नोबेल पुरस्कारमा सर्वाधिक मनोनयन तर एउटै जितेनन्

विलक्षण वैज्ञानिक अर्नोल्ड सोमरफेल्ड

नोबेल पुरस्कारका लागि ८४ पटक मनोनयनमा परेर पनि उक्त पुरस्कार नजित्ने वैज्ञानिक पनि यस संसारमा थिए भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ ? सम्भवत: पत्याउनै पनि मुश्किल हुन्छ । तर यो कुरा सत्य हो ।

त्यसरी ८४ पटक मनोनयनमा परेर पनि पुरस्कार जित्न नसकेको ‘दु:खद कीर्तिमान’ राख्ने व्यक्ति अर्नोल्ड सोमरफेल्ड हुन् । उनी एक अग्रणी जर्मन सैद्धान्तिक भौतिकशास्त्री हुन् । उनले परमाणु र क्वान्टम भौतिकीमा योगदान दिएका थिए । त्यसमध्ये उनले परिमार्जन गरेको बोरको परमाणु मोडेलको विस्तार विशेष चर्चित छ । वैज्ञानिक निल्स बोरले प्रस्तुत गरेको परमाणु मोडेलले हाइड्रोजनजस्ता एक–इलेक्ट्रोनयुक्त परमाणुहरूको स्पेक्ट्रमलाई व्याख्या गर्न सफल भए तापनि सूक्ष्म विवरणहरूको स्पष्टीकरण दिन सक्दैनथ्यो । निल्स बोरको त्यस परमाणु मोडेलमा थुप्रै महत्वपूर्ण सुधारहरू गरी त्यसलाई विस्तार गरेका थिए ।

उपलब्ध जानकारीहरु अनुसार वैज्ञानिक सोमरफेल्ड सन् १९१७ देखि १९५० को समयावधिभित्र नोबेल पुरस्कारका लागि ८४ पटक मनोनयन भएका थिए । कतिपयले त १९५१ पनि मान्ने गर्छन् । तर उनले कहिल्यै पुरस्कार जितेनन्। सोमरफेल्डले पुरस्कार नजित्नुको मुख्य कारण भनेको एउटा मात्र उत्कृष्ट खोजको अभाव थियो भन्ने मानिन्छ । रमाइलो कुरा के छ भने उनले पढाएका सिकाएका हाइजेनबर्ग, पाउली, डेबाइ, बेथे लगायतका वैज्ञानिकहरुले भने नोबेल पुरस्कार जितेका छन् ।

वैज्ञानिक सोमरफेल्डपछि सर्वाधिक मनोनयन पर्ने कुरामा ओटो स्टर्न दोस्रो स्थानमा छन् । उनी  ८२ पटक मनोनयनमा परेका थिए । तर फरक कुरा के छ भने  स्टर्नले सन् १९४३ मा पुरस्कार जितेका थिए।