कस्तो पेशा छान्ने ? किशोर कार्ल मार्क्सको विचार

‘मार्क्सवाद’ का जन्मदाता मार्क्सको जन्म ५ मे, १८१८ मा राइन प्रान्तको त्रियेर नगरमा भएको थियो । सानैदेखि बेसीभन्दा बेसी समय पढाइमै खर्च गर्नुहुने मार्क्सको शारीरिक व्यायाममा पनि ठूलो रुचि थियो ।

१८३० देखि १८३५ सम्म उहाँले त्रियेरकै उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको थियो । त्यहीँ अध्ययन गर्ने क्रममा उहाँले आफ्नो स्कूलको अन्तिम परिक्षाका लागि एउटा निकै प्रसिद्ध निबन्ध लेख्नुभएको थियो । अरु विद्यार्थीहरुका लागि यस्तो निबन्ध लेख्नु भनेको परीक्षा पास गर्ने औपचारिकता पूरा गर्नुमात्र थियो । तर उहाँले जाँचमा पास गर्ने हिसाबले मात्र होइन, आफ्नो विचार, आस्था र लक्ष्य पोख्ने उद्देश्यले यस्तो निबन्ध लेख्नुभएको थियो । आफ्नो क्षमतालाई जाँच्ने र भावी पेशाको बारेको विचार पोख्ने मनशायले उहाँले अत्यन्त ठूलो जिम्मेवगारी र यस निबन्धमा उहाँले किशोर अवस्थामै आफ्नो प्रतिभा, सोचाइ र आस्था प्रकट गर्नुभएको थियो ।

निबन्धमा उहाँले लेख्नुभएको थियो– व्यवसाय (पेशा) छान्ने अवसर मिल्यो भने म त्यस्तो पेशा छान्छु, जसबाट मानवजातिको व्यापक हित गर्न सकियोस् । त्यसो गर्न सकिएमा पेशाको बोझको अनुभव पनि गर्नुपर्ने छैन र त्यसबाट जुन सुख प्राप्त हुनेछ, त्यो निजी किसिमको सुख मात्र हुने छैन । मानव जातिको हितमा गरिने कामले गर्दा त्यस्तो सखु करोडौं जनताको सुख हुनेछ ।

मानवजातिको हितमा लागि, करोडौंकरोड जनताको स्वार्थको लागि काम गर्ने पेशा छान्नु पर्ने विचार बोक्दै हिंड्नु भएका किशोर मार्क्सले पछि गएर जीवनभर नै थोत्रो–पुरानो समाज भत्काएर सुख, शान्ति र समानतापूर्ण नयाँ समाजको निर्माणलाई नै आफ्नो लक्ष्य र काम बनाउनु भयो । २३ वर्षको युवावस्थामै दर्शनशास्त्रमा पीएचडी गर्नुहुने मार्क्सले ३० वर्षको उमेरमै आफ्ना साथी फ्रेडरिक एंगेल्ससँग मिलेर कम्युनिष्ट ‘घोषणापत्र’ लेख्नुभएको थियो, जसले यो एक्काइसौं शताब्दीमा समेत तहल्का मच्चाइरहेको छ ।

विश्वविख्यात दार्शनिक मार्क्सले किशोर अवस्थामै व्यक्त गर्नुभएको विचार र उहाँको जीवनभरको व्यवहारबाट स्पष्ट देखिन्छ । युवाहरुले आफ्नो भावी पेशा छान्दा मानवजातिको स्वार्थलाई ध्यान दिनुपर्दछ , बहुसंख्यक जनताको हित हुने व्यवसाय छान्नु पर्दछ, तुच्छ व्यक्तिगत स्वार्थ पूरा हुने पेशा छान्नु हुँदैन ।

‘नवयुवा’मा पूर्वप्रकाशित

 

राजेन्द्र महर्जन

वामबुद्धिजीवी एवं विश्लेषक