भियतनामका शीर्ष नेता टो लाम राष्ट्रपति पदमा निर्वाचित
खान भु, फुओङ न्गुएन र फ्रान्सेस्को गुआरासियो
भियतनामका सांसदहरूले मंगलबार सर्वसम्मतिबाट कम्युनिष्ट पार्टीका महासचिव टो लामलाई आगामी पाँच वर्षका लागि देशको राष्ट्रपतिमा निर्वाचित गरेका छन्। यससँगै उनी दशकौँयताकै सबैभन्दा शक्तिशाली भियतनामी नेता बनेका छन्।
व्यापक रूपमा अनुमान गरिएको यो कदमले भियतनामको परम्परागत सामूहिक नेतृत्व प्रणालीमा क्रमभङ्गता ल्याएको छ। विश्लेषकहरूका अनुसार यसले भियतनाममा पनि छिमेकी चीनमा जस्तै निर्णय प्रक्रियालाई भने तीव्र बनाउनेछ।
संसदको वेबसाइटका अनुसार, मंगलबारको राष्ट्रिय सभा सत्रमा उपस्थित सबै ४९५ प्रतिनिधिहरूले कम्युनिष्ट पार्टीको मनोनयनलाई समर्थन गरेका थिए भने पाँच सांसद अनुपस्थित थिए। सरकारी अधिकारीहरूका अनुसार शीर्ष नेतृत्वका पदहरूको मनोनयन मार्चको अन्त्यमा भएको बैठकमा टुङ्ग्याइएको थियो।
पूर्व सार्वजनिक सुरक्षा प्रमुख लामले गत जनवरीमा महासचिवको रूपमा दोस्रो कार्यकाल सुरक्षित गरेपछि, अब आगामी पाँच वर्ष देश शासन गर्नका लागि दोहोरो कार्यादेश प्राप्त गरेका छन्। संसदले मंगलबार नै बहिर्गमन हुन लागेका फाम मिन्ह चिनको स्थानमा नयाँ प्रधानमन्त्री चयन गर्ने तालिका समेत रहेको छ।
लामद्वारा नयाँ विकास मोडेलको प्रतिबद्धता
मतदानपछि टेलिभिजन सम्बोधनमार्फत लामले दुवै पद सम्हाल्न पाउनु सम्मानको कुरा भएको बताउँदै "विज्ञान, प्रविधि, नवाचार र डिजिटल रूपान्तरणलाई प्राथमिक संवाहकका रूपमा लिएर नयाँ विकास मोडेल" अपनाउने प्रतिबद्धता जनाए। उनले रक्षा क्षेत्रमा आत्मनिर्भरतालाई प्राथमिकता दिने कुरामा पनि जोड दिए।
उनले आफ्नो मुख्य प्राथमिकता स्थिरता कायम राख्ने, द्रुत र दिगो राष्ट्रिय विकासलाई बढावा दिने र "जनताको जीवनका सबै पक्ष" सुधार गर्ने रहेको बताए।
सन् २०२४ मा तत्कालीन पार्टी महासचिव न्गुएन फु ट्रोङको मृत्युपछि लामले केही महिनाका लागि दुवै पद सम्हालेका थिए। पछि राष्ट्रपति पद सेनाका जनरल लुओङ कुओङलाई सुम्पेपछि पनि, लामले धेरैजसो समय आफूसँगै सो पद रहेको जस्तो व्यवहार गरिरहे; उनले व्यापक वैदेशिक भ्रमण गरे र विदेशी नेताहरूसँगको भेटघाटमा देशको प्रतिनिधित्व गरिरहे।
सुधारवादी र राष्ट्रिय च्याम्पियनहरूको समर्थक
पार्टी प्रमुखका रूपमा आफ्नो पहिलो कार्यकालमा ६८ वर्षीय लामले भियतनामलाई थप प्रतिस्पर्धी बनाउन व्यापक आर्थिक सुधारहरू सुरु गरेका थिए, जसको प्रशंसा र आलोचना दुवै भएको थियो।
लामले नयाँ विकास मोडेलमार्फत दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने कसम खाएका छन्। यो मोडेल कम लागतको उत्पादनमा कम निर्भर छ, जुन लामो समयदेखि विदेशी बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्वमा रहेको भियतनामको निर्यात-मुखी वृद्धिको मेरुदण्ड रहँदै आएको थियो।
लामका कदमहरूले कहिलेकाहीँ प्रशासन र व्यवसायीहरूलाई सशंकित बनाएका छन्, तर उनले ती कदमहरू कार्यान्वयन गर्दा व्यावहारिक लचकता देखाएका छन्। उनले निजी व्यापारिक घरानाहरूको विस्तारलाई समर्थन गरेका छन्, तर आफ्नो पुनर्नियुक्ति हुनुअघि पार्टीका परम्परावादीहरूलाई आश्वस्त पार्न सरकारी स्वामित्वका संस्थानहरूको अग्रणी भूमिकालाई जोड दिने निर्देशिकासमेत जारी गरेका थिए।
भियतनामको निर्यातमा आधारित अर्थतन्त्रका प्रमुख अङ्गका रूपमा रहेका विदेशी लगानीकर्ताहरूले प्रायः देशको राजनीतिक स्थिरताको प्रशंसा गरेका छन् र लामलाई व्यवसाय मैत्री नेताका रूपमा हेरेका छन्। यद्यपि, राष्ट्रिय कम्पनीहरूलाई दिइएको उनको समर्थन र तीव्र गतिको विकासको दबाबले पक्षपात, भ्रष्टाचारको जोखिम, सम्पतिको अस्वाभाविक मूल्य वृद्धि (एसेट बबल)र अपव्ययका बारेमा कतिपयमा चिन्ता पैदा गरेको छ।
परराष्ट्र नीतिका मामलामा पनि लाम व्यावहारिक देखिएका छन्। उनले भियतनामको "बाँस कूटनीति" (Bamboo Diplomacy) लाई कायम राखेका छन् र अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै प्रमुख शक्ति राष्ट्रहरूसँगको सम्बन्धमा सन्तुलन कायम राख्ने प्रयास गरेका छन्।
इरानको सहनशीलता र गौरव: हजारौं वर्षको सभ्यतादेखि आधुनिक प्रतिरोधसम्म
तेस्रो विश्वयुद्धका धुरीहरू
रुसी तेल ट्याङ्कर क्युबा पुग्यो
उनीहरू वामपन्थीहरूको साथ किन छोडेर गए?
अमेरिकी साम्राज्यको सम्भावित आक्रमणको प्रतिकार गर्न क्युबा तयार छ
मध्यपूर्वमा महायुद्ध चर्किने खतरा
हिजबुल्लाहको पुनरुत्थान: शत्रुहरूले समाप्त भएको घोषणा गरिरहँदा हिज्बुल्लाहले आ…
प्रतिक्रिया