एमालेका सामु तेर्सिएको जब्बर प्रश्न: सच्चिने कि सक्किने ?

यतिखेर नेकपा एमालेको ११ औं महाधिवेशन चलिरहेको छ र यसले नेपाल मात्रै हैन, सारा विश्वको ध्यान आफूतिर आकर्षित गरिरहेको छ । यो यस अर्थमा कि नेकपा एमाले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मात्रै हैन, यो त त्यो पार्टी हो जसलाई हालसालै भएको उथलपुथलकारी जेन–जी आन्दोलनले सत्ताको सिंहासनबाट बलात तल झारिदिएको छ । यस अर्थमा एमाले महाधिवेशनले लिने निर्णयहरु तथा नेतृत्व चयनको कुराले एमाले पार्टीलाई मात्रै हैन, सिङ्गो राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याउँछ ।

सामान्य रुपमा हेर्दा एउटा कम्युनिष्ट पार्टीको महाधिवेशन पार्टी जीवनमा निरन्तर चल्ने प्रक्रियाहरुमध्ये कै एक हिस्सा हो । यसरी सतही रुपमा हेर्दा महाधिवेशन भन्ने कुरा पनि साधारण जस्तो लाग्न सक्छ। तर अलिक गहिरो पस्दा, कम्युनिष्ट राजनीतिलाई बुझ्ने सबैभन्दा केन्द्रीय ढोका नै यहीँ हो भन्दा फरक पर्दैन ।

वास्तवमा, एउटा जीवन्त कम्युनिष्ट पार्टीमा महाधिवेशन केवल एउटा औपचारिक कार्यक्रम मात्रै पटक्कै होइन। यो त पार्टीको आत्मपरीक्षण गर्ने क्षण हो। कहिलेकाहीँ त आत्मस्वीकार गर्ने, कहिलेकाहीँ पुराना कमी कमजोरीहरुलाई पनुरावलोकन गर्दै नयाँ मार्ग अपनाउने क्षण पनि। मार्क्सवादी सिद्धान्तको आलोकमा कम्युनिष्ट पार्टीलाई “वर्ग–संघर्षको संगठित अग्रदस्ता” मानिन्छ। त्यो अग्रदस्ता सही दिशामा हिँडिरहेको छ कि भट्किँदै छ, जनताबाट टाढिँदै छ कि अझै जनजीवनसँग जोडिएको छ, यी सबै प्रश्नहरू उठ्ने वैधानिक मञ्च नै महाधिवेशन हो। जेन–जी आन्दोलनको झट्का सबैभन्दा बढी खप्नु परेको पार्टीको हैसियतले पनि एमालेको यो महाधिवेशन फगत महाधिवेशन मात्रै पटक्कै होइन, यो त विगतलाई फर्केर हेर्ने, जनताका चाहना, भावनाअनुसार जनताको अग्रदस्ता पार्टी बन्नका लागि आफूलाई पुनरावलोकन गर्ने, आत्मनिरीक्षण गर्ने र कमीकमजोरीहरुबाट सिक्दै तिनलाई सच्याउने अवसर पनि हो ।

सैद्धान्तिक रूपमा हेर्दा, महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। लेनिनले What Is to Be Done?One Step Forward, Two Steps Back जस्ता कृतिहरूमा पार्टीभित्र विचारको बहस र संगठनात्मक एकताको सम्बन्धबारे गहन विश्लेषण गरेका छन् । त्यसैका आधारमा  “जनवादी केन्द्रीयता” को अवधारणा विकसित भएको हो। यो भनेको शीर्षासनमा बसेका नेताले माथिबाट आदेश जारी गर्ने र तलका समुच्च पार्टी पंक्तिले त्यसलाई खुरुखुरु मानिदिनुपर्ने पद्दति पटक्कै होइन । यसको अर्थ के हो भने, पार्टीभित्र बहस, आलोचना, फरक मत राख्ने स्वतन्त्रता हुन्छ, तर निर्णय भएपछि सबैले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बाध्यता हुन्छ। महाधिवेशन त्यो बहसलाई वैधानिक बनाउने ठाउँ हो, जहाँ नीति, कार्यक्रम र नेतृत्वमाथि खुला प्रश्न उठ्न सक्छ। एमाले महाधिवेशनमा के त्यो प्रक्रियाको अनुशरण र पालना हुन्छ होला ? सबैभन्दा जब्बर प्रश्न यो पनि हो ।

