रमाइलो साझा संस्कृतिमा बालुवा मिसिएको दशैँ

गाउँबस्तीमा दशैं विगत र वर्तमान

दशैँ आयो खाउँला पिउँला !’ केटाकेटीको औँलानाट्यबाट गाउँ बस्तीका घरघरमा दशैँका श्रव्यदृश्यको पर्दा उठ्थ्यो । मिठास  बोल्न थाल्थ्यो । म आफू बालक छँदाका गाउँघरका कुरा गर्दैछु ।

गाउँमा वर्षाऋतु खेतीपातीको मौसम । उदाएदेखि अस्ताएसम्म हतारो, चटारो । दिन रात नभनी खटेर खेतबारीमा काम गर्ने बेला । किसान जनताका लागि वर्षभरिको खानपानको जोहो गर्ने बेला । पानीमा भिजिन्थ्यो । जुकाले टोक्थ्यो । हिलोले हातगोडा खान्थ्यो । दुःखै दुःखका बीच पनि तनमनमा जाँगरै जाँगर उफ्रन्थ्यो ! जिजिवीषाले माटोसित मितेरी लाएर खटिने बेला थियो किसानहरुको वर्षायाम  !

साउन र भदौलाई वर्षाऋतु भने पनि गाउँमा खेतीको ऋतु आषाढबाटै सुरु हुन्थ्यो । काम त अझ बैशाखबाटै सुरु हुन्थ्यो । बारी जोत्ने डल्ला फोर्ने मकै, मास मस्याङ् बोडी काँक्रा फर्सी रोप्ने तिल आलस घैया छर्ने आदि काम । आषाढ त मुख्य महिना । धान रोप्ने महिना । खेतीको केन्द्रमा हुन्थ्यो धान । गतिलो राम्रो चिजलाई राजा भनिने त्यस जमानामा धान अन्नको राजा मानिन्थ्यो । फलफुलको राजा आँप, तरकारीको राजा काउली । महिनाको राजा असार । असार जीवन रोप्ने उमार्ने हुर्काउने बेला । यसको प्रंशसामा हाम्रा कालीदासहरु हलोले जमीनमा रसमय कविता जोत्थे । किसानका लागि पसिनाको उत्सव याम हुन्थ्यो असार ।

चाडबाड त अरु पनि थिए । बैशाखपुर्णिमा, माघेसङ्क्रान्ति, फागुपुर्णिमा पनि विशेष चाडबाडका दिन हुन्थे । ठाउँठाउँमा जात्रा लाग्थ्यो । जात्रा तेरो मेरो हुन्थेन । जात्रा सवैको हुन्थ्यो । सवैले जात्रा भर्थे । सवै मिलेर नाच,गान, खानपीन रामरमाइलो गर्थे ।

साउन हुँदै भदौ सकिँदा खेती लाउने, गोड्ने, जलमल दिने काम लगभग सकिएको हुन्थ्यो । खेतमा धान र बारीमा कोदो, घैया पोटाउन थाल्थे । धर्ती जता हेर्यो त्यत्तिकै शश्यश्यामला देखिन्थ्यो । लहलह हरियालीले धर्तीका अङ्ग अङ्गमा तारुण्य भर्थ्यो । जता हेर्यो त्यतै रमाइलो । मनमोहक । यसैताका केटाकेटीहरुमा प्रकृतिको सङ्गीतकोइली बोल्न थाल्थ्यो ‘दशैँ आयो, खाउँला पिउँला !!!’

