जमीनमा हैन रुखमा जीवन बिताउने कमिला !

चरालाई समेत रुख माथि तानेर लाने दर्जी कमिला

कमिला तपाई हामीले देखिरहेकै जीव हो । यत्रतत्र सर्वत्र पाइने र अत्यन्तै सामुहिक जीवन बाच्ने यो जीब आज भन्दा १० करोड (१०० मिलयन) वर्ष पहिले पृथ्वीमा उत्पत्ति भईसकेको थियो भनी वैज्ञानिकहरुले बताउँदछन् । यस हिसाबले कमिला पनि संसारकै प्राचिनतम जीवहरुमध्येको एक हो ।

कमिला प्राचीनतम जीवहरु मध्ये एक मात्र हैन, यस संसारका सबैभन्दा बलवान जीवहरु मध्ये पनि एक हो । झटै सुन्दा यो करा पत्याउन हामीलाई हामीलाई मुश्किलै पर्छ । तर यो कुरा साँचो हो । वैज्ञानिक अनुसन्धानले के प्रमाणित गरिसकेको छ भने– एउटा कमिलाले आफ्नो शरीरको तौलको लगभग ३०० गुना वेसी तौल उचाल्न सक्छ । तुलनामा हेर्ने हो भने, यो कमिलाको अति धेरै शक्तिको परिचय हो । कमिलाले आफ्नो शरीरको तौलभन्दा वेसी तौल उचाल्ने सामानको गुरुत्वकर्षणलाई हाफ्ना बलिया खुट्टाहरुमा केन्द्रित गराएर सजिलै उचाल्छ ।

यो त सामान्य कमिलाहरुको कुरा भयो । अझ अफ्रिकका जंगलहरुमा पाइने एक प्रजातिको कमिलाले त त्यो भन्दा पनि आश्चर्यजनक काम गर्छ । यसले आफ्नो तौल भन्दा ५ सय गुना वेसी तौल भएका कुराहरुलाई पनि सजिलै उचाल्न, थाम्न र तान्न सक्छ । त्यो कमिलाको नाम हो– अफ्रिकन दर्जी कमिला (Weaver Ant) !

   यो दर्जी कमिलाले अन्य सैनिक कमिलाले जस्तै गरी शिकार गर्ने गर्छ । सैनिक कमिलाले आफ्नो शिकारलाई पक्रेर टुक्रा टुक्रा पार्छ । तर यो दर्जी कमिलाले चाहिँ आफ्नो शिकारलाई टुक्रा टुक्रा पार्दैन । त्यसको विपरीत यसले आफ्नो सिंगो शिकारलाई नै तानेर माथि रुखमा रहेको आफ्नो गुँडसम्मै पुर्‍याउँछ । अचम्म त के छ  भने, यो कमिलाले साना–ठुला किरा फट्याङग्राहरु मात्रै हैन, चरा, सर्प, छेपारो र स–साना जन्तुहरुको समेत शिकार गर्छ ।

दर्जी कमिलामा त्यस्तो अचम्मको शक्ति हुन्छ भन्ने कुरा केही वर्ष पहिले अन्वेषकहरु जानुज ओजटुसियक, इवा गड्जिङ्सका र एलेन डेजिनले पत्ता लगाएका हुन् । उनीहरुले क्यामरुन नाम गरेको देशको एउटा प्रयोग क्षेत्रमा के देखे भने– दर्जी कमिलाहरुको एमक समुहले एउटामरेको चरालाई रुख माथि आफ्नो गुँडसम्म पुर्‍यायो । त्यहाँ अन्य कमिलाले चरालाई छोड्यो तर एउटा कमिलाले त्यसलाई समातिरह्यो । अचम्मको कुरा, त्यो एउटै कमिलाले आफूभन्दा ५०० गुना बेसी भारी त्यो चरालाई सजिलै थामेर राख्न सक्यो !

यो दर्जी कमिलाको खुट्टामा अत्यन्तै शक्तिशाली अंग समेत हुन्छ । त्यसको मद्दतले यसले सतहमा बलियोसंग पक्रन्छ र आफूभन्दा भारी वस्तुलाई पनि सजिलै तान्न एवं थाम्न सक्छ ।

तुलनात्मक रुपले हेर्ने हो भने, कमिला मान्छे भन्दा अत्यन्तै शक्तिशाली जीव हो भन्न सकिन्छ । किनभने, सामान्य मान्छेले आफ्नो तौल बराबरको वा त्यो भन्दा केही बेसी मात्र भार बोक्न सक्छ । एउटा दक्ष र अनुभवी भारोत्तलक (वेट लिफ्टर) ले पनि आफ्नो शरीरको तौलभन्दा ३.८ गुना बेसीसम्म मात्र भार बोक्न सक्छ । कलिाले उठाउन सक्ने भार शरीरको तुलनामा ३०० गुना बेसी भएको तुलनामा यो अत्यन्तै कम हो ।

सामान्यतः कमिलाले जमीनमा वा जमीनमुनि गुँड बनाउने गर्छ । तर यो कमिला रुखमा जीवन बिताउने गर्छ र यसले आफ्नो गुँड रुखमा बनाउने गर्छ । त्यसैले यस कमिलालाई रुख कमिला पनि भन्ने गरिन्छ । यो Oecophllya  प्रजातिमा पर्दछ ।

दर्जी कमिला सामान्यतः रातो–कलेजी रङको हुने गर्छ । यो आकारमा ५ देखि १० मिलिमिटर (आधा सेमीदेखि १ सेमी) सम्म हुने गर्छ । यो प्रजातिको कमिलाको छात्ती र पेटलाई जोड्ने कम्मरको भाग साँघुरा हुने गर्छ । यसले तिनीहरुलाई अन्य कमिलाका प्रजातिहरुबाट अलग गर्दछ ।

दर्जी कमिलाले आफ्नो गुँड पातहरुलाई उनेर बनाउने गर्छ । त्यसका लागि लार्भाहरुले उत्पादन गरेको रेशम जस्तो त्यान्द्रोको प्रयोग गरेर उनीहरुले पातलाई बुन्ने गर्छ । सामुहिक रुपमा बनाइने यस्ता गुणहरु प्राकृतिक वास्तुकलाको सुन्दर सिर्जना मानिने गरिन्छ, जसको निर्माणमा सामुहिक श्रमको उपयोग भएको हुन्छ । यसका लागि खोजी दस्ताका सदस्याहरुले गुँड बनाउन उपयुक्त पातहरुको खोजी र छनौट गर्छ । कामदार कमिलाहरुको एउटा समूहले ती पातहरुलाई संकलन गरेर गुँड बनाउने गर्छ । रमाइलो कुरा के छ भने, कमिलाका अन्य गुँडहरुमा जस्तै पातबाट बनाइने गुँडमा पनि विभिन्न खण्डहरु रहेका हुन्छन् जहाँ खानेकुराहरु सञ्चयन, रानी कमिला बस्ने र लार्भा हुर्काउने जस्ता कामहरु हुने गर्छ ।  

Image source: https://i.ytimg.com