चीनको सरकारी कम्प्युटरहरुमा अमेरिकी माइक्रोचिप्सहरुको प्रयोगमा प्रतिबन्ध लाग्दै !

चीन र अमेरिकाबीचको व्यापार युद्धको प्रमुख मुद्दा प्रविधि बन्दै गइरहेको छ । अमेरिकाले चीनविरुद्ध प्रविधिको निर्यात तथा चिनियाँ प्रविधिमाथि नै पनि थुप्रै प्रतिबन्धहरु लगाइसकेको छ । त्यसका विरुद्ध चीनले पनि बेलोबेलामा अमेरिकाविरुद्ध प्रतिबन्धतात्मक कारवाहीहरु गर्दै आइरहेको छ । यसैमेसोमा पछिल्लो पटक चीनले अमेरिकी प्रविधिहरु इन्टेल र एएमडीका चीपहरु सरकारी कम्प्युटरमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

त्यसका साथसाथै चीनले अहिले अपरेटिङ सिस्टममा विश्वबजारमा प्रभुत्व राख्ने माइक्रोसफ्टका सफ्टवेयर तथा अन्य वैदेशिक डाटाबेस सफ्टवेयरहरुको प्रयोगमाथि पनि क्रमशः प्रतिबन्ध कस्दै गएको छ ।

चीनले एक निर्देशिका जारी गर्दै सरकारी कार्यालयहरुमा प्रयोग हुने कम्प्युटरटमा सुरक्षित र भरपर्दो प्रोसेसर र अपरेटिङ सिस्टम हुनुपर्ने जनाएको छ ।

कुनैबेला माइक्रोचिप्समाथि अत्यधिक निर्भर चीन अमेरिकाको प्रतिबन्ध र कडाइका कारण आफैं माइक्रोचिप्सहरुको उत्पादनमा युद्धस्तरमा लागेको छ । उसले विश्वस्तरको माइक्रोचिप्सहरु उत्पादन गर्न सफलता पनि हासिल गरिसकेको छ । यसमेसोमा उसलेसुरक्षित र भरपर्दो प्रोसेसरहरु भनेर केही समय अघि जारी गरेको स्टेटमेन्टमा पनि चिनियाँ कम्पनीहरुले उत्पादन गरेका चिप्सहरुलाई मात्र सूचीकृत गरेको थियो ।

चीनको यो कदमबारे इन्टेल र एएमडी कम्पनीहरुले कुनै प्रतिक्रिया जनाएको छैन । तर चीनको यो प्रतिबन्धले ती दुई कम्पनीहरुले विश्वबजारको सबैभन्दा ठूलो र महत्वपूर्ण हिस्सा गुमाउने निश्चित छ ।

त्यसो त विश्वबजारमा माइक्रोचिप्सको उत्पादनमा सबैभन्दा ठूलो दबदबा ताइवानको रहँदै आएको छ । अमेरिका आफैं पनि माइक्रोचिप्सका लागि ताइवानमाथि अत्यधिक निर्भर छ । निकट भविष्यमा कुनै पनि बेला चीनले ताइवानमाथि हमला गर्न सक्ने भयका बीच अमेरिका र भारत जस्ता ठूला अर्थव्यवस्था भएका देशहरु आफ्नै भूमिभित्र माइक्रोचिप्सको उत्पादन गर्न तथा त्यसको उत्पादन बढाउन अत्यन्तै गम्भीर रुपमा लागिपरेको छ । कतिसम्म भने कदाचित चीनले ताइवानमाथि सैनिक हस्तक्षेप गरिहाल्यो भने अमेरिकाले त्यहाँको माइक्रोचिप्स उत्पादन गर्ने कारखानालाई नै धूलीसात बनाउन सक्ने खबरहरु पनि यसअघि प्रकाशमा आइसकेको कुरा हो ।

 

सम्बन्धित सामग्री

       चीन–अमेरिका व्यापार युद्ध सघन बन्दै: चीन प्रत्याक्रमणमा उत्रँदा यसरी पछारिँदैछ अमेरिका !