बाटो पहिल्याउँदा

''तिमी के गर्दै छौ आजकाल ?" एउटाले सोध्यो।

अर्काले भन्यो, ''म त नयाँ धन्दा चलाउँदै छु । जातीय समुहलाई उचाल्दै छु ।

 साम्प्रदायिक समुहलाई भडकाउँदै छु !"

उसले जान्न चाह्यो, ''यल्ले त देशलाई, समाजलाई थिलथिलो बनाउदैन र ?!''

अर्कोले ओठे जवाफ दियो, " बनाउँछ ।तर मेरो जान्छ के ?!''

 'हँ !'

 ''तिमी के गर्दै छौ आजकाल ?'' एउटाले सोध्यो ।

अर्काले भन्यो, 'म त नयाँ धन्दा चलाउँदै छु ।जेन्डरको इस्युमा काम गर्दै छु । पुरुषको खेदो गर्छु र महिलालाई उकास्छु ।''

उसले जान्न चाह्यो, "यल्ले परिवारलाई, समाजलाई भाँड्दैन र ?!"

अर्कोले ओठे जवाफ दियो, "भाँड्छ ।तर मेरो जान्छ के ?!"

 "हँ !"

 ''तिमी के गर्दै छौ आजकाल ?" एउटाले सोध्यो ।

अर्काले भन्यो, ''म त नयाँ धन्दा चलाउँदै छु । म क्षेत्रीय मुद्दामा काम गर्दै छु । मधेशलाई पहाडको र पहाडलाई मधेश विरुद्धमा, पूर्वलाई पश्चिमको विरुद्धमा र पश्चिमलाई पूर्वको विरुद्ध, शहरलाई गाउँको विरुद्धमा र गाउँलाई शहरको विरुद्धमा उफार्छु ।"

उसले जान्न चाह्यो, "यसले राष्ट्रको विनिर्माण हुँदैन र ?!"

अर्कोले ओठे जवाफ दियो, हुन्छ ।तर मेरो जान्छ के ?!"

 "हँ !"

''तिमी के गर्दै छौ आजकाल ?''

 एउटाले सोध्यो ।

अर्काले भन्यो, ''म त नयाँ धन्दा चलाउँदै छु ।म त पुस्तान्तरणको इस्स्युमा काम गर्दै छु ।बुढा-खाढाको धज्जी उडाउछु र जेन–जीलाई उकास्छु ।''

उसले जान्न चाह्यो, "यल्ले पाका र युवा बीच, जोश र होश बीच भाँजो हाल्दैन र ?!"

अर्कोले ओठे जवाफ दियो, " हाल्छ ।तर मेरो जान्छ के ?!"

" हँ !"

ऊ सन्तकहाँ गयो र सोध्यो, " गुरु सत्मार्ग के हो ?!"

 सन्तले भने, " एकाङ्गी  हुनुहुन्न । न बिर्स,  ब्रह्माण्ड सन्तुलनको कला हो । म त आफ्नै कर्ममा छु । देख्दा अकेलो छु तर सामाजिक मोक्षका हेतु बाँधिएको छु ।

मलाई पनि मेरा गुरुले भनेका छन्,

सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः ।

म मेरो औकातमा समाजलाई प्रतिदान गर्छु पनि । किन पनि भने त्यो मेरो दायित्व पनि हो । त्यसमा मेरो स्वार्थ पनि छ किनभने समाज मेरो अस्तित्वको आधार पनि हो, मेरो काव्य रचनाको आधारभूमि ।

मैले महाकविका काव्य रचना पढेको छु र तिनमा समाजको धुकधुकी छामेको छु । तिनमा सामाजिक मोक्षको व्यग्र सपना सजाको देखेको छु, संगीतवद्ध लयमा । हकिकत र सपनाबीचको सेतु लामो छ उसमाथि नागबेली कावेली । तर सहयात्राको मजै अर्को ।"

"हँ !"