बाँधोप्रथा

गाइको इतिहास लेखिँदैन

गाइको निबन्ध लेखिन्छ ।

 

पितृसत्ताले स्त्रीलाई  गाई मान्छ

गाइको  इतिहास लेखिँदैन

गाइको निबन्ध लेखिन्छ

स्त्री आफ्नो इतिहास आफैं लेख।

 

वर्गसत्ताले स्त्रीलाई गाई मान्छ

गाइको इतिहास लेखिँदैन

गाइको निबन्ध लेखिन्छ

स्त्री आफ्नो इतिहास आफैं लेख।

 

स्त्री

गाई निबन्धको अर्थ हुन्छ

गाइको  थुन हुन्छ

गाइको  नाक कान  हुन्छ

गाइको अनुहार हुन्छ

आदि इत्यादि

स्त्री निबन्धको अर्थ हुन्छ

स्त्रीको  दुध  हुन्छ

स्त्रीको नाक कान हुन्छ

स्त्रीको अनुहार हुन्छ

आदि इत्यादि

स्त्री तिमी आफ्नो इतिहास आफैं लेख

इतिहास मात्र मान्छेले लेख्छ ।

 

स्त्री

नबजारिएको पानी नदी हुँदैन

कुवा हुन्छ

स्त्री तिमी नदी बन

आफ्नो इतिहास आफैं लेख।

 

स्त्री

बाँधो खरानी बनाउन आगो हुनुपर्छ

स्त्री  तिमी  आगो हौ

आगोको  पात्रता लेख

स्त्री तिमी आफ्नो इतिहास आफैं लेख।

 

नोट:

बाँधोप्रथा भनेको मानसिक रुपमा दासी वा दास बनाउने प्रथा हो। अर्थात्  मानसिक रुपमा कमाराकमारी  बनाउने प्रथा हो।  गाइवस्तुहरु  ठूलो भएपछि  किलो  उखेल्न सक्छन् । तर  गाइवस्तुलाई  सानैदेखि किलोमा बाँधेर रत्याउने  भएकोले  ठूलो भएपछि  पनि किलोमा  नै  रत्तिने मानसिकता बन्छ। तिनलाई आफूभित्रको शक्ति नै थाहा हुँदैन। गाइवस्तु  हुन् कि मान्छे,  यसरी मानसिक रुपमा  किलोमा रत्त्याउने प्रथालाई बाँधोप्रथा भनिन्छ।