के हो कोठी – किन हुन्छ हाम्रो शरीरमा यो ?

हाम्रा शरीरका विभिन्न भागहरुमा कोठीहरु हुने गर्छन् । कुनै कोठीहरु जन्मजात हुन्छन् अर्थात् जन्मँदै वा जन्मेको केही समयपछि बच्चाको छालामा कोठी पैदा हुन्छ । त्यसैले कोठीलाई कहिलेकाहीँ जन्मदाग पनि भनिन्छ ।  कुनै कुनै चाहिँ हाम्रो उमेर बढ्दै जाँदा देखापर्ने पनि हुन्छन् । कसैको शरीरमा धेरै कोठी हुन्छन् भने कसैकोमा कम । यसरी शरीरमा कोठी देखापर्नुमा मुख्य कारण हाम्रो आनुवंशिकी, सूर्यको प्रकाश तथा छालाका समस्याहरुले भूमिका खेल्छ ।

सुन्दा अचम्म लाग्न सक्छ । तर यस पृथ्वीमा भएका हरेक मानिसको जीउमा कम्तीमा पनि एउटा कोठी हुने नै गर्छ । औसतमा भन्ने हो भने त एउटा मान्छेको जीउमा करिब १४ वटा कोठीहरु हुन्छन् । कोठी मानिसको शरीरको कुनै पनि भागमा आउन सक्छ ।

सामान्यतः कोठीहरु मेलेनोसाइट्स भनिने कोषहरुको अतिवृद्धिबाट उत्पनन हुन्छ । यी मेलेनोसाइटहरुको मूख्य काम मेलेनिन उत्पादन गर्ने हो । मेलानिनले हाम्रो छाला, कपाल र आँखाको रंग कालो वा अरु कस्तो हुने भन्नेबारेमा भूमिका खेल्ने गर्छ । तर जब ती मेलानिन उत्पादन गर्ने कोषहरु मेलानोसाइटहरुमा बढी बृद्धि हुन्छ, त्यसबेला छालामा कोठी देखापर्छ ।

सामान्यतः गोरा छाला र हल्का कपाल भएक व्यक्तिहरुमा कोठी विकास हुने आनुवंशिक प्रवृत्ति बढी हुने गर्छ । त्यसबाहेक, त्यस्ता व्यत्तिःहरुको छालामा सूर्यको प्रकाशले मेलेनोसाइटको गतिविधिलाई थप उत्तेजित तुल्याइदिन सक्छ, जसले गर्दा कोठीहरु देखापर्न सक्छ ।

यस अर्थमा भन्दा, कोठी भनेको नचाहिँदो रुपमा बढेको माशंपेशी वा कोषका केही भागहरु मात्र हुन् । जहाँ कोठी बन्छ, त्यहाँको केही कोष वा माशंपेशी बढ्छ र कालो भाग देखापर्छ । त्यसलाई नै हामी कोठी भन्छौँ ।

जुनसुकै प्रकारको कोषको पनि कोठी बन्न सक्छ । त्यसमा रगतका नसाहरु, पिगमेन्ट भएका कोषहरु, कपालको जडमा रहेका कोषहरु आदि पर्ने गर्छन् । विभिन्न प्रकारको कोष तथा माशंपेशीमा कोठी बन्ने हु“दा हरेक कोठी एक आपसमा फरक हुन सक्छन् ।

माथि पनि भनिसकियो हाम्रो शरीरमा कुनै कोठी जन्मजात हुन्छन् भने कुनै चाहिँ पछि देखापर्छन् । पछि देखापर्ने कोठीहरुको तुलनामा सामान्यतया जन्मजात देखापर्ने कोठीहरुमा आकारमा अलि ठूला र गाढा रंगको हुने गर्छ । पछि देखापर्ने कोठीहरु सामान्यतः बाल्यकाल र किशोरावस्थामा देखार्ने गर्छ । त्यस्ता कोठीहरु सपाट (छालाको सतहसँगै) वा केही उठेको जस्तो पनि हुन सक्छ । यस्ता कोठीहरुको रंग खैरो, कालो, गुलावी वा मासुको रंगवाला पनि हुन सक्छ ।

सामान्यभन्दा फरक देखिने खालका कोठी (Dysplastic nevi) को आकार, रंग र किनाराहरु अलि फरक हुन्छन् । यी आफैंमा क्यान्सर नभए पनि त्यसलाई छालाको क्यान्सर (melanoma)  को रुपमा विकसित हुन सक्ने सम्भावना भएको कोठीको रुपमा मानिने गरिन्छ । 

