सबैभन्दा लामो यात्रा गर्ने स्तनधारी प्रजाति ग्रे ह्वेल
ग्रे ह्वेल (Eschrichtius robustus) पृथ्वीका स्तनधारी प्राणीहरूमा वर्षेनी सबैभन्दा लामो यात्रा गर्ने प्रजातिमा पर्दछ। यी विशाल समुद्री जीवहरू प्रत्येक वर्ष करिब १२,००० देखि १४,००० माइल (१९,०००–२२,५३० किलोमिटर) यात्रा गर्छन् । यिनीहरु वर्षेनी आर्कटिक सागरका चिसो, पोषक तत्वले भरिपूर्ण क्षेत्रहरूबाट मेक्सिकोको बाजा क्यालिफोर्नियाका न्यानो, सुरक्षित खाडीहरूमा पुग्ने र पुनः फर्कने गर्छन् ।
प्रवासको मार्ग र समय
ग्रे ह्वेलहरूको प्रवासयात्रा सेप्टेम्बरदेखि अक्टोबर महिनामा सुरु हुन्छ । सामान्यत: तिनीहरू आर्कटिकको बेरिङ र चुक्ची सागरबाट दक्षिणतर्फ यात्रा गर्न थाल्छन्। यी ह्वेलहरू समुद्री किनार नजिकै यात्रा गर्छन्, जसले गर्दा तिनीहरूलाई क्यालिफोर्निया, ओरेगन, र वाशिङ्टन राज्यका तटहरूबाट सजिलै अवलोकन गर्न सकिन्छ। डिसेम्बरदेखि जनवरी महिनामा तिनीहरू मेक्सिकोको बाजा क्यालिफोर्नियाका खाडीहरूमा पुग्छन् । त्यहाँ तिनीहरूले प्रजनन र बाच्छा जन्माउने कार्य सम्पन्न गर्छन्। मार्चदेखि मे महिनामा तिनीहरू आफ्ना नवजात बच्चाहरुसहित पुनः आर्कटिकतर्फ नै फर्कन्छन्।
प्रवासको कारण
ग्रे ह्वेलहरूको यो लामो प्रवासको मुख्य कारण मौसमी परिवर्तन हो। आर्कटिकको गर्मीमा, समुद्रको सतहमा पोषक तत्वहरूको प्रचुरता हुन्छ, जसले गर्दा ह्वेलहरूलाई प्रशस्त खाना उपलब्ध हुन्छ। तर, जाडोमा आर्कटिक क्षेत्र बर्फले ढाकिन्छ र खाना अभाव हुन्छ । त्यसैले गर्दा तिनीहरु खानाको खोजीमा न्यानो क्षेत्रतर्फ सर्न बाध्य हुन्छन्। बाजा क्यालिफोर्नियाका खाडीहरू न्यानो र शान्त हुन्छन् । त्यो क्षेत्रमा खाना कम मात्रामा पाइए पनि प्रजनन र बच्चा पालनका लागि उपयुक्त स्थान मानिन्छ ।
चुनौतीहरू
हालका वर्षहरूमा, ग्रे ह्वेलहरूको जनसंख्या घट्ने क्रम देखिएको छ। २०१९ देखि २०२३ सम्म, तिनीहरूको जनसंख्या करिब ४५% ले घटेको तथ्याङ्कहरुले देखाउँछ । यसरी तिनीहरुको जनसंख्यामा व्यापक कमी आउनुको मुख्य कारण खाना अभाव र जलवायु परिवर्तनले समुद्री पारिस्थितिकी तन्त्रमा पारेको असर हो।
मुख्यतया मौसम, समुद्र, वायुमण्डल, जलवायु तथा तिनीहरूको अनुसन्धान र पूर्वानुमानसँग सम्बन्धित काम गर्ने संयुक्त राज्य अमेरिकाको वैज्ञानिक तथा नियामक एजेन्सी NOAA (National Oceanic and Atmospheric Administration) ले यस अवस्थालाई "असामान्य मृत्युदर घटना" (Unusual Mortality Event) को रूपमा वर्गीकृत गरेको छ।
निचोड
ग्रे ह्वेलहरूको यो अद्भुत प्रवासले समुद्री जीवनको जटिलता र अनुकूलन क्षमतालाई दर्शाउँछ। तर, जलवायु परिवर्तन, मानवजनित अवान्छित गतिविधिहरू, र पारिस्थितिकी तन्त्रमा आएका व्यापक परिवर्तनहरूले तिनीहरूको अस्तित्वमा खतरा उत्पन्न गरिरहेका छन्। तसर्थ, समुद्री पारिस्थितिकी तन्त्रको संरक्षण, जलवायु परिवर्तनको असर घटाउने उपायहरू, र जनचेतना अभिवृद्धि गर्नु अत्यावश्यक छ । त्यसो गरिएमा मात्र प्रकृतिका सुन्दर सिर्जनाहरुमध्येका एक ग्रे ह्वेलहरू जस्ता अद्भुत जीवहरूको अस्तित्व सुरक्षित रहन सक्छ ।
Image: https://www.independent.com
उमेर बढ्दै जाँदा महिलाको भन्दा पुरुषको मस्तिष्क छिटो सुक्छ !
किन कफी चिया खाँदा तरोताजापन महसूस हुन्छ ?
विगतका सबै कुरा सम्झन सक्ने अनौठो क्षमता !
अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल
र्यालले घाउ निको पार्ने काम पनि गर्छ !
क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल
पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?
प्रतिक्रिया