हेपालय र क्यू आर कोडको अर्थशास्त्र
"भोलि मेरो पुस्तकको विमोचन हुँदैछ‚ आउनु होला है?" स्थापित साहित्यकार आफैँले फोन गरेर निम्ता गरेपछि उसको खुशीको सीमा नै रहेन। आफूलाई निकै सम्मानित महसूस गर्यो र सबै काम छोडेर भोली बिहान नौ बजेको कार्यक्रममा जान उ भावनात्मक रुपमा तयार भयो। व्यग्रताका साथ भोलीको प्रतीक्षा गर्न थाल्यो। हेपालयले समयमै कार्यक्रम सुरु गर्छ र पैंतालीस मिनेटभन्दा लामो हुँदैन भन्ने कुरा उसले केही दिनअघि कुनै साहित्यिक कार्यक्रम मै सुनेको थियो। तर त्यहाँको कार्यक्रममा उपस्थित हुने अवसर भने उसले पाएको थिएन। त्यसो त‚ त्यस्ता केही ठाउँहरुले‚ जर्ज अरवेलले आफ्नो उपन्यासमा लेखे जस्तै अर्थात् "अल एनिमल्स आर इक्वेल बट सम एनिमल्स आर मोर इक्वेल द्यान अदर्श" छवि बनाएका छन्। वर्गीय समाजमा संभ्रान्तहरुको समूहमा पुग्न सबै लालयित त हुन्छन् नै तर अवसर पाउन धेरैजसोलाई अवसरै पर्खनु पर्ने हुन्छ। यसपटक उसले पनि आफूलाई 'अलि बढि समान'हरुको सूचीमा परेको महशुस गर्यो र भोलिको लागि अलि बढी व्यग्र पनि बन्यो।
वर्गीय समाजमा संभ्रान्तहरुको समूहमा पुग्न सबै लालयित त हुन्छन् नै तर अवसर पाउन धेरैजसोलाई अवसरै पर्खनु पर्ने हुन्छ
राती सुत्नुअघि सामाजिक सञ्जालमा विचरण गर्दै गर्दा- "साहित्यकार फलानो आफ्नो अनुभव बाँड्दै हुनुहुन्छ र त्यही अवसरमा वहाँको नविनतम् कृति पनि विमोचन हुँदैछ। त्यसैले कार्यक्रममा सहभागी हुन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ" भन्ने हेपालयको आकर्षक विज्ञापन देख्यो। "ओहो! हाम्रा परम्परा धान्ने हुटिट्याउहरुले चलाएका आम साहित्यिक कार्यक्रमभन्दा यसको ब्यानर लेखाइ र भन्ने तरिकै कति फरक" भन्ने सोचेर ऊ दङ्ग भयो। "यो पो हो त तरिका र परिवर्तन" भन्ने पनि उसलाई लाग्यो र बेग्लै एवम् संभ्रान्त प्रकृतिको साहित्यिक माहोलमा आफूलाई पनि डाकिएकोमा ऊ फेरि एकपटक आफूलाई "अलि बढी समान" देखिए झैं महसुस गरेर हल्का दङ्ग पनि भयो। दङ्ग पर्दापर्दै उसले उक्त ब्यानरको तलतिर अंग्रेजीमा "रजिष्ट्रेशन फि : रुपिज ४००" लेखेको देख्यो अनि त्यसको तलतिर 'दर्ताको लागि स्क्यान कूआर' लेखिएको पनि पढ्यो। त्यो पढेपछि उ एकछिन अलमलियो।
उसलाई बोलाउने गरिएको वा उसले जाने अवसर पाउने गरेको आम कार्यक्रमभन्दा यो कार्यक्रम नितान्त पृथक देखिएकोले उसलाई आफू अलि पिछडिएको पो हो कि जस्तो लाग्यो। हेपालय प्रवेश गर्ने यौटा अनुमतिले नै उसको वर्ग-उत्थान भएजस्तो भान भयो।
