नेपालको सामाजिक-राजनीतिक चेतनालाई धेरै हदसम्म भू-राजनीतिक संवेदनशीलताले प्रभावित बनाउने गरेको छ
ईश्वर पोखरेल
नेकपा (एमाले)का प्रभावशाली नेताहरुमध्येका एक हुन् ईश्वर पोखरेल । पदीय रुपमा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले पार्टीका नीति तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष समेतको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रस्तुत अन्तर्वार्ता पोखरेलसँग दायित्वबोधले लिएको लिखित अन्तर्वार्ता हो । प्रश्नहरु तत्कालीन राजनीतिक परिदृश्यहरुमा कम, सैद्धान्तिक एवं वैचारिक सवालहरुमा बढीभन्दा बढी केन्द्रीत गर्ने हाम्रो प्रयत्न रहेको छ । लिखित अन्तर्वार्ता भएका कारण कतिपय जवाफहरुका सन्दर्भमा विषय स्पष्टताका लागि अनिवार्य रुपमा सोधिनुपर्ने वा सोधिन सकिने पूरक प्रश्नहरु सोध्न सम्भव भएन । तथापि, प्रस्तुत अन्तर्वार्ताले समसामयिक सवालहरुमा मात्रै हैन, केही गहन सैद्धान्तिक प्रश्नहरुमा समेत एमालेले अङ्गीकार गरेका नीति तथा सिद्धान्तहरुबारे प्रष्ट हुन सहयोग पुग्ने हामीले ठानेका छौ ।
दायित्वबोध
मुलुकमा पञ्चायत ढलेको ३३ वर्ष र गणतन्त्र स्थापित भएको १७ वर्षजति भयो । यो कालखण्ड देखे–भोगेका बहुसंख्यक जनतामा यथास्थितिप्रति ठूलो वितृष्णा पैदा भएको देखिन्छ । जनताले अपेक्षा गरेको जवाफदेहिता, सुशासन, आर्थिक उन्नति र राजनीतिक स्थायित्व अझै सुदुर भविष्यकै कुराजस्तो बन्न पुगेको छ । यो स्थिति आउनुका मूल कारणहरु के हुन् ? नेपालका राजनीतिक दलहरुले यो ‘असफलता’को जिम्मा लिनुपर्छ कि पर्दैन ?
नेपाली जनता सधैँ परिवर्तनका पक्षमा रहँदै आएका छन् । परिवर्तनको त्यो चाहनालाई प्रकट गर्दा जनताले आफूलाई विभिन्न भूमिकामा उभ्याउँदै आएका पनि छन् । विगतमा निर्दलीय र निरंकुश शासन व्यवस्था ढालेर बहुदलीय संसदीय व्यवस्था स्थापना गर्ने लडाइँमा वा गणतन्त्र प्राप्त गर्ने जंगी आन्दोलनमा नेपाली जनताले त्यही भूमिकामा आफूलाई उभ्याएका हुन् । त्यसरी जनताले व्यवस्था परिवर्तनमा लागिरहँदा आफ्नो अवस्थामा परिवर्तन हुने आशा र विश्वास गरेका थिए । तर त्यसअनुसार अहिले आफ्नो अवस्थामा परिवर्तन हुन नसकिरहेको उनीहरूलाई लागेको छ (र निकै हदसम्म त्यस्तै देखिन्छ पनि ) ।
०००
अहिलेको यो स्थिति आउनुमा (वा रहनुमा) नेपालका राजनीतिक दलहरूको “असफलता” लाई मात्र देख्नुहुन्न । विगतका परिवर्तनमा जस्तो शक्ति सन्तुलनको सिमा थियो, परिवर्तनका उद्देश्यमा जुन किसिमका अस्पष्टता र शक्तिहरूको सहभागिता थियो, त्यसैको परिणामस्वरूप अहिलेको परिस्थिति देखिएको हो । अहिलेको परिणामका लागि त्यो पृष्ठभूमिले काम गरेको छ ।
०००
खासगरी शासन सञ्चालनका सन्दर्भमा राजनीतिक स्थायित्वले अझै पनि ठोस रूप लिन सकेन । यसैकारणले, शासन सञ्चालनमा जवाफदेहिता, सुशासन र आर्थिक उन्नति हुनुपर्ने जति हुन सकेन । जनताले आफ्नो जीवन स्थितिमा परिवर्तनको कुरा गर्दा शासन सञ्चालनमा जवाफदेहिता देखियोस् भन्ने चाहेका हुन्छन् र सुशासनको प्रत्याभूति होस् भन्ने चाहेका हुन्छन्-यिनै कुराको जगमा मात्र आर्थिक उन्नति सम्भव देख्छन् जनताले । तर अहिलेको यो स्थिति आउनुमा (वा रहनुमा) नेपालका राजनीतिक दलहरूको “असफलता” लाई मात्र देख्नुहुन्न । विगतका परिवर्तनमा जस्तो शक्ति सन्तुलनको सिमा थियो, परिवर्तनका उद्देश्यमा जुन किसिमका अस्पष्टता र शक्तिहरूको सहभागिता थियो, त्यसैको परिणामस्वरूप अहिलेको परिस्थिति देखिएको हो । अहिलेको परिणामका लागि त्यो पृष्ठभूमिले काम गरेको छ । यो विशिष्ट अवस्थामा रहेर परिवर्तनलाई सकारात्मक दिशातर्फ अघि बढाउन मुलुकलाई नेतृत्व गर्ने राजनीतिक पार्टीहरूले भूमिका खेल्न सक्नुपर्छ । विभिन्न वर्गीय स्वार्थलाई प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरूका बीच भएको सहकार्यका कारण प्राप्त भएको अहिलेको उपलब्धि वा परिवर्तनलाई टिकाउन र सकारात्मक दिशामा अगाडि बढाउन शासन संचालनमा प्रतिस्पर्धा गर्ने र त्यहाँ जनताको समर्थनमा आफ्नो श्रेष्ठता स्थापित गर्ने कुरामा लाग्नुपर्ने आवश्यकता छ । जुन काम अत्यन्त चुनौतीपूर्ण पनि छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।
आम जनतामा समकालीन राजनीतिमा प्रमुख हैसियत राख्ने दलहरुप्रति व्यापक वितृष्णा बढ्दै गइरहेको कुराले तिनीहरु राष्ट्रिय राजनीतिको मूलधारबाट विस्थापित हुने खतरा बढ्न थालेको भनाइसँग कत्तिको सहमत हुनुहुन्छ ? नेपाली जनताको एउटा ठूलो हिस्साले मूलधारका राजनीतिक दलहरुलाई अविश्वास गर्न थालेको कुराको दृष्टान्तका रुपमा पछिल्ला निर्वाचनमार्फत् राष्ट्रिय राजनीतिमा नयाँ दल–अनुहारहरु बलियोसँग उदाउनुलाई लिने गरिन्छ । तपाईंको विचारमा यो स्थिति किन र कसरी पैदा भयो ? यो स्थितिलाई सच्याउन राजनीतिक दलहरुले के गर्न जरुरी छ ?
