योगदानीहरुप्रति कृतज्ञताका लागि आवश्यक दायित्वबोध कसको ?

कीर्तिशेष शक्ति लम्सालका सन्दर्भमा

आदरणीय राजनीतिक योद्धा, लेखक तथा सञ्चारकर्मी शक्ति लम्सालका स्मृतिमा वहाँका परिवारले प्रलेसको व्यवस्थापनमा प्रतिवर्ष कुनै उपयुक्त पात्रलाई प्रदान गरिने गरी अक्षयकोष स्थापना गरेको खबर छ । खबरसँगै उठेको चर्चामा प्रशंसाभावहरु छन्  । कुनै पनि योगदानीका नाममा कृतज्ञताको बत्ती बाल्नु प्रबुद्ध मानव संस्कृतिमा प्रशंसनीय कुरा नै हो  । यसको प्रशंसा नगर्नु कन्जुस्याइँ ठहर्छ ।

देश र जनताका लागि आर्थिक राजनीतिक सांस्कृतिक क्षेत्रमा आवश्यक रुपान्तरणको लक्ष्यबोधका साथ ज्यान हत्केलामा राखेर लागिपरेका सेवाभावी व्यक्तित्वहरु पविारका सदस्य मात्र हुँदैनन् । देश र जनताका आत्मीय योद्धा मित्र पनि हुन्छन् । कति त मोडल नै हुन्छन् । 

एक मध्ययुगीन एशियाली महाकविले जिज्ञासा राख्दै लेखेका थिए, कसैका सद्गुणलाई पनि दोष देखाएर खिसीट्यूरी गर्ने सामन्त र तिनका अनुयायी कृतघ्नहरु त समाजमा धेरै भेटिन्छन् । कसैका परमाणु जति सकारात्मक गुणलाई पनि पहाडलाई जत्तिकै महत्व दिएर हार्दिकतासाथ त्यसका विकासमा लागि पर्ने सज्जन कृतज्ञ व्यक्ति आजको समाजमा कति होलान् हँ ?

परगुण परमाणु पर्बतीकृत्य नित्यम्

निज हृदि विकसन्त: सन्त: सन्ति कियन्त: ?

समकालीन समाजको राजनीतिक चेतना र अवस्था हेर्दा मध्ययुगीन कविको यो जिज्ञासा आज पनि यथावत् कायमै छ कि जस्तो पनि लाग्छ ।

भौतिक र आत्मिक प्रगतिका मार्गमा मानवतालाई अगाडि बढाउने साधनामा अनेकौँ क्रान्तिकारी सन्त, योगी र सेवाभावी समर्पित त्यागी तपस्वी राजनीतिक, सांस्कृतिक  व्यक्तित्वहरुको योगदान छ । कतिलाई इतिहासले विविध कथा कृतिहरुमा कृतज्ञताका साथ समेटेर जोगाएको छ । कति अनाम छन् । हरेक दिन आफ्नो आँखाको धर्ती र आकाशप्रति कृतज्ञता व्यक्त गर्दै दैनिक कामको आरम्भ गर्ने संस्कृतिमा पनि अझै खोट बाँकी छ ।

समाजमा कति व्यक्ति वैयक्तिक र पारिवारिक स्वार्थबाट बाहिर निस्कन सकेका छैनन् । समाजकै प्रगतिपरक रुपान्तरण गर्न सकिने ठाउँमा पुगेर पनि भ्रष्टाचारको दलदलमा गाडिएका छन् । विगत दशकौँदेखि आम जनताको अवस्था सधैँ अत्यास लाग्दो मात्रै छ । यो यस्तो अवस्थामा आफ्नो घर परिवारको अकिन्चन यथास्थिति यथास्थित छाडेर क्रान्तिकारी सिद्धान्त निष्ठा र प्रतिबद्धताका साथ समाजको यथास्थिति बदल्न र जनतालाई प्रगतिको बाटोमा हिँडाउन ज्यान हत्केलामा राखेर लागिपरेका योगदानी व्यक्तित्वको देहावसानपछि तिनका योगदानका कथा नयाँ पुस्ताका लागि जीवन्त राख्न अग्रसर रहनु पर्ने दायित्व त्यसै पीडित परिवारकै हो ? त्यसै परिवारकै मात्र हो ? यसबारे व्यापक बहस हुनु जरुरी छ ।

परम्परागत पुरातन श्राद्ध संस्कृतिमै सर्वसाधारण जनजीवन सीमित रहँदाका दयनीय अवस्थामा पनि यसको पुनर्व्याख्या, मूल्यांकन र प्रगतिपरक रुपान्तरणमा अग्रिम भूमिका निर्वहन गर्ने दायित्व कसको ? क्रान्तिदर्शी बौद्धिक व्यक्तित्वविशेषको अथवा क्रान्तिकारी दावी गर्ने राजनीतिक पार्टी बनेको छ भने त्यसको ? क्रान्तिकारी भनिएको पार्टी विशेषमै आबद्ध रहेर सामाजिक सांस्कृतिक राजनीतिक आमूल परिवर्तनको राजनीतिमा जीवन समर्पित गर्दागर्दै देहावसान भएका कुनै पनि परिवारका सदस्यको स्मृतिमा श्रद्धा सम्मान जनाउने कार्यक्रम आयोजना गर्न स्वयम् परिवारले नै पहल गर्नु पर्ने र अन्यथा कतैबाट कुनै पहल नहुने स्थिति पनि सामाजिक सांस्कृतिक र राजनीतिक दृष्टिले दयनीय होइन र ? परिवार सम्पन्न नै छ भने पनि यहाँ प्रश्न प्रधान दायित्वको हो । जनताबीच व्यापक रुपमा कृतज्ञता व्यक्त गर्ने दायित्वको हो  । 

हामीले थाहा पाएसम्म आदरणीय शक्ति लम्साल दशकौँअघि कम्युनिष्ट पार्टीको सदस्य भएर पार्टीकै निर्देशन मुताबिक मुलुकको आर्थिक राजनीतिक सांस्कृतिक आमूल परिवर्तनका निमित्त संचार क्षेत्रमा समर्पित रहेर आजीवन काम गरेका कर्मठ व्यक्तित्व हुनुहुन्थ्यो । आरम्भबाटै जनयुद्धमा होमिएका अनुशासनबद्ध सांस्कृतिक नेतृत्व हुनुहुन्थ्यो । यो कुरा पनि अब वहाँका परिवारले नै जनताका कान कानमा सुनाइहिँड्नु पर्ने कि ? हामीले हेर्दा त यो सवै दायित्व सम्बन्धित राजनीतिक पार्टीको हो । पार्टीमा आबद्ध जन जनको हो ।        

नेपालका क्रान्तिकारी भनिएका राजनीतिक दलहरुको संस्कृतिमा योगदानीहरुप्रति कृतज्ञताका लागि र आफ्ना राजनीतिक परिजनप्रति आवश्यक दायित्वबोधका लागि आजसम्म पनि कुनै  ठाउँ ठहर नै बन्न सकेको छैन भने यो एक गम्भीर चिन्ताको विषय हो । यी राजनीतिक दलका नेता, उपनेता तथा कार्यकर्ताहरु संस्कृतिका क्षेत्रमा अझै मध्ययुगीन सामन्ती मानसिकताबाट  अगाडि उम्किन सकेका छैनन् भने यो अरु गम्भीर चिन्ताको विषय हो । चिन्ता गरौँ । चिन्ता गर्न पाएकैमा बधाइ छ हामीलाई !