"ए यस्तो पनि हुँदो रे’छ त नेपाल मै, अनि साहित्यिक कार्यक्रम मै। ओहो… यति धेरै संभ्रान्त साहित्यिक फ्यानहरु तयार भैसकेका रे’छन् त‚ नेपालमै। हामीलाई पो थाहा नभा रे’छ त" भन्ने सोच्यो। अनि सम्झ्यो प्रज्ञा भवनजस्ता ठाउँहरुमा हुने परम्परागत एवम् भद्दा पुस्तक विमोचनका कार्यक्रमहरु। निःशुल्क पुस्तक वितरण अनि बागमती स्वीट्सको लगभग बासी खाजाका प्याकेटहरु… अनि अफिस लाग्ने दिन‚ दिनको बाह्र बजेतिर कार्यक्रमको समय राख्ने अनि कम्तिमा पनि एक घण्टा ढिलो सुरु गर्ने। मञ्चमा माथिपट्टी‚ दर्शकदीर्घाका आमन्त्रितहरुको उपस्थित संख्यालाई बराबरीमा टक्कर दिनेगरी मठाधीशजस्ता विशिष्टहरु राख्ने‚ लामा लामा पट्यारलाग्दा निःशुल्क भाषणहरु। उसलाई बोलाउने गरिएको वा उसले जाने अवसर पाउने गरेको आम कार्यक्रमभन्दा यो कार्यक्रम नितान्त पृथक देखिएकोले उसलाई आफू अलि पिछडिएको पो हो कि जस्तो लाग्यो। हेपालय प्रवेश गर्ने यौटा अनुमतिले नै उसको वर्ग-उत्थान भएजस्तो भान भयो।
"हाम्रा आम साहित्यकारहरु परिवर्तनको कुरा गर्छन्। समाजमा देखिएको बेमेल पात्र र प्रवृत्तिको विषय उठाउछन्। विसंगतिहरुका विरुद्ध लेख्छन् तर आफू भने जहाँको तहीँ टसकोमस नभएर नै उभिन्छन् र वर्षौं पुरानो चस्माको सिसा परिवर्तन गर्न भने अलमलिन्छन् किन होला ?" भन्ने सोच्यो र फेरि समाजिक सञ्जालमा पोष्ट गरिएको हेपालयको विज्ञापन मै घोरियो ऊ। ब्यानर बाहेक पनि आयोजकले त्यहाँ "आदरणीय मित्रहरु" भनेर सम्बोधन सहित केही कुराहरु लेखेको देख्यो र पढ्न थाल्यो- "…लोकार्पण हुँदैछ र सम्पूर्ण कार्यक्रम जम्मा ३० मिनेटको हुनेछ।" "आहा…" एकाएक उसको मुखबाट फुस्कियो। "कति किफायती कार्यक्रम" मनमनै सोच्यो। "लेखकले आफ्नो साहित्यिक यात्राबारे लिखित मन्तव्य दिनु हुनेछ अनि कार्यक्रम सकिनेछ" विज्ञापन पढ्दापढ्दै उसले दुबै हात जोडेर ताली बजायो‚ झण्डै मोबाइल भूइँमा खसेको। ऊ सम्हालियो र मोबाइल पनि सम्हाल्यो। "लौ न सिक्ने कुराहरु त कति रे’छन्। किन ढिलो गरेका होलान् हाम्रा आम साहित्यिक संस्थाहरुले यस्ता राम्रा कुराहरु सिक्न ?" भनि ठान्यो मनमनै। यति सानो कुराले पनि उसलाई धेरै उत्साहित पारेको देखियो ।
सामान्य बन्न खोज्दा खोज्दै पनि विशेष जस्तो देखिएकोमा सामान्य मानिसलाई झन् बढि खुशी लाग्छ वास्तवमा। त्यसैले होला प्रसन्नताको मात्रा अलिकति बढेको देखियो उसमा पनि।