मूलधारका राजनीतिक पार्टीहरू विस्थापित हुँदैछन् भन्ने भनाइसित सहमत हुन सकिँदैन । तर एउटा कुरा साँचो हो-परिस्थितमा आइरहेको परिवर्तनअनुसार मूलधारका भनिएका राजनीतिक पार्टीहरूले आफूलाई राम्ररी ‘अपडेटेड’ गर्न सकेको देखिदैन । ‘अपडेटेड’ गर्नु वा हुनु भनेको नीतिमा, सांगठनिक संरचनामा, कार्यक्रममा, योजनामा र आचरणमा ‘अपडेटेड’ हुनु हो । यसरी ‘अपडेटेड’ हुन नसक्ता ‘आउटडेटेड’ होइन्छ नै । दर्शन, सिद्धान्त, प्रणाली, पार्टी, नेता, संस्था आदि सबैका हकमा यो कुरा लागु हुन्छ नै । कि त ‘अपडेटेड’ होऊ, होइन भने ‘आउटडेटेड’ हुन अभिशप्त हुन्छौ, हुन्छौ ! जहाँसम्म नयाँ राजनीतिक दलहरूको उदयको कुरा छ- बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । सबैले प्रतिस्पर्धामा योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता हासिल गर्ने अवसर पाउनैपर्छ । तर हाम्रो जस्तो भूराजनीतिक संवेदनशीलता र अर्थ राजनीतिको विशेष अवस्था भएको मुलुकमा तत्काल देखिएका विकृति विसंगतिका विरूद्धको असन्तुष्टि वा ‘ पपुलिज्म’ लाई केन्द्रमा राखेर गरिने गतिविधिले राजनीतिको दीर्घजीवन हुनसक्तैन । त्यसैले, अहिले राजनीतिमा देखापरेका नयाँ नयाँ प्रवृत्ति नेतृत्वदायी स्थानमा बसेकाहरूले आफूहरूलाई ‘अपडेटेड’ गर्न नसक्नाका कारणले र प्रतिस्पर्धात्मक राजनीतिमा स्वभाविक रूपमा देखापर्ने परिघटनाका रूपमा प्रकट भएका विषय हुन् भनेर बुझ्नुपर्छ । राजनीतिक दलहरूले वा नेतृत्वले आफूलाई ‘अपडेटेड’ गर्दै प्रतिस्पर्धाका लागि श्रेष्ठ बनाइरहने प्रयत्न गरिरहनुपर्छ । राजनीतिक दलहरूले जनताको सेवा र उनीहरूका बीचमा आफूलाई सकृय बनाएर मात्र यसो गर्न सक्छन् । र, यसरी मात्र आइरहने चुनौतीहरूसित जुध्न र जित्न सकिन्छ ।
मुलुकमा एकातिर पञ्चायती निरंकुशता भोगेको पुस्ता विद्यमान छ भने अर्कोतिर पञ्चायत ढलिसकेपछि जन्म भएका पुस्ता पनि छन् । अझ गणतन्त्रपछिका नयाँ पुस्ता पनि तयार हुँदैछन् । पञ्चायत देखे–भोगेको पुस्ताहरुले गणतन्त्रका शासकहरुमा पञ्चायती शासकहरुकै काँचोवायु देख्छन् भने पछिल्ला पुस्तालाई पञ्चायतविरुद्धको संघर्षको गौरवगाथाबारे कुनै चासो, चिन्ता र मतलब छैन, उनीहरु तत्काल अनुकूल परिणामको मात्रै अपेक्षा गर्छन् । वर्तमान शासन प्रणाली यी दुवै पुस्ताका अपेक्षामा 'असफल' र 'बदनाम' साबित हुँदै गइरहेको देखिन्छ । यो स्थितिलाई सच्याउन र सम्बोधन गर्न के गरिनुपर्छ भन्ने तपाईंलाई लाग्छ ?
अभ्यासका क्रममा देखिएका यी दुबै प्रवृत्ति वा चरित्रले आफूहरूलाई परिपक्व बनाउँदै अगाडि बढाउन सक्नुपर्छ । आन्दोलन र परिवर्तनको इतिहास नबुझेकाहरू-बुझ्न नचाहनेहरू वा त्यसलाई अवमूल्यन गर्नेहरू र विकसित परिस्थितिमा आफूहरूलाई ‘ अपडेटेड’ गर्न नसक्नेहरू–यथास्थितिको पक्षपोषण गर्नेहरू-को भविष्य सुरक्षित हुन सक्तैन ।
नेपाली समाजको एउटा गज्जबको चरित्र के देखिन्छ भने यहाँका बहुसंख्यक जनता वामपन्थी समर्थक रहँदै आएका छन् । तिनले वामपन्थी शक्तिलाई निक्कै राम्ररी पत्याएको तथा यतिबेलासम्म निर्वाचित गर्दै आइरहेको पनि देखिन्छ । तर २०४७ सालयता गैरवामपन्थी शक्तिनै बढीजसो नेपाली राजनीतिक शासनसत्तामा आरुढ हुँदै आइरहेको देखिन्छ । आमजनताको बलियो साथ समर्थन हुँदा हुँदै पनि नेपालका वामपन्थी शक्तिहरुको हातमा मूलतः शासनसत्ताको तालाचाबी आउन नसक्नुको अन्तर्य के हो ? यो स्थितिलाई हामीले कसरी लिने, कसरी बुझ्ने ? अनि यसलाई बदल्न के गरिनु जरुरी छ ?
नेपालको सामाजिक- राजनीतिक चेतनालाई धेरै हदसम्म भू-राजनीतिक संवेदनशीलले प्रभावित बनाउने गरेको छ । शक्ति आर्जन गर्न अथवा निर्णायक शक्तिमा परिणत हुन त्यसलाई सचेतनतापूर्वक संगठित बनाउनु पनि जरूरी छ । व्यवस्थापकीय कुशलता र योग्यता प्रदर्शित गर्दै आफ्नो शक्तिलाई परिचालन गर्नु त्यत्तिकै जरूरी छ । भावनामा प्रकट हुने वा देखिने कुरालाई चेतनामा बदल्नु आवश्यक छ, स्वरूपमा देखिएका कुरालाई सारमा बुझ्नुपर्ने आवश्यकता छ, सतहमा देखिएका बिषयहरूलाई गहिराइमा बुझ्नुपर्ने आवश्यकता पर्छ, क्रान्ति वा परिवर्तनका कुरालाई धरातलीय यथार्थतामा बुझ्नु आवश्यक छ अर्थात् ‘खुट्टाका औंलाले ढुंगा छाम्दैछाम्दै खोलो तर्न सिक्नुपर्छ‘ भन्ने कुरालाई व्यवहारमै आत्मसात गर्न सक्नुपर्छ ।
केही समयअघि नेपालमा समाजवादी मोर्चाको गठन भयो । नेकपा माओवादी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष रुचि र पहलमा गठन भएको उक्त समाजवादी मोर्चामा एमाले भने अटाउन सकेन । तपाईंको पार्टीले उक्त मोर्चा गठनको आवश्यकता उपयोगिता र औचित्यलाई कसरी हेरेको छ ? के भविष्यमा एमालेसमेत समाहित भएको त्यस्तो वृहत्तर मोर्चा निर्माण गर्न सम्भव छ, जसले राष्ट्रिय राजनीतिमा समाजवादी नीति–कार्यक्रमहरुका एजेण्डालाई सशक्त ढङ्गले अगाडि बढाउन तथा पैरवी गर्न सकोस् ?
पुष्पकमल दाहाल ’प्रचण्ड’ राजनीतिमा क्रमभंग गर्दै छलांग लगाउन पल्कदै आएका व्यक्ति हुन् । उनका यस्ता काममा ‘निरन्तरता र सुसम्वद्धता (Consistency & Coherency ) हुँदैन-देखिदैन । संगतिपूर्ण पनि देखिदैन । आज नेकपा ( एमाले) लाई मुख्य शत्रु मानेर त्यसलाई सिध्याउने योजनाका साथ कथित ‘कम्युनिष्ट वा वामपन्थीहरू’ को नाममा प्रचण्ड नै अगुवा बनेर यस किसिमको वितण्डा देखाइरहेका छन् । वामपन्थीहरूको सरकार ढालेर दक्षिणपन्थी शक्तिलाई झक्झक्याइ-झक्झक्याइ शासन सत्तामा पुर्याउनेहरू कसरी वामपन्थी हुन सक्छन्-उनीहरू दक्षिणपन्थीहरूका सहयोगी वा मतियार हुन पुगेका छन् । उनीहरूकै कारणले मुलुकको देशभक्त राष्ट्रिय शक्ति कमजोर हुन पुगेको छ ।
०००
आज नेकपा ( एमाले) लाई मुख्य शत्रु मानेर त्यसलाई सिध्याउने योजनाका साथ कथित ‘कम्युनिष्ट वा वामपन्थीहरू’ को नाममा प्रचण्ड नै अगुवा बनेर यस किसिमको वितण्डा देखाइरहेका छन् । वामपन्थीहरूको सरकार ढालेर दक्षिणपन्थी शक्तिलाई झक्झक्याइ-झक्झक्याइ शासन सत्तामा पुर्याउनेहरू कसरी वामपन्थी हुन सक्छन्-उनीहरू दक्षिणपन्थीहरूका सहयोगी वा मतियार हुन पुगेका छन् ।
०००
त्यसकारणले यतिवेला निरपेक्ष ढंगले तिनैसित मिल्ने, कथित ‘वामपन्थीहरू’ लाई शक्तिशाली बनाउने कुरा कोरा कल्पना मात्र हुन पुग्छ । त्यसैकारणले देशलाई माया गर्ने, परिवर्तन चाहने राष्ट्रिय शक्तिलाई सुदृढ् बनाउनुपर्ने आवश्यकता छ । यसका लागि नेकपा (एमाले) ले ‘न्युक्लियस’ को भूमिका पूरा गरिरहेको छ । यो अभियानलाई दरो बनाउनु अहिलेको आवश्यकता हो । यतिवेला ‘वाम’ ध्रुवीकरण होइन, बैचारिक ध्रुवीकरणका साथ-राष्ट्रिय शक्तिलाई सुदृढ बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता छ ।
नेपालमा अहिले अभ्यास भइरहेको राजनीतिक प्रणाली कस्तो हो ? यसको स्वरुप र ढाँचाबारे तपाईंको बुझाइ के हो ? के यसले जनवादको चरण पार गरेर समाजवादको यात्रामा हिँडिरहेको छ ?
