सुनको मूल्य किन ह्वात्तै बढ्ने र घट्ने भइरहेछ ?
त्यसले नेपाली बजारमा के असर पर्छ ?
सामान्य बजारको नियमअनुसार माग र आपूर्तिको सन्तुलनले वस्तुको मूल्य निर्धारणमा मूलत: भूमिका खेल्ने गर्छ । तर यतिखेर विश्व बजारमा यतिखेर सुनको मूल्यले उच्च अस्थिरता (volatility) देखाइरहेको छ । त्यसक्रममा सुनको मूल्य ह्वात्तै बढ्ने अनि ह्वात्तै घट्ने भइरहेको छ । जनवरी २०२६ मा सुनको मूल्यले नयाँ रेकर्ड तोड्दै $५,६०० नजिक पुगेको थियो। तर, केही दिनमा नै $५,२०० तल झरेको छ।
यहाँ अर्थशास्त्रको माग र आपूर्तिको नियमले काम गरिरहेको छैन । यसमा वैश्विक राजनीति, मौद्रिक नीति र लगानीकर्ताको मनोविज्ञान गहिरोसँग जोडिएको छ।
यतिखेर अनिश्चित ढङ्गले सुनको मूल्यमा उतारचढाव आउनुको सबैभन्दा ठूलो कारण अन्तर्राष्ट्रिय अनिश्चितता हो। यतिखेर त्यो अनिश्चितताको मूल कारण अमेरिकी नीति बनेको छ । ट्रम्प प्रशासनका ट्यारिफ धम्की, सरकारी shutdown को जोखिम, इरानसँगको तनाव र युद्धको धम्की, भूराजनीतिक तनाव र विश्वव्यापी आर्थिक मन्दीको डर यतिखेर बढेर गएको छ ।स्वभाविक रुपमा यस्तो स्थितिमा लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित हुन्छन्। अहिले लगानीकर्तालाई सुरक्षित लगानीको रूपमा सुनतर्फ धकेलेको छ। अहिले बजारमा सुनको माग बढ्नु र मूल्य चाँडै उकालो लाग्नुको एउटा मूल कारण यो हो ।
अमेरिकी डलर र ब्याजदरले पनि सुनको मूल्यलाई प्रत्यक्ष असर गर्छ। डलर कमजोर हुँदा वा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन सक्ने संकेत दिँदा सुनको मूल्य बढ्ने गर्छ। तर ब्याजदर लामो समय उच्च रहने अपेक्षा बलियो भयो भने त्यसको विपरीत अवस्था बन्छ । अर्थात् सुनप्रति आकर्षण घट्छ र मूल्य तल झर्छ।
आजको सुन बजारमा ठूला लगानी कोषको प्रभाव निर्णायक बन्दै गएको छ। एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) र futures बजारमा हुने सट्टेबाजीका कारण केही घण्टामै ठूलो मूल्य परिवर्तन आउने गरेको देखिन्छ। यसले सनुको बजारलाई अझ अस्थिर बनाएको छ।
त्यसबाहेक, सुनको बजारमा मूल्यमा अस्थीरता आउनुको पछाडि ठूला र समृद्ध मुलुकका केन्द्रीय बैंकहरूको भूमिका पनि महत्वपूर्ण छ। चीन, रूस र भारतजस्ता देशले यतिखेर सुन सञ्चिति बढाएर लगेको छ । खासगरी, रुस–युक्रेन युद्धपछि अमेरिकाले डलरलाई नाकाबन्दीको हतियारको रुपमा डलरलाई प्रयोग गरेपछि विश्वव्यापी रुपमा नै डलरको विकल्पको खोजी हुन थालेको छ । त्यसैक्रममा डिडलराइजेशनको कुरा चर्को रुपमा अघि बढेको छ । डलरमा लगानी गर्नुभन्दा सुन लगायत अन्य वैकल्पिक स्रोतहरुमा गर्नु सुरक्षित हुने विश्वास बलियो हुँदै गइरहेको छ । त्यसले गर्दा पनि विश्वबजारमा सुनको मूल्य उकालो लागेको हो । तर यस्तो खरिद निरन्तर नहुने भएकाले बीच–बीचमा मूल्यमा सुधार हुने गरेको पनि देखिन्छ । त्यसैले सुन प्रतितोलामा एकैचोटी २० हजारसम्म मूल्य बढ्ने तथा घट्ने काम भइरहेको छ ।
सुनको मूल्य अप्रत्याशित उकालो लाग्नुको अर्को प्रमुख कारण अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर नीति हो। जब अमेरिकामा ब्याजदर घट्ने संकेत मिल्छ, सुनको भाउ उकालो लाग्छ। तर, अमेरिकी डलर बलियो हुँदा र अर्थतन्त्रका तथ्यांक सकारात्मक आउँदा सुनको भाउ ओरालो लाग्न थाल्छ ।डलर बलियो हुँदा लगानीकर्तालाई सुनबाट टाढा लैजान्छ, जसले मूल्यमा तत्काल गिरावट ल्याउँछ।
