हेक्का रहोस्, पारुहाङ बन्न सजिलो छैन!

१. २०६० असारमा जब हामी माओवादीमा एकीकृत भयौं, पार्टीमा देखियो: हितमान शाक्यले खासगरी युवतीहरुको घोर अनिच्छालाई कुल्चँदै जबरजस्ति अजातीय विवाह गराइरहेका थिए। कारण, शाक्यले अजातीय विवाह गरेका हुँदा सबैलाई आफू जस्तै गराउने यान्त्रिक धृष्टता चलाएका रहेछन्।

दोरम्बा हत्याकाण्डको बेला मोरङमा पार्टीको पूर्वी कमाण्ड बैठक थियो। त्यहाँ हामीले नेतृत्वद्वारा जबरजस्ति विवाह गराउने कृत्यको विरोध गर्यौं। कमाण्ड इन्चार्ज मोहन बैध्य (किरण) ले हाम्रो मतमा समर्थन जनाए।

किरात गणराज्य सरकार घोषणा कार्यक्रममा नदेखिएका भक्तराज कन्दङ्वालाई खोज्दै व्युरो कार्यालय रमिते पुग्यौं। कार्यालयमा भावना र अरुणको विहे रहेछ। अतिथि भइयो। अन्य वक्ताहरुको जोड शुभकामना मन्तव्य थियो कि हाम्रो पार्टीको अन्तर्जातीय विवाह गर्ने नीति अनुसार इत्यादि। कारण, केटी बाहुन र केटा नेवार रहेछन्।

प्रकारान्तरले पटना पुग्दा भेटिएका वर्षमान पुनलाई सोधियो, -"के अन्तर्जातीय विवाह गर्ने पार्टी नीति हो?"  "होइन" भनेर पुनले जवाफ दिए।

त्यसपछि हामीले गम्भीर आलेख तयार गर्यौं। जुन, जनादेश साप्ताहिकमा प्रकाशित भयो। जसको शीर्षक थियो- "प्रेम विवाह जिन्दावाद!"

अर्को कारण रहेछ, मणि थापाले पनि अजातीय विवाह गरेका। उनले केन्द्रीय जनपरिषदमा पेस गर्नलाई अजातीय विवाह नीति लेख्दै रहेछन्। रोल्पाको घर्तीगाउँमा बस्दा थाहा लाग्यो र चर्को बहश छेंड्दै भनियो कि अन्तर्जातीय विवाह गरेर नै दुनियाँमा राजनीतिक-आर्थिक समानता हुने भए यत्रो रक्तपातपूर्ण वर्गयुद्व किन? खुरुखुरु अन्तर्जातीय विवाह आन्दोलन चलाए भैगो नि!

कमाण्ड इन्चार्ज बादलले त्यो चर्को बहश निरुपण गर्दिए कि अन्तत: मानव जाति बन्ने लक्ष्यतर्फ अग्रसर हुनुपर्छ। तर, अहिल्यै दुई जातिको विवाह गर्दैमा सर्वहारावर्गको राज्य स्थापित हुँदैन।

अन्तर्जातीय विवाह गरेर नै दुनियाँमा राजनीतिक-आर्थिक समानता हुने भए यत्रो रक्तपातपूर्ण वर्गयुद्व किन? खुरुखुरु अन्तर्जातीय विवाह आन्दोलन चलाए भैगो नि!

"आज र भोलि नै साम्यवादमा पुग्ने" भनेर हचुवा नेताहरुले त्यसरी जे जत्ति जबरजस्ति क्रान्तिकारी विवाह गराएका या गरेका थिए, त्यसमध्ये सम्भवत: ८५ प्रतिशत जोडीको परिवार भंग भएका छन।

२. पूर्वतिरका कार्की पुरुष र राई महिलाको त्यस्तै क्रान्तिकारी विवाह भएको रहेछ। २०७० तिर विराटनगरमा उनीहरुको डेरामा हामीलाई बोलाए र खाना खान दिए। ती बहिनी निकै कर्मठ लाग्थिन र उनले चलाएको होटल नै त्यस परिवारको जीवनयापन आधार पनि थियो।

तर, अलिकपछि सुनियो, ती कार्की कमरेडले गुनाशो पोख्दा रहेछन- "जनजाति आईमाई विहा गर्न नहुने रहेछ, न बुद्वि, न त ढंग र संस्कार! म त नराम्रोगरी फँसे साथी हो!"

