'रङ नम्बर' को बहाना भएको हत्या: हराउँदै गएको नेपाली सामाजिक सद्भाव
पाटन दरबार स्क्वायरको ऐतिहासिक परिसरमा बुधबार दिउँसो जे देखियो, त्यसले स्तब्ध नहुने सायदै कोही होला। झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र २५ वर्षीय सिर्जन नेम्वाङको एउटा सामान्य फोन विवादमा हत्या भयो। अर्को व्यक्तिको नम्बर ठानेर झुक्किएर डायल भएको एउटा फोन कल नै उनीहरूको मृत्युको कारण बन्यो। यो घटना सुन्दा जति सामान्य लाग्छ, यसको भित्र लुकेको सन्देश त्यति नै भयानक छ। यसले हाम्रो समाज र विशेष गरी युवा पुस्तामा विकसित भएको असहिष्णुता र निराशालाई त प्रतिविम्बन गर्छ नै, त्यसले युवा पुस्तालाई कुन दिशातिर मोड्दैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
कुनै समय नेपाली समाज आफ्नो आतिथ्य र सहृदयताका लागि विश्वभर चिनिन्थ्यो। बाटोमा अपरिचित मानिस भेटिँदा पनि मुस्कुराएर 'अभिवादन' गर्ने र सानोतिनो गल्तीलाई हाँसेर टार्ने हाम्रो मौलिक संस्कार थियो। तर, आज समय फेरिएको छ। एउटा 'रङ नम्बर' मा फोन जाँदा सुरु भएको भनाभन ज्यान लिने र दिने हदसम्म पुग्नुले हाम्रो सहनशीलता समाप्त भएको संकेत गर्छ। मानिसहरूमा धैर्यताको बाँध यति कमजोर भएको छ कि सानो विवादलाई पनि उनीहरूले आफ्नो अस्तित्व र प्रतिष्ठासँग जोड्न थालेका छन्।
यो घटनाले युवा पुस्तामा व्याप्त चरम निराशा र कुण्ठालाई उजागर गरेको छ। अहिलेको पुस्तामा आवेग नियन्त्रण गर्ने क्षमता निकै कम देखिन्छ। फोनमा भएको सामान्य विवादलाई समाधान गर्नुको सट्टा 'भेटेरै देखाइदिने' भन्दै छुरा बोकेर निस्कनुले अपराधी मानसिकता मात्र होइन, एउटा बिरामी समाजको पनि प्रतिनिधित्व गर्छ। यसले युवापुस्तामा विकसित भएको भविष्यप्रतिको निराशा र वर्तमानप्रतिको वितृष्णाले उनीहरुलाई साना कुराले पनि उग्र बन्नाउने गरेको देखाउँछ । वास्तवमा बेरोजगारी, बढ्दो आर्थिक अभाव र सामाजिक सञ्जालले बढाएको 'देखावटी शान' ले युवाहरूलाई मानसिक रूपमा विरक्त बनाएको छ।
शिक्षा र प्रविधिले मानिसलाई सभ्य बनाउँछ भन्ने सामान्य मान्यता हो । तर, विडम्बना के छ भने प्रविधिको प्रयोग मानिसहरू बीचको दूरी घटाउन होइन, बरु रिस र प्रतिशोध साँध्न उस्काइरहेको प्रतीत हुन्छ । कसैलाई माफी दिनु वा विवाद पन्छाएर अघि बढ्नुलाई अचेल 'कमजोरी' ठान्न थालिएको छ। उता, 'काउन्टर' गर्नु वा हिंसात्मक हुनुलाई भने 'बहादुरी' को गलत अर्थ लगाइँदैछ। यही गलत बुझाइले आज दुईजना ऊर्जावान् दाजुभाइको जीवन समाप्त पारिदियो र एउटा परिवारलाई कहिल्यै निको नहुने घाउ दियो।
त्यसैले बुधबार पाटन दरवार स्क्वारमा भएको हत्याकाण्ड एक व्यक्तले गरेको अपराध मात्र होइन। यो त हाम्रो खस्कँदो सामाजिक नैतिकता र हराउँदै गएको मानवीय संवेदनाको एउटा ऐना हो। शिक्षाको आधुनिकीकरणको नाममा परम्परागत नैतिक मूल्य मान्यता झल्काउने शिक्षालाई पाठ्यक्रमबाट वहिष्करण गर्दै लगिएको घटनाले युवापुस्ताको नैतिक मूल्य मान्यतामा ह्रास आएको कुराको एउटा पाटो हो यो घटना । यस घटनाले हाम्रो समाजमा व्याप्त हुन थालेको मानिसको असमाजिकीकरण र अमानवीयकरणलाई समेत दर्शाउँछ । हामीले समयमै युवा पुस्तालाई रिस व्यवस्थापन, आपसी सद्भाव र मानवीय मूल्य-मान्यता सिकाउन सकेनौँ भने यस्ता दुखद घटनाहरूले हाम्रो समाजलाई अझै असुरक्षित बनाउँदै लैजानेछन्। एउटा सामान्य 'मिसकल' ले निम्त्याएको यो महाविपत्तिले गरेको संकेतलाई बुझ्न र बेलैमा त्यसलाई सम्बोधन गरिनु जरुरी छ ।
अमेरिका-इजरायल: इरानसँगको युद्धमा 'नाक जोगाउने' उपाय खोज्दै पछि हट्दै !
युद्ध अपराधको बाटोमा डोनाल्ड ट्रम्प
सत्ता सम्हाल्दै 'एक्सन': न्याय कि आवेग?
कार्की आयोगको प्रतिवेदन: सार्वजनिक नभइकनै मिडियामा छताछुल्ल
किताब जलाइएको प्रकरणले तात्तिएको कुटनीति
चुनावी घोषणापत्र: सपनाको खेती कि सत्ताको भर्याङ?
सैनिक मञ्चमा अमेरिकी धुन: सैन्य कूटनीति कि भू-राजनीतिक संवेदनशीलता?
प्रतिक्रिया