चुनावको एक दिन

एक दिन चुनाव आउँछ र

जनताले नेता कज्याउन पाउँछन्

नभए बाँकी सारा दिन

नेताले जनता कज्याइरहन्छन् ।

 

एक दिन चुनाव आउँछ र

जनताले नेताको ढोग पाउँछन्

नभए त सारा बाँकी दिन

जनताले नेता ढोगेरै सकिन्छन् ।

 

एक दिन चुनाव आउँछ र

जनताले नेतालाई विनम्र देख्न पाउँछन्

नभए त बाँकी सारा दिन त

नेताले जनता थर्काएरै सकिन्छन् ।

 

एक दिन चुनाव आउँछ र

जनताले नेताको आँसु देख्न पाउँछन्

नभए बाँकी सारा दिन

नेताले जनता रुवाएरै सकिन्छन् ।

 

कास यो एक दिन हरेक दिन भइदिए

नेता नेताबाट मानव हुने थिए

र जनता

मानवको जिन्दगी

सम्मानले बाँच्न पाउने थिए ।