सात तारा: गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ

यथार्थमा निषेधको निषेध नभएको नेपाली अर्थराजनीति जिम्मेवार छ, जसका कारण नेपालको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक गणतन्त्र र जनजीविका सुदृढीकरण कार्यभार यहाँ सम्पन्न भएको छैन। जहानियाँ राणाशासनको सट्टा बहुदलीय प्रजातन्त्र र वंशानुगत राजतन्त्रको सट्टा लोकतान्त्रिक गणतन्त्र निश्चय नै प्रगतिशील व्यवस्था हो। परन्तु, राज्यको उपरीसंरचना बदल्न विपरीतहरुवीच एकता र संघर्षको नियम हुँदै मात्राको गुणमा परिवर्तनको नियम लगातार लागू भए तापनि निषेधको निषेध नियम प्रयोग हुन नसक्नुले नेपाली राजनीतिमा दार्शनिक जटिलता उत्पन्न गरिरहेको छ। जसले गर्दा हरेक क्रान्तिपछि प्रतिक्रान्ति हावी हुन खोज्ने जोखिम निरन्तर सामना गर्न जनता अभिशप्त छन्।

जस्तो कि राणाशासन बेठीक भनेर लड्ने नेपाली कांग्रेस सत्ता सञ्चालनमा पुग्दा ठीक सावित हुन नसक्नुको परिणाम राजा महेन्द्र शाहको निर्दलीय कदम थियो। कांग्रेस-कम्युनिस्टलाई अराष्ट्रिय तत्त्व भनेर दमन गरेका पञ्चहरु राष्ट्रिय तत्त्व सावित हुन नसक्नुले २०४६ मा प्रजातन्त्र पुनर्स्थापना गरियो। फेरि पनि प्रश्न कि पुनर्स्थापित प्रजातन्त्रका संचालक कांग्रेस-एमालेहरु पञ्च भन्दा ठीक सावित भए ? किमार्थ भएनन्। उप्रान्त तीन बेठीक करार गर्दै माओवादी आयो। जसलाई, प्रथम संविधानसभामा ठूलो दलको हैसियत दिलाएर नेपाली जनताले माओवादीको तीन बेठीक कार्यसूचि सदर गरिदिए।

जनयुद्वको जगमा माओवादीले करार गरेका तीन बेठीक हुन्- राजा, कांग्रेस र एमाले। परन्तु, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणायता राजा भन्दा, कांग्रेसभन्दा एवं एमालेभन्दा माओवादी कति प्रतिशत ठीक साबित देखिए ? महान जनयुद्वका योजनाकार सेनानीहरु कोही वाम विसर्जनवाद त कोही दक्षिणपन्थी विसर्जनवादको सिकार बन्न पुग्दा नै माओवादी नेतृत्व अधिक प्रतिशत ठीक सावित हुन सकेनन्, भन्नू परेन अब? मूर्त भाषामा बोल्नुपर्छ, आजको राजनीतिक समस्याको जड यो हो।

अत: देश रक्षार्थ हामीले पृथ्वीनारायण शाहका योगदानको वैज्ञानिक मूल्याङ्कन माग गर्दै आएका छौं। माओवादी जनयुद्व संगसंगै किरात गणराज्य स्थापनार्थ पूर्वी नेपालमा बन्दुक उठाएर पृथ्वीनारायण शाहको भन्डाफोर गर्ने पात्र हामी नै हौं। तर, जब संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो, त्यस दिनदेखि हामीले पृथ्वीनारायण शाहप्रति सम्मानभाव सुरु गर्यौं।

किनभने, भौतिकवादी द्वन्दवाद अनुसार त्यसरी हाम्रो धारणा परिवर्तन एक्दम सही र जरुरी पनि थियो। ज्यामितिको नियम, जसले स्थान-समयका आधारमा जोड र कोण फरक पार्दछ। सामुदायिक तहको जोड र कोणमा पृथ्वीनारायण शाह राज्य विस्तारवादी नै देखिन्छन, परन्तु देशीय तहको जोड र कोणबाट हेर्दा भूगोल केन्द्रीकरण अथवा देश निर्माणमा उनको कदम ऐतिहासिक महत्वको ठहर्छ। साथसाथै, नेपाली राजनीतिलाई गणतन्त्रको उचाइमा उठाउने एक योद्वा हुनुको हैसियतमा प्राप्त गौरवले पनि हामीलाई त्यसरी प्रोत्साहित गरेको हुनुपर्छ।

