अवैध आक्रमणमार्फत अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपतिलाई नियन्त्रणमा लियो

विजयप्रसाद – तारोआ जुनीगा सिल्भा

भेनेजुएलाको समयअनुसार सन् २०२६ जनवरी ३ को बिहान करिब २ बजेपछि, संयुक्त राष्ट्रसंघको चार्टरको धारा २ को उल्लङ्घन गर्दै, अमेरिकाले राजधानी कराकाससहित भेनेजुएलाका विभिन्न स्थानहरूमा आक्रमण सुरु गर्‍यो। स्थानीय बासिन्दाहरू चर्को आवाज, उज्याला चम्काहटहरू र आकाशमा उडिरहेका ठूला हेलिकप्टरहरूको आवाजले ब्युँझिए। सामाजिक सञ्जालमा भिडियोहरू देखिन थाले, तर ती भिडियोहरू पर्याप्त सन्दर्भविना नै थिए। सामाजिक सञ्जाल भ्रम र अफवाहले भरियो।

भेनेजुएलामाथि भएको यस आक्रमणको नतिजा अझै स्पष्ट छैन। राष्ट्रपति अपहरणमा परे पनि सरकार अझै नियन्त्रणमै रहेको छ, र भेनेजुएलाका जनता आघातमा भए पनि अडिग देखिन्छन्।

एक घण्टाभित्र आकाश शान्त भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेनाले भेनेजुएलामाथि आक्रमण गरेको र राष्ट्रपति निकोलस मादुरो मोरो तथा उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको घोषणा गरे। केही समयपछि भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो र फ्लोरेसको हालको अवस्थाबारे कुनै जानकारी नभएको पुष्टि गरिन्। अमेरिकी महान्यायाधिवक्ता पामेला बन्डीले मादुरो र फ्लोरेस संयुक्त राज्य अमेरिकामा रहेको र उनीहरूमाथि ‘नार्को–आतंकवादी षड्यन्त्र’ को अभियोग लगाइएको पुष्टि गरिन्।

भेनेजुएलामाथि भएको यस आक्रमणको नतिजा अझै स्पष्ट छैन। राष्ट्रपति अपहरणमा परे पनि सरकार अझै नियन्त्रणमै रहेको छ, र भेनेजुएलाका जनता आघातमा भए पनि अडिग देखिन्छन्। संयुक्त राज्य अमेरिकाले फेरि आक्रमण गर्छ कि गर्दैन, वा यस आक्रमणपछिको अवस्थाका लागि अमेरिकी सरकारसँग कुनै स्पष्ट राजनीतिक योजना छ कि छैन यी सबै कुरा अहिलेसम्म अनिश्चित नै छन्।

भेनेजुएलाविरुद्धको युद्ध

जनवरी ३ मा भएको आक्रमण भेनेजुएलामाथिको पहिलो आक्रमण होइन। वास्तवमा, दबाबको यो अभियान सन् २००१ मै सुरु भएको थियो, जब ह्युगो चाभेजको सरकारले सन् १९९९ को बोलिभेरियन संविधानमा उल्लेखित सार्वभौमिकताको प्रावधानअनुसार हाइड्रोकार्बन कानुन लागू गर्‍यो। उक्त अभियानका निम्न पक्षहरू थिए (यो उदाहरणात्मक सूची हो, पूर्ण सूची होइन):

अमेरिकाको सरकारले जब एकपक्षीय रूपमा कारबाही गर्ने निर्णय गर्छ (सन् २००३ मा इराकविरुद्ध होस् वा सन् २००१ देखि २०२६ सम्म भेनेजुएलाविरुद्ध), हालसम्म कुनै पनि शक्तिले उसलाई रोक्न सकेको छैन।

