युरोप अझै पनि युक्रेनको युद्ध जारी राख्न कटिबद्ध छ

आना भ्राचार

युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित युक्रेनका लागि तयार पारिएको प्रारम्भिक शान्ति प्रस्तावमा प्रतिक्रिया दिँदै एक अस्थिर सप्ताहन्त बिताए। २८ बुँदे मूल दस्तावेजमा समावेश गरिएका प्रावधानहरूलाई ईयू सरकारहरू र राष्ट्रपति भोलोडिमिर जेलेंस्कीको प्रशासन दुवैले “अधिकतमवादी” भन्दै आलोचना गरे उनीहरुको दावी अनुसार यस प्रस्तावले रूसलाई युक्रेन नाटोमा संलग्न नहुने भन्ने लामो समयदेखि माग गरिएको आश्वासन, हाल रुसका फौजद्वारा कब्जामा रहेका क्षेत्रहरूको मान्यता, र युक्रेनको सेनाको आकार ६ लाखमा सीमित गर्ने सुझाव जस्ता धेरै छुट दिन्छ ।  यद्यपि यसले युक्रेनलाई क्षेत्रकै ठूलो सैन्य शक्तिमध्ये एक बनाइराख्छ।

मुख्यधारका टिप्पणीकारहरूले छिट्टै नै यस्तो प्रस्ताव स्वीकार गर्नु युक्रेनको आत्मसमर्पण नै हुने तर्क अघि सारे। तर अन्य विश्लेषकहरूले भने युरोपेली नेताहरूको चिन्ता युक्रेनको भविष्यभन्दा पनि आफ्ना स्वार्थहरू जोगाउनेतर्फ केन्द्रित देखिएको बताए। युक्रेनी अनुसन्धानकर्ता भोलोडिमिर इश्चेन्कोले सामाजिक सञ्जालमा लेख्दै ‘ईयूको वास्तविक डर भनेको रूसले प्रस्ताव स्वीकार्ला भन्ने हो र त्यसैले युरोपेली सरकारहरूले त्यसलाई मास्कोका लागि अस्वीकार्य बनाउने प्रयास गरिरहेका छन्’ भन्ने सुझाव दिए । “यो डर अझै कायम छ, जबकि रूस बलियो स्थितिमा छ र आफ्नो ‘अत्यधिक’ लक्ष्यहरू पूरा गर्न युद्ध लम्ब्याउन सक्छ, भने युक्रेन भने सैन्य, आर्थिक, राजनीतिक, सामाजिक र अन्तर्राष्ट्रिय संकटहरूमा अझ गहिरो डुब्दै छ,” उनले लेखे।

कूटनीतिक प्रयासको न्यूनतम सम्भावनालाई पनि अस्वीकार गर्ने युरोपको यो नयाँ व्यवहार त्यतिखेर देखा परिरहेको छ जब अधिकांश युक्रेनीहरू द्वन्द्वको वार्ता-आधारित समाधानको पक्षमा छन्। जुलाई २०२५ को ग्यालप सर्वेक्षणले प्रायः ७०% उत्तरदाताहरूले “विजय नआएसम्म लडाइँ” भन्दा वार्ताबाट समाधान खोज्नुपर्ने धारणा समर्थन गरेको देखाएको छ । यो २०२२ को जनमतभन्दा यसको परिणाम लगभग विपरीत छ।

युरोपेली नेताहरूले जनभावनाको यस परिवर्तनलाई अझै आत्मसात् गरिरहेका छैनन्। सप्ताहन्तमा युरोपेली र युक्रेनी अधिकारीहरूबीचका परामर्शपछि, प्रस्तावको वैकल्पिक संस्करणले तटस्थता र नाटो विस्तार नगर्ने प्रावधान हटायो, र सेनाको सीमालाई ८ लाखमा बढाइयो। पछिल्ला केही दिनमा, युरोपेली राष्ट्रप्रमुखहरूले बारम्बार रूसको पूर्ण आत्मसमर्पणको बराबर नहुने  यस्तो कुनै पनि शान्ति प्रस्तावलाई अस्वीकार गरेका छन् । केहीले त युरोपेली सरकारहरूले धेरै पटक वार्तालाई अवरुद्ध गरेका कुरालाई बिर्सँदै  “पुटिनलाई वार्तामा बस्न बाध्य पारिनुपर्छ” भनेका छन् । यसमा कुनै आश्चर्यको कुरा छैन कि रूसी अधिकारीहरूले संशोधित प्रस्ताव स्वीकार्य नभएको बताए।

युरोपेली प्रतिप्रस्तावले युक्रेनप्रति आफ्नै प्रतिबद्धताबारे अपेक्षाहरू पनि घटाउँछ। मूल प्रारम्भिक मसौदाले युरोपेली सहयोगीहरूबाट युक्रेनको पुनर्निर्माण र पुनःस्थापनाका लागि अर्बौँ युरोको सहयोगको उल्लेख गरेको थियो । जसले अमेरिकी प्रशासनको क्षेत्रीय सैन्य खर्च बढाउनुपर्ने दबाबसँग मेल खान्थ्यो तर पुनर्लेखन गरिएको संस्करण यस विषयमा त्यति उत्साही देखिँदैन। यसको सट्टा, यसले युक्रेनको पुनर्निर्माण र स्थिरीकरणका लागि भुक्तानी त्यस्ता कुराबाट, विशेषगरी रूसका जफत गरिएका सम्पत्तिबाट हुनुपर्ने सुझाव दिन्छ जसलाई उनीहरूले ‘क्षतिपूर्ति’ भनेका छन् । युरोपेली उत्साह अन्य द्वन्द्वहरूमा क्षतिपूर्तिको अवधारणाका लागि खासै देखिएको छैन, जसमा उनीहरूले समर्थन गरेको गाजामा इजरायलद्वारा गरिएको नरसंहार पनि समावेश छ।

यी कदमहरूले पहिले नै स्पष्ट भइसकेको कुरा पुनः पुष्टि गर्छन्: ईयू र बेलायत युद्धविरामतर्फका प्रयासहरूलाई युक्रेनले सैन्य रूपमा जित्न सक्छ भन्ने विश्वासका  कारण अवरुद्ध गरिरहेका छैनन्, बरु उनीहरू आफ्नो दृष्टिकोण विफल भएको स्वीकार गर्दा पर्ने हजारौ मानिसहरुको ज्यान गुमेको राजनीतिक र आर्थिक परिणामहरूबाट डराउँछन् ।

गत साता प्रस्तुत गरिएको योजनासँग केही स्तरको संवाद भएको तथ्यले, अघिल्ला प्रयासहरूको तुलनामा  आशा गर्ने केही ठाउँ दिन्छ। तर यो संवादले ठोस परिणाम दिन्छ कि दिदैन  भन्ने कुरा  अस्पष्ट नै छ । विशेषगरी युरोपेली हस्तक्षेपको स्तरलाई हेर्दा।

Source: - https://peoplesdispatch.org