फेरि पनि नेपाली राजनीतिमा अन्तिम जङघार तर्न बाँकी छ। त्यो हो, पृथ्वीनारायण शाद्वारा उदघाटित गोर्खा राज्य विस्तारको राजकीय समापन बाँकी छ। सुगौली सन्धिले भूगोल विस्तार अन्त्य गरिदियो। तर, आन्तरिक राज्यप्रशासनमा भने विभिन्न रुपमा त्यो विस्तार अभियान अझ यथावत छ। जसले वर्गीय, लैंगिक तथा जातजातीय रुपमा कथित उच्चजातवादी सामन्तीकालको उत्पीडनकारी धृष्टता यथावत राखेको छ। त्यसैले उत्पीडित जाति र प्रगतिशील मानिसहरु पृथ्वीनारायण शाहप्रति आक्रोश पोख्दछन्। जुन, पछिल्लो पुस्ताको विवेकहीनताको दुखान्त हो।

हेक्का रहोस्, त्यसैको ठोस निरुपणमा मुख्यतः नेपाल पढ्ने सिद्वान्तमा पहिचानसहित समाजवादी लोकतन्त्रको अर्थराजनीतिक कार्यदिशा प्रस्तावित छ। जसको राज्यव्यवस्था स्थापनाद्वारा मजदुर- किसान- देशभक्त पुँजीपति वर्गीय, महिला-पुरुष लैंगिक एवं सर्व- जातजातीय साझेदारीको नेपाल सुनिश्चित गरिन्छ। र, गोर्खा राज्य विस्तारको समापन समारोह आयोजनागरी सदाका लागि आन्तरिक उत्पीडन अन्त्यको राजकीय घोषणा र इतिहासका नियतिहरुबाट नेपाली समाजलाई मुक्त गर्दै सम्मानित गरिने छ।

उपरोक्त दृष्टिकोणमा, यस आलेखमा नेपाली इतिहासका सात ताराहरुवारे विषय प्रकाश पारिन्छ। जसको ऐतिहासिक योगदानका बलमा सार्वभौम नेपाल र यसको अर्थराजनीति अस्तित्वमान छ र रहनु पर्छ। यद्यपि, पृथ्वीनारायण शाहवारे तरफदारी विशेष रहने छ।

नेपाली इतिहासका सात तारा

यलम्बर, संस्थापक- संगठित राज्य नेपाल

डा. पेशल दहालकृत  नेपालको इतिहास  अनुसार नेपालमा संगठित राज्यका संस्थापक यलम्बर हुन्। अरु कैयन इतिहासकारले किरात काललाई पौराणिक काल मात्र भनिरहेकामा डा. दहालले भने प्रष्ट ऐतिहासिक काल भनी सर्वप्रथम उल्लेख गरेका छन्।

डा. पेशल दहाल अनुसार माप्चोक, कुथेर, सुल्ल जस्ता अड्डाहरु खडागरी व्यवथित राज्य संचालन गरेका आधारमा यलम्बर संगठित राज्यका संस्थापक मानिएका हुन्।
चौधौं शताब्दीमा प्रकाशित बंशावली अनुसार नेपाल उपत्यकामा मानव वस्ती बसाल्ने गोपाल र महिषपाल हुन्। यद्यपि, भाषिक नामका हिसाबले गोपाल र महिषपाल धेरै पछि मात्र नामाकरण  गरिएका हुन्। किरातकालमा निश्चय नै पालीभाषी बुद्वसंग सम्बन्धहरु थिए। परन्तु, लिच्छवी कालयता मात्र उपत्यकामा संस्कृत भाषा प्रयोग भएका तथ्यहरु छन्। जे होस, उपत्यकामा मानव वस्तीको प्रारम्भ किरातकाल अगावै भएकोमा विवाद वान्छनीय हुँदैन।

नेपाली इतिहास पुनर्लेखन महारथि भोगीराज चाम्लिङकृत "जो आए, पाँच हजार बर्ष अघि" शीर्षक रचना यहाँ सान्दर्भिक ठहर्छ। उनका अनुसार आज भन्दा पाँच हजार बर्ष अघि नेपाल उपत्यकामा कोल र नागा जातिका मानिस आवाद भएका थिए। ती कोलहरुको सम्बन्ध बुद्वका मावाली कोलीयहरुसंग के थियो, विचारणीय छ।