त्यसबाहेक, सुनको मूल्य उच्च बिन्दूमा पुग्नासाथ ठूला लगानीकर्ताले नाफा सुरक्षित गर्न सुनको बिक्री बढाउन थाल्छ । यसले पनि सुनको मूल्य घटाउँछ । यस क्रममा अत्याधिक खरिद र बिक्रीको चापले गर्दा बजार कहिले ह्वात्तै माथि त कहिले तल भइरहेको छ।
समग्रमा, सुनको मूल्य अहिले ठोस तथ्यमा आधारित भएर हैन, अनुमान र संकेतमा बढी चलिरहेको छ। डर बढ्दा मूल्य उक्लिन्छ, तर अपेक्षाकृत शान्तिको वातावरण बढ्दा सुनको मूल्य घट्छ। यही कारण विश्व बजारमा सुन स्थिर देखिँदैन। विश्लेषकहरूले २०२६ को अन्त्यसम्म $५,५००–६,०००+ पुग्ने अनुमान गरेका छन्। तर, हेक्का राख्नुपर्ने कुरा के हो भने सुनको मूल्यमा उतारचढावको यो यात्रा सोझो रेखामा अगाडि बढ्दैन ।
नेपाली बजार: ३ लाखको विन्दु र उपभोक्ताको सकस
विश्व बजारमा देखिएको उथलपुथलको सीधा असर नेपालको सुन बजारमा "आगोमा घ्यू थपे" झैँ भएको छ। हालसालै सुनको मूल्यले प्रतितोला ३ लाख रुपैयाँ को ऐतिहासिक विन्दु पार गर्नुले बजारमा नयाँ तरंग ल्याएको छ। यसले बहुआयामिक असरहरु पार्ने देखिन्छ ।
डलरको दोहोरो मार
हामी सुन डलरमा किन्छौँ। एकातिर विश्व बजारमै सुनको भाउ बढेको छ भने अर्कोतिर नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय भाउ थोरै बढ्दा पनि नेपाली बजारमा चाहिँ मूल्य अस्वाभाविक रूपमा महँगो पर्न गएको छ।
बिहेवारी र सिजनको तनाव
अहिले बिहेको लगनको समय हो। अनिवार्य रूपमा गहना किन्नुपर्ने बाध्यता भएका उपभोक्ताहरू मूल्य देखेर हच्किएका छन्। धेरैले आफ्नो बजेट अनुसार कम तौलका गहना बनाएर वा पुरानो गहना साटेर काम चलाउन थालेका छन्। बजारमा भिडभाड भए पनि 'नयाँ खरिद' भन्दा 'पुरानो साटफेर' बढी देखिन्छ।
कालोबजारी र तस्करीको जोखिम
खुला सिमाना र उच्च करका कारण, जब स्थानीय बजारमा भाउ आकासिन्छ, तब अवैध बाटोबाट सुन भित्रिने जोखिम बढ्छ। सरकारले कोटा प्रणाली (दैनिक २०-२५ किलो) लागु गरे पनि माग र आपूर्तिको तालमेल नमिल्दा बजारमा कहिलेकाहीँ सुनको अभाव देखिने वा 'प्रिमियम' तिर्नुपर्ने अवस्था आउन सक्छ।
लगानीकर्तामा 'पर्ख र हेर'को अवस्था
जसले लगानीका लागि सुन किन्ने सोच बनाएका थिए, उनीहरू अहिले मूल्य घट्ने आशमा पर्खिरहेका छन्। तर, विज्ञहरूले "मूल्य अझै बढ्न सक्ने" प्रक्षेपण गरेकाले कतिपयले डराएर महँगोमै भए पनि 'सुरक्षित' हुन किन्ने प्रवृत्ति (Panic Buying) पनि देखिएको छ।
निष्कर्षमा भन्दा नेपाली सुन बजार अहिले ‘महँगोमा किन्नुपर्ने बाध्यता’ र "अझै बढ्ने डर" को बीचमा झुण्डिएको छ। जबसम्म डलरको भाउ स्थिर हुँदैन र अन्तर्राष्ट्रिय द्वन्द्व साम्य हुँदैन, नेपाली उपभोक्ताले सस्तो सुनको आशा गर्न गाह्रो पर्ने देखिन्छ।
धनी र गरिबबीचको खाडल झनै फराकिलो बन्दै !
आर्थिक घेराबन्दीको बीच चीनको अर्थतन्त्रको शानदार प्रदर्शन : बाधाहरूलाई अवसरमा र…
ट्रम्प–सी जिनपिङ भेटवार्तापछि व्यापारिक तनावमा शिथिलता
पेन्सनको अन्त्य कि राज्यको पलायन?
बजेट २०८२/८३: समाजवादलाई लात, दलाल पूँजीवादलाई साथ
अमेरिकाले थालेको नयाँ व्यापार युद्ध: के हुन सक्छ असर ?
अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता
प्रतिक्रिया