अहिले नेपालमा हुँदैगरेको अभ्यासलाई संसदीय लोकतान्त्रिक प्रणाली भन्ने र बुझ्ने गरिएको छ । तर राजाले नेतृत्व गरेको निरंकुश र निर्दलीय शासन प्रणाली अन्त्य गरी अहिलेको परिवर्तन ल्याउन सर्वहारा श्रमजीवी वर्गलाई प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीदेखि उदारपूँजीपति वर्गलाई प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस समेतको सहकार्यमा संयुक्त आन्दोलनबाट अहिलेको शासन प्रणाली कायम भएको हो । अहिलेको यो परिवर्तनपछि बनेको संविधानमा समेत यो सहकार्य कायम छ । त्यही स्पिरिटमा नयाँ संविधान बनेको हो । यसको अर्थ दुनियामा चल्दै आएको अहिलेसम्मको संसदीय लोकतान्त्रिक प्रणालीको हुबहू नक्कल पनि होइन-अहिले नेपालमा अभ्यास गरिएको राजनीतिक प्रणाली ।
०००
वामपन्थीहरू यो प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सफल हुँदा समाजवादको आधार निर्माण गर्न सकिन्छ । तर उदार पूँजीपति वर्गले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न पुगेको खण्डमा प्राप्त भएको राजनीतिक परिवर्तन समाप्त हुन पुग्छ ।
०००
त्यसैले यसमा केही नयाँ बिशेषता जोडिएका पनि छन् । लोककल्याणकारी र समाजवाद उन्मुख व्यवस्थाको रूपमा उल्लेख गर्दै मुलुकलाई त्यस दिशामा अगाडि बढाउने संकल्प समेत गरिएको छ । यही संकल्पमा आधारित भएर नीति, कार्यक्रम, योजना र गतिविधि अगाडि बढाउनुपर्ने चुनौतीपूर्ण अभिभारा प्रगतिशील राजनीतिक शक्तिका अगाडि रहेको छ । अहिलेको राजनीतिक परिवर्तनलाई आर्थिक अवस्था परिवर्तनको निम्ति उपयोग गर्दै अगाडि बढ्न सक्ता मात्र समाजवादको आधार निर्माण गर्न सकिन्छ । सहकार्य गरेर परिवर्तन ल्याउने शक्तिहरूका बीचमा राज्य संचालनमा प्रतिस्पर्धा रहेको छ । वामपन्थीहरू यो प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सफल हुँदा समाजवादको आधार निर्माण गर्न सकिन्छ । तर उदार पूँजीपति वर्गले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न पुगेको खण्डमा प्राप्त भएको राजनीतिक परिवर्तन समाप्त हुन पुग्छ । यसकारण अहिलेको राजनीतिक प्रणालीसित गाँसिएको यो जटीलता र विशेषतालाई नेपालमा राजनीतिक परिवर्तन चाहने र यसप्रति रूची राख्नेहरू सबैले बुझ्नुपर्छ ।
नेकपा एमालेको संगठनात्मक ढाँचाको मूल सैद्धान्तिक आधार के हो ?
नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्पष्ट राजनीतिक विचार र श्रृंखलावद्ध संगठनात्मक प्रणाली भएको राजनीतिक पार्टी हो । गौरवशाली इतिहास भएको, भविष्यको सुस्पष्ट मार्गचित्र बोकेको र वर्तमानका लागि ठोस कार्यक्रम तथा संगठनात्मक सामर्थ्य भएको पार्टी हो-नेकपा (एमाले) । जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तबाट निर्देशित र सञ्चालित पार्टी हो नेकपा (एमाले) । विचार निर्माण र निर्णय प्रकृयामा पूर्ण जनवाद तर औपचारिक निर्णयपश्चात त्यसको पालनामा केन्द्रीयता-यही मूल मान्यताबाट एमालेको संगठनात्मक सिद्धान्त निर्देशित छ । यसलाई अभ्यासका क्रममा थप परिमार्जन र विकसित गर्दै अगाडि बढ्नु आवश्यक छ भन्ने कुरा नेकपा (एमाले) ले बुझेको छ ।
नेकपा एमालेले 'जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण'लाई आफ्नो कार्यदिशा बनाएको छ । के यसको अर्थ समाजवाद निर्माणसम्बन्धी मार्क्सवादका स्थापित मान्यताहरु अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पुरानो (outdated) भए भन्ने तपाईंहरुको बुझाइ हो ?
नेकपा ( एमाले) ले ‘जनताको बहुदलीय जनवाद’ लाई कार्यनीतिक अभ्यासहरूमा, कार्यक्रमिक श्रृंखलाहरूमा, निर्देशित हुने सिद्धान्तमा ‘मार्गदर्शक विचार ‘ का रूपमा स्वीकार गरेको छ । नेपालको विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचारका रूपमा एमालेले यसलाई स्वीकार गरेको छ । एमालेको यो निष्कर्ष सुनेर कतिपय ‘मार्क्सवादी सिद्धान्तकारहरू’ लाई अपच हुनसक्छ वा स्वीकार्य नहुन सक्छ । ‘जबज’ लाई यस रूपमा स्वीकार गरिरहँदा मूलत: तीनटा आधारमा उभिएर नेकपा (एमाले) ले यसको महत्वलाई बुझेको हो, यसको औचित्यलाई स्वीकार गरेको हो र यसको अपरिहार्यतालाई बोध गरेको हो ।
पहिलो, नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरूले प्रारम्भदेखि लिदै आएका सकारात्मक विचारहरूको उन्नत निष्कर्ष हो ‘जबज’ । अर्थात्, २००६ साल बैशाख १२ गते प्रकाशित भएको नेकपाको ‘पहिलो पर्चा’ देखि यता नेपाल कम्युनिष्ट पार्टीका नाममा सार्वजनिक हुँदै आएका विचार, अघि सारिएका मागहरू, गरिएका संघर्ष तथा अन्य गतिविधिहरू का आधारभूत पक्षहरू को जगमा उभिदै गर्दा विकसित भएको विचार हो ‘जबज’ । राणा शासन विरोधी संघर्ष, २००८ सालमा स्थानीय पालिकाहरूको निर्वाचनमा सहभागित, २००८ सालमा कम्युनिष्ट पार्टीमाथि नेपाली कांग्रेस नेतृत्वको सरकारले लगाएको प्रतिवन्ध का विरूद्ध मोर्चाको आवरणमा गरिएका जंगी संघर्षहरू, २०१५ सालको पहिलो संसदीय निर्वाचनमा सहभागिता, संसदीय व्यवस्था विघटन गरी लादिएको निरंकुश र निर्दलीय व्यवस्थाविरोधी संघर्ष र ‘विघटित संसदको पुनर्स्थापना ‘ का लागि संघर्ष, कम्युनिष्ट पार्टी विभाजित र विश्रृंखलित बनेकै अवस्थामा पनि नेपालका कम्युनिष्टहरूको पंचायती निरंकुशताको विरोध गर्दै प्रजातन्त्रका लागि निरन्तर संघर्षमा सकृय सहभागीता, पंचायती व्यवस्थालाई अन्त्य गर्न पंचायतले नै अघि सारेको निर्वाचनलाई प्रयोग गर्दै जनताको विश्वासको मत प्राप्त गरेका जनप्रतिनिधिहरूद्वारा प्रजातन्त्रको पक्षमा जोडदार आवाज उठाइएको, २०४६ सालको ऐतिहासिक जनआन्दोलनको पूर्वसन्ध्यामा आयोजित तत्कालिन भूमिगत अवस्थामा कृयाशील सशक्त पार्टी-नेपाल कम्युनिष्ट पार्टी (मा-ले) – ले आफ्नो राष्ट्रिय महाधिवेशनमार्फत् ‘बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ को कार्यक्रम पारित । र पछि, २०४९ सालमा नेकपा (एमाले) ले आफ्नो महाधिवेशनबाट ‘ बहुदलीय जनवादी कार्यक्रम’ पारित । त्यसपछि, अनेक राष्ट्रिय, अन्तर्राष्ट्रिय मन्चहरूमा नेकपा (एमाले) ले यसलाई कार्यक्रम मात्र होइन, आफ्ना विचार र कामहरूलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा अघि सारेको छ ।