कोठीको बारेमा एउटा धेरै पुरानो अन्धविश्वास रहँदै आएको छ । जसअनुसार यदि गर्भवती आमाले बच्चाको जन्मपूर्व केही डरलाग्दो घटना वा केही उत्तेजक घटनाको सामना गरिन् भने बच्चाको शरीरमा एउटा कोठी आउने गर्छ । त्यही भएर कोठी कस्तो प्रकारको हुन्छ भन्ने कुराको निर्धारण पनि आमा डराउने वा उत्तेजित हुने कुराले नै निर्धारण गर्ने विश्वास गरिन्छ । जे जस्तो अन्धविश्वास भए पनि अझै विज्ञानले पनि कोठी कसरी पैदा हुन्छ र यसको रोकथाम कसरी गर्ने भन्ने कुराको समाधान पत्ता लगाउन सकेको छैन ।

कसैकसैले शरीरमा कोठी आयो भने राम्रो मान्दैनन् । किनभने कहिलेकाही“ कोठी पछिगएर क्यान्सरमा पनि परिणत हुन सक्ने सम्भावना हुन्छ । तर यो एकदमै कम्ति मानिसमा मात्र देखा पर्ने हु“दा यसबारे धेरै चिन्ता लिनु जरुरी छैन । कोठीले छालालाई नराम्रो देखाइदिने हु“दा पनि धेरैले कोठी मन पराउ“दैनन् । यसले उनीहरुको सुन्दरतामा कमी ल्याउने उनीहरु सोच्छन् ।

कोठीले धेरै ठूलो हानी नगर्ने हुँदा यसलाई केही नगरी आफ्नो ठाउँमा नै छाडिदिनु उपयुक्त हुन्छ । तर कुनै बेला यसले असजिलो पनि पैदा गर्न सक्छ । उदाहरणको लागि खुट्टामा आएको कोठी, हात, घाँटी, कम्मर आदिमा आएको कोठी कहिलेकाहीँ असाध्यै चिलाउने वा घाउ पनि हुन सक्छ । यस्तो भयो भने चाहिँ युवाअवस्था लाग्नुभन्दा अघि वा २० वर्षभन्दा पहिले नै यसलाई निकालेर फालिदिनु राम्रो हुन्छ ।

सामान्यतः कोठी हानिरहित हुने गर्छन् । तर हाम्रो शरीरमा अस्वभाविक रुपमा कोठीहरु बढ्न थाल्यो वा भएकै कोठीको रुपरंग र आकारहरुमा परिवर्तन आयो भने हामी सतर्क हुनुपर्छ । त्यो कुन कारणले भइरहेको छ वा कतै त्यसले छालाको क्यान्सरको रुप त लिन थालेको होइन भन्नेबारे सावधानी अपनाउनु जरुरी छ । त्यस्तो अवस्थामा तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ ।

कोठीको अध्ययन अनुसन्धानको क्षेत्रमा एउटा रोचक विषय बन्दै आएको छ । वैज्ञाकिहरुले कोठीको निर्माण र आनुवंशिक परिवर्तनहरुबीचको सम्बन्धलाई पत्ता लगाउन निरन्तर अध्ययन गर्दै आइरहेका छन् । त्यसैक्रममा उनीहरुले कोठी र शरीरको रोगप्रतिरोधी क्षमताबीच कुनै सम्बन्ध छ कि छैन भन्नेबारे पनि अध्ययन गरिरहेका छन् । कोठीको जटील संसारलाई बुझ्न सकयिो भने यसले छालाको क्यान्सरको जोखिमलाई पहिचान गर्न मात्रै मद्दत गर्ने छैन, यसले छ हाम्रो छालाको स्वास्थ्यसम्बन्धी थप रहस्यहरुलाई समेत उद्घाटित गर्न सक्नेछ ।

त्यसैले ख्याल गर्नुपर्ने कुरा के हो भने, कोठी भनेको एउटा चिन्ह मात्रै होइन, यो त तपाईंको आनुवंशिकतासँग जोडिएको छालाको सौन्दर्य, सूर्यसँगको छालाको सम्बन्ध र छालाको सुस्वास्थ्यसँग जोडिएको जटील संरचनाको एउटा पाटो पनि हो । हाम्रो शरीरमा कोठी किन हुन्छ भन्ने कुरालाई बुझ्न सक्यौं भने हामीले छालाका सम्भाव्य खतराहरुबाट बचाउने उपायहरुको पनि खोजी गर्न सक्छौं ।