स्कुलमा ज्ञान, सीप र कामको सन्तुलित मिश्रण

एक स्कुलमा “कहिलेकाँही मलाई यस्तो लाग्छ .....” भन्ने शीर्षकमा कक्षा ५ का विद्यार्थीहरुलाई सिर्जनात्मक लेख लेख्न लगाएको थिएँ । उनीहरुको लेख पढिसकेपछि चकित परें र यो आलेखको शुरुवात भयो । आजका दश एघार वर्षका बालबालिका कस्तो सोचिरहेका छन् भनेर प्रष्ट भयो ।

हामीले उनीहरुको भावना र सोचलाई कत्ति पनि बुझ्न सकेका छैन रहेछौं  भनेर ज्ञान भयो । उनीहरु बीस वर्ष नपुग्दै करोडपति कसरी बन्ने भनेर सोचिरहेको पाइयो ।  उनीहरु केही घन्टा किताबहरु  पढेपछि काम पनि सिक्न चाहन्छन् भनेर बुझियो । कामको ज्ञान र ज्ञानको काम मिसाएर बेलैदेखि कर्मशिल बन्न चाहन्छन् रे ! ज्ञान, भक्ति र कर्म साथ साथै लैजान चाहन्छन् रे ! दश वर्षका बालबालिका जीवनको कुरुक्षेत्रमा आफुलाई मनपर्ने कर्मयुद्ध लड्न थाल्छन् रे ! त्यो युद्धको प्रारम्भिक अभ्यास गर्न थालिहाल्छन् रे !

बोरा बोकाए पो बालश्रमिक त तर रुचिको र गर्न सक्ने काम किन नथाल्नु होला र ? त्यही कामलाई खेल बनाए के होला र ? त्यसैमा रमाएर सीप र गुणहरु आफूमा भरे के पाप होला र ?

दिमाग घुम्यो । घरमा गएर आफ्नो सात कक्षामा पढिरहेको सन्तानलाई कुरो कोट्याएँ । भाव उस्तै आयो । बोरा बोकाए पो बालश्रमिक त तर रुचिको र गर्न सक्ने काम किन नथाल्नु होला र ? त्यही कामलाई खेल बनाए के होला र ? त्यसैमा रमाएर सीप र गुणहरु आफूमा भरे के पाप होला र ? काम पनि नदिनु अनि बाहिर खेल्न पनि नपाउनु अनि दिनभर पढ्न मात्र कसरी सकिन्छ होला र ? टाउको मात्र हैन, मन नै रन्थनियो ।

जोखिम काममा मात्र हुन्छ, किताबमा हुन्न । अनुभव कामबाट मात्र आउँछ, किताबबाट आउन्न । अनुभवको ज्ञान मात्र सही ज्ञान हो । तब, रुचिको काम आजैदेखि किन नथाल्ने ? कामका विविध आयामहरुलाई छाम्न आजैदेखि किन शुरु नगर्ने ? अनेक कामहरु कस्ता कस्ता हुन्छन्, नजिकबाट नियाल्न किन नदिने ? तव, यो आलेख, ज्ञान, सीप, काम र अनुभवमा केन्द्रित भयो । शिक्षा ऐन संशोधन हुन लागेको छ । सही समय भएको छ । परिवर्तनको ।  

खुल्ला आकाश वा पिंजडा ?

हिजोका गुरुकुलमा ६४ कला सिक्ने बालबालिका आज सातवटा किताबमा सीमित भएका छन् । पारिएका छन् । बालअधिकारको नारा लगाएर चारकोठाभित्र बन्धक बनाइएका छन् । झन् बाज जस्तो खुल्ला आकाशमा उड्नपर्ने र संसार चियाएर हेर्न पर्ने बालबालिकाको हात खुट्टा सातवटा किपातहरुको साङ्लाले पन्ध्र बीस वर्ष बाँधेर कुञ्ज्याएपछि हाल के होला ? अब नयाँ कुनोबाट नसोची विकल्प नै छैन । “कि नयाँ गर, नत्र बिस्तारै बाष्पिकरण भएर मर” को समय आएको छ ।

बाज जस्तो खुल्ला आकाशमा उड्नपर्ने र संसार चियाएर हेर्न पर्ने बालबालिकाको हात खुट्टा सातवटा किपातहरुको साङ्लाले पन्ध्र बीस वर्ष बाँधेर कुञ्ज्याएपछि हाल के होला ?