०००
कम्युनिष्टहरूले जनताबाट आवधिक रूपमा अनुमोदित भैरहनुपर्ने, यसका लागि उनीहरू जनतासित सधैँ जोडिइरहनुपर्ने, जनतासितको मित्रतालाई सधैँ अटूट बनाइरहनुपर्ने, एकपटक शासन सत्तामा पुगेपछि कम्युनिष्टहरूले ‘ खोपीको देउता’ भएर बस्न नहुने, घाम पानी सहेर सधैँ जनताको अभिन्न साथी बनेर रहनु पर्ने अपरिहार्य आवश्यकता हुन्छ ।
०००
दोश्रो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त भएका नकारात्मक शिक्षाहरू । किन एकपटक जनताको भारी समर्थनमा सत्तामा पुगेका कम्युनिष्टहरू केही समयपछि जनताको विरोधमा सत्ताच्यूत हुन पुग्छन् ? किन कम्युनिष्टहरूमा निरंकुशता तथा अधिनायकवादी विचार र व्यवहार हावी हुँदै जान्छन् ? किन कम्युनिष्टहरू जनताबाट अलग्गिदै- टाढिदै जान्छन् र तिरस्कृत समेत हुन पुग्छन् ? कम्युनिष्टहरूले जनताबाट आवधिक रूपमा अनुमोदित भैरहनुपर्ने, यसका लागि उनीहरू जनतासित सधैँ जोडिइरहनुपर्ने, जनतासितको मित्रतालाई सधैँ अटूट बनाइरहनुपर्ने, एकपटक शासन सत्तामा पुगेपछि कम्युनिष्टहरूले ‘ खोपीको देउता’ भएर बस्न नहुने, घाम पानी सहेर सधैँ जनताको अभिन्न साथी बनेर रहनु पर्ने अपरिहार्य आवश्यकता हुन्छ । यसो नगर्ने वा गर्न नसक्ने हुने वित्तिकै कम्युनिष्टहरू जनताबाट अलग्गिन पुग्छन् र उनीहरू र उनीहरूले लिएका विचारहरू निष्प्रभावी र तिरस्कृत हुन पुग्छन् । ‘जबज’ लाई एउटा सशक्त बिचारका रूपमा स्वीकार गरिरहँदा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट प्राप्त भएका यी अनुभवहरू महत्वपूर्ण आधार बनेका छन् ।
तेश्रो, दर्शन र सिद्धान्तद्वारा निर्देशित विचार हो-‘जबज’ । द्वन्द्व सर्वत्र छ । प्रकृतिमा, मानव समाज, राजनीतिक प्रणाली, विचारमा र पार्टीभित्र द्वन्द्व हुन्छ । यस्तो सार्वभौम र सर्वव्यापक रूपमा रहेको द्वन्दलाई बैधानिक अर्थात् विधिसम्मत तरिकाले प्रकट हुन दिने कि त्यसलाई रोकेर-नियन्त्रण गरेर विस्फोटको विन्दूमा पुग्न दिने ? द्वन्दलाई विधिसम्मत हिसावले प्रकट हुन दिनुपर्छ । यही सार बोकेको मान्यतामा अडिएर ‘जनताको बहुदलीय जनवाद’ लाई स्वीकार गरिएको हो । जनताका लागि अर्थात् जनताका पक्षमा, जनताबाट अनुमोदन भैरहनुपर्ने, जनताको पक्षमा योग्यता र क्षमता देखाएर श्रेष्ठ बन्नुपर्ने वा श्रेष्ठता स्थापित गर्नुपर्ने बिचार नै ‘जबज’ हो ।
यसरी, मार्क्सवादको आधारभूत मान्यतामा उभिएर, नेपालको विशिष्टताको जगमा, यहाँको ऐतिहासिक वास्तविकता र नेपाली जनताको चाहनाअनुरूप अर्थात्, नेपालको विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचारका रूपमा जनताको बहुदलीय जनवादलाई स्वीकार गरिएको हो ।
नेकपा एमालेले 'दक्षिपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गर्ने' नारालाई अघि सारेको पाइन्छ । एउटा कम्युनिष्ट पार्टीभित्र देखापर्ने दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता भनेको के हो ? तपाईंहरुले उक्त नारामा दिनुभएको जोड दियाइको अर्थ के यो पार्टीको अहिलेको मुख्य आन्तरिक समस्या बन्दै गइरहेको हो ?
‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं'- नेकपा (एमाले) को विधान महाधिवेशन र त्यस लगत्तै आयोजना गरिएको दशौं राष्ट्रिय महाधिवेशनले अघि सारेको मुख्य नारा यही थियो । यही नाराको सारमा केन्द्रीत रही देखापरेका चुनौतीहरूको सामना गर्दै एमाले पार्टीलाई नयाँ ढंगले निर्माण गर्न चाहेको हो । नाराको अघिल्लो अंशले कम्युनिष्ट पार्टी निर्माणको मूल सारलाई बोकेको छ भने दोश्रो अंशले राष्ट्र निर्माणका लागि मार्ग दर्शन गरेको छ ।
०००
निम्न ठोस अभिव्यक्ति वा प्रवृत्तिहरूले संगठनात्मक अराजकतालाई ठोस ढंगले व्यक्त गरिरहेका छन् भन्ने निष्कर्ष यतिबेला एमालेले निकालेको हो – ‘पार्टीभित्र अनन्त गुटबन्दी, तिक्तता र अराजकता सिर्जना गर्ने; वाद-प्रतिवाद-संवाद या एकता-संघर्ष र अझ उन्नतस्तरको एकताको बाटो होइन, एकता-संघर्ष र विभाजनको ध्वंसात्मक बाटो अबलम्वन गर्ने; व्यक्तिवाद, कुण्ठा र स्वार्थ; निर्वाचनमा असहयोग र अन्तरघात; आफ्ना असन्तुष्टिहरू सार्वजनिक रूपमा व्यक्त गर्ने र पार्टीका नीति एवं नेतृत्वप्रति नकारात्मक भाव फैलाउने; आदि ।
०००
कम्युनिष्ट आन्दोलनका महान गुरू एंगेल्सले आन्दोलनभित्र अवसरवाद कसरी देखापर्छ भन्ने कुरालाई उल्लेख गर्दै भनेका छन्-‘ महान लक्ष्यहरूलाई बिर्सनु, दैनन्दिनका क्षणिक स्वार्थहरूमा मुख्य ध्यान दिनु, भविष्यमा परिणाम जस्तोसुकै होस् मतलव नराख्नु र क्षणिक सफलताका लागि छिनाझपटी र मरिहत्ते गर्नु तथा वर्तमानका स्वार्थका लागि भविष्यको बलिदान गर्न तयार हुनु' आदि । नेपालको कम्युनिष्ट आन्दोलनको वर्तमान समयमा दक्षिणपन्थी अवसरवादलाई बुझ्नुपर्दा त्यसका निम्न ठोस अभिव्यक्तिहरूलाई बुझ्नुपर्छ भनेर किटान समेत गरेको छ- ‘उचाइमा पुगेको कम्युनिष्ट आन्दोलनलाई विभाजित गरेर पूँजीवादी शक्तिलाई हर्षित तुल्याउने, कम्युनिष्ट आन्दोलनलाई बुर्जुवा वर्गको सेवामा समर्पित गराउने, पार्टीबाट चुनाव लड्ने तर सेवा दलाल पूँजीवादको गर्ने, किनारामा पुगिसकेको नेपाली कांग्रेसलाई सत्तामा फर्काउने त्यसलाई बलियो बनाउने, दलाल पूँजीवादसित मिलेमतो गरेर श्रमजीवी वर्गको हितमा आघात पुर्याउने, भ्रष्ट आचरणका माध्यमबाट आन्दोलनप्रति बितृष्णा बढाउने ‘ आदि । निम्न ठोस अभिव्यक्ति वा प्रवृत्तिहरूले संगठनात्मक अराजकतालाई ठोस ढंगले व्यक्त गरिरहेका छन् भन्ने निष्कर्ष यतिबेला एमालेले निकालेको हो – ‘पार्टीभित्र अनन्त गुटबन्दी, तिक्तता र अराजकता सिर्जना गर्ने; वाद-प्रतिवाद-संवाद या एकता-संघर्ष र अझ उन्नतस्तरको एकताको बाटो होइन, एकता-संघर्ष र विभाजनको ध्वंसात्मक बाटो अबलम्वन गर्ने; व्यक्तिवाद, कुण्ठा र स्वार्थ; निर्वाचनमा असहयोग र अन्तरघात; आफ्ना असन्तुष्टिहरू सार्वजनिक रूपमा व्यक्त गर्ने र पार्टीका नीति एवं नेतृत्वप्रति नकारात्मक भाव फैलाउने; आदि । माथि उल्लेख गरिएका ठोस अभिव्यक्तिहरू अहिलेको अवस्थामा कम्युनिष्ट पार्टी निर्माणका लागि मुख्य समस्याका रूपमा रहेका छन् र राष्ट्र निर्माणका लागि पनि बाधक छन् । कम्युनिष्ट आन्दोलनभित्र खासमा कम्युनिष्ट आन्दोलनभित्रको मुख्य शक्तिका रूपमा रहेको नेकपा (एमाले) भित्र देखापरेका यिनै मुख्य समस्याहरू हुन् र तिनको समाधान गर्नु मुख्य अभिभारा हो भनेर चिन्हित गरेको हो । यी विषयमा केन्द्रीत रहेर मात्र अगाडि बढ्न सकिन्छ भन्ने नेकपा (एमाले) को निष्कर्ष हो ।