चाडबाड त अरु पनि थिए । बैशाखपुर्णिमा, माघेसङ्क्रान्ति, फागुपुर्णिमा पनि विशेष चाडबाडका दिन हुन्थे । ठाउँठाउँमा जात्रा लाग्थ्यो । जात्रा तेरो मेरो हुन्थेन । जात्रा सवैको हुन्थ्यो । सवैले जात्रा भर्थे । सवै मिलेर नाच,गान, खानपीन रामरमाइलो गर्थे । दोहारी गीत जात्राको मुख्य आकर्षण हुन्थ्यो । देवीथान, नागथान, महादेवथान, पोखरी र नदीसङ्गम जात्राका साझा सनातन ठाउँ हुन्थे । थानमा लामा, भाँक्री, धामी, पुरेत, पण्डित,लाप्तावा, फेदाङ् सवै आफ्ना विधान र परिधानमा तल्लीन देखिन्थे । झाँक्रीहरु जिउभरि घण्टमाला हल्लाउँदै मुजुरप्वाँखे पगरी ढल्काउँदै ढ्याङ्रो बजाजाउँदै सुन्दर  दृश्यविधानको नाच नाच्थे । लामाहरु आफ्नै भेषभूषामा हातेमालो शैलीमा प्रार्थना गाउँदै ढ्याङ्रो बजाउँदै नाच्थे । पुरेत पण्डितहरु किताबमाथि निहुरिँदै पाठ गर्थे । पाठ पूजाका विविध विधिविधान र शैलीहरुको भव्य सङ्गम बन्थ्यो थान । कोही कसैको छेकबार थिएन । एकार्कामा कुरा काट्ने थिएन । साउन लाग्दाका दिन साँझ घरआँगनबाट ‘लुतो लैजा पारिडाँडे गाँडा हो’ भन्दै अगुल्टो फाल्थे । जो फाल्थेनन् ती रमाउँदै हेर्थे, सुन्थे । घरपरिवारमा जुटेसम्मको  मिठोमसिनो परिकार बनाएर खान्थे । भदौमा चेलीबेटीको चाड तीज आउँथ्यो । चेलीबेटीहरु देवस्थलमा जम्मा हुन्थे, नाच्थे, गाउँथे । गाउँमा नागथान, देवीथान महादेवथान जताततै हुन्थे । एउटा चुच्चे ढुङ्गा ठड्याइदिँदा थान बन्थ्यो ।

दशैँ अलि फरक चाड थियो । सवैको साझा चाड थियो । ठुलो चाड थियो दशैँ । जिल्ला गौँडामा पुगेका कर्मचारीहरु र लाहुरेहरु पनि दशैँमा गाउँ फर्कन्थे । घर फर्कन्थे । घरमा बाआमा हुन्थे, दाइभाइ हुन्थे, श्रीमती र बालक छोराछोरी हुन्थे । मायाममता र आशीर्वादको तीर्थजस्तो हुन्थ्यो घर । छरछिमेक घरघरमा यस्तैयस्तै भेटघाट र आवागमनका बत्ती बल्थे । दशैँमा गाउँघरमा साँच्चिकै झलमल झलमलको नयाँ चहलपहल आउँथ्यो ।

त्यसताका गाउँबस्तीका मानिसहरु छरछिमेकमैत्री हुन्थे । सिदासादा हुन्थे । सद्भावी हुन्थे । सुखदुःखका सहभागी हुन्थे । सवै सवैका लागि हुन्थे ।

त्यसताका गाउँबस्तीका मानिसहरु छरछिमेकमैत्री हुन्थे । सिदासादा हुन्थे । सद्भावी हुन्थे । सुखदुःखका सहभागी हुन्थे । सवै सवैका लागि हुन्थे । बालबालिकालाई मायाँ गर्थे बुढाबुढीलाई आदर गर्थे । आपसमा माया ममता थियो । दशैँ आएपछि गाउँ मिलेर मुलबाटो, बाटो, कुलो भल कुलेसो सवै मर्मत गर्थे । सफा गर्थे । गाउँले हरेकको घर आँगनसम्म पुग्थ्यो मर्मत, सफाइ । चरादृष्टिले हेर्दा पनि ए अव दशैँ आएछ भन्ने थाहा लाग्थ्यो ।

त्यसताका गाउँलेहरुबीच सामान्य भेदभाव थिएर पनि दुष्पाच्य थिएन । शत्रुभावी थिएन । ‘तँ त्यो जात म यो जात’को मनमुटाव थिएन । भनाभन थिएन । खिसीट्यूरी थिएन ।

गाउँमा पशुपालक किसानका अतिरिक्त परम्परागत वस्त्रशिल्पी, धातुशिल्पी, चर्मशिल्पी, काष्टशिल्पी, शिलाशिल्पी, वास्तुशिल्पी, मृत्तिकाशिल्पी, वाद्यवादनशिल्पीवाद्ययन्त्रशिल्पी सवै आफ्आफ्ना शिल्पमा कुशल र व्यस्त देखिन्थे । त्यसताका गाउँलेहरुबीच सामान्य भेदभाव थिएर पनि दुष्पाच्य थिएन । शत्रुभावी थिएन । ‘तँ त्यो जात म यो जात’को मनमुटाव थिएन । भनाभन थिएन । खिसीट्यूरी थिएन । जमीनमा यहाँ कालो माटो, त्यहाँ रातो माटो, त्यहाँ बलौटो माटो, त्यहाँ गेगर्यान माटो,त्यहाँ चिम्टिलो माटो, त्यहाँ फुस्रो त्यहाँ मलिलो माटो, त्यहाँ रुक्खो माटो पहेँलो माटो, कमेरो माटो सवै माटो एकापसमा अँगालो मारेर मिलिजुली बसेका देखेर किसान गाउँलेहरु शिक्षा लिन्थे । जसरी माटो माटोमा झगडा थिएन । ढुङ्गामाटोमा झगडा थिएन । त्यसरी गाउँका बासिन्दाहरुबीच पनि जातीय झगडा थिएन ।