भर्खरै जन्मेको गाईको बाच्छो वा बाच्छीलाई आमालाइ एकैछिन चाट्न दिएपछि अलि पर लगेर राखिन्छ । किन ? गाईले यति धेरै माया गरेर चाट्न थाल्छ कि उसको खस्रो जिब्रोले छाला नै पिल्साइदेला भनेर अलि पर सारिन्छ । धेरै माया कोमल हुन्छ तर जीवन निकै कठोर हुन्छ । सही जीवन दिन, घाम पानी दुवै सहन सक्ने बनाउनै पर्छ । त्यो कठोरता झेल्ने अभ्यास गराउनै पर्छ । चैतको हुरी झेल्ने, असारको झरी तग्ने, माघको कठाङ्ग्रिने चिसो सहने शक्तिको विकास गराउनै पर्छ । आयुर्वेदको कश्यप संहितामा उल्लेख गरिएको झैँ पाँच वर्षसम्म हरेक बालबालिका अति लाडप्यारमा हुर्कनुपर्छ । त्यसले ब्रेनभित्र न्युरोन्सको विकासदेखि बाहिरी आत्मविश्वास जगाउँछ । आफ्नो अस्तित्व र आफ्ना सहयोगी हातहरु जतै छन् है भन्ने आभाष दिन्छ । त्यसपछि चाणक्यनीतिमा उल्लेख गरेझैँ कठिन नियम र मुल्य मान्यता सहित १५ वर्षसम्म हुर्काउनु पर्छ । यसमा नियम, विविध व्यक्तिगत देखि पारिवारिक, सामाजिक तथा फराकिलो राज्य सञ्चालनसँग सम्बन्धित मुल्य मान्यताहरुको कठिन नियमहरुको साधना र पालना गर्न सिकाउनुपर्छ । यो समयमा चाणक्यले सीप, गुण तथा कामको अनुभवमा जोड दिएका हुन् । त्यस्ता अनेक सीप तथा गुणहरुलाई आदतको रुपमा विकास गर्न निकै कठिन तपस्या र आत्मअनुशासन नै चाहिन्छ ।

धेरै माया कोमल हुन्छ तर जीवन निकै कठोर हुन्छ । सही जीवन दिन, घाम पानी दुवै सहन सक्ने बनाउनै पर्छ । त्यो कठोरता झेल्ने अभ्यास गराउनै पर्छ । चैतको हुरी झेल्ने, असारको झरी तग्ने, माघको कठाङ्ग्रिने चिसो सहने शक्तिको विकास गराउनै पर्छ ।

लालयेत्पञ्चवर्षाणि दशवर्षाणि ताडयेत् ।

प्राप्ते तु षोडशे वर्षे पुत्रे मित्रवदाचरेत् ।।३.१८।।

तर पन्ध्र वर्षपछि भने सन्तानलाई मित्रसरह व्यवहार गर्नुपर्छ । उसको सल्लाह, राय, विचारलाई सुन्ने र हरेक काममा सहकार्य गर्दै जानुपर्छ । त्यसपछि एक आपसको बिश्वास र सममmदारीमा सम्बन्ध सुमधुर  बन्छ । आफ्ना कुरा कहिल्यै पनि लाद्न खोज्नु हुँदैन । चाणक्यको नीतिसार अझै पनि धेरै सान्दर्भिक नै लाग्छ ।