सामान्यतः के विश्वास गरिन्छ भने एउटा कम्युनिष्ट पार्टीको संगठन निर्माणको प्रक्रिया फलामे अनुशासनमा आधारित हुने गर्छ र त्यसको समग्र सञ्चालन जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा हुने गर्छ । के वर्तमान समयमा नेपालका कम्युनिष्ट पार्टीहरुको संगठन निर्माण र सञ्चालन त्यही आधारमा भइरहेका छन् ? के तिनीहरुको निर्माण र सञ्चालन प्रक्रिया एउटा बुर्जुवा पार्टीहरुभन्दा फरक, भिन्न र उन्नत रुपमा भइरहेको छ भनेर तपाईं दावी गर्न सक्नु हुन्छ ?
माथिनै उल्लेख गरियो- कम्युनिष्ट पार्टीले विचार निर्माण, संगठन निर्माण र राष्ट्र निर्माणका लागि आफू वरिपरिका समस्याहरूलाई कसरी चिन्हित गर्नुपर्छ र समाधानका लागि ठोस पहल के कसरी गर्नुपर्छ । यी विषयमा केन्द्रीत हुनसक्ता मात्र आजको अवस्थामा सही ढंगले अगाडि बढ्न सकिन्छ ।
जनवादी केन्द्रीयताको सिद्धान्तलाई एउटा कम्युनिष्ट पार्टी सञ्चालनको उच्चतम प्रजातान्त्रिक पद्दतिको रुपमा लिने र व्याख्या गर्ने गरिन्छ । तर पछिल्ला चरणहरुमा आएर संसारभरिकै कम्युनिष्ट पार्टीहरुमा जनवादी केन्द्रीयताको सिद्धान्तबाट जनवाद लोप भएको तथा केन्द्रीयता मात्रै कठोर रुपमा लागू गरिने गरेको आक्षेप लाग्ने गर्छ । एउटा कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रीयता सामुहिकताको अभ्यासको उच्चतम रुपमा हुनुपर्नेमा त्यो पार्टीभित्र मूल नेतृत्वको हैकम र बर्चस्व स्थापित गर्ने औजारमा परिणत हुँदै गएको देखिन्छ । खासगरी, मूल नेतृत्वको क्रियाकलापमाथि वैधानिक प्रश्न उठाउने समेतलाई थला पार्ने र राजनीतिक भविष्य समाप्त गरिदिने तथा कालान्तरमा पार्टीभित्र मूल नेतृत्वको कार्यशैलीमाथि प्रश्नै गर्न नसक्ने भक्तहरुको जमात उत्पादन गर्ने औजारको रुपमा जनवादी केन्द्रीयताको दुरुपयोग हुने गरेको पनि देखिन्छ । यसबारे तपाईं आफैंको अनुभव र भनाइ चाहिँ के छ ? अनि यो स्थितिलाई सुधार्न नेपालका कम्युनिष्ट पार्टीहरु तत्काल र तुरुन्तै के के गर्नु जरुरी छ ?
राजनीतिक पार्टीहरू खासगरी कम्युनिष्ट पार्टीहरूले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तबाट निर्देशित भएर आफ्नो संगठनात्मक जीवन संचालन हुने कुरा भन्ने गरेका छन् । यद्यपि, त्यसको प्रभावकारी र सही तरिकाबाट कार्यान्वयन हुन नसक्ता पार्टीहरूभित्र धेरै किसिमका समस्या देखापर्ने गरेका र कतिपयको त अस्तित्व समेत संकट परेका उदाहरणहरू पनि छन् । नीति निर्माणमा, निर्णयहरूमा सबैको सहभागिता र यसरी गरिएको निर्णय कार्यान्वयनमा भने सबैको प्रतिवद्धता र तत्परता-जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको मूल मर्म हो । तर निर्णय प्रकृयामा सबैको यथोचित सहभागिता नहुँदा गरिएका निर्णयहरूको कार्यान्वयनमा सुनिश्चितता नहुने खतरा रहन्छ । सबैको सहभागिता र सबैको स्वामित्व बोध हुन सकोस् भन्नका लागि हो । किनभने स्वामित्व बोध हुन सक्ता मात्रै ती कुराको प्रतिरक्षा हुन सक्छ र कार्यान्वयनमा सुनिश्चितता पनि हुन्छ । सही विचारलाई वलशाली बनाउन, त्यसको कार्यान्वयन सुनिश्चित गर्न र आशा-अपेक्षा गरे अनुसार परिणाम प्राप्त गर्नका लागि पनि यो गर्नैपर्छ । सही विचार निर्माण गर्न र परिणाम प्राप्त गर्नका लागि यो वैज्ञानिक विधि अपनाउनै पर्छ । यो प्रकृयालाई ठीकसित अघि नबढाउँदा पार्टी संगठनभित्र धेरै खाले समस्याहरू उत्पन्न हुने गरेका छन् । कम्युनिष्ट पार्टीहरूमा बेलाबेलामा हुने फूट, विभाजन र बिग्रह पछाडिको एउटा मूल कारण यो पनि हो । हाम्रो पार्टी नेकपा (एमाले) यसमा पूर्णरूपमा सचेत छ ।
०००
कहिलेकाहीं परिस्थिति अनुसार दुइटा विषय–जनवाद र केन्द्रीयतामा कुनै एउटा प्रमुख भएर देखापर्न भने सक्छ । प्राय: अन्य विभिन्न कारणले पार्टी संकटमा परेकावेला नेतृत्वको प्रतिरक्षा गर्नुपरेका वेला केन्द्रीयता प्रभावी हुनसक्छ, त्यसवेला नेतृत्वको प्रतिरक्षाका लागि सबै निर्णय प्रकृयामा सामान्य अवस्थामा जस्तो छलफल का लागि अवसर नमिल्न सक्छ । त्यस्तोवेला निर्णयहरूलाई पालना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तो वेला अरू सामान्य वेलामा जस्तो जनवाद खोजेर हुन्न ।
०००
तर कहिलेकाहीं परिस्थिति अनुसार दुइटा विषय–जनवाद र केन्द्रीयतामा कुनै एउटा प्रमुख भएर देखापर्न भने सक्छ । प्राय: अन्य विभिन्न कारणले पार्टी संकटमा परेकावेला नेतृत्वको प्रतिरक्षा गर्नुपरेका वेला केन्द्रीयता प्रभावी हुनसक्छ, त्यसवेला नेतृत्वको प्रतिरक्षाका लागि सबै निर्णय प्रकृयामा सामान्य अवस्थामा जस्तो छलफल का लागि अवसर नमिल्न सक्छ । त्यस्तोवेला निर्णयहरूलाई पालना गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यस्तो वेला अरू सामान्य वेलामा जस्तो जनवाद खोजेर हुन्न । तर सधैँ यो तरिका अपनाउन पुगियो भने त्यसले पार्टीको गतिशीलतालाई नै समाप्त पारिदिन्छ-पार्टी जीवनलाई नै समाप्त पारिदिन्छ । जनवाद र केन्द्रीयताको बुद्धमत्तापूर्ण सन्तुलनले मात्र कम्युनिष्ट पार्टी अगाडि बढ्नसक्छ र त्यसले नेतृत्वदायी भूमिका पुरा गर्न सक्छ । यी दुबै कुरामा असन्तुलन हुनपुग्यो भने कम्युनिष्ट पार्टीको अस्तित्वनै संकटमा पर्छ । यतिवेला नेकपा (एमाले) र कम्युनिष्ट नामका अन्य संगठनहरूका विचार, सांगठनिक अवस्था र गतिविधिहरूलाई यसै आधारमा हेर्नु र बुझ्नुपर्छ ।
प्रमुख अन्तरविरोध तथा दुश्मन शक्तिहरुको निर्क्योल र पहिचान हरेक कम्युनिष्ट पार्टीको लागि प्राथमिकतामा हुनै पर्ने एउटा अभिभारा हो भन्ने हामी ठान्छौं । यस अर्थमा नेकपा एमालेको ठम्याइमा यतिखेर घरेलु रुपमा प्रमुख अन्तरविरोधहरु के के हुन् तथा तिनलाई हल गर्ने तपाईंहरुका 'प्रेस्क्रिप्सन' के हो ? साथै, तपाईंको पार्टीले यतिखेर घरेलु रुपमा प्रमुख दुश्मन तथा मित्रशक्तिहरुको कित्तामा क–कसलाई राखेको छ ? र, किन ?