चार किरात संस्थाद्वारा गठित यलम्बर संवत अध्ययन कार्यदल प्रतिवेदन अनुसार नेपाल उपत्यकामा यलम्बरले आफ्नो राज्य स्थापना गरेको समय सन २०२६ मा ३८ सय बर्ष अधिक हुन आउँछ।

प्रस्तुत आधारमा ३८ सय बर्ष अघि नेपालमा संगठित राज्य स्थापना गर्ने यलम्बर नेपाली इतिहासका नक्षेत्र हुन्।

शाक्यमुनि बुद्व, दार्शनिक- विपश्यना विज्ञान

नेपालको लुम्बिनीमा, २६ सय बर्ष अघि जन्मेका शाक्यमुनी बुद्व विपश्यना विज्ञानका गुरु अर्थात दार्शनिक हुन्। विपश्यना विज्ञान त्यस कार्यमा निर्दिष्ट रहन्छ, जसले मानव जीवनमा सजगता र समाजमा समता कायम गर्दछ। अत: विपश्यना साधनालाई मानिसको मन व्यवस्थापन विज्ञान मानिन्छ।

सामान्यतः मानव समाज र विशेषतः एसियाली संज्ञान क्रान्तिमा विपश्यनाको स्थान सर्वोच्च छ। आफुलाई महासचेत बताउने पश्चिमाहरुको ज्ञान संस्कृतिसंग तुलना गर्ने हो भने २६ सय बर्ष अघिको विपश्यना विज्ञान, जुन एसियाली ज्ञानतत्व हो, स्वत: गुणनात्मक स्तरमा छ।

भौतिकवादी द्वन्दवादका दार्शनिक कार्ल मार्क्ससंग तुलना गर्दा मार्क्स सापेक्ष शान्तिका गुरु हुन् भने बुद्व निरपेक्ष शान्तिका गुरु। त्यस बाहेक मार्क्स र बुद्ववीच यावत समानता प्रतीत छन्।

समग्र ऐतिहासिक विकास प्रक्रियामा, दार्शनिक बुद्व नेपाली इतिहासका नक्षेत्र हुन्।

पृथ्वीनारायण शाह, संस्थापक- आधुनिक नेपाल

Source: https://upload.wikimedia.org

मनास्लु हिमाल दक्षिणस्थित गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहको राजनीतिक तथा फौजी अभियान सुरुमा राज्य विस्तारकै थियो। उनको सैनिक डप्फालाई गोर्खाली भनिन्थ्यो। जसको अवशेषका रुपमा राज्यको सरकारी प्रकाशन गोरखापत्र तथा बाह्यतर्फ गोर्खा फौज अध्यावधि छ। राज्य विस्तार, जसलाई भूगोल केन्द्रीकरणक्रम भनी मान्नु पर्दछ, पृथ्वीनारायण शाहले जब गोर्खादेखि नुवाकोट हुँदै विसं १८२६ सम्ममा नेपाल उपत्यकामा आफ्नो राजधानी स्थानान्तरण गरे, तब गोर्खाको सट्टा नेपाल र गोर्खालीको सट्टा नेपालीको परिस्थिति निर्माण भयो। जसलाई, सामान्यतः देश निर्माण स्वीकार गर्नु पर्दछ।

पृथ्वीनारायण शाहको गोर्खाली अभियानले आजका आन्तरिक राष्ट्रिय समुदायका साँस्कृतिक राज्यहरुलाई बलपूर्वक सम्मिलन गराएका भए तापनि त्यस घटनालाई अब ऐतिहासिक समिक्षाको विषय मान्नुपर्ने हुन्छ। किनकि, कतिपय इतिहास नियतिपूर्ण हुन्छन। परन्तु, इतिहास मात्र समातेर पनि व्यवहार चल्न सक्दैन। त्यसर्थ वर्तमान पुस्ताले स्वीकार गर्नु पर्दछ, आधुनिक नेपालको मानचित्र पृथ्वीनारायण शाहकै नेतृत्वाधीन अभियानबाट खडा गरिएको हो। अत: हामीले भन्दै आएका छौं, भूगोल केन्द्रीकरणमा पृथ्वीनारायण शाहको दृढ समर्थन गर्दै उनको आन्तरिक राज्यप्रणालीको भने वैज्ञानिक पुनसंरचना गर्नु पर्दछ।