गरीबका लागि रिन काढेर पनि पार गर्नैपर्ने दशा पनि थियो दशैँ । तथापि सवैका थालमा मासुका परिकार भने जसरीतसरी पुग्थ्यो । दशैँ मासुको चाड पनि थियो ।

दशैँमा विशेषतः बालबालिकाहरु घरघरमा नयाँ पहिरन र मासुका परिकारमा रमाउँथे । बडाबुढा पनि रमाउँथे । यसका लागि गाउँका साझा मौलोमा राँगा काटिन्थे । घरपायकमा मिलेर वा एक्लै खसी बोका काटिन्थे । कतै घरमा सुँगुर कतै कुखुरा त कतै हाँस काटिन्थे । दशैँमा तिब्बतबाट बथानका बथान भेडा च्याङ्ग्रा ल्याइन्थे । कतिले भेडा ढाल्थे त कतिले च्याङ्ग्रा काट्थे । गच्छे र भच्छे अनुसारका मासु काटिन्थे । कतै कोत चल्थ्यो त त्यहाँ पन्चवलि चल्थ्यो । सवै गाउँका, सवै जातजातिका बालवृद्ध महिला जुट्थे । जात्रा नै हुन्थ्यो । त्यहाँ पनि मासुका भाग पाउनेहरु हुन्थे । दशैँमा मासुको पउल हुनुपर्छ भन्ने सोच धेरैमा पाइन्थ्यो । पउल सवैका लागि सजिलो कुरा त हुन्थेन । गरीबका लागि रिन काढेर पनि पार गर्नैपर्ने दशा पनि थियो दशैँ । तथापि सवैका थालमा मासुका परिकार भने जसरीतसरी पुग्थ्यो । दशैँ मासुको चाड पनि थियो ।

दशैँ मान्ने प्रक्रियामा  विकृति विसङ्गति थिँदैथिएन भन्ने कुरा होइन । त्यसमा साझापन साझा मनको राष्ट्रिय संस्कृति जुन विकसित थियो त्यो मूल्यवान् थियो । अतीतलाई वर्तमानको सेवामा लगाउनु भनेको संस्कृतिको त्यो साझा मनलाई जोगाउँदै आवश्यक वैज्ञानिक परिष्कारका साथ अगाडि बढ्नु पनि हो ।

दशैँमा गाउँलेहरु मिलेर आफआफ्ना पायकमा पिङ् हाल्थे । हाँगे पिङ्, लिङ्गे पिङ्, जाँते पिङ्, रोँगटे पिङ् आदि । चौताराका बरपीपलका तेर्सा र बलिया हाँगामा लठारो बाँधेर झुण्डाइने पिङ्, हाँगे पिङ् हुन्थ्यो । बाँसका अथवा सालका अग्ला बलिया लिङ्गा ठड्याएर माथि जोल्ठ्यान बाँधेर साँघुबलोमा लठारो बाधेर झुण्डाइने पिङ् लिङगे पिङ् भनिन्थ्यो । जाँते रोँगटे पिङ् काठका आग्ला र फल्याकको कौशलपूर्ण संरचना हुन्थ्यो । त्यसलाई दुई बलिया खम्बा गाडेर खम्बामाथि निदाल तेस्र्याएर त्यहाँ जोडिन्थ्यो । जाँते पिङ् भुरुङ् घुमाइ घुम्थ्यो भने रोँगटे पिङ् पाङ्ग्रे घुमाइ घुम्थ्यो । सवैका फरक फरक स्वाद थिए । हाँगे पिङ् लिङ्गे पिङ्का लागि बाबियोको लठारो बाटिन्थ्यो । लठारो बाट्न सामूहिक बल चाहिन्थ्यो । एक दुई जनाले बाटेर लठारो बाटिँदैनथ्यो । लिङ्गे पिङ् युवायुवतिका लागि तागत देखाउँदै मच्चिने पिङ् हुन्थे । यसै त बालकहरु पिङ्मा बढी लागिपर्थे । दशैँका दिन एक पटक भए पनि पिङ्मा बस्नै पर्छ भन्दै बुढाबुढीहरु पनि पिङ् खेल्न पुग्थे । पिङ् दशैँ मनोरन्जनको मुख्य केन्द्र जस्तै बन्थ्यो । रङ्गीन जमघटको थलो बन्थ्यो ।

