एप्सटीन फाइल्स: पुँजीवादको साइड इफेक्ट होइन, यसको अनिवार्य लक्षण

यौन शोषण, हिंसा र स्त्री शरीरको बजारीकरणलाई नैतिक विचलन होइन, बरु पुँजीवादी उत्पादन सम्बन्धको अनिवार्य परिणामका रूपमा बुझ्न आवश्यक छ। जबसम्म पुँजीवाद जीवित छ, तबसम्म एप्सटीन जस्ता नामहरू बदलिई बदलिई आइरहनेछन्।

पुँजीवादले मानिसको शोषण मात्र गर्दैन, यसले मानव शरीरलाई वस्तु बनाउँछ र त्यसलाई मालमा बदलिदिन्छ। जब यौन शोषण, बलात्कार वा उत्पीडनसँग सम्बन्धित कुनै स्क्यान्डल बाहिर आउँछ, तब उदारवादी तप्कामा आश्चर्य, क्रोध र निन्दाको लहर चल्छ अथवा धेरै भावुक मानिसहरू मध्ययुगीन कानुन लागू गर्ने कुरा गर्न थाल्छन्। कसैलाई यो केवल एउटा राजनीतिक काण्ड मात्र हो भन्ने लाग्छ। यद्यपि यस प्रकारको कुनै पनि काण्ड सार्वजनिक हुँदा क्रोध उत्पन्न हुनु कुनै पनि संवेदनशील व्यक्तिका लागि स्वाभाविक हो र यसको राजनीतिक अर्थ पनि प्राय: हुने नै गर्छ।

तर यी सबैका बावजुद यस प्रकारका तमाम काण्डहरूले आफ्नो गर्भमा एउटा गहिरो र घृणित सत्य बोकेका हुन्छन्। चाहे त्यो श्रम शक्ति होस्, प्रजनन क्षमता होस्, यौन उपलब्धता होस् वा जीवन नै किन नहोस्, पुँजीवादमा मानव शरीर एउटा विनिमयको वस्तु हुन्छ। वर्ग समाजसँगै उत्पन्न भएको पितृसत्ताले स्त्रीको शरीरलाई त धेरै पहिलेदेखि नै भोगको वस्तु बनाइदिएको थियो, तर पितृसत्ताको पुँजीवादसँगको गठजोडले उसलाई भोगका साथै उपभोगको वस्तु पनि बनाइदिएको छ।

एप्सटीन फाइल्स: एक प्रणालीगत विश्लेषण

हालै सार्वजनिक भएको "एप्सटीन फाइल्स" ले पूरा विश्वको ध्यान आकर्षित गरेको छ। मूलधारको भाष्यमा यस पूरा काण्डलाई नैतिक र राजनीतिक पतनको रूपमा हेरिँदै छ। ठूला ठूला व्यक्तिहरू, धनी र राजनीतिज्ञहरूको नाम यसमा आइरहेका छन्। तर प्रश्न यो होइन कि कुन व्यक्तिहरूको नाम यसमा आइरहेको छ, प्रश्न यो हो कि यो कुन व्यवस्थाको उपज हो? किनकि जुन व्यवस्थामा यो सब भइरहेको छ वा धेरै पहिलेदेखि हुँदै आएको छ, त्यसमा ती नामहरूभन्दा बढी त्यो वर्ग र वर्गीय शोषण महत्त्वपूर्ण छ, जसको यो अनिवार्य परिणाम हो। त्यो कुन व्यवस्था हो, जसले यस प्रकारका काण्ड र व्यक्तिहरू सिर्जना गर्छ, उनीहरूको बचाउ गर्छ र उनीहरूका अपराधहरूलाई दशकौंसम्म लुकाएर राख्छ?

लिबरल भाष्यमा यस प्रकारका काण्ड सम्भ्रान्त वर्गको नैतिक पतन हो। तर यो पतन जुन परिस्थितिहरूमा पैदा हुन्छ, तिनीहरूको बारेमा कसैले कुरा गर्दैन। शोषणको आधार नैतिक पतन होइन, बरु वर्गीय सम्बन्धहरू हुन्। पुँजीवादी समाजमा आर्थिक शक्ति सामाजिक वर्चस्वमा बदलिन्छ, त्यसलाई राजनीतिक संरक्षण मिल्छ र कानुनको उन्मुक्ति प्राप्त हुन्छ। यस प्रकारका यौन शोषणहरू निजी पतन वा कानुनी अपराध मात्र होइनन्, बरु यो प्रभुत्व सम्पन्न वर्गद्वारा आफ्नो शक्तिको परीक्षण गरिने एउटा घृणित खेल हो।