अन्यथा आन्तरिक राष्ट्रिय समुदायहरुमाथिको उत्पीडनलाई जायज ठहर्याइरहने र पृथ्वीनारायण शाहलाई श्राप गरिरहने दुई अतिबाट नेपाल र नेपालीको हितरक्षा किमार्थ सम्भव छैन। गणतन्त्र नेपालको संविधानले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र भौगोलिक विविधतायुक्त देश भनी स्वीकार गरिसकेको पृष्ठभूमिमा आन्तरिक राष्ट्रिय समुदायको पहिचान अस्वीकार गर्ने प्रवृत्ति गोर्खाली अन्धराष्ट्रवाद ठहर्छ भने पृथ्वीनारायण शाहलाई धारे हात लाएर श्राप गरिरहने प्रवृत्ति जान अन्जान देश विरोधी कित्तामा फँस्ने जटिलतामा छ। अत: यहाँनिर परम्परागत शासकीय मनोविज्ञान र उत्पीडित राष्ट्रिय समुदायवीच समाजवादी लोकतान्त्रिक सम्झौताको शख्त जरुरत छ।

पृथ्वीनारायण शाहका राजनीतिक कार्यदिशा मूलतः निम्न देखिन्छन:

क. नेपाललाई असली हिन्दुस्तान बनाउने र

ख. चारजात छत्तिस बर्णको राज्यव्यवस्था खडा गर्ने।

"असली हिन्दुस्तान" को प्रश्नमा साम्राज्यवादी अंग्रेजले दक्षिण छिमेकी भारतमाथि शासन गरिरहेको प्रतिवादमा, ऐतिहासिक तथ्यका आधारमा विचार गर्दा लिच्छवीकालमै नेपाल उपत्यका, मधेश र क्रमश: खसान क्षेत्रमा हिन्दू मत स्थापित भइसकेको हुँदा वैदिक हिन्दूहरु नेपाली बनिसकेका थिए, त्यसर्थमा अन्यथा मानिरहनु गैरराजनीतिक पूर्वाग्रह मात्र हुनेछ। यसरी तत्कालीन  सन्दर्भमा असली हिन्दुस्तान नारालाई अंग्रेज विरुद्व स्वभाविक प्रतिरोध संघर्षको अर्थमा बुझ्नु पर्दछ।

चारजातको प्रश्नमा हिन्दू जातव्यवस्था अन्तर्गत ब्राम्हण, क्षेत्री, वैश्य र शुद्रको राज्य भन्ने जो थियो, अन्यायपूर्ण कार्यदिशा ठहरियो। त्यसलाई मुलुकी ऐनद्वारा राणा जंगवहादुरले कठोरतापूर्वक थोपरे। पृथ्वीनारायण शाहले भनेको "छत्तिसबर्ण" मा आजका जनजाति आदिवासी पर्दथे, भनी कतिपय विद्वानहरु चर्चा गर्दछन्। परन्तु, त्यसलाई पनि जंगवहादुरले निमिट्यान्न पार्दिए। यत्तिसम्म कि खसहरुलाई बलपूर्वक क्षेत्री हिन्दूमा गाभ्ने काम जंगवहादुरले नै गरे। परिणामस्वरुप सर्वत्र शासनमा एकलजातीय उत्पीडनका निम्ति राणा जंगवहादुर जिम्मेवार छन्।

किनकि, बिर्सनै मिल्दैन कि बेलायतको यात्रा गर्ने प्रथम नेपाली शासक हुनुको हैसियतमा राणा जंगवहादुरले बहुदलीय प्रजातन्त्र सिक्नु पर्दथ्यो। त्यस विपरीत उनले झन खराव जातव्यवस्थालाई कानूनी वैधता दिए। अत: पछिल्लो अन्धकार तथा उत्पीडनका प्रमुख जिम्मेवार पृथ्वीनारायण शाह नभएर राणा जंगवहादुर हुन् (गोपाल किराती, नेपाली क्रान्तिको समाजवादी कार्यक्रम, पृष्ठ २८ र २९) ।