यहाँ एउटा महत्वपूर्ण कुरा छुटाउन हुँदैन। कम्युनिष्ट पार्टीमा महाधिवेशनको अर्थ सधैं एउटै रहँदैन। क्रान्तिकारी चरणमा रहेको पार्टीका लागि महाधिवेशन रणनीतिक पुनर्संरचनाको ठाउँ हुन्छ। राज्यसत्ता बाहिर हुँदा यो “लडाइँ कसरी लड्ने” भन्ने प्रश्नसँग जोडिन्छ। तर जब पार्टी सत्तामा पुग्छ, वा दीर्घकालसम्म संसदीय राजनीतिमा रहन्छ, महाधिवेशनको चरित्र बदलिन थाल्छ। त्यो बिस्तारै विचारको भन्दा शक्ति व्यवस्थापनको मञ्च बन्छ। कसको गुट बलियो, कसले कति पद पायो, कसलाई कहाँ मिलाइयो। यतिखेर सैद्धान्तिक बहस औपचारिक दस्तावेजमा सीमित हुन थाल्छ। एमालेले पुनरावलोकन–आत्मनिरीक्षण गर्नुपर्ने एउटा मुख्य प्रश्न यो पनि हो ।

मार्क्सको दृष्टिमा पार्टी जनताबाट अलग कुनै संरचना होइन। पार्टी जनताको चेतनाको उच्च रूप हो। त्यसैले महाधिवेशनको मूल अर्थ जनताको अनुभव, संघर्ष र चेतनालाई नीति र नेतृत्वमा रूपान्तरण गर्नु हो। यदि महाधिवेशनमा समाजको बदलिँदो वर्ग संरचना, नयाँ श्रम सम्बन्ध, युवाको असन्तोष, महिलाको प्रश्न, पहिचान र उत्पादन सम्बन्धका नयाँ स्वरूपहरू प्रवेश गर्दैनन् भने त्यो महाधिवेशन विचारात्मक रूपमा मृत हुन्छ, चाहे भीड जति नै ठूलो किन नहोस्। जेन–जी आन्दोलनको धक्काका बाबजूद महाधिवेशनमा देखिएको कार्यकर्ताहरुको विशाल जमघटबाट हौसिनुको सट्टा एमाले महाधिवेशनले उधिनपाधिन गर्नुपर्ने एउटा सवाल यो पनि हो ।

विश्व कम्युनिष्ट आन्दोलनका इतिहास हेर्दा अधिकांश कम्युनिष्ट पार्टीका महाधिवेशनहरू त्यसको अन्तरआत्मालाई न्याय गर्ने गरी साँच्चिकै निर्णयकारी  बन्न सकेको पाइन्न ।  सोभियत संघको पछिल्लो चरणमा, चिनियाँ कम्युनिष्ट पार्टीको केही कालखण्डमा, र दक्षिण एसियाका धेरै कम्युनिष्ट पार्टीहरूमा महाधिवेशन धेरै हदसम्म नेतृत्वले तय गरेको निर्णयलाई अनुमोदन गर्ने औपचारिक अभ्यासमा सीमित भएको देखिन्छ। यस्तो अवस्थामा महाधिवेशन स्वभाविक रुपमा “क्रान्तिकारी कर्मकाण्ड” मात्रै बन्छ, साँचो अर्थमा मार्क्सवादी “क्रान्तिकारी अभ्यास” बन्न सक्दैन।