हामी के गरिरहेका छौं त ? ठीक उल्टो ।

२. अनुभवको ज्ञान मात्र सही ज्ञान

जीवनका सबैकुरा अनुभव गरेर मात्र सिक्न सकिँदैन । समय धेरै लाग्छ । जीवन छोटो छ र अनुभव गर्ने कुराहरु अथाह छन् । त्यसैले जीवनको अमुल्य समय बचत गर्न, अरुले गरेको, देखेको, सुनेको र भोगेको पढेर हामी सही कामको छनौट गर्न र सही कामको मात्र अनुभव लिन कोसिस गर्दछौं । त्यसैले भनिन्छ कि कुनै एक राम्रो पुस्तक पढ्नु अनेक जीवनहरु एकसाथ बाँच्नु हो । किताब नपढ्नेले मात्र एक जीवन बाँच्छ तर धेरै किताबहरु पढ्नेले अनेक जीवन एकसाथ अनुभव गर्छ । अरुको गल्तीहरुबाट बेलैमा सिकेर आफ्नो गल्ती कम गर्न कोसिस गर्छ । धेरै जनाको टाउको र विचारहरुलाई जोडेर आफ्नो विचारको आकार निकै ठूलो र फराकिलो बनाउन चाहन्छ ।

भनिन्छ कि कुनै एक राम्रो पुस्तक पढ्नु अनेक जीवनहरु एकसाथ बाँच्नु हो । किताब नपढ्नेले मात्र एक जीवन बाँच्छ तर धेरै किताबहरु पढ्नेले अनेक जीवन एकसाथ अनुभव गर्छ ।

अनुभव काम गरेर मात्र आउँछ । बीस वर्ष स्कुल र कलेज गएर लिएको ज्ञान भन्दा ६ महिना गरेको काम र त्यसको अनुभव बढि काम लाग्ने र फलदायक बन्छ । समाजमा यसका प्रशस्त उदाहरणहरु देखिएका छन् । काममा जोखिम पनि हुन्छ तर किताबमा कतै भेटिन्न । फलाम उठाए, पाखुरा बलियो बन्छ तर पाखुरा कसरी बलियो बनाउने भनेर लेखिएको पुस्तक मात्र पढे, बन्दैन । त्यसैले, काम मेरुदण्ड हो भने, पुस्तकहरु हात र खुट्टा हुन् । मेरुदण्डलाई कुञ्ज्याएर कसरी हात खुट्टा मात्र चलाइरहन सकिन्छ ? सोच्ने बेला आएको छ ।

३. काम  र ज्ञानको अमृतमय घोल

सिकाइ जीवनभर भइरहनुपर्छ । स्कुल र बिश्वबिद्यालयका केही वर्षहरु मात्र सिकाइ होइनन् । ती सबै केही तयारी मात्र हुन् । तर यो तयारी बालबालिकाको उमेर दश वर्ष सम्म मात्र पुर्णकालिन हुनपर्छ । कक्षा ५ सम्म मात्र साक्षरता शिक्षा हो । त्यसपछि रुचि, समाज, वातावरण, परिवार र आवश्यकता अनुसारको सीप र गुणको छनौट गर्न दिइनुपर्छ । सबै बीउहरुलाई एकैनाशको माटोमा गाड्न खोजेर पटक्कै हुन्न । एउटा कक्षामा भेला भएका तीसजना बालबालिकाहरु आफ्नै आफ्नै गुण र बीजहरु  लिएर आएका हुन्छन् । कागतीको बीज बोकेर आएको जीवनमा स्याउ फलाउन सकिन्न । कोसिस गर्नु पनि हुन्न । सही समयमा बीऊ चिनेर, सही माटोमा लगेर रोप्ने र सही समयमा मनग्गे फल फल्न दिनै पर्छ । बाआमा र स्कुलहरुले यसमा सहयोग गर्ने हो ।  मालीको काम गर्ने हो । मलजल र हेरचाह केही समय गर्ने हो । घाम पानी आफैं सहने र समयचक्रसँगै वहन सक्ने बनाएर बाँकी जीवन आफैं अनुभव गर्न छोड्ने हो ।

सबै बीउहरुलाई एकैनाशको माटोमा गाड्न खोजेर पटक्कै हुन्न । एउटा कक्षामा भेला भएका तीसजना बालबालिकाहरु आफ्नै आफ्नै गुण र बीजहरु  लिएर आएका हुन्छन् । कागतीको बीज बोकेर आएको जीवनमा स्याउ फलाउन सकिन्न ।

