मोदीराजमा भारतीय रैथानेको बिजोग, भूमि रक्षाको सङ्घर्ष गर्दा विकास विरोधी भएको आरोप
कोइला खानी अडानीलाई सुम्पिन मोदी सरकारले गरेको धोकाघडीको राम कहानी

एजेन्सी । मुटु कँपाउने चिसो छ । हिँउदे सिरेटोले सताइरहेको छ । हावामा बारुदी गन्ध मिसिएकाले स्वास लिन पनि मुस्किल छ । यो हालत भारत छत्तीसगढको हरिहरपुर गाउँमा वासिन्दाले भोगिरहेको सकस हो ।
त्यहाँका रुखबिरुवाका पात र हाँगासमेत धुलोको पत्रले छोपिएको छ । यो स्थलगत रिपोर्ट बनाउँदै गर्दै मध्याह्नको ठीक एक बज्न लागेको छ । एक लगत्तै अर्को धमाकाले पूरै क्षेत्रलाई हल्लाइरहेको छ ।
यो धमाका हरिहरपुर नजिकको एक ठूलो कोइला खानी उत्खनन् गर्न भइरहेको छ । कोइलाको पहरा फुटाउन डाइनामाइट विस्फोट गराउने गरिएको छ । यो सिलसिला कयौं वर्षदेखि चलिरहेको छ । हरिहरपुरसका मानिसहरूका जीवन यही धमाकाको आतंक र असरबीच गुज्रिरहेको छ ।
सरगुला जिल्लाको उदयपुर तहसील अन्तर्गतको यो गाउँ हरिहरपुरले यतिखेर आफ्नै दिन गनिरहेको छ । यो गाउँ केही दिनभित्रै कोइलाको खुला खानीमा बदलिनेछ । ६५ वर्षीया संपतीया बाईलाई यही चिन्ताले सताइरहेको छ ।
संपतीया दुई वर्षदेखि हरेक दिन हरिहरपुरमा रहेको धर्नास्थलमा आउने गरेकी छिन् । उनी दिनभर त्यहीँ धर्ना बसिरहन्छिन् । पछिल्तिर रहेको खानी र त्यसको किनारामा रहेको कोइलाको कृत्रिम रास देखाउँदै उनी भन्छिन्, ‘उनीहरू यहाँसम्म खन्दै आइपुगे । विस्तारै विस्तारै अघि बढ्दैछन् । यो खानी तपाईंले देखिरहनुभएको छ नि होइन ? यो गाउँ हामीले प्रतिरोध गर्दा बचेको छ, नत्र हाम्रो हरिहरपुर कहाँ बच्थ्यो र ? आन्दोलनकै कारण यो गाउँ अझैसम्म जोगिएको छ ।’
उनी खानीतिर हेरेर निकैबेर टोलाइन् र अचानक चर्को स्वरमा बोलिन्, ‘हामी हाम्रो जमिन दिन्नौं । यसो भन्दै हामी यहाँ धर्नामा बसेको दुई वर्ष भइसक्यो ।’
हसदेव अरण्य क्षेत्रलाई मध्य भारतको फोक्सो भनी चिनिन्छ । निकै ठूला रुखहरू भएको यो जंगल एक लाख ७० हजार हेक्टरमा फैलिएको छ । यहाँ कोइलाखानीका कूल २३ ब्लक छ । तर, जहाँ अनुमति दिइएको छ : त्यहाँ कोइला खानी उत्खननका लागि रुख काट्ने काम भइरहेको छ ।
कोइलाको खुला खानीले क्रमशः यो जंगललाई निलिरहेको छ । जंगलसँगै यहाँका ५४ गाउँमा पनि खतरा मडारिइरहेको छ ।
पछिल्लो एक दशकभन्दा पनि अघिदेखि स्थानीयवासी र त्यहाँका आदिवासीहरूले कोइला उत्खननको विरोध गरिरहेका छन् । आफूहरूको अस्तित्व त्यही हसदेव अरण्य क्षेत्रको जंगलको अस्तित्वसँग जोडिएको उनीहरू बताउँछन् ।
उदयपुरका मण्डल अधिकारी अर्थात् एसडीएम बीआर खांडेसँग बीबीसी प्रतिनिधिले उनकै कार्यालयमा भेटघाट गरेको थियो । रातको समयमा पनि उनी आफ्नो काम गरिरहेका थिए ।
खांडेका अनुसार उत्खनन् क्षेत्रमा पर्ने ५४ गाउँमध्ये कयौं गाउँको जमिन अधिग्रहण भइसकेको छ । अरू कयौं गाउँको जमिन अधिग्रहण गर्ने क्रम जारी छ । उनका अनुसार सुनुवाई सकिएका गाउँहरू अधिग्रहण गरिसकिएको छ । ती गाउँमा वासिन्दालाई सरकारले तोकेको मुआब्जा प्याकेजमार्फत पुनर्वास गरिएको छ ।
२०२२ मा चर्किएको आन्दोलन