"निम्ता कार्डमा हामीले निम्ता वा दर्ता भनेर लेखेका छौं"‚ आयोजकको निम्ता कार्ड पाएकाले दर्ता गर्न नपर्ने भनेर पनि लेखिएको थियो। उसले दर्ता गरिरहनु परेन। अब चाहिँ उसलाई ऊ पनि ठूलै मान्छेमा परेको जस्तो लाग्यो। सामान्य बन्न खोज्दा खोज्दै पनि विशेष जस्तो देखिएकोमा सामान्य मानिसलाई झन् बढी खुशी लाग्छ वास्तवमा। त्यसैले होला प्रसन्नताको मात्रा अलिकति बढेको देखियो उसमा पनि। हेपालयको विज्ञापनका शब्दहरुले उसलाई झनै गहिरो गरेर तानेको देखियो।
हलको क्षमता सीमित भएकोले‚ आफूहरु स्वस्फूर्त उपस्थितिको चाप थेग्न सक्ने अवस्थामा नभएको जानकारी गराउँदै आयोजकले सचेत गराएको पनि देखियो- "हामीले निम्ता नदिए पनि कतिपय इच्छुकहरुले उपस्थितिको लागि चारसय रुपैयाँ तिरेर नाम लेखाइसक्नु भएको छ त्यसैले तपाईहरु पनि लेखाउनु होला" यो पढ्दापढ्दै उसले मनमनै त्यसमा थप्यो "…बुझ्नु भो’त हाम्रो बाध्यता?" अनि आफैँलाई प्रश्न गर्यो- "हैन के भइरहेछ यो समाजमा?" "विनयशीलता‚ आमन्त्रण र आतिथ्य चाहिँ हराउन थालेकै हो त हाम्रो समाजमा?" फेरि आफैमाथि प्रश्न थप्यो।
"बजारमा बिक्ने बस्तु बेच्ने पनि तरिका हुन्छ होला नि! सक्नेले किनुँला वा किन्लान् महँगा र विलासी वस्तुहरु अनि नसक्नेले त आधारभूत वा आवश्यकै भएपनि किन्ने कुरै भएन तर किन्न नसक्ने वा नचाहनेलाई होच्याउनै पर्ने हुन्छ र यसरी, यी संभ्रान्तहरुले?" ऊ एकाएक सोचाइको घेराबन्दीमा पर्यो। उसले कुनै समयकी चर्चित लेखिका पारिजातबारे पनि सुनेको रहेछ। मनमनै सोच्यो- "पारिजात भएकी भए यसप्रतिको टिप्पणी कस्तो हुन्थ्यो होला?" पारिजातसँगसँगै अहिलेका पुच्छरे वा हनुमान साहित्यकार र चिन्तकहरुलाई पनि लहरै संझियो।
"पुस्तक विमोचन कार्यक्रममा यसरी पैसा लिएर अग्रिम नाम दर्ता गर्ने कार्य पहिलादेखि नै गर्दै आएका छौं र पाठकहरु पैसा तिरेरै सहभागी हुने गरेका छन्" भन्ने पनि पढ्यो अनि "पैसा तिरेवापत तपाईंलाई हामी धेरै छुटमा अर्थात् ५०% छुटमा किताब दिन्छौं र अन्तर्राष्ट्रिय ब्राण्डको कफी पनि।" पढ्दापढ्दै "बिक्रेताले लेखक साहित्यकारको मर्यादा‚ छवि र परिचयलाई समेत कुचलकाचल पारेर कफीको 'डिस्पोजेल कप' र 'कम्प्लिमेन्टरी कुकिज' बनाएर बेच्न थालेछ" भन्ने महसुस गर्यो। "नेपाली संभ्रान्त साहित्यकारहरु बिच अब चिया होइन कफी पिउनु पर्छ भन्ने मान्यता स्थापित भएछ। नत्र 'अन्तर्राष्ट्रिय ब्राण्डको कफी पनि' भनेर किन सार्वजनिक रुपमै लेख्थ्यो होला र ?" सामाजिक सञ्जालमा हेपालयको विज्ञापन पढेपछि अलिकति उद्वेलित भयो ऊ। मोबाइल बन्द गर्यो र सुत्न गयो।
