भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पत्नीसमेत गिरफ्तार गरिएको ट्रम्पको दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आक्रमणपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी देशबाहिर लगिएको दाबी गरेका छन्। ट्रम्पका अनुसार राष्ट्रपति मादुरोलाई उनकी पत्नीका साथ पक्राउ गरिएको हो।
ट्रम्पले बताएअनुसार उक्त अपरेसनपछि मादुरोलाई भेनेजुएलाबाहिर लगिएको छ, तर उनलाई कहाँ लगिएको हो वा हाल उनको अवस्था के छ भन्नेबारे स्पष्ट पारिएको छैन। ट्रम्पले आफ्नो वक्तव्यमा यो कारबाही अमेरिकी कानुन कार्यान्वयन निकायहरूसँगको समन्वयमा गरिएको उल्लेख गर्दै यसबारे थप जानकारी पछि सार्वजनिक गरिने बताए।

उनले यस विषयमा अमेरिकी समयअनुसार बिहान ११ बजे फ्लोरिडास्थित मार-ए-लागोमा प्रेस सम्मेलन आयोजना गरिने पनि जानकारी दिएका छन्। यद्यपि, अहिलेसम्म ह्वाइट हाउस, पेन्टागन वा अमेरिकी विदेश मन्त्रालयले यस दाबीको औपचारिक पुष्टि गरेका छैनन्।
स्थानीय समयअनुसार शुक्रबार राति करिब दुई बजे भएको घटनाबारे प्रतिक्रिया जनाउँदै भेनेजुएला सरकारले अमेरिकामाथि देशका विभिन्न राज्यहरूमा सैन्य तथा सैन्य प्रतिष्ठानहरूमा आक्रमण गरेको आरोप लगाएको छ। यसैबीच, अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले “जारी सैन्य गतिविधि” लाई कारण देखाउँदै काराकासमा विस्फोट हुनुअघि नै भेनेजुएलाको हवाई क्षेत्रमा अमेरिकी व्यावसायिक उडानमाथि प्रतिबन्ध लगाएको थियो।
काराकासस्थित एक सैन्य अड्डाबाट धुवाँ उठिरहेको देखिएको छ भने राजधानीकै अर्को सैन्य प्रतिष्ठानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। यसअघि अमेरिकाले मादुरोको पक्राउबारे जानकारी दिने व्यक्तिलाई ५० मिलियन अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।
भेनेजुएला सरकारको प्रतिक्रिया
यसैबीच, भेनेजुएला सरकारले एक विज्ञप्ति जारी गर्दै आफ्ना समर्थकहरूलाई सडकमा उत्रिन आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनता सडकमा उत्रिऊन् ! बोलिभेरियन सरकारले देशका सबै सामाजिक तथा राजनीतिक शक्तिहरूलाई लामबन्दीका योजनाहरू सक्रिय गर्न र यस साम्राज्यवादी आक्रमणको विरोध गर्न आह्वान गर्दछ।”
विज्ञप्तिमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले “सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न” निर्देशन दिएको पनि उल्लेख गरिएको छ। यो घटनाक्रम त्यस्तो समयमा भएको छ, जब अमेरिकी सेनाले हालका दिनहरूमा कथित रूपमा लागुऔषध तस्करीमा संलग्न नौकाहरूलाई निशाना बनाइरहेको छ।
शुक्रबार भेनेजुएलाले लागुऔषध तस्करी नियन्त्रणका लागि अमेरिकासँग सम्झौताका विषयमा वार्ता गर्न आफू तयार रहेको जनाएको थियो।
यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले पहिले नै रेकर्ड गरिएको र बिहीबार प्रसारित एक अन्तर्वार्तामा अमेरिका भेनेजुएलामा सरकार परिवर्तन गराउन दबाब सिर्जना गर्न र देशका विशाल तेल भण्डारमा पहुँच हासिल गर्न चाहिरहेको आरोप लगाएका थिए। उनले दबाब सिर्जना गर्ने यो अभियान अगस्ट महिनामा क्यारिबियन सागरमा अमेरिकी सेनाको व्यापक तैनातीसँगै सुरु भएको र विगत केही महिनादेखि निरन्तर जारी रहेको बताएका थिए।