कोइलाखानी उत्खननविरुद्ध हरिहरपुरमा दशकभन्दा पनि अघिदेखि आन्दोलन भइरहेको छ । तर यसले ठूलो आकार त्यतिखेर लियो, जतिखेर सन् २०२२ मा रुख कटानको काम शुरु भयो ।
गत डिसेम्बरमा त्यहाँ फेरि खानी क्षेत्रका नाममा रुख काट्न थालियो । लगत्तै आदिवासीहरू र नागरिक समाजको आवेग बिस्फोट भयो ।
परसा इस्ट र कान्ता बसनमा कोइला उत्खनन गर्न रुख काटिएको सरकारको दाबी छ । कोइला खानीको यो क्षेत्र राजस्थान राज्य विद्युत उत्पादन निगमको भागमा परेको छ । एसडीएम बीआर खांडे भन्छन्, ‘सरकारले जे आदेश दिएको छ : त्यसैअनुसार कानूनी कामकारबाही भइरहेको छ ।’
डिसेम्बरमा रुख काटिएको क्षेत्रको अधिग्रहण सन् २०१८ मै भएको हो । त्यस क्षेत्रमा मानिसहरूलाई पुनर्बास पनि गरिसकिएको छ ।
अडानीले थापेको दलाल पूँजीवादी पासो
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को संरक्षणमा कानून र नियामक निकायको धज्जी उडाउँदै जसरी पनि कमाउने धन्धामा लागिरहेका विवास्पद व्यापारी गौतम अडानी नै यो कोइलाखानीमा जोडिएका छन् ।
परसा इस्ट र कान्ता बसन कोइलाखानी उत्खननको ठेक्का हत्याएको अदानी इन्टरप्राइजेज लिमिडेड नै हरिहरपुर क्षेत्रका आदिबासीको निशानामा छन् । आदिबासीलाई निमिट्यान्न पारेर जसरी पनि खानी हत्याउन अनेक षडयन्त्र गरेका अडानीको कम्पनीले यतिखेर सरकारलाई अगाडी सारेको छ ।
अदानी समूहको कम्पनीका अधिकारीहरूले आफूहरूको भूमिका राजस्थान राज्य विद्युत उत्पादन निगम लिमिटेडका तर्फबाट नियुक्त गरिएको एमडीओ अर्थात् माइन डेभलपर एण्ड अपरेटरमा मात्रै सीमित भएको बताउन थालेका छन् । जमिन अधिग्रहण, रुख कटान र मुआब्जा दिने काम आफूहरूले नगरेको उनीहरू बताउँछन् । यो राजस्थान र छत्तीसगढ सरकार बीचको मामिला भएको उनीहरूको तर्क छ ।
अहिले जे भइरहेको छ : त्यो छत्तीसगढ सरकारले गरिरहेको छ । कोइला खानी उत्खननको काम पनि राजस्थान राज्य विद्युत उत्पादन निगम लिमिटेडका अधिकारीहरूको रेखदेखमा भइरहेको छ ।
राजस्थान र कोइला
छत्तीसगढ भ्रमणमा आएका राजस्थान राज्य विद्युत उत्पादन निगम लिमिटेडका अध्यक्ष आरके शर्माले पत्रकारहरूसँग कुरा गदै हसदेवमा चलिरहेको आन्दोलनको कारण उनको राज्यका कयौं विद्युत इकाइमा संकट मडारिएको बताएका छन् ।
विद्युत उत्पादन गर्न जति मात्रामा कोइला आवश्यक पर्छ, त्यति मात्रामा छत्तीसगढबाट राजस्थानमा कोइला आपूर्ति हुन नसकेको उनको भनाइ छ ।
परसा खानीमा राजस्थान विद्युत उत्पादन निगम लिमिटेडका उप मुख्य अभियन्ता विष्णुप्रसाद गर्गको नियमनमा उत्खनन चलिरहेको छ ।
प्रोजेक्ट साइटमा बीबीसीसँग कुरा गर्दै उनले राजस्थानमा ४३४० मेगावाटका ८ वटा विद्युत उपक्रमका लागि छत्तीसगढको कोइला ब्लक बाँडिएको बताए ।
यी प्लान्ट चलाउन जति मात्रामा कोइला आवश्यक छ, त्यति आपूर्ति भएको उनको भनाइ छ । यो मामिला सल्ट्याउन राजस्थानका सबै मुख्यमन्त्रीहरूले छत्तीसगढका मुख्यमन्त्रीहरूलाई लगातार पत्राचार गर्ने गरेका छन् ।
अधिग्रहण र पुनर्वासको पासो
विष्णुप्रसाद गर्गको दाबी के छ भने कोइलाखानी क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा र पुनर्वास छत्तीसगढ सरकारकै रेखदेखमा भइरहेको छ । राजस्थान राज्य विद्युत उत्पादन निगम लिमिटेडका अध्यक्ष आरके शर्माले चाहिँ कोइला उत्खनन् गरेपछि सो क्षेत्र फिर्ता दिइने बताएका छन् ।