स्मरण रहोस कि सिन्धुली गढीस्थित अंग्रेजसंगको लडाइँमा भारी विजयले गोर्खाली सैनिक अभियानलाई निर्णायक तुल्यायो। त्यस लडाइँमा त्यसरी विजय हासिल नगरेको भए वर्तमान मेची- महाकालीको सार्वभौम नेपाल सम्भव हुँदैनथ्यो।   याद रहोस्, सिन्धुलीको लडाइँमा अग्रमोर्चाको कमाण्ड बंशु गुरुङले सम्हालेका थिए। जसले, क्याप्टेन किनलक नेतृत्वका २४ सयमध्ये १६ सय अंग्रेज सेनालाई सफाया गरेर लखेटेका थिए। जुन तागतमा गोर्खाली सेना पूर्वतर्फ टिष्टासम्म पुग्यो भने पश्चिमतर्फ बहादुर शाहको नेतृत्वमा खसान हुँदै कांगडासम्म पुग्यो।

पृथ्वीनारायण शाहका समकालीन स्रेस्ताहरु मैथिल मिश्रीत   खस भाषामा लेखिएका देखिन्छन। क्रमश: संस्कृत मिश्रीत   खस भाषा गोर्खा राजभाषा बन्न पुग्यो। जसलाई, अहिले नेपाली भनिएको छ। तमुवान-गण्डकीका गोर्खालीहरु खस भाषा लिएर नेपालको केन्द्रीय सत्ता संचालनमा पुगेका हुँदा भाषाका आधारमा खसानका खस जनताको मनोविज्ञान समेटियो। अन्यथा दुर्गाहाङ याक्खाराईकृत "किरात: हिजो र आज" पुस्तकमा उल्लेखित पूर्वको किरातक्षेत्रमा भन्दा गोर्खाली सेनाले पश्चिमको खसानमा अझ भयानक दमन गरेका विवरणहरु उपलब्ध छन्।

आदिवासीको सन्दर्भमा आफ्ना परम्परागत सार्वभौम राज्यहरु खोसिए पनि पृथ्वीनारायण शाहलाई राजा मान्ने शर्तमा उनीहरुको स्थानीय प्रशासनिक अधिकार गोर्खाली शासनले थामी दिएका थिए। जसको उदाहरण पूर्वमा राई, विशेषतः लिम्बूको किपट थियो। राणा हुँदै पञ्चायती शासनले आदिवासीका सम्पूर्ण परम्परागत अधिकार खोसुवा गर्दा उनीहरु सामुदायिक पहिचान र अधिकार अथवा राज्यविहीन बन्न पुगेका हुन्। त्यसको परिणाम आदिवासीहरु पृथ्वीनारायण शाहप्रति आक्रोश पोख्दछन्।

उपरोक्त अन्तर्विरोधमा रोचक त के भने सुगौली सन्धिले गोर्खा राज्य विस्तारको भौगोलिक विस्तार अन्त्य गरिदियो। तर, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणासम्म पुग्दा पनि गोर्खाली राज्य विस्तार अभियानको औपचारिक राजकीय समापन भने बाँकी नै छ। यसको अर्थ गणतान्त्रिक नेपालको आन्तरिक राज्यप्रणालीमा समेत गोर्खा राज्य विस्तार प्रवृत्ति यथावत छ। त्यसले गर्दा गणतान्त्रिक राज्य दलित, मधेसी, मुस्लिम, जनजाति आदिवासी र खस साझेदारीको राज्यमा रुपान्तरित हुन पाएको छैन। जसको परिणाम जातजाति, भाषा, संस्कृति र क्षेत्रीय उत्पीडन यथावत रहँदा नेपालको आन्तरिक राष्ट्रिय एकता सुदृढीकरणमा अशेष चुनौति छन्।
तसर्थ वर्तमान पुस्ताको ऐतिहासिक कार्यभार हुन आउँछ, देशभक्तिपूर्ण नेपाली राजनीतिक सम्मेलन आयोजना। जसका निमित्त निम्न दुई चरणमा कार्यक्रम सम्पन्न गर्नु पर्दछ:

  • घोषणापत्र तयारी सम्मेलनको चरण

देशका सबै जातजातीय, भाषिक, साँस्कृतिक, क्षेत्र समुदायका संगठन प्रतिनिधिहरु; मजदुर, किसान, पुँजीपति र महिला संगठनका प्रतिनिधिहरु एवं सडक, संसद तथा सरकारका दल प्रतिनिधिहरुको राजनीतिक सम्मेलन आयोजनागरी गोर्खा राज्य विस्तार समापन समारोहको साझा घोषणापत्र निर्माण गर्ने।