नेपाली समाजमा भएको ( वा हुने ) परिवर्तनको मौलिकतालाई सही तरिकाले बुझ्नुपर्छ । युरोपियन मुलुकहरूमा भएको सामन्तवाद अन्त्य गरी पूँजीवाद स्थापनाका लागि गरिएको ‘पूँजीवादी क्रान्ति’ जस्तो नेपाली क्रान्ति होइन । सर्वहारा श्रमजीवी वर्गलाई प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको नेतृत्वमा रूसमा सम्पन्न भएको समाजवादी क्रान्ति जस्तो पनि नेपालको क्रान्ति होइन । र यस्तै, चीनमा भएको सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधि कम्युनिष्ट पार्टीले राष्ट्रिय पूँजीपति वर्गसित मिलेर सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र बाहिरी साम्राज्यवादी शक्तिलाई पराजित गर्दै गरिएको नौलो जनवादी क्रान्ति पनि होइन ।
नेपाली क्रान्ति सर्वहारा श्रमजीवी वर्गले उदार पूँजीवादी शक्तिसित सहकार्य गरी प्राप्त गरिएको राजनीतिक परिवर्तनको स्वरूप भएको क्रान्ति हो । क्रान्तिको यस्तो स्वरूप र चरित्र भएका कारण यसैका आधारमा अन्तर्विरोधका विषयमा पनि सही तरिकाले बुझ्नु आवश्यक छ । उदार पूँजीवादी वर्गसंग समेत मिलेर गरिएको विशेष खालको क्रान्ति, राजनीतिक प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धि, तर सामाजिक- आर्थिक रूपान्तरणको कार्यभार बाँकी रहेको, प्रतिस्पर्धाबाट कुन वर्गले श्रेष्ठता हासिल गर्छ भन्ने प्रश्नले मुलुक कुन बाटोमा अगाडि बढ्छ भन्ने कुरा तय हुन्छ । त्यसैले अहिले, ठूलो राजनीतिक परिवर्तन भए पनि सामाजिक-आर्थिक रूपान्तरण बाँकी नै रहेकाले अहिलेनै समाजवादी कार्यक्रम दिन सकिँदैन । त्यसैले, सामन्तवादका अवशेष उन्मूलन, दलाल पूँजीवादको विरोध, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण तथा यसो गर्दै समाजवादको आधार तयार गर्ने उद्देश्य राखेर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । यिनै राजनीतिक मान्यता र निष्कर्षका आधारमा अन्तर्विरोधहरूको निर्क्योल, अन्तर्विरोधहरू हल गर्ने ‘प्रेप्स्किन’ तथा मित्र शक्तिहरूका बारेमा निर्क्योलमा पुग्न सकिन्छ ।
नेपाली राजनीतिक वृत्तमा एउटा बहसको विषय नेतृत्वको आयु र कार्यकालको सीमा बन्दै आइरहेको छ । नेपाली राजनीतिक दलहरुमा हावी 'आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म नेतृत्वको शिखरमा आसीन भइबस्ने' अभिलाषा पार्टीहरुभित्र युवा नेतृत्वको विकास र नेतृत्व हस्तान्तरको सवालमा तगारो बन्ने गरेको देखिन्छ । वंशवादको अवशेष जस्तै लाग्ने, अशक्त वा जीवन शेष नभइन्जेल नेतृत्वमा ऐनकेन प्रकरण बस्नैपर्ने वर्तमान प्रवृत्तिलाई ध्वंश गर्दै के नेपालमा पनि मूल नेतृत्वमा दुई कार्यकालसम्म मात्र बस्न पाउने (पहिलो कार्यकाल सिक्न र अनुभव बटुल्न तथा दोस्रो कार्यकाल आफ्ना अनुभव र सिकाइहरुलाई प्रभावकारी ढंगले लागू गर्न समेत) व्यवस्था अनिवार्य रुपमा लागू गर्न मिल्दैन ?
नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई नेपालको विशिष्टतामा मार्क्सवादलाई प्रयोग गर्दा विकसित भएको विचारका रूपमा स्वीकार गरेको छ र यसै आधारमा यसलाई आफ्ना तमाम विचार तथा कामलाई मार्गदर्शन गर्ने विचार मानेको छ । जनताको बहुदलीय जनवादले राज्यको लोकतान्त्रिकरण, समाजको लोकतान्त्रिकरण, पार्टी जीवनको लोकतान्त्रिकरणको अभियानलाई सचेतनतापूर्वक र योजनाबद्ध रूपमा अगाडि बढाउनुपर्ने कुरा अघि सारेको छ । कम्युनिष्ट आन्दोलनका लागि यी सबैमा पार्टी जीवनको लोकतान्त्रिकरण विशेष चासो र महत्व राख्ने विषय हो ।
नेकपा (एमाले) को आठौं महाधिवेशन (२०६५ फागुन ४-५ ), नवौं महाधिवेशन ( २०७१ मंसीर २२-पुस १ ) र दशौं राष्ट्रिय महाधिवेशन ( २०७८ मंसीर १०-१४ ) मा यस सम्बन्धमा व्यवस्थित संगठनात्मक प्रस्तावहरू प्रस्तुत र पारित गरिएका हुन् । नवौं राष्ट्रिय महाधिवेशनले कुनै पनि तहको पार्टी कमिटीभित्र एउटा व्यक्ति लगातार दुईपटकभन्दा बढी एउटै कार्यकारी पदमा नरहने, हरेक तहको कमिटीको नेतृत्वमा तहगत संयोजनका लागि तीन पुस्ताको बुद्धिमत्तापूर्ण संयोजन गर्नुपर्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरिएका थिए । यतिवेला नेकपा (एमाले) त्यसै अनुसार पार्टी संगठनलाई पुनर्व्यवस्थित गर्ने कामको गतिलाई अगाडि बढाउने काम गरिरहेको छ ।
०००
लगातार कार्यकारी नेतृत्वमा रहनु हुँदैन र उमेरको सिमा हुनुपर्छ भनिरहँदा ‘ पोलिटिकल सेन्स’ नहुने कुरा गर्न चाहँदैन एमाले । ७० वर्षे उमेर सिमाको बन्देजले पार्टीभित्र नेतृत्व निर्माणमा ‘पोलिटिकल सेन्स’ दिन्छ भन्ने लाग्दैन । प्रतिष्पर्धा गरेर श्रेष्ठता कायम गर्ने कुरालाई रोकिनुहुन्न-छेकिनुहुन्न भन्ने कुरालाई जनताको बहुदलीय जनवादले स्वीकार गर्दछ ।
०००
