एम्बुलेन्स सेवाको पहिलो प्रयोग कहिले भएको थियो?

विश्वको पहिलो आधुनिक एम्बुलेन्स गाडी फ्रान्सका एक चिकित्सकले तयार गरेका थिए । ती चिकित्सकको नाम हो– बैरन दोमिनीक जाँ लैरी । उनी फ्रेन्च ग्रान्ड आर्मीका सर्जन इन चिफ पनि थिए । सन् १७९७ देखि १८१५ सम्म उनले नेपोलियन बोनापार्टको निजी सर्जनका रुपमा पनि काम गरेका थिए । उनले नै सन् १७९२ मा पहिलो पटक सरकारी आर्मी मेडिकल कर्पोरेशन खडा गरेका थिए र त्यसैअन्तर्गत एम्बुलेन्स सेवा पनि सञ्चालन गरेका थिए । त्यसैले एम्बुलेन्सको जन्मदाता तिनै लैरीलाई मानिन्छ ।

त्यसबेला उनले घाइते तथा विरामीहरुलाई ओसार्न तयार गरेको एम्बुलेन्स घोडागाडी थियो । तर त्यो परम्परागत घोडागाडीहरुभन्दा भिन्दै थियो । उनले त्यो घोडागाडीको बग्गीमा अत्यन्तै बलिया स्प्रिङ्गहरु लगाउन लगाएका थिए, जसले गर्दा त्यसमा सवार विरामीलाई एक ठाउँबाट अर्को ठाउँ लैजादा उफार्ने, तीब्र वेगमा हल्लाउने जस्ता झट्काहरु लाग्दैनथिए । पछि, त्यसै सिद्धान्तमा आधारित रहेर सन् १९०० को आसपासमा आएर मात्रै मोटर–इन्जिन भएको एम्बुलेन्स गाडीहरु प्रयोगमा आउन थालेका थिए ।

त्यसो त एघारौं शताब्दीतिर सिपाहीहरुका हाकिम सेन्ट जोनले अरबी र ग्रिक डाक्टरहरुसँग प्राथमिक उपचारका विधिहरु सिकेर युद्धको बेलामा आकस्मिक चिकित्सा कार्यहरु गर्ने गरेका थिए । त्यसबेला गम्भीर घाइते योद्धाहरुलाई स्ट्रेचरमा बोकाएर तथा घोडामा तथा गाडामा राखेर उपचार गर्ने टेन्टसम्म लगिने गरिन्थ्यो । त्यसैले एम्बुलेन्सको अवधारणाको शुरुवात उनकै पालादेखि भएको मानिन्छ ।

उता अमेरिकामा चाहिँ पहिलो एम्बुलेन्स प्रयोगमा ल्याउने श्रेय न्यूयोर्कको बेलेभ्यू अस्पताललाई दिइन्छ । यो अस्पतालले पहिलो पटक सन् १८६९ मा डा. एडवार्ड एल. डाल्टनको नेतृत्वमा घोडाले तान्ने बग्गीमा एम्बुलेन्स सञ्चालन गरेका थिए ।

Image source: https://www.boweryboyshistory.com

दायित्वबोध/रोचक

यस स्तम्भअन्तर्गत जीवन र जगतका राेचक रमाइला जानकारीहरु प्रस्तुत गरिन्छ ।