सिकाइको प्राय सबै सिद्धान्तहरु भन्छन् कि सुनेर मात्र ५ प्रतिशत सिकिन्छ भने आफैंं गरेर वा पढाएर ९० प्रतिशत बढि पनि सिक्न सकिन्छ । तब, हाम्रा बालबालिकाहरुलाई बिद्यालयमा आफैं गर्न किन नदिने ? बिद्यालयमा काम किन नजोड्ने ? बिद्यालयलाई उत्पादनको ठाउँ किन नबनाउने ? बिद्यालयमा आधा समय सदुपयोग गर्न उद्योग किन नखोल्ने ? काम गर्न सक्ने र काम गर्दै रमाउने जनशक्ति स्कुलमा प्रशस्त हुँदैहुन्छ । सक्ने, मिल्ने र रुचिको काम गर्न दिएर अनुभव बटुल्नबाट किन बञ्चित गर्नै ?

४. स्कुल र उद्योग एकसाथ

बाह्र सकेर बिदेश हानिएका तिनै विद्यार्थी हप्ताको केही दिन, केही घन्टा पढ्छन् र बाँकी समय काम गर्न थाल्छन् । जीवनमा चाहिने अनुभव संकलन गर्न थाल्छन् र बाँच्ने स्रोतसाधनको जोहो आफैं गर्न थाल्छन् । त्यसको थालनी दश वर्ष पुगेपछि हाम्रा स्कुलहरुबाट नै थाल्न किन नसकिने ? कक्षा ५ पास गरेपछि सिकाइलाई उत्पादनसँग जोड्न किन कञ्जुस्याई ? भोली त्यही मैदानमा पसेर खेल खेल्नैपर्छ भने आजैबाट अभ्यास गर्न किन नथाल्ने ? बालबालिकाहरुलाई कामहरुको आकार प्रकार छाम्न र सही कामको छनौट गर्न सक्ने हुन अवसर कहाँ दिने त ?

न्युरोसाइन्टिस्टहरु भन्छन् कि जति हामी हाम्रो दिमागलाई कुनै बाध्यात्मक काममा जोतिरहन्छौं, त्यति सिर्जनशील पाटो निस्कृय बन्दै जान्छ । हाइपरफोकस र स्काटरफोकस भनेर त्यो काममा जोतिने र नयाँ सिर्जना गर्न सक्ने दिमागका पाटाहरुलाई उनीहरुले छुट्याएका छन् ।

स्कुलहरुले आफ्नो इज्जत धान्न अनि ब्यापार चलाउने नाममा दिनभर उज्यालो समय जति किताबमा मात्र अल्झाएर राखेर के गरिरहेका छन् होला त ? न्युरोसाइन्टिस्टहरु भन्छन् कि जति हामी हाम्रो दिमागलाई कुनै बाध्यात्मक काममा जोतिरहन्छौं, त्यति सिर्जनशील पाटो निस्कृय बन्दै जान्छ । हाइपरफोकस र स्काटरफोकस भनेर त्यो काममा जोतिने र नयाँ सिर्जना गर्न सक्ने दिमागका पाटाहरुलाई उनीहरुले छुट्याएका छन् । अस्तित्वरक्षाको लागी गरिने कामहरु हाइपरफोकस हुन् भने सोख वा आनन्दका लागी वा नयाँ सिर्जनशिलता भने दिमागका तरंगहरु अति तल र शान्त भएका वेलामात्र उत्पादन हुन्छन् । यसलाई उनीहरु दिमागका १२ वटा सिर्जनशिल डल्लाहरु सकृय भएको अवस्थालाई मान्दछन् र स्काटरफोकसको अवस्था भनेर भन्छन् ।

रेडियालोजिष्ट एन्ड्रयु स्मार्टले आफ्नो पुस्तक अटो पाइलटमा यसबारे बिस्तृतमा आफ्नो अनुसन्धानलाई पस्केका छन् । आइज्याक न्युटन र कवि रेनर मारिय रेल्कको सिर्जनशिलतालाई गहिरो अनुसन्धान गरेर यसलाई प्रमाणका रुपमा देखाएका पनि छन् । यसरी हामीले हाम्रै दिमागका यी दुई अवस्थाहरुको सही सदुपयोग र सन्तुलन मिलाउन नजानेर आफैलाई र आफ्नो दिमागलाई अन्याय गरिरहेका छौं । मेसिन बनाइरहेका छौं । दिमागलाई मालिक बनाउनुपर्नेमा दास बनाइरहेका छौं । दिमागलाई दास बनाउनु, कारिन्दा मात्र बनाउनु, आफैंलाई दास बनाउनु हो । हो, हामी नयाँ सन्ततीहरुलाई पनि त्यही बनाइरहेका छौं ।