विभिन्न देशहरुले भेनिज्युएला माथि अमेरिकाले गरेको आक्रमणको कडा शब्दमा भ्रत्सना गरेका छन्। जस मध्ये क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले शनिबार भेनेजुएलाविरुद्ध भएको भन्दै उल्लेख गरिएको “आपराधिक अमेरिकी आक्रमण” को कडा निन्दा गरेका छन् र अन्तर्राष्ट्रिय समुदायबाट तत्काल प्रतिक्रिया आवश्यक रहेको बताएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उनले यस्तो धारणा व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमा लेखिएको एक सन्देशमा राष्ट्रपति डियाज–कानेलले शान्तिको क्षेत्रका रूपमा चिनिने लाटिन अमेरिकामाथि निर्दय रूपमा आक्रमण भइरहेको उल्लेख गर्दै भनेका छन्, “यो साहसी भेनेजुएलाली जनतामाथि मात्र होइन, हाम्रो अमेरिका (Our America) माथि गरिएको राज्यस्तरीय आतंकवाद हो।”
त्यस्तै रुसको विदेश मन्त्रालयले भेनेजुएलाविरुद्ध अमेरिकाले गरेको कार्यलाई “सशस्त्र आक्रमण” को संज्ञा दिँदै यसको निन्दा गरेको छ। अल जजिराका अनुसार मन्त्रालयले सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै थप तनाव वृद्धि हुनसक्ने खतरा प्रति चेतावनी दिएको छ। वक्तव्यमा भनिएको छ, “यी कारबाहीलाई正 ठहर्याउन प्रस्तुत गरिएका बहानाहरू कुनै पनि हिसाबले टिकाउ छैनन्। व्यवहारिक कूटनीति र विश्वास तथा पूर्वानुमेयतामा आधारित सम्बन्ध निर्माण गर्ने इच्छामाथि वैचारिक रूपमा प्रेरित शत्रुताले विजय हासिल गरेको छ।” सोहि प्रकारले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले शनिबार भेनेजुएलामा भएको आक्रमणबारे छलफल गर्न अमेरिकी राज्य संगठन (OAS) र संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक तत्काल बोलाउन आह्वान गरेका छन्। सामाजिक सञ्जाल एक्स (X) मा लेख्दै उनले भनेका छन्, “काराकासमा अहिले बमबारी भइरहेको छ … भेनेजुएलामाथि आक्रमण गरिएको छ।”
त्यस्तै इरानको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य आक्रमणको कडा निन्दा गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि भेनेजुएलाको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको गम्भीर उल्लङ्घनप्रति हामी कठोर रूपमा आपत्ति जनाउँछौँ।
चीनले पनि सावधानीपूर्वक प्रतिक्रिया दिँदै भेनेजुएलामाथि भएको आक्रमण र त्यहाँका राष्ट्रपतिलाई अपहरणको शैलीमा गरिएको पक्राउको विरोध गरेको छ । चीनले भनेको छ– चीन भेनेजुएलाजस्तो सार्वभौम राष्ट्रविरुद्ध संयुक्त राज्य अमेरिकाले खुला रूपमा बल प्रयोग गरेको र त्यहाँका राष्ट्रपतिविरुद्ध कारबाही गरेको घटनाप्रति गहिरो रूपमा स्तब्ध छ र कडा निन्दा गर्दछ।
संयुक्त राज्य अमेरिकाका यस्ता आधिपत्यवादी कार्यहरूले अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकतालाई गम्भीर रूपमा उल्लङ्घन गर्छन्, साथै ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र सुरक्षामा खतरा उत्पन्न गर्छन्। चीन यसका विरुद्ध दृढ रूपमा उभिन्छ।
हामी संयुक्त राज्य अमेरिकालाई अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्तहरूको पालना गर्न, र अन्य देशहरूको सार्वभौमिकता र सुरक्षामाथि उल्लङ्घन गर्न बन्द गर्न आह्वान गर्दछौँ।
इरानमा विरोध प्रदर्शन हिंसात्मक बन्दै
अमेरिकाद्वारा युक्रेनलाई १५ वर्षको सुरक्षा ग्यारेन्टी प्रस्ताव
अन्तरिम सरकारले बंगलादेशलाई गृहयुद्धतर्फ धकेलिरहेको छ : वर्कर्स पार्टी
“भेनेजुएला फेरि कहिल्यै उपनिवेश बन्ने छैन”
ट्रम्पले भेनेजुएलामा आफ्ना युद्धपोतहरु किन पठाए?
रूस–चीन भिसा-मुक्त यात्रा सम्झौता: नयाँ विश्व व्यवस्थाको प्रतीक
फ्रान्केन्स्टाइनको राक्षसझैँ, तालिबानले पाकिस्तानलाई सताइरहेको छ
प्रतिक्रिया