उनी भन्छन्, ‘भारतको सर्वोच्च अदालतले पनि खानी उत्खननका लागि अनुमति दिइसकेको छ । रुख काट्न पनि वैधानिक अनुमति प्राप्त भइसकेको छ ।’
एक रुख काट्दा १० बिरुवा रोप्ने काम भइसकेको उनी बताउँछन् । राजस्थान राज्य विद्युत उत्पादन निगम लिमिटेडले मात्रै कम्तिमा ४ लाख बिरुवा रोपिसकेको र ती बिरुवा अहिले रुख बनिसकेको उनको दाबी छ ।
दशकदेखि आत्तिएका आदिवासी
हसदेवका आदिवासी समाजको आन्दोलन सन् २०११ मा सो कोइलाखानी उत्खनन परियोजनालाई सरकारले हरियो झण्डा देखाएलगत्तै शुरु भएको हो । सन् २०१० सम्म सो क्षेत्रलाई उत्खनन् प्रतिबन्धित क्षेत्रमै राखिएको थियो ।
आन्दोलन क्रममा हसदेव अरण्यमा पर्ने ३० गाउँका मानिसहरूले केही सामाजिक संगठनसँग मिलेर हसदेव अरण्य बचाओ संघर्ष समिति गठन गरे । त्यसपछि उत्खननविरुद्ध संघर्ष छेडे ।
त्यतिखेर भारत सरकार र पर्यावरण मन्त्रालयले हसदेव क्षेत्रमा थप खानी उत्खनन गर्न उप्रान्त अनुमति नदिने आश्वासन दिएको थियो । तर त्यस्तो आश्वासन दिएपछि पनि काम जारी राखियो । फर्जी गाउँ सभाका नाममा जग्गा अधिग्रहणको काम अघि बढाइयो ।
आन्दोलन जारी नै रहँदा सन् २०१५ मा कांग्रेस नेता राहुल गान्धी समेत हरदेव अरण्य क्षेत्रमा पुगे र आदिवासीहरूले गरिरहेको संघर्षलाई समर्थन गरे । त्यतिखेर छत्तीसगढ राज्यमा रमन सिंह नेतृत्वमा सरकार थियो । त्यतिखेर भूपेश बघेल प्रदेश कांग्रेस कमिटीका अध्यक्ष थिए ।
आन्दोलनमा सहभागी मंगल सिंह भन्छन्, ‘सन् २०१८ को विधानसभा चुनाव कांग्रेसले जितेपछि आदिवासीहरूलाई राहुल गान्धीले वाचा पूरा गर्छन् भन्ने लागेको थियो । नयाँ सरकारले कोइला उत्खनन् बन्द गर्ला भन्ने आश थियो । तर कांग्रेस नेतृत्वको राज्य सरकारले नै कोइलाखानी परियोजनाको दोस्रो चरण अघि बढाउन अनुमति दियो ।’
अस्तित्वको लडाईं
कोइलाखानी उत्खनन् भइरहेको इलाका हसदेव अरण्यको बीचमा पर्छ । यो क्षेत्र रामवन गमनपथको नामले प्रख्यात छ । कोइला उत्खनन क्षेत्र विस्तार हुँदै जाँदा रामले यात्रा गरेको क्षेत्र भन्दै त्यहाँ पुग्ने गरेको आस्तिकहरू चिन्तित छन् ।
आसपासका क्षेत्रमा उत्खनन तीव्र भइरहँदा रामगढी पहाडमा पनि निकै क्षति पुगेको छ । हसदेव अरण्य जंगल बचाउन अहिले रस्साकस्सी जारी छ । संघर्ष लम्बिइरहँदा पनि संपतीया बाईजस्ता आदिवासीको हौसला कम भएको छैन ।
सो लडाईं अब अस्तित्वको लडाईं बन्दैछ । आदिवासीहरूलाई के लागेको छ भने यदि उनीहरूले जिते भनेमात्रै उनीहरूको जंगल र जमिन बच्नेछ । हारे भने त्यो सुन्दर आदिवासी क्षेत्र पूराका पूरा कोइलाको थुप्रो र खानीको खाडमा बदलिनेछ ।
(बीबीसी सम्वाददाता सलमान राबीले हसदेव अरण्य पुगेर गरेको ग्राउण्ड रिपोर्ट अनुवाद र सम्पादन गरी प्रकाशित ।

पीकेकेको बिघटन

छत्तीसगढ–तेलंगाना सीमामा माओवादी बिद्रोही बिरुद्धको अभियान स्थगित

भारतको 'अपरेशन सिन्दूर' पछि पाकिस्तानी प्रतिक्रिया, ट्रम्पद्वारा आलोचना

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

प्रतिक्रिया