५. प्रोफेसनल साथसाथ भोकेसनल 

हरेक मानिसको आकार भिन्न, प्रकार भिन्न, रुचि भिन्न, स्वभाव भिन्न हुन्छ र बन्छ । समयसँगै र स्वाद र अनुभवसँगै । यो प्रकृतीमा रहेका भिन्न भिन्न प्रकारका जीव, वनस्पती, चरा, फलफुल जस्तै मानिसहरु पनि एकनास बन्नै सक्दैनन् । तर स्कुलमा हामी सबै बालबालिकालाई एउटै खुराक दिनहुँ र बर्षौ खुवाएर के गरिरहेका छौं ? त्यसमा पनि नेपाल जस्तो विविधता बोकेको देशमा चार प्रकारको पाठ्यक्रम चाहिन्छ । तराई, हिमाल, पहाड, पुर्व, मध्य र पश्चिम, मुख्य शहरहरु र दुर्गम गाउँहरु हरेक ठाउँमा भिन्न भिन्न आवश्यकता र बीज रोप्न सक्नुपर्छ ।

त्यसको लागी कक्षा ५ सम्म साक्षर शिक्षा चाहियो नै । त्यसमा पनि हरेक ठाउँ, सभ्यता, संस्कार, वातावरण अनुसारको ऐच्छिक बिषय थपघट गर्न सकिन्छ नै । कक्षा ६ देखि भने हरेक बालकको पारिवारिक अवस्था, ठाउँ, रुचि र वातावरण अनुसार प्रोफेसनल (अझै लामो समय धैर्यता, लगानी र लगनशिलता चाहिने पेशाहरु) भोकेसनल (छ महिने देखि केही वर्षसम्मका छोटा तालिम र कोर्ष गर्दा पुग्ने) छुट्याउनै पर्ने देखिन्छ । यो प्रतिशत झण्डै ७० र ३० आसपास रहने देखिन्छ ।

नेपाल जस्तो विविधता बोकेको देशमा चार प्रकारको पाठ्यक्रम चाहिन्छ । तराई, हिमाल, पहाड, पुर्व, मध्य र पश्चिम, मुख्य शहरहरु र दुर्गम गाउँहरु हरेक ठाउँमा भिन्न भिन्न आवश्यकता र बीज रोप्न सक्नुपर्छ ।

सबै विद्यार्थीको लगनशिलता, धैर्यता, र पारिवारिक आर्थिक अवस्था पनि अझै दश पन्ध्रवर्ष थप लगानी गर्न  सक्ने नहुन सक्छ । डाक्टर, इन्जिनियर, वकिल जस्ता पेशामा जान लामो समय र पैसाको लगानी त चाहिन्छ नै र थप विद्यार्थीमा त्यसको लागी खुवी, धैर्यता, त्याग र एकाग्रता झनै चाहिन्छ । सबैमा यो कुराहरु नहुन सक्छ र नमिल्न सक्छ । तब के गर्ने ? समाधान भनेको नै विद्यार्थीको रुचि  र खुवीको गहिरिएर जाँच गर्ने र कक्षा ६,७ र ८ भित्रमा छु्ट्याइसक्ने । भोकेसनल कोर्षमा जानेहरु आफ्नो रुचिको बिषय लिएर ६ महिना देखि चार वर्ष त्यसमै ज्ञान लिन्छन् र त्यसमै काम पनि सिक्छन् । कक्षा ९, १०, ११, १२ गरेर चार वर्ष  आफ्नो रुचिको बिषयमा केन्द्रित हुन पाए भने ती बालबालिका त्यो बिषयमा पोख्त बनेर निस्कन्छन् । रोजगार वा उद्यमशिलता जता भए पनि पसिहाल्छन् । परिवार पनि सुखी अनि देशपनि खुसी ।  फेरि रुचि पलाए, जस्लाई जता जान पनि मिल्ने बनाइदिने । ढोका सदैव खुल्ला राखिदिने तर न्युनतम योग्यता र तयारी बेगर कक्षा ९ मा भने सबैले प्रोफेसनल कोर्षमा जानै नपाउन् । विद्यार्थीको जीवन समय र अभिभावकको लगानी बिनाउपलब्धि खेर नजाओस् । यसमा अझै गहिरिएर चिन्तन होस् र तयारी थालियोस् । ढिलो भइसक्यो । आजका बालबालिकाको मनोभाव र रुचिले यो सबै प्रमाणित गरिसक्यो ।  