पढ्दापढ्दै "बिक्रेताले लेखक साहित्यकारको मर्यादा‚ छवि र परिचयलाई समेत कुचलकाचल पारेर कफीको 'डिस्पोजेल कप' र 'कम्प्लिमेन्टरी कुकिज' बनाएर बेच्न थालेछ" भन्ने महसुस गर्यो।
ठिक समयमा कार्यक्रम सुरु गर्छ हेपालयले भन्ने छाप परेकोले समयमै पुग्नका लागि धेरै चनाखो थियो ऊ । समयभन्दा केही अघि ठ्याक्कै पुग्यो कार्यक्रमस्थलमा। मानिसहरु छरिएका थिए। चिनिएका अर्थात् "सेलिब्रेटी" लेखक साहित्यकारहरु आ-आफ्ना टुक्राहरुको बिचमा थिए। ऊ भित्र पस्यो र आफूलाई अभ्यस्त बनाउनका लागि आफूले चिनेका अनुहारहरु खोज्न थाल्यो। एकजना नाम पनि मिल्ने पुरानो साथी देख्यो‚ हल्का श्वास फेर्यो र त्यतातिर मिसियो। अब उसलाई अलि सहज महसुस भयो।
"म त कफी पिउदिनँ‚ तपाईं कफी पिउने हो कि ? टोकन लिनु भो'त?" नाम मिल्ने साथीले उसलाई सहजीकरण गरिदियो। कार्यक्रमस्थलको दाहिनेतिर टेबुल राखेर यौटा स्टल बनाइएको थियो। त्यहाँको माहौल हेर्दा, ठीक समयमा कार्यक्रम गर्नका लागि विज्ञापनमा भनिए जस्तो आयोजकहरु जिम्मेवार र अनुशासित रहेछन् भन्ने देखिएन। निवृत्तहरुको कुनै क्लबमा‚ छोराछोरीहरु विदेश र बाबु वा आमा मध्ये एक पनि नातिनातिना स्याहार्न विदेशै गएकोले यता स्वदेशमा चाहिँ एक्लै परेका श्रीमान् वा श्रीमतीहरु जस्तै फूर्सदिला मानिसहरु जम्मा भए जस्तो लाग्थ्यो।
ऊ स्टल छेउ गयो र उभियो। ऊ अघिको मानिसले आफ्नो नाम रुजु गराएर कफीको टोकन लिएपछि उसले पनि आफ्नो नाम भन्यो‚ तर टाइप गरेर तयार पारिएको सूचीमा उसको नाम भेटिएन। नाम रुजु गर्न बसेकाले अलि नमिठो माने‚ शायद कार्यक्रमको जानकारी पाएर सित्तैमा कफी खान मिसिएको कुनै भलाद्मी भन्ने ठाने होलान्। यतिखेर उसले गर्न सक्ने केही थिएन। ऊ उभियो। नाम रुजु गर्न बसेकी दुईजना मध्ये एकले हातैले नाम लेखिन् र कफीको टोकन दिइन्। हातले कफीको टोकन समाइरहँदा उसलाई भने रमाइलो लागेन।
"अनि किताब लिन के गर्न पर्ने हो ?" उसले सोध्यो। किताब त किन्ने हो नि भन्ने नबुझेको मानिसलाई झैँ‚ थोरै झर्किए जस्तै "ऊ त्यतापट्टी जानुस न" भनिन्। यो उत्तर सुनेपछि उसले टेकिरहेको भूइँ बलियो स्लेटको भए तापनि उसले भने थोरै भासिएको महशुस गर्यो। ऊ अर्को साइडमा गयो र किताब माग्यो। "पाँचसय पचास दिनुस" बिक्रेताले