ख. राजकीय समापन अर्थात नयाँ राष्ट्रिय एकीकरण  घोषणाको चरण

घोषणा समारोह नेपाल सरकारले आयोजना गर्नेछ। जसमा घोषणापत्र तयारी सम्मेलनका प्रतिनिधिहरु, राज्यका संवैधानिक एवं सुरक्षालगायत सबै विभागीय प्रमुखहरु, विभिन्न पेसागत महासंघ प्रमुखहरु र सम्भव भएसम्म दुई छिमेकी देशका प्रमुखहरु तथा नेपालस्थित कुटनीतिक अधिकारीहरु आमन्त्रित हुनेछन्।
समारोहको अध्यक्षता प्रधानमन्त्रीले र आम नेपाली जनसमक्ष अपीलसहित घोषणापत्र वाचन राष्ट्रपतिले गर्नेछन्।

सूचना प्रविधिको अधिकतम प्रयोगद्वारा स्वदेश तथा विदेशमा रहेका प्रत्येक नेपाली नागरिक समक्ष तत्कालीन राज्य विस्तारको राजकीय समापन संगसंगै समाजवादी लोकतान्त्रिक आधारमा नयाँ राष्ट्रिय एकीकरण सन्देश प्रत्यक्ष प्रेषण गरिने छ।

पुष्पलाल श्रेष्ठ, विचारक- साम्यवादी नेपाल

राष्ट्रियता, जनतन्त्र र जनजीविकाको तीन कार्यभारका सुव्यवस्थित विचारसहित विसं २००६ मा कम्युनिस्ट पार्टी स्थापना गरेका पुष्पलाल श्रेष्ठ नेपालमा साम्यवादी विचारका संस्थापक हुन्। २००८ को राष्ट्रिय सम्मेलनमा पुष्पलाल श्रेष्ठद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनले वर्ग प्रधानता अन्तर्गत नेपाली क्रान्तिको विशिष्ट सवालमा जातिहरुको स्वशासनव्यवस्था सम्बन्धी नीति अघि सारेको थियो।

विसं १९९७ मा राणाशासनद्वारा मारिएका चार जना सहिदमध्ये एक गंगालाल श्रेष्ठका माईला भाइ पुष्पलालले नेपालमा मातृसत्तात्मक समाज र राजतन्त्रको उदय जस्ता दस्तावेज रचना गरेर वैज्ञानिक दृष्टिकोण स्थापित गरे। त्यसरी नै संयुक्त जनआन्दोलनको विचार प्रतिपादन गरेर जनविरोधी सत्ता उखेल्न आम उत्पीडित तथा प्रगतिशीलहरुवीच रणनीतिक मोर्चातर्फ मार्गदर्शन गरे। निर्दलीय पञ्चायत र सामन्ती राजतन्त्रको अन्त्यमा पुष्पलालको संयुक्त जनआन्दोलन कामयाब रह्यो। विभिन्न बाह्य दबावकावीच बंगलादेश स्वतन्त्रताप्रति समर्थन जनाएर नेपालको राष्ट्रिय दृष्टिकोण अभिव्यक्त गरे।

पुष्पलाल श्रेष्ठवारे तीन कुरा:

-आफुसंग भएका सबै कुरा पार्टी र आन्दोलनमा समर्पित गरे।

- तर, जीवित हुँदासम्म जस र सुख भने कहिल्यै पाएनन्। उनका विरुद्व संशोधनवादीहरुले गम्भीर षडयन्त्र गरे।

- त्यस्तो विषम स्थितिमा पनि क्रान्तिको विचार र झण्डा कहिल्यै छाडेनन्।

वीपी कोइराला, विचारक- पुँजीवादी नेपाल

नेपाली कांग्रेस पार्टी स्थापना र मोहनसमशेर राणा सरकारमा गृहमन्त्रीको जिम्मा सम्हालेका वीपी कोइराला नेपालमा पुँजीवादी विचारका संस्थापक हुन्। विसं २०१५ मा निर्वाचित प्रधानमन्त्री समेत रहेका वीपीले आफ्ना सुव्यवस्थित विचार भने २०१२ मात्र प्रस्तुत गरेका हुन्। जयपृथीवहादुर सिंह,    टंकप्रसाद आचार्य, रामप्रसाद राई, डिल्लिरमण रेग्मी, सुवर्णसमशेर राणा तथा रघुनाथ ठाकुरहरुले नेपालमा जोड्दार प्रजातान्त्रिक अगुवाई गरे पनि  सैद्वान्तिक स्तरमा त्यसलाई सुत्रबद्व भने वीपीले गरेका हुन्।