नेकपा (एमाले) जुनसुकै तहको नेतृत्वका लागि योग्यता र क्षमता प्रदर्शन गरेर श्रेष्ठता स्थापित गर्ने मान्यतामा अडिग छ । निरपेक्ष ढंगले कसैलाई बाटो छेकी छेकी अर्थात् स्वस्थ्य प्रतिस्पर्धामा समेत आउन नदिई अन्य कसैलाई अनुकूल बनाउने जस्तो कामले नेतृत्वमा स्वस्थ्य र सहज विकास हुन सक्तैन । पार्टी नेतृत्वमा आधुनिक ज्ञान, प्रविधि र व्यवस्थापनमा दक्ष र सक्षम युवाहरू नेतृत्वमा सहजै स्थापित हुने पद्धति निर्माण गर्न चाहान्छ नेकपा (एमाले) ।
यो कुरा गरिरहँदा पार्टी नेतृत्वमा नयाँ र पुरानाबीच, अनुभव र उर्जाबीच तथा निरन्तरता र नविनताबीच सन्तुलन मिलाएर लैजानुपर्छ भन्ने मान्यता राख्छ-नेकपा ( एमाले) । विगतमा नेतृत्व निर्माणमा युवा पुस्तालाई नेतृत्वमा अवसर प्रदान गर्ने कुरा गरिरहँदा उमेर सिमा (७० वर्ष पुरा हुनेले पार्टीको कुनै पनि कार्यकारी पदमा नरहने) र एउटा कुनै कार्यकारी पदमा लगातार दुईपटक पछि तेश्रोपटक नरहने (ब्रेक दिनुपर्ने) जस्तो व्यवस्था पनि गरेको हो । तर लगातार कार्यकारी नेतृत्वमा रहनु हुँदैन र उमेरको सिमा हुनुपर्छ भनिरहँदा ‘ पोलिटिकल सेन्स’ नहुने कुरा गर्न चाहँदैन एमाले । ७० वर्षे उमेर सिमाको बन्देजले पार्टीभित्र नेतृत्व निर्माणमा ‘पोलिटिकल सेन्स’ दिन्छ भन्ने लाग्दैन । प्रतिष्पर्धा गरेर श्रेष्ठता कायम गर्ने कुरालाई रोकिनुहुन्न-छेकिनुहुन्न भन्ने कुरालाई जनताको बहुदलीय जनवादले स्वीकार गर्दछ । नेकपा (एमाले) यस्तो दृष्टिकोण राख्ने हुनाले यो पार्टीको हकमा ‘आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म नेतृत्वको शिखरमा आसीन भईबस्ने अभिलाषा’ राख्ने चिन्तन र प्रवृत्ति, ‘ वंशवादको अवशेष जस्तै लाग्ने’ ‘अशक्त वा जीवन शेष नभइन्जेल नेतृत्वमा एनकेन प्रकारेण बस्नैपर्ने’ प्रवृत्ति पार्टी नेतृत्वमा रहेको भनेर कसरी भन्न सकिन्छ ? एमाले स्पष्ट छ- यसो नगर्ने हो भने त्यसले पार्टीको सांगठनिक जीवनलाई गति दिन सक्तैन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) यस सम्वन्धमा कुनै पनि भ्रम राख्दैन र गतिशील भएर सोचाइ राख्दछ र कुनै पनि राजनीतिक पार्टीहरूले आफ्नो सांगठनिक जीवनलाई गतिशील र उर्जाशील बनाउन यसो गर्नैपर्छ भन्ने धारणा राख्दछ ।
यतिखेर नेपाली समाज र राजनीतिको मूल प्रवृत्ति के हो ? त्यसको चरित्र अनि समग्र नेपाली समाजको वर्गीय संरचनाबारे तपाईंको धारणा के हो ?
समाजको चरित्र र मुलुकको राजनीतिक प्रवृत्ति मूलत: त्यहाँको उत्पादनको अवस्था र चरित्रले अर्थात् उत्पादन सम्वन्ध र उत्पादक शक्तिको अवस्थाले निर्धारण गरेको हुन्छ । अनि, मुलुकको राजनीति आधारभूत रूपमा आर्थिक- सामाजिक संरचनासित सम्वन्धित हुन्छ । नेपाली समाजलाई विभिन्न ऐतिहासिक कालखण्डमा पुगेर अध्ययन तथा विश्लेषण गर्दा पनि यही कुरालाई महत्वपूर्ण आधार बनाउनुपर्छ । परिवर्तनको पक्षमा भए पनि / रहे पनि गुजारामुखी चिन्तन, प्रवृत्ति र पात्रहरूको बाहुल्यताले परिवर्तनको अभियान समेत प्रभावित हुने गरेको यथार्थलाई हामीले स्वीकार गर्नुपर्छ । परिवर्तनको महान अभियानका लागि यो प्रवृत्ति हानीकारक हो भन्ने कुरा बुझ्नैपर्छ र लामो समयदेखि यसको आधारका रूपमा रहेका यी बिषयहरू बदल्नुपर्ने कुरामा परिवर्तनका पक्षधरहरूको ध्यान जानैपर्छ । परिवर्तन सम्वन्धमा नीति, कार्यक्रम, योजनाहरू निर्माण भइरहंदा वा तिनलाई अध्यावधिक गरिरहंदा यस कुरामा विशेष महत्व दिएर अगाडि बढ्नु आवश्यक छ ।
मूलत: सामन्तवादको प्रतिनिधि संस्था– राजतन्त्रको अन्त्य भएपछि राजनीतिक हिसाबले सामन्तवादी सत्ताको अन्त्य भएको बुझ्नुपर्छ । तर यो परिवर्तन राजनीतिक हिसावले मात्र भएको हो । तर सारमा शासन सत्ताको वर्ग आधारमा भने परिवर्तन हुन सकेको छैन । त्यो प्रतिकृयावादी नै रहेको र त्यसमा आधारभूत रूपमा परिवर्तन भइनसकेको कुरालाई बुझ्नु आवश्यक छ । शासन सत्ताबाट विस्थापित बनेको सामन्तवादका अवशेषहरू जबर्जस्त रूपमा अहिले पनि कायम छन्, त्यसैको टेकोपुंडोमा दलाल पूँजीवादले सर्वत्र आफ्नो प्रभाव र पकड मजबुत बनाइरहेको छ । सामान्य अवस्थामा देखापर्दै गएको यस्तो वातावरणका कारण हुर्कदै गएको राष्ट्रिय पूँजीपति वर्ग कठांग्रिन बाध्य छ । यसकारणले राष्ट्रिय अर्थतन्त्र दिनदिनै धराशायी बनिरहेको छ ।
परम्परागत मार्क्सवादी विचार दृष्टिकोणले परिवर्तनका निर्णायक शक्ति हेपिएका–थिचिएका वर्गहरुलाई मान्दै आएको पाइन्छ । त्यसअनुसार, त्यो हेपिएको–थिचिएको वर्ग जागेपछि वा उनीहरुलाई जगाउन सकेपछि मात्रै राजनीतिक–सामाजिक परिवर्तन सम्भव हुने गर्छ । तर पछिल्ला चरणमा नेपालका तथा विश्वव्यापी परिघटनाहरुलाई हेर्दा परिवर्तनकारी शक्तिको रुपमा अवसरवादी र ढुलमुले चरित्रका भनिएका मध्यमवर्ग सशक्त रुपमा देखापर्न थालेको र उनीहरुको भूमिका राजनीतिक–सामाजिक परिवर्तनका सन्दर्भमा निर्णायक बन्दै आइरहेको देखिन्छ । त्यसमाथि थप, सुचना प्रविधिका साधनमा पहुँच भएकाहरुले राजनीतिक परिवर्तनमा आफूलाई निर्णायक एवं हस्तक्षेपकारी भूमिकामा उभ्याउन सफल हुँदै आइरहेको देखिन्छ । यो समग्र परिदृश्यलाई तपाईंको पार्टीले कसरी विश्लेषण गर्छ ?