  • (२००१) नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) USAID मार्फत बोलिभेरियन आन्दोलनविरुद्धका सामाजिक तथा राजनीतिक समूहहरूलाई अमेरिकी वित्तीय सहयोग।
  • (२००२) असफल कू–देता प्रयासमा अमेरिकाको भूमिका।
  • (२००२) USAID को अफिस अफ ट्रान्जिसन इनिसियटिभ्स द्वारा भेनेजुएला कार्यक्रमको स्थापना।
  • (२००३–२००४) जनमतसंग्रहमार्फत चाभेजलाई हटाउने उद्देश्यले मारिया कोरिना माचाडोको नेतृत्वमा रहेको सुमाते (Súmate) संस्थालाई वित्तीय सहयोग र राजनीतिक निर्देशन।
  • (२००४) चाभेजको आधारलाई ‘भित्रैबाट कमजोर पार्ने’, चाभिस्मोलाई ‘विभाजन गर्ने’, चाभेजलाई ‘एक्ल्याउने’, सुमाते जस्ता समूहहरूलाई सुदृढ बनाउने, तथा ‘अमेरिकाका महत्वपूर्ण व्यावसायिक हितहरू सुरक्षित गर्ने’ उद्देश्यसहितको पाँच-बुँदे रणनीतिको विकास।
  • (२०१५) अमेरिकी राष्ट्रपति बाराक ओबामाद्वारा कार्यकारी आदेशमा हस्ताक्षर, जसमा भेनेजुएलालाई ‘असाधारण खतरा’ घोषणा गरियो, जसको आधारमा पछि प्रतिबन्धहरू लगाइए।
  • (२०१७) भेनेजुएलालाई अमेरिकी वित्तीय बजारमा पहुँचबाट वञ्चित गरियो।
  • (२०१८) अन्तर्राष्ट्रिय बैंक र ढुवानी कम्पनीहरूलाई अवैध अमेरिकी प्रतिबन्धहरूभन्दा पनि कडा रूपमा पालना गर्न दबाब दिइयो, साथै बैंक अफ इङ्ग्ल्यान्डले भेनेजुएलाको केन्द्रीय बैंकका सुन भण्डार जफत गर्‍यो।
  • (२०१९) हुआन गुआइदोलाई अमेरिकाद्वारा ‘अन्तरिम राष्ट्रपति’ घोषणा गर्दै वैकल्पिक सरकार निर्माण गर्ने प्रयास, असफल विद्रोह आयोजना, भेनेजुएलाको तेल बिक्री क्षमतामा रोक लगाउने तथा विदेशस्थित तेल सम्पत्ति जफत गर्ने कार्य।
  • (२०२०) अपरेसन गिडियन मार्फत मादुरोलाई अपहरण गर्ने प्रयास (उनको पक्राउका लागि इनाम घोषणा सहित), र महामारीका बेला भेनेजुएलामाथि ‘अधिकतम दबाब’ अभियान सञ्चालन (अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा भेनेजुएलाकै आफ्ना सञ्चितीमा पहुँच नदिनु समेत)।
  • (२०२५) नोबेल समितिले मादुरोले पद छोड्नुपर्छ भन्ने टिप्पणीसहित मारिया कोरिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नु।
  • (२०२५–२०२६) भेनेजुएलाको तट नजिक साना डुंगामाथि आक्रमण, भेनेजुएलामाथि नाकाबन्दी लगाउने उद्देश्यले नौसैनिक बेडाको तैनाथी, तथा भेनेजुएलाका तेल ट्याङ्करहरू जफत गर्नु।

जनवरी ३ मा भएको आक्रमण सन् २००१ मा सुरु भएको यस युद्धकै एक अंश हो, र चिनुक हेलिकप्टरका इन्जिनहरू चिसा भइसकेपछि पनि यो युद्ध लामो समयसम्म जारी रहनेछ।