सन १९५५ तदनुसार विसं २०१२ मा जर्मनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन मार्फत प्रजातान्त्रिक समाजवादको विचार वीपीले ग्रहण गरेका थिए। जसलाई, नेपालको सन्दर्भमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भनी उनले सुत्रबद्व गरे।

सुव्यवस्थित विचार प्रस्तुतिमा पुष्पलाल अघि र वीपी पछि देखिन्छन। साथसाथै, पुष्पलालको संयुक्त जनआन्दोलन जस्तै वीपीको राष्ट्रिय मेलमिलाप नीति यहाँ निरन्तर अनुकरणयोग्य छ।

देखी जान्नेहरुका अनुसार करिश्म्याटिक व्यक्तित्वका साथ वीपी कोइरालाले राजनीतिका अतिरिक्त नेपाली साहित्यमा सेवा पुर्याए।

रामराजाप्रसाद सिंह, वरिष्ट नेता- गणतन्त्रवादी आन्दोलन

Source: https://en.wikipedia.org

विश्व चर्चित छापामार नेता चे ग्वेभारासंग भेट्ने एक मात्र नेपाली रामराजाप्रसाद सिंह हुन्। एक अन्तर्वार्तामा चेसंग उनले बर्मास्थित समुन्द्री तटमा भेटेको बताएका छन्।

विसं २०४२ मा नारायणहिटी राजदरबार र निर्दलीय पञ्चायतभवन सिंहदरबारमा एकसाथ बम विष्फोटन कार्वाहीको जिम्मा रामराजाप्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले लिएको थियो। त्यस कार्वाहीमा एक जना राष्ट्रिय पञ्चायत सदस्यको ज्यान गएको थियो।

"सिंहाशन खालि गर!"- मूलनारामा राजदरबारमा  बम विष्फोटन कार्वाही नै ३० बर्षे निर्दलीय पञ्चायत विरुद्व सबै भन्दा ठूलो कार्वाही थियो। अत: रामराजाप्रसाद सिंह नेपालमा गणतन्त्रवादी आन्दोलनका सर्वोच्च माने वरिष्ट नेता हुन्।

विसं २०६५ मा जब संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो, तत्कालीन नेकपा माओवादीले रामराजाप्रसाद सिंहलाई प्रथम नेपाली राष्ट्रपति पदको प्रत्यासीमा अघि सार्यो। खेदकासाथ भन्नुपर्छ- कांग्रेस, एमाले र मधेशवादी दलहरुको दलतन्त्रीय रवैयाका कारण घगडान व्यक्तित्व सिंहलाई निर्वाचित गर्न सकिएन। जम्मा ४ मतको कमी रह्यो।

यध्यपि, यो पंक्तिकार गौरव गर्दछ, पार्टी निर्णयमा यसले रामराजाप्रसाद सिंहलाई मतदान गर्ने अवसर प्राप्त गरिछाड्यो।

कमरेड प्रचण्ड, संस्थापक- गणतन्त्र नेपाल

तत्कालीन नेकपा माओवादीको नेतृत्वाधीन २०५२ मा घोषित महान जनयुद्वका नेता कमरेड प्रचण्ड संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा संस्थापक हुन्।

दस बर्षे जनयुद्वको जगमा दोस्रो जनआन्दोलनबाट गिरिजाप्रसाद कोइराला अन्तरिम सरकार प्रधानमन्त्री भए। त्यसवीच यथास्थितिवादका अनेक प्रपञ्चहरु चले। जागरुक नेपाली जनताका साथ माओवादी अडानले बल्लतल्ल संविधानसभाको निर्वाचन भयो। निर्वाचनमा तत्कालीन नेकपा माओवादी प्रथम पार्टी बन्यो। त्यसरी २०६५ जेठ १५ गते औपचारिकताकै मात्र किन नहोस, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो।

प्रकारान्तरले तत्कालीन मन्त्रीपरिषद सदस्यको हैसियतमा हामीलाई भलिभाति अवगत छ कि ऐतिहासिक तथ्य यो हो कि निर्वाचित प्रधानमन्त्री कमरेड प्रचण्ड अध्यक्षताको मन्त्रीपरिषद बैठकमा प्रस्तुत नेपाल राज्यको नामवारे कार्यसूचि र निर्णयबाट नेपाल सरकार नामाकरण गरिएको थियो। प्रधानमन्त्रीको निर्देशनमा मुख्य सचिवद्वारा प्रस्तुत कार्यसूचिमा नेपालको राजकीय नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुने कि नेपाल सरकार हुने भन्ने दुई विकल्प थिए। त्यसमध्ये संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाल सरकार, संक्षेपमा नेपाल सरकार नामाकरण निर्णय लिइयो।

