हमासको अप्रत्याशित आक्रमण: इजरायलको अपराजेयताको मिथकमाथि प्रश्नचिन्ह

असोज २० गते प्यालेस्टाइनी समुह हमासको सैनिक शाखा अल कासिम ब्रिगेडले गाजापट्टिबाट इजरायलमाथि अप्रत्याशित आक्रमण गरेको छ। यो आक्रमणलाई हमासले 'अल अक्सा अप्रेसन' भनेको छ। यो नामको पछाडि ठूलो प्रतीकात्मक महत्त्व रहेको छ।  जेरुसलममा रहेको अल अक्सा मस्जिद इस्लाम धर्मावलम्बीहरुका लागि एकदमै पवित्रस्थल हो। यहुदीहरुले पनि त्यसलाई आफ्नो पवित्रस्थल मान्छन्।  यो मस्जिदलाई लिएर इजरायली र प्यालेस्टाइनीहरु बीच बेलाबेला झडपहरु भैरहन्छन्।

हमासले इजरायलमाथि गरेको यो आक्रमणमा अरु प्यालेस्टाइनी समूह ईस्लामिक जिहाद र मार्क्सवादी समूहहरु  पिएफएलपी र डिएफएलपीहरु पनि सामेल छन्।

अहिले प्यालेस्टाइनीहरुले इजरायल माथि आक्रमण सुरु गरेको गाजापट्टि इजरायलको दक्षिण दिशामा रहेको सानो इलाका हो। जम्मा ३६५ वर्ग किलोमिटर क्षेत्रफ़ल रहेको गाजापट्टिमा करिब २० लाख मानिसहरु बस्छन्। यो ठाउँ विश्वकै सबै भन्दा घनाबस्ती मानिन्छ।  त्यहाँ बसोबास गर्नेहरु मध्ये अधिकांश मानिस इजरायल स्थापना भएको समय १९४८ मा भएको युद्धका शरणार्थीहरु हुन्। प्यालेस्टाइनमा २००६ मा भएको संसदीय चुनाव हमासले जितेर सरकार बनाएदेखि इजरायलले गाजापट्टिमा नाकाबन्दी लगाएको छ।

सो क्षेत्रलाई इजरायलले तारबार र पर्खाल लगाएर पुरै जेल जस्तो बनाएर राखेको थियो।  इजरायलले गाजापट्टिलाई जमिन, आकास र जल तीनैतर्फबाट नाकाबन्दी लगाएको छ। इजराइलको यो कदममा इजिप्टले पनि साथ दिएको छ। इजिप्टले पनि गाजापट्टि तिरको आफ्नो सिमाना बन्द गरेको छ। इजरायलले १७ वर्षदेखि निरन्तर लगाएको नाकाबन्दीको कारण गाजापट्टि खुला जेल जस्तो बनेको छ। त्यो ठाउँमा रहेको अभाव, बेरोजगारी, गरिबी र आफ्नै थातथलोमा शरणार्थी बन्नुपरेको अपमानका कारण गाजापट्टिका बासिन्दामा इजरायलविरुद्ध चरम घृणा र विद्रोहको आगो बलिरहेको छ। जसको प्रस्फुटन बेला बेलामा हुने गरेको छ।

Picture: cdn1.byjus.com

आज हमासले इजरायल माथि गरेको जुन आक्रमण गरेको छ, त्यसको कल्पना समेत इजरायलले गर्न सकेको थिएन। यो आक्रमणको शैली र स्वरुप पूर्ण रुपमा अप्रत्याशित थियो। हमासका लडाकुहरुले गाजापट्टिबाट काडेतारलाई काट्दै, ग्लाईडर प्लेनबाट उडेर र समुन्द्रबाट डुंगामा चढेर इजरायली बस्तीहरुमा पसेका थिए। साथै हमासले गरेको दावीअनुसार उसले इजरायलमाथि २० मिनेटको छोटो समयमै करिव ५००० वटा रकेटहरु प्रहार गरेको थियो। हमासका लडाकुहरुले केही इजरायली सैनिक अखडा र चेकपोस्टहरु समेत कब्जा गरेका छन्। यो आक्रमणका क्रममा हमासले इजरायली सेनाका एकजना ब्रिगेडियर जनरल निमरोड एलोनीलाई समेत अरु दर्जनौं सैनिक र गैरसैनिकहरुलाई बन्दी बनाएका छन्। हमासले इजरायली सेनाका कयौ ट्यांक र बख्तरबन्द गाडीहरु समेत कब्जा गरेर ध्वस्त पारेको छ।  यो आक्रमणमा करिब सय जना भन्दा बढी इजरायलीहरुको मृत्यु भएको खबर प्रकाशमा आएको छ।