भनिन्। क्यू आर कोड स्क्यान गरेर नाम दर्ता गरेपछि चारसय रुपैयाँमा किताब र कफी पनि पाइने भनेर लेखेको, हिजो पढेको विज्ञापनमा टाँसिएको क्यू आर कोड एकाएक उसको आँखा अगाडि नलजाइकन मज्जैले नाच्यो। "अनि के हो त यो पाँचसय पचास आज ?" नराम्ररी झस्क्यो। "काँको निम्ता ? केको निःशुल्क कफी?" भनौं कि नभनौं को दोधारमा अल्झियो ऊ। "विचित्रको अर्थशास्त्र, विचित्रको मूल्य प्रणाली पनि चलन चल्तीमा रहेछ" भन्ने सोच्यो।
विना निम्तो, नाम दर्ता गरेर कफी खान गएको भए चारसय रुपैयाँमा उसले यौटा नयाँ किताब सित्तैमा उपहार पाउने थियो तर स्वयम् लेखकले बोलाएको निम्तो मान्न भनेर गएको विचरा‚ बिक्रेताले उल्टै कफीको पनि पैसा ठटाइदियो।
"हैन नाम दर्ता गरेर आउँदा चार सय रुपैयाँ लेख्नु भाथ्यो त ?" आयोजकको मूल्य प्रणाली बुझ्न आँटै गरेर मुख खोल्यो उसले। "त्यो त क्यू आर कोड गर्नेलाई मात्र हो" मेसिनले झैं तुरुन्तै र सटिक जवाफ दिइन्। विना निम्तो, नाम दर्ता गरेर कफी खान गएको भए चारसय रुपैयाँमा उसले यौटा नयाँ किताब सित्तैमा उपहार पाउने थियो तर स्वयम् लेखकले बोलाएको निम्तो मान्न भनेर गएको विचरा‚ बिक्रेताले उल्टै कफीको पनि पैसा ठटाइदियो। कस्तो उदेक लाग्दो अवस्था। उसले भने आफू नराम्ररी बेकूफ भएको महसुस गर्यो। चुपचाप हजारको नोट दियो र चारसय पचास फिर्ता लियो। रसिद पाएन। सोच्यो- "बेकूफलाई के को रसिद !"
"ठिक समयमा कार्यक्रम सुरु हुने भनेको त खै ? ठग्न जाने जसरी ठगे पनि हुने रे'छ" भन्ने सोच्यो। आफूलाई निकै पिछडिएको महशुस गर्यो र यताउति छिरलियो। उसको सामु अरु उपाय पनि थिएन‚ 'टाइम किल' गर्नु सिवाय। त्यत्तिकैमा कुनै चिनेको साथी देख्यो र त्यतैतिर लाग्यो। सबै टुक्रा टुक्रा गफमा मस्त थिए। त्यतिकैमा कसैले कफी खान जाउँ भन्ने संकेत गर्यो। ऊ कफी काउण्टर तिर गयो। लाइन रहेछ। "कम से कम 'टाइम किल' त हुन्छ" भन्ने सोच्यो र लाइनमा उभियो।
"क्यापुचिनो र लाते यौटै हो" भनिन् विक्रेता-केटीले। "अनि किन मेनुमा चाहिँ क्यापुचिनो र लाते छुट्टाछुट्टै लेखेको त ?" भनेर प्रश्न सोध्ने स्थिति त्यहाँ थिएन। ऊ चुपचाप काउण्टर अगाडि उभिइरह्यो।