अत: परिवर्तित नेपालको राजकीय नामाकरण प्रचण्ड अध्यक्षताको बैठकबाट भएको आधारमा कमरेड प्रचण्ड गणतन्त्र नेपालका संस्थापक हुन्।

निष्कर्षमा, उपरोक्त सात नक्षेत्रका ऐतिहासिक योगदानहरुको पृष्ठभूमिमा समाजवादी लोकतन्त्रको अर्थराजनीतिक कार्यक्रमबाट नेपाली समाजको राजनीतिक ऐजेरु दलाल तथा एकलजातीय पुँजीवादलाई सदाका लागि निषेधको निषेध गर्न सकिन्छ। जसबाट वर्गीय, लैंगिक एवं सर्व-जातजातीय साझेदारीमा स्वाधीन नेपाल स्थापित गर्न सकिन्छ। दुई छिमेकी प्राथमिकतामा अन्तर्निभर राष्ट्रिय अर्थतन्त्रको बाटो भएर उद्योग धन्दा, बजार, विज्ञान-प्रविधिका साथ स्वदेशमा करोडौंलाई भरमार रोजगारी सृष्टि गर्न सकिन्छ।

पदार्थ र गतिका सम्बन्धहरुवीच एकता- संघर्ष- रुपान्तरण, मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकता वस्तुतः प्रकृतिको नियम हो। प्रकृति प्रदत्त मानव समाज र चिन्तनमा त्यही दार्शनिक नियम लागू हुन्छ, जुन मुख्यतः रुपान्तरण र नयाँ आधारमा नयाँ एकताको नियम प्रवर्तित छ। अत: गोर्खा राज्य विस्तारमा आफ्ना परम्परागत राज्य खोसिएका भनी पीडित जातिहरु इतिहासको पीडामा कुण्ठित भइरहनु स्वयंको आगत प्रगति र नेपाली समाजका निमित्त सरासर बाधक हुनेछ। त्यसरी नै बहुजातीय मुलुक नेपालमा एकलजातीय धृष्टताको गोर्खाली अन्धराष्ट्रवादी धङ्धङगी बोकिरहने खस-आर्य सोंच स्वयंका लागि घातक र नेपाली समाजका लागि बाधक छ।

जस्तो कि राणा र पञ्चायती शासनले खस-नेपाली बाहेक देशका अरु सम्पूर्ण मातृभाषाहरुमाथि दमननीति लियो। अन्ततः परिणाम खसहरुकै कूलपित्रमा अंग्रेजी भाषा घुस्न थाल्यो। प्रश्न कि हाल  नेपाली भाषाको मृत्यु हुन पुग्यो भने नेपालमा कुन भाषाले राज्य गर्ला? यो जोखिम गोर्खाली अन्धराष्ट्रवादी शासनले निम्त्याएको हो। त्यस विरुद्व मुख्यतः खस-आर्य प्रगतिशीलहरु नै डट्न सक्नु पर्दछ।

अत: इतिहासको भौतिकवादी धारणामा नेपाली समाजको राजनीति, अर्थतन्त्र, संस्कृति सम्बन्धी वाद, प्रतिवाद र सम्बादमा जुटेर वर्तमान पुस्ताले आफ्नो कार्यभार उठान जमर्को गर्नै पर्दछ। जसले, नयाँ आधारमा नयाँ र युगान्तकारी एकता सृष्टि गर्न सकियोस्। त्यसतर्फ, नयाँ राष्ट्रिय एकीकरणतर्फ मुख्यतः नेपाल पढ्ने सिद्वान्तका युवाहरु, जो देशभक्तिपूर्ण झण्डा उठाउने प्रतिबद्वतामा दृढ छन्, उनीहरुले आफ्नो सर्वोत्तम विवेक र ऊर्जा हठात केन्द्रित गर्नेछन्।

(लेखक पूर्वमन्त्री किराती नेपाली कम्युनिस्ट पार्टीका नेता तथा देशभक्त समाजवादी स्कुलका अध्यक्ष हुन्।)