चिल क्रोधित छ

अमेरिकाको सरकारले जब एकपक्षीय रूपमा कारबाही गर्ने निर्णय गर्छ (सन् २००३ मा इराकविरुद्ध होस् वा सन् २००१ देखि २०२६ सम्म भेनेजुएलाविरुद्ध), हालसम्म कुनै पनि शक्तिले उसलाई रोक्न सकेको छैन। सन् २००३ मा संयुक्त राज्य अमेरिकासहित विश्वभरका लाखौँ मानिसहरूले युद्धको विरोधमा सडकमा प्रदर्शन गरे, र संसारका अधिकांश सरकारहरूले युद्ध नगर्न चेतावनी दिएका थिए। तर जर्ज डब्ल्यु. बुश र बेलायतका प्रधानमन्त्री टोनी ब्लेयर (उनका ‘नम्बर–२’ को भूमिकामा) का सरकारहरूले अवैध युद्ध अघि बढाए। यस पटक पनि, दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रमा युद्ध भए अत्यन्तै अस्थिरता फैलिने भन्दै प्रमुख शक्तिहरूले संयुक्त राज्य अमेरिकालाई सचेत गराएका थिए। यो धारणा भेनेजुएलाका छिमेकी देशहरू ब्राजिल र कोलम्बियाका नेता तथा चीनजस्ता ठूला शक्तिहरूको थियो (जसका विशेष दूत चिउ सियाओचीले अमेरिकी आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्र मादुरोसँग भेट गरेका थिए)। सन् २००३ मा मात्र होइन, सन् २००१ देखि अहिलेसम्म भेनेजुएलाविरुद्ध तेलका लागि लडिएको अमेरिकाको आसक्तीपूर्ण युद्धलाई पनि विश्वले रोक्न सकेको छैन।

भेनेजुएलामाथिको आक्रमण यसरी तय गरिएको थियो कि जनवरी ४ मा अमेरिकी कंग्रेसका दुवै सदनअगाडि वार्षिक सम्बोधन गर्दै ट्रम्पले आफूले ठूलो विजय हासिल गरेको दाबी गर्न सकून्। तर यो विजय होइन। यो विश्वको अवस्था सुधार नगर्ने एकपक्षीयतावादकै अर्को उदाहरण मात्र हो। इराकमाथिको अमेरिकाको अवैध युद्ध एक दशकको निर्दयी हिंसापछि, जसमा करिब १० लाख सर्वसाधारण मारिए अमेरिका फिर्ता हुन बाध्य भएपछि समाप्त भयो। यही नियति अफगानिस्तान र लिबियामा पनि देखियो । यी दुई देश अमेरिकी चिलद्वारा ध्वस्त पारिए।

‘शासन परिवर्तन युद्ध’ बाट कहिल्यै कुनै राम्रो नतिजा आएको छैन, र यहाँ पनि आउने छैन। यही कारण ब्राजिल र कोलम्बिया यस आक्रमणप्रति असहज छन्, किनकि उनीहरूलाई थाहा छ यसको एकमात्र परिणाम दक्षिण अमेरिकाको उत्तरी आधा भागमा, यदि सम्पूर्ण ल्याटिन अमेरिकामा नभए पनि, दीर्घकालीन अस्थिरता हुनेछ।

यदि अमेरिकाले बमबारी जारी राख्यो र स्थलसेना भेनेजुएलामा पठायो भने, त्यहाँका लागि फरक भविष्यको कल्पना गर्नु असम्भव छ। यी ‘शासन परिवर्तन युद्ध’ बाट कहिल्यै कुनै राम्रो नतिजा आएको छैन, र यहाँ पनि आउने छैन। यही कारण ब्राजिल र कोलम्बिया यस आक्रमणप्रति असहज छन्, किनकि उनीहरूलाई थाहा छ यसको एकमात्र परिणाम दक्षिण अमेरिकाको उत्तरी आधा भागमा, यदि सम्पूर्ण ल्याटिन अमेरिकामा नभए पनि, दीर्घकालीन अस्थिरता हुनेछ। यही अवस्था उत्तरी अफ्रिकामा देखिएको छ (नाइजेरियामाथि ट्रम्पको बमबारी सन् २०११ मा लिबियामाथि नाटोले गरेको बमबारीको भग्नावशेषकै निरन्तरता हो)।

ट्रम्पले अमेरिकी कंग्रेसमा उभिँदा तालीको गडगडाहट पाउनेछन्, तर त्यसको मूल्य भेनेजुएलामा मारिएका सयौँ सर्वसाधारण र पछिल्ला दुई दशकदेखि संयुक्त राज्य अमेरिकाले थोपरेको दीर्घकालीन हाइब्रिड युद्धबीच ज्यान जोगाउन संघर्ष गरिरहेका लाखौँ मानिसहरूले पहिले नै चुकाइसकेका छन्।

Source: https://globetrotter.media/