विशाल शरीर भएको हात्तीको खुराक पनि विशाल नै !

जमीनमा बस्ने सबैभन्दा ठूलो जनावर हात्ती हो । हात्ती शाकाहारी जीव हो ।  एउटा हुर्केको हात्तीले आफ्नो शरीरको तौलको ५ प्रतिशत जति खानेकुरा एक दिनमा खाने गर्छ । यो भनेको १४० देखि १६९ किलो हो । त्यसै गरी त्यसले एक दिनमा औसत १६० लिटर पानी पिउँछ । यसरी ठूलो शरीर हुने भएकोले हात्तीको खुराक पनि ठूलै हुन्छ । अझ खराब कुरा त के छ भने, हात्तीको स्वभाव खन्चुवा हुने गर्छ । यसले आफूलाई जति खानेकुरा चाहिन्छ र पचाउन सकिन्छ, त्योभन्दा पनि बढी खानेकुरा खानेगर्छ । त्यसमाथि थप, यसले आफूले खानेभन्दा बढी खानेकुराहरु त माडेर र कुल्चेर नै नष्ट गर्ने गर्छ ।

रमाइलो कुरा के छ भने हात्तीले प्राय: खाइरहेको हुन्छ । उसको विशाल शरीरलाई चाहिने आवश्यक उर्जा आपूर्तिका लागि पनि उसले खाइबस्नुपर्ने हुन्छ ।

हात्तीको खुराकमा घाँस, पातहरु, फलफूल, रुखको कलिलो बोक्रा र जराहरु समेत पर्दछन् ।

हात्तीले सुँडको मद्दतले खानेकुरा खाने गर्छ । यसको सुँड ४० हजारभन्दा बढी मांसपेशी र टेन्डन (Tendons) हरु मिलेर बनेको हुन्छ । हात्तीको सुँड अति संवेदनशील हुन्छ, त्यसैले त यसले घाँसको एउटा पात मात्रै पनि टिप्न सक्छ । फेरि यो कति बलियो हुन्छ भने त्यसैको मद्दतले रुखका बलिया हाँगाहरु पनि सजिलै भाँच्न सक्छ ।

आफ्ना बलिया दाँतहरुको सहयोगले यसले खानेकुराहरु चपाएर खानेगर्छ । त्यसबाहेक, हात्तीले खानेकुराहरु खोज्न भाँच्नका लागि आफ्नो दाह्राको समेत प्रयोग गर्ने गर्छ । विशेष गरी रुखको बोक्रा ताछ्नका लागि यसले आफ्नो दाह्रा उपयोग गर्छ ।

हात्तीको खुराक निक्कै बेसी भए पनि यसले वातावरणका लागि चाहिने आवश्यक भूमिका निर्वाह गरिरहेको हुन्छ । खासगरी यसले कतिपय विरुवाहरुको बीउलाई समेत एक ठाउँबाट अर्को ठाउँमा फैलाउने काम समेत गरिरहेको हुन्छ ।

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।