६. घरको काम र स्कुलको काम

स्कुलको सिकाई काम हैन । त्यो सिकाइ मात्र हो । कामको लागी तयारी मात्र हो । तयारी गर्दै काम गर्दै हुनपर्छ । तयारी मात्र बीसवर्ष गर्ने अनि बीस वर्ष पछि मात्र काम थाल्ने पनि हुन्छ र ? पाँच वर्ष उज्यालो दिन मात्र अनि तिन वर्ष रातमात्र हुन्छ र ? दश वर्ष काम गर्ने मात्र अनि तीन वर्ष सुत्ने मात्र हुन्छ र ? दिन र रात जस्तै ज्ञान र काम सन्तुलित र सँगै जानपर्छ । कति, कहिले र कसरी त्यसको भने सोच र तयारी गर्नै पर्छ ।

आजका बालबालिका न घरको काम गर्छन् न स्कुलमा कुनै काम सिक्छन् । तर भोलि जीवनमा चाहिँ कामै काम मात्र गर्न पर्छ । सके र मिले सम्म चारवटा काम गर्न पनि पछि पर्दैनन् किन ? दश बा¥ह वर्षको उमेरबाट शरिरमा अनेक हर्मोनहरुm पनि परिवर्तन हुनथाल्छन् र बालबालिकाहरु अब बयस्क बन्नतिर लाग्छन् । यो समय नै कामको पोखरीमा धकेल्ने सही समय हो । कामले आर्थिक धन त उपार्जन गर्न सिकाउँछ नै तर भावनात्मक रुपले पनि मजबुत बनाउँदै लैजान्छ । स्रोतको सीमितता बुझाउँछ र इच्छाहरुको असिमितता पनि पढाउँछ । समग्रमा परिपक्व बनाउँछ । रुचिको संसारमा खुसी बनाउँछ ।

७. चीन, जापान र कोरियाका स्कुलहरुमा काम

जापानका स्कुलहरुमा कक्षाकोठा, भान्सा, ट्वाइलेट सफा गर्न आयादिदीहरु वा अरु थप कर्मचारी हुन्नन्, विद्यार्थीहरु आफैं सफा गर्छन् भनेर त सबैले सुनेका छौं । त्यो काम सिकाएको हो । कामको बानी वेलैदेखि बसाउन कोसिस गरेको हो । हाम्रो पुस्ताले बिहान बेलुका घरको र खेतको काम सघाएर स्कुल गएको हो । आवश्यक परेको बेलामा जुनसुकै काममा हात हालेको नै हो । बाआमालाई हरेक काममा सघाएको नै हो । कामले मानिसमा गम्भिरता ल्याउँछ । जिम्मेवारीबोध गराउँछ ।

कक्षा ६ देखिका विद्यार्थीहरुलाई दिनको एक घन्टा देखि माथी तीन घण्टा सम्म अनिवार्य काम गराउने हो भने धेरै कुराको समाधान निस्कन्छ । उनीहरु भित्रको उर्जाको सदुपयोग नभएर अहिले समस्याको चाङ्ग निकै ठूलो भएको छ । घरमा बाआमा कुनै काम गर्नै नदिने, कुनै सीप नसिकाउने अनि स्कुलमा त झन् कुनै काम लगाउनै नपाइने । लगाए, अपराध गरेको झैँ ठान्ने परम्पराले सबैलाई भड्खालो तिर ठेल्दैछ । सबै भन्दा कठिन शिक्षकहरु र बिद्यालयलाई हुँदै गएको छ । धेरै संस्थागत बिद्यालयका प्राचार्यहरु पनि त्यसै भन्न थालेका छन्  र आफ्नो तिक्तता पोख्न थालेका छन् ।