"खै त मेरो अमेरिकानो डबल सट?" अलि टाढाबाट यौटा करायो। "मेरो चाहिँ सिङ्गल सट हो नि है" सँगसँगै अर्को करायो। अघि कसैले अर्डर गरेको तर लिन नआएको अमेरिकानो सिङ्गल सट बाँकी रहेछ तुरुन्तै दिइन् विक्रेता-केटीले। " सिङ्गल सट चाँडो हुँदो रे'छ" अलि परबाट कसैले टिप्पणी गर्यो। "मलाई लाते" कसैले भन्दै थियो। "क्यापुचिनो र लाते यौटै हो" भनिन् विक्रेता-केटीले। "अनि किन मेनुमा चाहिँ क्यापुचिनो र लाते छुट्टाछुट्टै लेखेको त ?" भनेर प्रश्न सोध्ने स्थिति त्यहाँ थिएन। ऊ चुपचाप काउण्टर अगाडि उभिइरह्यो।
कुपनहरुको खात‚ कफी माग्नेहरुको धैर्यता र परिवर्तनकामी आयोजकहरुको आतिथ्य तीनै कुराको राम्रो संयोजन देखियो। काउण्टरभित्र तीन जना थिए‚ आत्तिएका र अलमलिएका। क्यापुचिनो माग गर्नेको संख्या धेरै देखियो। त्यत्तिकैमा बनाउदा बनाउदैको क्यापुचिनो नै पोखियो। लौ मार्यो। अब तिनीहरु कफी बनाउन छोडेर पोखिएको कफी सोहोर्न र सफा गर्नतिर लागे। झन् ढिलो हुने देखियो। तर हेर्न रमाइलै थियो कफी बनाउदै गरेको माहोल। "कम्लिपेन्टरी केक खै त?" फेरि कसैले केक पनि खोज्यो। "कम्प्लिमेन्टरी ब्राउनी उतै टेबुलमा छ त" विक्रेता-केटीले काम गर्दा गर्दै जवाफ दिन भने भ्याइन्। त्यस्तो अस्तव्यस्तमा 'ब्राउनी' त्यो पनि 'कम्प्लिमेन्टरी' लुछाचुँडी मै कुनबेला सकिएको थियो कसले हेर्ने ? जे होस् थाहा भने भयो 'कम्प्लिमेन्टरी ब्राउनी' पनि देखाइएको रहेछ भन्ने। उसले मनमनै सोच्यो "पाँचसय पचासमा त आरामले इज्जत र सम्मानका साथ टेबुल मै बसेर कफी र यौटा केक खान त राम्रै क्याफेहरुमा पनि पाइहालिन्थ्यो नि।" मुख नखोलेसम्म पाउने छाँट नदेखेपछि "खै त मलाई क्यापुचिनो ?" भन्यो‚ एकछिन कुर्यो अनि क्यापुचिनो लिएर काउण्टरबाट निस्कदै गर्दा 'ठिक समयमा सुरु हुन्छ' भनिएको कार्यक्रमको‚ आफ्नै 'ग्रीनविच मिन टाइम' सेट गरिए जस्तै 'ठिक समय' सुरु हुने संकेत पनि आयो।
डिस्पोजेवल कपमा बिर्को सहित भएकोले कफी बोकेरै‚ विदेशतिरको कक्षा कोठामा पढ्नका लागि गए जस्तै‚ त्यहाँ पनि त्यसरी नै हलभित्र जाने मिल्ने भयो। ऊ कफी बोकेरै अघि बढ्यो। अगाडिको मञ्चको फोकस लाइट बाहेक अरु सबै बत्तिहरु निभाइए। सूत्रधारले नाटकीय एवम् अनौपचारिक पारामा बोल्न सुरु गरे। ऊ सँगैको सिटमा बसेको युवाले चाहिँ मोबाइल निकालेर टाउको निहुराएर केण्डी क्रस खेल्न थालेको देखेपछि‚ "यिनी चाहिँ मजस्तो मूर्गा बनेको नहोला" भन्ने लाग्यो उसलाई र आफूमाथि दया पनि लाग्दै आयो।
मुख नखोलेसम्म पाउने छाँट नदेखेपछि "खै त मलाई क्यापुचिनो ?" भन्यो‚ एकछिन कुर्यो अनि क्यापुचिनो लिएर काउण्टरबाट निस्कदै गर्दा 'ठिक समयमा सुरु हुन्छ' भनिएको कार्यक्रमको‚ आफ्नै 'ग्रीनविच मिन टाइम' सेट गरिए जस्तै 'ठिक समय' सुरु हुने संकेत पनि आयो।
