हाम्रो कोठाको छतमा पनि कसरी झिंगा उल्टो परेर बस्न सक्छ ?

हाम्रो कोठामा कहिलेकाहीँ झिँगा उडिरहेको हामी पाउन सक्छौँ । उँडिरहेको बेला यसको खुट्टा भुँईतिर फर्काइरहेको हुन्छ । तर उँडिहेको केही बेरमा त्यो हाम्रो कोठाको छतमा गएर बस्न पनि सक्छ । यसरी छतमा गएर बस्नको लागि त झिँगा पहिले त उल्टो परेर उड्नु पर्ने हो । तर हामी झिँगा त्यसरी उँडेको त कहिले पनि देखेको छैनौँ । आखिर यसले कति बेला र कसरी आफ्नो शरीरलाई उल्टो पारेर छतमा बस्ने गर्छ त ?

धेरै पहिले वैज्ञानिकहरुले झिँगाले छतमा बस्नु ठीक पहिले युद्धमा प्रयोग हुने फाइटर जहाजजस्तै आफ्नो शरीर फनक्क फर्काउने कुरामा विश्वास गर्थे । पछि वैज्ञानिकहरुले यसै विषयमा झिँगाको हरेक क्रियाकलापलाई  भिडियो क्यामेरामा कैद गरेर अध्ययन गर्न थाले । उनीहरुले प्रयोग गरेको क्यामेराले एकदमै तीव्र गतिको क्रियाकलापलाई पनि राम्ररी कैद गर्न सक्थ्यो । उनीहरुले कैद गरेको दृश्यको हरेक फ्रेमको गहन रुपमा अध्ययन गर्दा त झिँगाहरुले छतमा बस्नु अघि आफ्नो शरीरलाई नफर्काउने गरेको कुरा पत्ता लगाए । उसको सट्टा उनीहरुले आफ्नो जिउलाई पल्टाउने गरेको कुरा पत्ता लागेको छ । छतमा बस्नु ठीक पहिले तिनीहरुले आफ्नो खुट्टालाई टाउको माथि लगेर पल्टने गर्छन् । यसको लागि तिनीहरुले आफू उडिरहेको शक्तिको सहायता लिन्छन् । उनीहरुले फाइटर प्लेनभन्दा एउटा जिम्न्यास्टिक खेल्ने खेलाडीले जस्तो गरी पल्टने गर्छन् ।

फेरि तिनीहरु उल्टो परेर कसरी अडिन सक्छन् भन्ने अर्को प्रश्न पनि उठ्न सक्छ । हो, गुरुत्वाकर्षणको कारणले तिनीहरु तल झर्नु पर्ने हो । तर तिनीहरुले आफ्नो छवटै खुट्टा छतमा राख्ने बित्तिकै तिनीहरुको खुट्टाको तल्लो भागमा रहेको टाँसिने पदार्थको कारणले गर्दा छतमा नै टाँसिने गर्छन् । यसरी उनीहरु नझरिकन छतमा अडिन सक्छन् । तिनीहरु खुट्टामा मसिना रौंहरु र टाँसिने पदार्थ भएकै कारणले गर्दा उनीहरुले फोहर ठाँउमा बसेर विभिन्न खाले किटाणु र व्याक्टेरियाहरु फैलाउने गर्छन् । त्यसैले आफूले खाने खानेकुरामा कहिले पनि झिँगालाई पर्न दिनुहुन्न । यसले विभिन्न खाले रोगहरु लाग्न सक्छ ।

Title image: https://www.futurity.org

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।