कक्षा ६ देखिका विद्यार्थीहरुलाई दिनको एक घन्टादेखि माथि तीन घण्टासम्म अनिवार्य काम गराउने हो भने धेरै कुराको समाधान निस्कन्छ । उनीहरु भित्रको उर्जाको सदुपयोग नभएर अहिले समस्याको चाङ्ग निकै ठूलो भएको छ ।

प्रविधिको गलत प्रयोग र असन्तुलनले, सुचनाहरुको बाढीले, खानपानको गञ्जागोलले, इच्छाहरुको असीमित फैलावटले तर कामको कमी र स्रोत साधनको सिमितताले सबैलाई बिस्तारै यान्त्रिक स्वरुपमा परिवर्तन गर्दैछ । निर्दयी बनाउँदैछ ।

अहिलेका बालबालिकामा देखिएको मूल  समस्या नै यही छ । प्रविधिको गलत प्रयोग र असन्तुलनले, सुचनाहरुको बाढीले, खानपानको गञ्जागोलले, इच्छाहरुको असीमित फैलावटले तर कामको कमी र स्रोत साधनको सिमितताले सबैलाई बिस्तारै यान्त्रिक स्वरुपमा परिवर्तन गर्दैछ । निर्दयी बनाउँदैछ । आँखामा मात्र हैन, सोचमा पनि स्पष्टता छैन, जतै बादल लगाउँदैछ । समग्रमा, हरेक मानिस बिस्तारै भावनाबिहिन मेसिन जस्तो बन्दैछ । खल्तिमा बोक्ने जिनिसको अलि ठूलो आकार जस्तो मात्र हुँदैछ । यसको एकमात्र समाधान भनेको प्रबिधिमा नियमन, सन्तुलन र प्रकृतितिर बिस्तारै फर्केर स्वस्थ्य सन्तुलन बनाउन सक्नु हो । ब्यक्तिगत जीवनमा, घरमा, स्कुलमा, समाजमा अनि देशमा । सबैतिर ।

८. अध्ययन, सीप र कामको सन्तुलन

पुस्तक र अनेक विषयहरुको अध्ययन एक निरन्तर पाटो मात्र भयो । दोस्रो, निरन्तर कुनै न कुनै सीपको बिकास चाहिन्छ नै । त्यो बिषयगत ज्ञान र सिकेको सीपलाई निरन्तर कामको आगोमा हालेर जाँच पनि त गरिरहन पर्छ । तसर्थ, एक स्कुलमा बालबालिकाले यी तिनै चिजहरुको सन्तुलित आहार पाइरहनुपर्छ । तर खोइ त ? यसमा सन्तुलन मिलेको ? पाठ्यक्रमले मिलाएको ? त्यस अनुसारको मुल्याँकन पद्धति बनाएको ? एक बालकले स्कुलमा सरदरमा ६ घन्टा देखि माथि १२ घण्टा नै बितायो भने पनि यी माथिका तीन कुराहरुमा बराबरी समय छुट्याउने हो भने सबैभन्दा उत्तम सन्तुलन बन्छ जस्तो लाग्छ । यसमा थप छलफल र चिन्तन हुन जरुरी छ ।