महाअधिवेशन पार्टीलाई पुनर्जीवन दिने अवसर पनि हो। यो समयक्रमसंगै नेतृत्वमा परिवर्तन गर्ने अवसर हो। व्यक्तिको जीवनको निश्चित उमेर हुन्छ तर व्यक्ति आउनेजाने क्रम चलिरहन्छ तर पार्टी संस्था हो। जसमा अविच्छिन्न उत्तराधिकार(Perpetual succession) हुन्छ । यो चलिरहन्छ। त्यसैले महाधिवेशन पार्टीलाई गतिशील राख्नका लागि समयानुकूल नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको प्रक्रिया समेत हो। नयाँ पुस्तालाई नेतृत्वमा समावेश नगर्ने हो भने पार्टीमा वृद्धतन्त्र (gerontocracy) हावी हुन्छ। सोभियत संघ र चीनका कम्युनिस्ट पार्टीहरुमा वृद्धतन्त्र हावी हुँदा त्यसले सम्बन्धित मुलुक अनि समग्र विश्व कम्युनिष्ट आन्दोलनमा नै के कस्तो नोक्सान पुर्‍यायो ? त्यो ठूलो बहसको विषय बन्दै आएको छ।

वास्तवमा, पार्टी जीवनमा महाधिवेशनको महत्व विशेष हुने गर्छ । त्यसमाथि थप, जब पार्टी संकटमा हुन्छ, जब जनसमर्थन घट्छ, जब नयाँ पुस्ता टाढिँदै जान्छ, त्यही बेला महाधिवेशनको ऐतिहासिक महत्व झनै बढ्छ। यो पार्टी पुनर्जीवित हुने मोड हुन सक्छ, वा स्थायी पतनको दिशातिर पथभ्रष्ट हुने खतरनाक मोड पनि ।

संक्षेपमा भन्दा, कम्युनिष्ट पार्टीमा महाधिवेशन तीन तहमा अर्थपूर्ण हुन्छ। पहिलो, वैचारिक तहमा, यो सिद्धान्त र व्यवहारको पुनर्मिलन गर्ने प्रयास हो। दोस्रो, संगठनात्मक तहमा, नेतृत्व र संरचनालाई पुनर्संयोजन गर्ने प्रक्रिया हो। तेस्रो, राजनीतिक तहमा, यो पार्टी र समाजबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने अवसर हो।

यदि यी तीनै तहमा महाधिवेशन जीवित छ भने, पार्टी पनि जीवित हुन्छ। यदि यीमध्ये एक पनि औपचारिकतामा सीमित भयो भने, पार्टी कागजमा कम्युनिष्ट रहला, व्यवहारमा होइन।

चालु एमाले महाधिवेशनका कर्मकाण्डी रवैयाहरु, आर्यघाटको ब्रम्हनालमा नतेर्सिएसम्म आफूले नै नेतृत्व गर्न पाउनुपर्छ भन्ने पुराना पुस्ताको हठले महाधिवेशनलाई सही अर्थमा महाधिवेशन बनाउन सक्ने सम्भावना न्यून देखिन्छ । खासगरी, जेन–आन्दोलनले राष्ट्रिय राजनीतिमा ल्याएको उथलपुथलकारी परिवर्तनको वस्तुनिष्ठ मूल्यांकन गर्ने, आफ्ना कमी कमजोरीहरुलाई ठम्याएर तिनलाई सच्याउनेतिर पहलकदमी लिनुको सट्टा एमाले नेतृत्व पंक्तिको बहुसंख्यक हिस्सामा देखिएको ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै जनभावनालाई पटक्कै विश्लेषण गर्न नचाहने प्रवृत्तिले महाधिवेशनले एमालेलाई सही दिशानिर्देश गर्ला भन्ने आशा कमै छ ।  

अहिले महाधिवेशनको चौबाटोमा उभिइरहँदा एमालेका सामु तेर्सिएको जब्बर प्रश्न के पनि हो भने अब कुन बाटो रोज्ने– आत्मनिरीक्षण र आत्मपरीक्षणको प्रक्रियालाई इमान्दारितापूर्वक लागू गर्दै सच्चिने वा हठ र अहंकारलाई काखी च्यापेर सक्किने ?

तस्विर साभार: रातोपाटी डटकम