गाउँ समाजमा बुढाबुढी भनेका अक्षर नचिने पनि संसार चिनेका अनुभवका भकारी ठानिन्थे । सवैले चाख लिएर तिनका कुरा सुन्थे ।

हाम्रो माटोमा खुलेका स्कुलकलेजहरुमा हाम्रो माटोको गन्धले प्रवेशै पाएन । हाम्रो बाटोघाटो चालचलन संस्कार संस्कृति नीति नैतिकता, जीवनमूल्य चाडपर्ब त्यहाँका पाठ्य र बोध्य विषय बनेनन् । हाम्रो समाज सामाजिकता, हाम्रो धार्मिक सांस्कृतिक समन्वयभाव, मेलापर्म सुखदुःख सहभागिता सहकारिता आपसी सद्भाव त्यहाँ पढाइएन ।

आज दशैँको त्यो रमाइलो साझा संस्कृतिमा बालुवा मिसिएको छ । कताबाट मिसियो त बालुवा ? बुढापाकाहरु भन्छन् गाउँमा कथित विकासका वाहन चढेर गाउँमा विदेशीहरु  आए । स्कुल आए । कलेज आए । विदेशी सोचविचार र परिकारका स्कुलकलेज आए । पढ्ने पढाउने भनियो । पढ्नु पढाउनु जान्नु बुझ्नु नराम्रो कुरा थिएन । राम्रो कुरा थियो । तर हाम्रो माटोमा खुलेका स्कुलकलेजहरुमा हाम्रो माटोको गन्धले प्रवेशै पाएन । हाम्रो बाटोघाटो चालचलन संस्कार संस्कृति नीति नैतिकता, जीवनमूल्य चाडपर्ब त्यहाँका पाठ्य र बोध्य विषय बनेनन् । हाम्रो समाज सामाजिकता, हाम्रो धार्मिक सांस्कृतिक समन्वयभाव, मेलापर्म सुखदुःख सहभागिता सहकारिता आपसी सद्भाव त्यहाँ पढाइएन । समन्वय सहनशीलता र साझापन हाम्रो राष्ट्रिय संस्कृति त्यसलाई नै पाठ्य र बोध्यबाट पन्छाइयो । जुन ढुङ्गामाटो मिलेर हाम्रो राष्ट्रिय संस्कृतिको  साझा स्थापत्य बनेको थियो त्यो नै पढाइमा परेन ।

हाम्रा साधन संस्कृतिको जानकारी विशद अध्ययन अनुसन्धान र त्यसैमाथिको क्रमिक विकासबाट विकासको  चेत  हाम्रा बालबालिकाको कलिलो मनमस्तिष्कमा पर्नै दिइएन ।

पढ्नु गुन्नु कौनै काम, हलो जोती खायो माम’ भनेर हलोको संस्कृति र श्रमलाई हेला गर्नुबाट अक्षरारम्भ गराइयो । हाम्रो माटो पानी आकाश, हाम्रा खेतबारी हाम्रो हलो जुवा सोइलो पाटी, फाली करुवा अनौ हरिश लिँड्को दाँदे कोदालो कोदाली दाँते खुर्पा खुकुरी बन्चरो गैँती बेल्चा घन हाम्रा विद्यालयका पढाइमा परेनन् । हाम्रा साधन संस्कृतिको जानकारी विशद अध्ययन अनुसन्धान र त्यसैमाथिको क्रमिक विकासबाट विकासको  चेत  हाम्रा बालबालिकाको कलिलो मनमस्तिष्कमा पर्नै दिइएन । हाम्रा खेतबारी पाखोपखेरो बन बुट्यान खोरिया खोल्चा खोला वनस्पति र त्यसको जीवन्त उपयोग पक्ष हाम्रा नयाँ पुस्ताको पढाइमा परेन । आफ्ना पुर्खा र पुर्खाका अनुभवलाई अपमान गर्न सिकाइयो । आफ्नो माटो र बाटोलाई खिसीट्यूरी गर्न सिकाइयो । पढाइ भुइँफुट्टा भयो । हाम्रा सन्ततिहरु जति पढे त्यति पराइ भए । पलायनवादी भए ।

दशैँ आयो खाउँला पिउँला भन्नेहरु’ अव त सुन्नै छाडिए । कता पुगे कता ? सामाजिक सन्जालतिर खोज्दा एकाध कतै भेटिएलान् कि ?