९.उद्योग, रोजगार, आम्दानी र शिक्षामा लगानी

सबैभन्दा ठूलो कुरा त राज्य भनेको घरको मुली जस्तै हो । घरको मुल्य मान्यता, नियम र संस्कार बनाएर चले जस्तै देश चलाउन सोच र विचार नियम र ऐन राज्यको दायित्व हो । शिक्षामा थप लगानी गर्न देशको राजस्व वा आम्दानी बढाउनुपर्छ वा खर्च घटाउनुपर्छ । बढाउन लघुउद्योगदेखि ठूला उद्योगहरुको संख्या नबढाई सुखै छैन । राजनीति  र काम नगरी ठगेर र धमक्याएर खानेहरुको जमात बढ्दै गएपछि, उद्योग, मात्र कल्पना हुँदै गएको छ । जानीजानी जोखिम कस्ले मोल्छ र ? उद्योग नभएपछि रोजगार शुन्य अनि आम्दानी कम त शिक्षामा लगानी कम । प्रशासन चलाउन र राजनीतिले भएको आम्दानी सबै चुसेर सकेपछि अरु सबै विकास ओझेल पर्छ । त्यसमा पनि केही गरेजस्तो गर्न भौतिक संरचनामा बाँकी पैसा खन्याउनै पर्यो । अलि अलि कमिसन कुम्ल्याउने ठाउँ त्यै हो । अनि मानविय पुँजीको अभिवृद्धिको लागी बजेट शुन्य । त्यस्तो खडेरी वा मरुभूमि ठाउँमा कस्ले हामफाल्छ र ? भएको त्यस्तै छ । सक्षम र दक्ष मानिस सकेसम्म त्यता छिर्नै नखोज्ने अनि कसरी खेत मलिलो बन्छ ? फसल कसरी फस्टाउँछ ?

कृषकलाई कर लगाएर झन गरिव बनाउने तर ठूला ठूला उद्योगीहरुसँग साँठगाँठ गरेर कर मिनाहा गर्ने र कमिसन खाने अनि पार्टी चलाउने, गुण्डा कार्यकर्ता पाल्ने अनि कताबाट शिक्षामा लगानी गर्ने पैसो पुगोस् ? जब लगानी न्युनतम हुन्छ, तब गुणस्तर पनि कामचलाउ बन्छ ।

१०. अध्ययन अनुसन्धानको कमी र समयसँग बग्न नसक्नु

सरकार चलाउनेहरुदेखि नीति निर्माताहरु सम्मलाई नयाँ खोज अनुसन्धान गरेर समय खर्च गर्नु नै छैन । कक्षा ५ का बालबालिकाहरु जस्तो सबैलाई छिटो भन्दा छिटो अनि रातारात करोडपति अनि अरबपति बन्नुछ । समयले अर्थलाई पहिलो पंक्तिमा राखिसक्यो तर हामी अझै त्यसलाई स्वीकार गर्न सकेका छैनौं । त्यसलाई समयानुकुल पाठ्यक्रममा बदल्न सकेका छैनौं । ब्यबहारमा उतार्न सकेका छैनौं ।

आजको पुस्ता भन्दैछ कि “हामीलाई पुस्तक मात्र पढाएर दिनभर नराख, हाम्रो समय खेर नफाल । हामी जीवनभर पढिरहुँला तर आजको समयमा बाँच्न सीप अनिवार्य भइसक्यो, काम अनिवार्य भइसक्यो । हामीलाई सीप सिकाऊ, काममा लगाऊ, अनुभवी बनाऊ, आत्मनिर्भर बनाऊ, आत्मबिश्वास जगाऊ । हामी तपाईहरुजस्तो धैर्य छैनौं, हाम्रो समय छिटो चल्छ अनि हाम्रो दिमाग पनि त्यस्तै भएको छ । तपाईहरुको ४० मिनेटको लेक्चर हाम्रो पाँच मिनेटको काम हो । समय उडिसक्यो, हामीले समयसँगै उड्न सिक्नु छ, सक्नु छ । हाम्रो खुट्टा बाँधेर दौड नभन्नुहोला । चार पर्खालभित्र राखेर किपात मात्र घोटाएर पिलाउन नखोज्नु होला । हामीलाई ज्ञान, सीप र कामको सन्तुलन चाहिएको छ । हामीलाई समय अनुसार बग्नुछ अनि भोलीको चिसोमा पनि तग्नुछ ।

ती कक्षा ५ का बालबालिकाले लेखेको एक एक पाना मनोभाव फेरी मनमनै पल्टाउँदैछु र सोच्दैछु कि हामीले उनीहरुको द्रुत गतिको विचारको तरंगलाई बुझ्न सकेका छैनौं र त्यसलाई सम्बोधन गर्न सकेका छैनौं ।

(निरौला आफैंलाई चिन्ने कोसिस’  पुस्तकका लेखक तथा ट्रेनर हुनुहुन्छ )

<[email protected]>