जेफ्री एप्सटीन एक दलाल वा मानव तस्कर मात्र थिएन। उनी प्रभुत्वशाली वर्गको त्यो घृणित अनुहार हुन्, जो अहिले संसारको सामु उजागर भइरहेको छ। उनी त्यो केन्द्र बिन्दु जस्तै थिए, जहाँ वित्तीय पुँजी, राजनीतिक सम्भ्रान्त, प्राज्ञिक प्रतिष्ठा र राज्य सत्ताको संगम भइरहेको थियो।

मानव तस्करी पुँजीवादमा कुनै "क्रोनी अर्थतन्त्र" को अपवाद होइन। बरु यो त वैश्विक पुँजी संचयको एउटा समानान्तर शाखा हो। यो "उद्योग" गरिबी, बेरोजगारी, विस्थापन, युद्ध र प्रवासन जस्ता परिस्थितिहरूमा फल्ने फुल्ने गर्दछ। श्रमजीवी वर्गका महिला र बालबालिकाहरू यहाँ श्रम शक्तिभन्दा पनि अगाडि सिधै उपभोगका लागि विनिमयको वस्तुमा बदलिन्छन्। गरिब देशका महिला र बालबालिकाहरू पुँजीपति उपभोक्ताहरूका लागि "सस्तो यौन श्रमिक" हुन् र यस्तै परिस्थितिहरूमा "यौन पर्यटन" जस्ता "व्यापार" पैदा हुन्छन्।

एप्सटीन फाइल्स जस्ता अन्य साना ठूला मामिलाहरूमा पीडितहरू अक्सर कामदार वा आश्रित स्थितिमा हुन्छन्। अपराधीहरू "प्रतिष्ठा", "नेटवर्क" र "ब्राण्ड भ्यालु" को कवचमा सुरक्षित रहन्छन्। यी सबै अलग अलग मामिला जस्तो देखिन सक्छन् तर वास्तवमा यी मानव शरीरको वस्तुकरणका भिन्न भिन्न अभिव्यक्तिहरू हुन्। यही त्यो बिन्दु हो, जहाँ आएर ती तथ्यहरूको "रहस्योद्घाटन" हुन्छ, जुन अहिलेसम्म लुकेका जस्ता देखिन्थे।

यति धेरै वर्षसम्म उसलाई किन पक्राउ गरिएन? कानुनको नाकमुनि यी घिनौना अपराधहरू कसरी भइरहे? एप्सटीनको मृत्युपछि पनि उसको नेटवर्क कसरी जीवित रह्यो? यी प्रश्नहरूको जवाफ कुनै षड्यन्त्रको सिद्धान्तमा छैन। यो त पुँजीवादको सफा र सामान्य कार्यप्रणाली हो।

राज्यसत्ता, त्यसका कानुन र ती कानुनका रक्षकहरू हेर्दा तटस्थ देखिन सक्छन्। हामी सुन्छौँ कि कानुनको नजरमा सबै बराबर छन्। कम्तीमा पश्चिमी देशहरूको हकमा त यो कुरा उदारवादी तप्काका मानिसहरू पूर्ण विश्वासका साथ मान्दछन्। तर यो भ्रम यस प्रकारका काण्डहरू आउनासाथ भताभुङ्ग भएर छरिन्छ। राज्यसत्ता पुँजीपति वर्गको सङ्गठन शक्ति वा सही अर्थमा भन्नुपर्दा उसको व्यवस्थापन समिति हो।

भनिन्छ कि 'Justice delayed is justice denied' (न्यायमा ढिलाइ हुनु भनेको न्याय दिन इन्कार गर्नु हो)। न्याय त दशकौँदेखि इन्कार नै भइरहेको थियो, अहिले फाइल खुलेपछि पनि कि त केवल राजनीतिक चटपटको रुपमा लिइँदैछन् वा नैतिक उपदेश दिइँदैछन्। कतिपय मानिसको भनाइमा यो राज्य र कानुनको असफलता हो। तर वास्तवमा यो राज्य र कानुनको सफलता हो । किनभने उसले यति वर्षसम्म आफ्नो प्रभुत्वशाली वर्ग र उसको वर्गीय हितको रक्षा गर्न सफल रह्यो।