यहुदीहरुको प्रमुख चाडको समयमा एकाबिहानै गरिएको यो आक्रमणका कारण इजरायल पुरै हतप्रभ बनेको थियो। केही घण्टासम्म उसले कुनै जवाफी कारवाही समेत गर्न सकेको थिएन। इजरायलको जासुसी संयन्त्र विश्वकै सबै भन्दा सबल मानिन्छ। इजरायलको गुप्तचर निकाय मोसादले घमण्ड गर्दै दावी गर्ने गर्थ्यो–प्यालेस्टाइनीहरुले गाजापट्टिमा एउटा रकेट राखे पनि उसले पत्ता लगाउन सक्छ भनेर। तर हमासले आज गरेको यस्तो जटिल र बहुआयमिक आक्रमणको भनक समेत इजरायलले लगाउन सकेन। यो इजरायलको ठुलो असफलता हो ।

इजरायलले हमास विरुद्ध युद्धको घोषणा गर्दै 'फलामे तरवार' नामक अप्रेसन सुरु गरेको छ। उसले गाजा पट्टिमा भारी बमबारी गर्न थालेको छ। यो बमबारीमा अहिले सम्म २०० जना प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ। गाजापट्टिमाथि इजरायली आक्रमणको रफ्तार र प्यालिस्टायनीहरुको हताहतीको संख्या अझै बढ्ने वाला छ।

केहि दशक यता अमेरिकाको साथ र सहयोग पाएर इजरायल मध्यपूर्वको सबैभन्दा शक्तिशाली देश बनेको थियो। उसले प्यालेस्टाइनीहरु माथि निरन्तर दमन गरिरहेको थियो।  साथै लेबनान र सिरियाको भूभागहरु समेत कब्जा गरेर बसेको थियो। अमेरिकाको बलियो धाप पाएकै कारण इजरायलको लागि अरब देशहरु माथि आक्रमण गर्नु बिल्कुल केटाकेटीको खेल जस्तै सामान्य कुरा बनेको थियो। इजरायल करिब करिब अपराजेय शक्ति जस्तै बनेको थियो । तर आज हमासले इजरायलमाथि गुरिल्ला शैलीको आक्रमण गरेर उसको अपराजय र अजेयताको भ्रम तोडिदिएको छ।

आज प्यालिस्टायनीहरुले इजरायलमाथि गरेको आक्रमणको एउटा प्रतीकात्मक महत्त्व छ। आज भन्दा ठीक पचास वर्ष अगाडि यहुदीहरुको ठुलो चाड योम  किपुरको समयमा इजिप्टले इजरायल माथि यस्तै अप्रत्यासित आक्रमण गरेको थियो। यो युद्धमा इजरायल झन्डै पराजित भएको थियो। सुरुको आक्रमणको गति र योजनालाई कायम राख्न नसक्दा इजिप्ट पराजित भएको थियो। त्यस पछि अमेरिकाले इजिप्टसंग इजरायलको शान्ति सम्झौता गराएर इजरायललाई ठूलो युद्धको जोखिमबाट जोगाएको थियो। त्यसयता पहिलो पटक इजरायलले पहिलो पटक यो स्तरको आक्रमणको सामान गर्नु परेको छ।

इजरायलमाथिको  प्यालेस्टाइनी समुह हमासको आक्रमणको अमेरिका र युरोपेली देशहरुले कडा शब्दमा निन्दा गरेका छन्। अमेरिकाले इजरायलको लागि ठूलो मात्रामा सैनिक र आर्थिक सहायताको घोषणा गरेको छ। उता अरब देशहरुले यो युद्धको लागि इजरायललाई जिम्मेवार ठहर गरेका छन्। इरानले हमासको यो आक्रमणलाई समर्थन गरेको छ। त्यस्तै लेबनानको शक्तिशाली लडाकु समुह हेजबुल्लाले हमासलाई समर्थन गरेको छ। यो लडाइँमा दुवै पक्ष बीच मध्यस्थता गर्न खोजिरहेको इजिप्टले इजरायललाई सतर्क गराउदै भनेको छ कि उसले गाजापट्टिमा आफ्ना स्थल सैनिकहरु पठाएर कब्जा गर्न खोजेमा लेबनानी लडाकु समुह हेजबुल्लाले पनि इजरायलमाथि आक्रमण गर्न सक्छ।

हमासले आज इजरायल माथि आक्रमण गरेर जुन युद्ध सुरु गर्‍यो, त्यसको परिणामबारे अहिल्यै यसै भन्न सकिन्न । त्यसले जे जस्तो परिणाम ल्याए पनि यसले इजरायलको प्रतिष्ठा र अपराजेयताको मिथक माथि ठूलो प्रश्न खडा गरिदिएको छ। अरब जगतमा जसरी १९७३ को योम किपुर युद्धलाई हेरिन्थियो त्यसरी नै आजको हमासको आक्रमणलाई लिइनेछ। आज शुरु भएको इजरायल प्यालेस्टाइनी युद्धमा लेबनानी समुह हेजबुल्लाह समेत सहभागी भएमा इजरायलले ठुलो नोक्सानी व्योहोर्नु पर्न सक्छ।  त्यसमाथि थप, अहिलेको जटील भूराजनीतिक संवेदनशीलतामा यस युद्धले कस्तो मोड लेला ? यसै भन्न सकिने अवस्था छैन ।

Main photo: www.usatoday.com