अनौपचारिक पारामा सुरु गरेपछि कार्यक्रम के थियो भनिरहनु परेन। निम्तो दिए पनि अतिथि भनेर मानिएन शायद वा कुनै औपचारिक सम्बोधन गरिरहनु पर्ने खालको उपस्थिति थिएन त्यो त्यसैले बोल्न पाउनेले जसरी जे बोले पनि भयो। सभ्य र संभ्रान्तहरु मात्र जम्मा भएको भन्ने भान दिइसकेपछि त्यहाँ हाँस्ने र खुशी हुनु पर्ने बाहेक अरु केही गुनासो गर्न मिल्ने कुरै भएन। शायद संभ्रान्त भैसकेपछि देखावटी भावमा बाँच्न सिक्नु पर्छ। समाज‚ सभ्यता र तर्क गर्न खोज्ने त पिछडिएका ऊ जस्ता मात्र त हुने भए। त्यहाँको माहोलले त्यस्तै संकेत गरिरहेको थियो। त्यसैले त्यहाँ सूत्रधारको प्रत्येक हरकत पछि हाँसो र सूत्रधारले बोलेका प्रत्येक शव्द वा वाक्यहरु ज्यादै ओजपूर्ण भएको जस्तो भान दिन्थे‚ त्यहाँ जम्मा भएकाहरुले। यद्यपि सूत्रधारका शव्दहरु धेरै पटक चिप्लिरहेका थिए। मानौं होशियारी विना‚ शव्दहरु चिप्लनु वा चिप्लाउनु नै साधारणपना र आधुनिकता हो। सूत्रधारले आफ्नो काम सकेपछि साहित्यकारको साहित्यिक यात्राको अनुभव बताउने कार्य भयो अनि त्यसको लगत्तै पुस्तक विमोचन पनि भयो। हलभित्रको कार्यक्रम भने लामो भएन‚ छोटकरी मै सकियो। विमोचन चाहिँ पुरै पारीवारिक प्रकृतिको देखियो र त्यसैमा सीमित रह्यो। अर्थात् कार्यक्रम भव्य भयो।
कार्यक्रम सकिएपछि बसिरहनु पर्ने भएन। फोटो खिच्नेहरु फोटो खिच्न तिर लागे अरु विस्तारै आ-आफ्नो बाटो लाग्दै गए। ऊ पनि कफीको कप‚ कम्प्लिमेन्टरी ब्राउनी र संभ्रान्त लेखक साहित्यकारहरुको बदलिंदो परिवेशको व्यापक झलक र अन्यौलपनाको आभाष दिने सानो जमघटबाट बाहिरियो । शनिबारको छुट्टी र बिहानको समय भएकोले बाहिर सडक सुनसान थियो। जेब्राक्रससम्म पनि नपुगी‚ दायाँबायाँ नहेरी सडकको बिचबाटै बाटो काट्यो अनि टाउको निहुराएर केही सोच्दै अगाडि बढ्यो ऊ। म उभिएर‚ स्थिर भएर उसलाई हेर्दाहेर्दै‚ म पनि सोच्न थालेछु- "चहलपहल‚ आवाज र गति भएन भने यो सन्नाटा अनि स्थिरता चाहिँ कसरी जीवन हुन सक्छ र ?"
कठोर पाठ
चीनका युवाहरूले किन माओलाई पुन: खोज्दैछन्?
अथातो घुमक्कड-जिज्ञासा
पतनको मार्गमा अमेरिकी साम्राज्य
इरान अमेरिकी आधिपत्यको चिहान हो: जेफ्री स्याच्स
विश्वव्यापी परिघटनाका रूपमा अति दक्षिणपन्थी धार: पर्यावरणीय समाजवादी विकल्प
लेनिनवादका आधारहरू: एउटा युगान्तकारी बौद्धिक यात्रा
प्रतिक्रिया