त्यो सुनेर मन ज्यादै अमीलो भयो। यस्ता अनेक दृष्टान्त छन, संकलन गर्दा मार्क्सको "पुँजी" भन्दा ठूलो ग्रन्थ बन्छ होला।

ती कार्की कमरेडले गुनासो पोख्दा रहेछन- "जनजाति आईमाई विहा गर्न नहुने रहेछ, न बुद्वि, न त ढंग र संस्कार! म त नराम्रोगरी फँसे साथी हो!"

३. "प्रेम विवाह जिन्दावाद" लेखमा हामीले सम्बन्धित युवा-युवतिको स्वभाविक विचारमा आधारित प्रेमलाई छानविनद्वारा उपयुक्त ठहर्छ भने पार्टीले विवाहमा परिणत गर्दिनु पर्छ। तर, जबरजस्ति जोडी बाँधी दिने सामन्ती अविभावकत्व अन्त्य गरिनु पर्छ, भनेका थियौं। साथसाथै, जबरजस्ति विवाहले सम्बन्धित युवा-युवतिको जीवन धराशायी पार्ने र अजातीय विवाहले मंगोल आदिवासीको सामुदायिक साँस्कृतिक आन्दोलन र भाषा मास्ने दलिल समेत पेस गरेका थियौं। अत: आदिवासीहरुको विवाह नीति निर्धारणका निम्ति समेत जातिहरुको स्वायत्त राज्य जरुरी रहेकोतर्फ जोड दिएका थियौ।

जब हामीलाई पार्टीमा मेची-कोशी व्युरो इन्चार्जको जिम्मेवारी आयो, संखुवासभाको घनाजंगलस्थित प्रशिक्षणमा खासगरी ब्राम्हण मूलका कार्यकर्ताले कठोर आलोचना बोले। स्पष्टीकरणमा हामीले भन्यौ, "प्रेम विवाह जिन्दावाद" लेख लेख्दा मार्क्सवाद विरुद्व भयो भने त्यसको खण्डनमा "प्रेम विवाह मुर्दावाद" लेखौं त?

प्रेम विवाह र अजातीय विवाह रुपमा एउटै जस्तो सुनिए पनि सारतत्वमा पृथक समेत छन्। के स्वजातीय प्रेममा आधारित विवाह चाहिँ प्रेम विवाह हुँदैन र?

लोकतान्त्रिक समाजमा जीवनसाथी रोज्ने सर्वाधिकार सम्बन्धित उमेदवारहरुमा निहित रहन्छ। यध्यपि, अहिले सामुदायिक पहिचान र अधिकारको आन्दोलनले जोर पक्डेको समयलाई केन्द्रमा राख्नै पर्छ। हेक्का रहोस्, प्रेम विवाह र अजातीय विवाह रुपमा एउटै जस्तो सुनिए पनि सारतत्वमा पृथक समेत छन्। के स्वजातीय प्रेममा आधारित विवाह चाहिँ प्रेम विवाह हुँदैन र?

अन्त्यमा, मानवीय जीवनको प्रेममा आवेग र यौनमा संवेग प्रधान रहन्छ भने विवाह र सन्तान उत्पतिमा विवेक प्रधान हुनै पर्दछ। अन्यथा वर्तमान बजार पुँजीवादी राज्यको मूलद्वारमा सर्वत्र लेखिएको हुनेछ,- "प्रतिक्रान्तिकारी आत्महत्याको मन्दीरमा तपाइँलाई स्वागत छ!"