयोग गर्दैन थिए । उनी आफ्ना मित्र एवं सहयोगीहरुमार्फत् अरुसँग सम्पर्कमा रहने गर्थे । भौतिक विज्ञानका क्षेत्रमा अत्यन्तै सम्मानित पिटर हिग्सको ९४ वर्षको उमेरमा गत २०८० चैत २६ गते निधन भयो । रगतसम्बन्धी समस्याका कारण विमार अवस्थामा उनको निधन स्कटल्याण्डको एडिनवर्गस्थित आफ्नै निवासमा भएको हो ।

Title image: https://images.theconversation.com