अहिले मुलुकको राजनीतिमा जे जस्ता चरित्र र प्रवृत्तिहरू जे जसरी प्रभावी हुन खोजिरहेका छन् त्यो त्यति स्वभाविक लाग्दैन । तर यसको यथार्थपरक भएर विश्लेषण भने गर्नुपर्छ । यस्तो स्थिति आउनु पछाडिका कारणहरू केलाइनुपर्छ । पहिलो कुरा, मुलुकका राजनीतिक पार्टीहरूले परिवर्तित अवस्था अनुसार आफूहरूलाई राम्ररी अध्यावधिक गर्न नसक्नु । यो अध्यावधिक गर्नु ( वा हुनु) भनेको नीतिमा, कार्यक्रममा, योजनामा र आचरणमा अध्यावधिक गर्नु हो । ‘अपडेटेड नहुंदा त आउट डेटेड’ होइन्छ नै । विगतमा तय गरिएका वा बनाइएका कुराले छिटोछिटो परिवर्तन भइरहेको वर्तमान त चल्न सक्तैन नि ! त्यसैले पार्टीहरूले ‘अपडेटेड’ हुनैपर्छ नभए ‘आउटडेटेड’हुनबाट कसैले पनि रोक्न सक्तैन ।
०००
मुलुकमा राजनीतिक अस्थीरता सिर्जना गर्न चाहने शक्तिहरू अस्वाभाविक रूपमा कृयाशील बनिरहेका छन् । यसका लागि उनीहरूले सामाजिक अराजकता सिर्जना गर्न उद्दत रहेका छन्, त्यस्ता कुनै पनि मौका वा अवसर छोप्ने दाउमा उनीहरू छन् । असन्तुष्टि देखिने वा भेटिने कुनै पनि अवसरलाई उनीहरूले उपयोग गरिरहेका छन् । यतिबेला समाजमा सांस्कृतिक अध:पतनको एउटा डरलाग्दो सिलसिला पनि चलिरहेको छ ।
०००
दोश्रो कुरा, मुलुकमा राजनीतिक अस्थीरता सिर्जना गर्न चाहने शक्तिहरू अस्वाभाविक रूपमा कृयाशील बनिरहेका छन् । यसका लागि उनीहरूले सामाजिक अराजकता सिर्जना गर्न उद्दत रहेका छन्, त्यस्ता कुनै पनि मौका वा अवसर छोप्ने दाउमा उनीहरू छन् । असन्तुष्टि देखिने वा भेटिने कुनै पनि अवसरलाई उनीहरूले उपयोग गरिरहेका छन् । यतिबेला समाजमा सांस्कृतिक अध:पतनको एउटा डरलाग्दो सिलसिला पनि चलिरहेको छ । तिनै अस्थीरता चाहने तत्त्वहरू यसमा भूमिका खेलिरहेका छन् । यी दुबै कुराहरूलाई मुलुकमा अहिले बढिरहेको आर्थिक विश्रृंखलताले जबर्जस्त रूपमा बल पुर्याइरहेको छ । त्यसकारणले बढिरहेका यी तीनवटै विषयहरूलाई गंभीरतापूर्वक लिनु आवश्यक छ । यिनलाई सम्बोधन गर्न नसक्ने हो भने राष्ट्रकै स्वाधिनता र स्वाभिमानमा समेत गम्भीर नोक्सानी पुग्ने कुरा निश्चित छ ।
तेश्रो कुरा, विज्ञान प्रबिधिको विकसित अवस्थालाई आत्मसात गर्दै त्यसको अधिकतम् सदुपयोग गर्ने कुरामा विलम्व नगरी ध्यान पुर्याउनु पर्ने आवश्यकता छ । विचार निर्माणमा, संगठन निर्माणमा र आफ्नो संगठित शक्तिको परिचालनमा समेत यसको अधिकतम् उपयोग गर्ने कुरामा महत्त्वका साथ ध्यान पुर्याउनु आवश्यक छ । पार्टीहरूले आफ्ना सवल कुराहरूलाई प्रभावकारी हिसाबले जनताका बीचमा पुर्याउनु पर्ने आवश्यकता छ । आफ्नो गौरवपूर्ण इतिहास, आफूले तय गरेको भविष्यको मार्गचित्र र वर्तमानको विशिष्टतामा आफूले तय गरेका ठोस कार्यक्रम र संगठनात्मक संजालका आधारित भएर आत्मविश्वासयुक्त ढंगले अगाडि बढ्नसक्नुपर्छ । यही आत्मविश्वासका साथ जनताका बीचमा पुग्नसक्नुपर्छ ।
सन् १९९० को दशकमा सोभियतसंघको विघटनपश्चात विश्वबाट समाजवादी शासनव्यवस्थाको पतन भएको तथा पुँजीवादको सर्वोच्चता साबित भएको दावी प्रखर रुपमा देखापरेको थियो । उक्त परिघटनापश्चात समाजवादी शिविरमा भयानक पहिरो गएको र विश्व रङ्गमञ्चमा समाजवादी शक्तिहरुको प्रभुत्व पनि क्षीण भएर गएको थियो । उक्त परिघटना घटित भएको तीन दशकभन्दा बढी समय बितिसकेको छ । यस पृष्ठभूमिमा आधारभूत रुपमा यतिखेर विश्व रङ्गमञ्चमा समाजवादी शिविरको उपस्थिति र हैसियत के रहेको ठान्नुहुन्छ ?
विगतमा विशिष्ट परिस्थिति र शक्ति सन्तुलनको विशेष अवस्थामा देश देशमा घरेलु प्रतिकृयावादी शक्ति र वाह्य हस्तक्षेप, अतिक्रमण र आक्रमणको विरोधमा लडेर कम्युनिष्टहरूले समानता र राष्ट्रिय स्वाधिनता प्राप्तिको लडाइँमा जीत हासिल गरेका थिए । त्यसबेलाको एउटा विशिष्ट स्थिति-एकातिर सामाजिक समानता र राष्ट्रिय स्वाधिनताको झण्डा फहराउँदै समाजवादी व्यवस्था स्थापना गर्न कृयाशील रहनुपर्ने आवश्यकता थियो भने अर्कोतिर त्यहीवेला युद्धकालीन जोखिमको अवस्था भएका कारण सामान्य अवस्थामा जस्तो नागरिकहरूका अधिकार निर्वाध ढंगले उपभोग गर्ने अवस्था खुम्चिँदै गएको अवस्था पनि थियो । त्यस्तो अवस्थामा नागरिक स्वतन्त्रतालाई संकुचित र नियन्त्रित गर्दै लगिएको पनि थियो । चुनौती र विरोधाभाषको त्यस्तो जटील अवस्थामा समाजवाद स्थापनाका लागि भनेर अगाडि बढाउन खोजिएको त्यही अभ्यासलाई समाजवादको एकमात्र मोडलको रूपमा व्याख्या समेत गरियो । यही कमजोरीलाई कम्युनिष्ट विरोधीहरूले कम्युनिष्टहरू र उनीहरूद्वारा सञ्चालित शासन सत्तालाई बदनाम गराउने र मार्क्सवादलाई समेत अपव्याख्या गर्दै बदनाम गराउने ठूलो विषय समेत बनाए । त्यही बिरोधाभाषका बीचमा गरिएको विगतको त्यस्तो अभ्यासलाई अहिले विकसित र विशिष्ट अवस्थामा जारी राख्दै अगाडि बढ्न असहज र असंभव मात्र होइन अनुपयुक्त र हानीकारक समेत हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ । त्यसैले, वर्तमान अवस्थामा समाजवादी आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता टड्कारो बनेर देखापरेको छ । नेपालको सन्दर्भमा त अझ यसको आफ्नो भू-राजनीतिक संवेदनशीलतालाई समेत विशेष ख्याल गरेर सम्पूर्ण राष्ट्रिय शक्तिहरूलाई एकतावद्ध बनाउनु पर्ने आवश्यकता छ । यही आवश्यकतालाई ख्याल गर्दै नेपालमा नेकपा (एमाले) ले ‘जनताको बहुदलीय जनवाद’ ले सम्पूर्ण लोकतन्त्रका पक्षधर शक्तिहरू, देशभक्त शक्तिहरू र वामपन्थी-प्रगतिशील शक्तिहरूलाई एकतावद्ध बनाउँदै नेपालमा समाजवादको आधार निर्माण गर्दै अगाडि बढ्न चाहेको छ । समाजवाद निर्माणमा जुटेका विश्वभरिका शक्तिहरूले मार्क्सवादका सार्वभौम सच्चाइहरूलाई आ-आफ्ना देशका विशिष्टता अनुसार लागु गर्दै समाजवादका आधारहरू निर्माण गर्ने काममा सिर्जनात्मक रूपले जुट्नुको अर्को कुनै विकल्प छैन ।
प्रतिक्रिया