अब सार्वजनिक क्षेत्रमा सबै अपराधीहरूको नाम आइरहेका छन् तर यो पनि कुनै न्याय होइन। नाम आउनु न्याय पाउनु होइन। प्रश्न यो हो कि के हामीले यो बुझ्न सकिरहेका छौँ कि यस प्रकारका काण्डहरू पुँजीवादमा सामान्य हुन्, चाहे ती उजागर हुन् वा पर्दा पछाडि नै रहून्।

मार्क्सले बताएका थिए– पुँजीवादले वस्तुहरूलाई मात्र माल बनाउँदैन, यसले तमाम सम्बन्धहरू र यहाँसम्म कि मानवको सार तत्वलाई पनि माल बनाइदिन्छ। एप्सटीन फाइल्स उजागर हुनुले यही कुरा प्रमाणित गर्छ कि पुँजीवादमा मानव शरीर, मुख्यतया श्रमजीवी वर्गका महिलाहरू र यहाँसम्म कि निर्दोष बालिकाहरूको शरीर, मात्र श्रम शक्तिका लागि मात्र शोषित हुँदैन, बरु "लक्जरी कोमोडिटिज" का रूपमा पनि त्यसको उपभोग गरिन्छ। यो पुँजीवादको त्यो घिनलाग्दो सच्चाइ हो जसलाई मात्र एउटा साइड इफेक्ट भन्न सकिँदैन। बरु यो त यसको एउटा अनिवार्य लक्षण हो।

एप्सटीन सन् २०१९ मा आफैँले फाँसी लगाएर मरिसकेको छ, तर उसको मृत्युले पनि केही बदलिएन। पुँजीवाद उही छ, पुँजीको सञ्चय उही छ, शोषण उही छ, सत्ताको चरित्र पनि उही छ र कानुनका "लामा" हातहरू पनि उही छन्। अपराधीहरूले सजाय पक्कै पाउनुपर्छ, तर जबसम्म पुँजीवादको निर्णायक रूपमा अन्त्य हुँदैन तबसम्म स्थितिमा कुनै सुधार आउने छैन।

पुँजीवादी व्यवस्थाले मानव शरीरलाई मालमा बदल्छ र फेरि त्यसको उपभोगलाई नैतिक पतन बताएर पन्छिने गर्छ। एप्सटीन फाइल्स कुनै एक व्यक्ति वा केही विकृत प्रवृत्तिको कथा होइन, यी त पुँजीवादी व्यवस्थाको घृणित अनुहार हुन्, जसमा शोषण, हिंसा र निर्दोष बालिकाहरूको शरीरको उपभोग मात्र दुर्घटना होइन, बरु यी सामान्य सामाजिक प्रक्रिया बनिसकेका छन्।

यदि यी काण्डहरूलाई हामीले केवल भ्रष्ट व्यक्तिहरू, गिरेका नैतिक मूल्यहरू वा सत्ताको दुरुपयोगसम्म सीमित गरिदियौँ भने हामीले त्यही वैचारिक भ्रमलाई बलियो बनाउनेछौँ जसको सहारामा यो व्यवस्थाले स्वयंलाई पुनरुत्पादन गर्छ। वास्तविक लडाइँ ती वर्गीय सम्बन्धहरूका विरुद्ध हो जसले यस्ता व्यक्तिहरूलाई जन्म दिन्छन्, उनीहरूलाई संरक्षण दिन्छन् र उनीहरूका अपराधहरूलाई दशकौँसम्म उन्मुक्ति प्रदान गर्छन्।

यौन शोषण, हिंसा र स्त्री शरीरको बजारीकरणलाई नैतिक विचलन होइन, बरु पुँजीवादी उत्पादन सम्बन्धको अनिवार्य परिणामका रूपमा बुझ्न आवश्यक छ। जबसम्म पुँजीवाद जीवित छ, तबसम्म एप्सटीन जस्ता नामहरू बदलिई बदलिई आइरहनेछन्। प्रश्न नामहरूको होइन, बरु व्यवस्थाको हो। र जवाफ त्यो इन्कलाबमा निहित छ जब श्रमजीवी मजदुर वर्गको नेतृत्वमा पुँजीवादको अन्त्य गरिनेछ।

स्रोत: लेखकको फेसबुक पोष्ट