१५ वर्षमै क्वान्टम फिजिक्समा पीएचडी गर्ने बेल्जियमका लरेन्ट सिमोन्स

क्वान्टम फिजिक्स क्षेत्रमा असाधारण उपलब्धि हासिल गर्दै बेल्जियमका १५ वर्षीय लरेन्ट सिमोन्सले युनिभर्सिटी अफ एन्ट्वर्पमा आफ्नो पीएचडी अनुसन्धान सफलतापूर्वक पूरा गरेका छन्। “लिटल आइन्स्टाइन” का नामले चर्चित सिमोन्सको यो उपलब्धि उमेरकै हिसाबले विश्वकै सबैभन्दा उल्लेखनीयमध्ये एक मानिएको छ।

फ्लेमिश टेलिभिजन नेटवर्क भी–टी–एम (VTM) का अनुसार, सिमोन्सले यसै हप्ता आफ्नो पीएचडी थिसिसको रक्षा सम्पन्न गरेका हुन्। त्यसो त क्वान्टम फिजिक्स क्षेत्रमा सबैभन्दा कम उमेरमा पीएचडी प्राप्त गर्ने औपचारिक रेकर्ड उपलब्ध छैन, तर वैज्ञानिक समुदायले उनको उपलब्धिलाई ऐतिहासिक महत्वको रूपमा हेरिरहेको छ।

असाधारण शैक्षिक यात्रा

लरेन्ट सिमोन्सको शैक्षिक यात्रा सामान्यभन्दा धेरै फरक छ। चार वर्षको उमेरमा विद्यालय जीवन सुरु गरेका उनी छ वर्षमै प्राथमिक तह समाप्त गरेका थिए। बाह्र वर्षमा क्वान्टम फिजिक्समा मास्टर्स डिग्री हासिल गर्दै उनले बोसोन र ब्ल्याक होल जस्ता विषयमा उल्लेखनीय अध्ययन गरेका थिए।

रिपोर्टका अनुसार सिमोन्ससँग फोटोग्राफिक मेमोरी छ र १४५ को आइ–क्यु रहेको छ । यो भनेको विश्वका ०.१ प्रतिशत मात्र मानिसहरूले हासिल गर्ने स्तर हो।

अनुसन्धान लक्ष्य: मानव जीवन विस्तार

११ वर्षको उमेरमा हजुरबुबा–हजुरआमाको निधनपछि सिमोन्सले मानव जीवन विस्तार सम्बन्धी अध्ययनलाई आफ्नो दीर्घकालीन लक्ष्यका रूपमा लिएका छन्।
उनका अनुसार, “यो अध्ययन मेरो व्यक्तिगत लाभका लागि होइन, अरूका लागि हो।” यस आधारमा पनि भविष्यमा उनी मेडिकल साइन्सतर्फ उन्मुख हुने अपेक्षा गरिएको छ।

बाल–प्रतिभाको ऐतिहासिक सन्दर्भ

विश्व इतिहासमा लरेन्ट सिमोन्सले भन्दा पनि कम उमेरमा पीएचडी प्राप्त गरेका विद्वानको उदाहरण पनि भेटिन्छ। गिनिस वर्ल्ड रेकर्ड्सका अनुसार, जर्मन बाल–प्रतिभा कार्ल भिट्टेले १३ वर्षको उमेरमा (सन् १८१४) पीएचडी हासिल गरेका थिए।
हालैको दशकमा फिजिक्स क्षेत्रमा उल्लेखनीय कम उमेरमा डक्टरेट प्राप्त गर्ने व्यक्तिमध्ये कार्सन ह्यू–यू पनि चर्चित छन् । उनले २१ वर्षमा सो उपाधि पाएका थिए।

अन्तर्राष्ट्रिय टेक कम्पनीहरूको चासो

द ब्रसेल्स टाइम्सका अनुसार, अमेरिका र चीनका प्रमुख आई–टी कम्पनीहरूले सिमोन्सलाई आफ्ना अनुसन्धान केन्द्रहरूमा अध्ययन गराउन प्रस्ताव गरेका छन्। तर हालसम्म उनका अभिभावकहरूले सबै प्रस्ताव अस्वीकार गरेका छन्।उनका बाबुका अनुसार, “लरेन्ट दुईवटा व्यक्तित्वका प्रतिनिधि हुन् – एक वैज्ञानिक र एक सामान्य बालक। दुवै पक्षलाई समान रूपले बढ्न दिनु नै हाम्रो प्राथमिकता हो।”

Image: https://www.thebrighterside.news