कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता

नेपाली कम्युनिष्ट पार्टीको घोषणा-पत्र

प्रारम्भिक

नेपाली कम्युनिष्ट पार्टी २००६ साल वैशाख १० (२२ अप्रिल १९४९) मा कमरेड पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी संस्था हो । यो पार्टी नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक नेतृत्वदायी सङ्गठन हो नेपाल कम्युनिष्ट पार्टीको स्थापना नेपाली समाजबाट सामन्तवादी एवम् साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी स्वतन्त्र एवम् सार्वभौमसत्ता सम्पन्न जनगणतन्त्र नेपालको स्थापना गर्ने र मुलुकलाई वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढाउने उद्देश्य राखेर गरिएको थियो । यसको अर्को उद्देश्य नेपाली समाजमा रहेका वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, सामाजिक र सांस्कृतिक विभेदहरूको अन्त्य गरेर सामाजिक न्यायसहितको स्वतन्त्रता र समतामुलक एवम् समृद्ध समाजको स्थापना गर्नु थियो। नेकपाले आफ्ना लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्नका निम्ति शान्तिपूर्ण र सशस्त्र सङ्घर्ष सञ्चालन गरेको छ। ती सङ्घर्षका दौरान हजारों योद्धाहरु सहिद, बेपत्ता, घाइते र अपाङ्ग भएका छन्। ती महान सहिद र योद्धाहरूको सदैव स्मरण गर्नु र सम्मान एवम् श्रद्धासुमन अर्पण गर्नु हाम्रो कर्तव्य हो । त्यसैगरी पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाललगायत सबै अग्रजहरुप्रति सम्मान व्यक्त गर्नु पनि हाम्रो कर्तव्य हो ।

नेपाली कम्युनिष्ट आन्दोलनको सात दशकभन्दा लामो इतिहास अनेक प्रकारका मतभेद, विवाद, विभाजन, एकता र पुनःएकीकरणको आरोह अवरोहबाट गुज्रिएको छ । यसैक्रममा अहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी-समाजवादी), नेकपा ( साम्यवादी), माओवादी कम्युनिष्ट केन्द्र, देशभक्त समाजवादी मोर्चा लगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरु एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टी बनाएका छौं र यो घोषणा पत्र पेश गरेका छौं।

हाम्रो लक्ष्य र आम नीति


माओवादी यूनिट केन्द्र, देशभक्त समाजबादी आन्दोलन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सञ्चालित शान्तिपूर्ण र सशस्त्र सङ्घर्षहरुको परिणामस्वरूप मुलुकमा ठूलाठूला परिवर्तन भएका छन् र धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास र खाद्य सम्प्रभूतालगायतका मौलिक हकसहितका संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाली समाज पूंजीवादी चरणमा प्रवेश गरेको छ । शोषण उत्पीडनका रूप बदलिएका छन् । नेपाली समाजका हर क्षेत्रमा वित्तीय तथा दलाल नोकरशाही पूंजीवादी शोषण र उत्पीडन व्यापक बन्दै गएको छ। साथै समाजका अन्तर्विरोधहरू पनि बदलिएका छन्। वित्तीय तथा दलाल नोकरशाही पूंजीपति वर्ग र आम नेपाली जनताबिचको अन्तर्विरोध वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध बन्न पुगेको छ । यस प्रधान अन्तर्विरोधको समाधानका निम्ति समाजवादी क्रान्ति अपरिहार्य छ । तसर्थ नेपली क्रान्तिले अब समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छ । अबको हाम्रो लक्ष्य वैज्ञानिक समाजवाद हो । हामी समाजवादी कार्यदिशा अंगालेर अघि बढ्ने छौं हामी देशमा नेपाली विशेषताको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौं । त्यो समाजवाद लोकतान्त्रिक मूल्य मान्यतासहितको हुनेछ र त्यसको बाटो मूलतः शान्तिपूर्ण हुनेछ । नेपाली विशेषताको वैज्ञानिक समाजवादका आम नित देहाय बमोजिम हुनेछन्

१. राज्य व्यवस्था सम्बन्धी नेपाली विशेषताको समाजवादी राज्य व्यवस्था युगसापेक्ष लोकतान्त्रिक मूल्यमान्यतासहितको हुनेछ । त्यसमा आम जनसमुदायका लोकतान्त्रिक हक अधिकार, मुख्यतः सङ्गठन, अभिव्यक्ति, आलोचना, सिर्जना र व्यक्तिगत स्वतन्त्रता प्रत्याभूत गरिनेछ । राज्यसत्ता सञ्चालनमा आम जनताको संस्थागत सहभागिता र सरकारको काममा जननिगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ । जन अपेक्षा अनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याह्वान गर्ने व्यवस्था गरिने छ । यस राज्य व्यवस्थाका सम्पूर्ण कार्यहरू तत्कालीने संविधान अनुरूप हुनेछन् ।

२. अर्थव्यवस्था सम्बन्धी समाजवाद समाजका हरेक सदस्यलाई योग्यता अनुसारको काम र काम अनुसारको 'दाम' दिने व्यवस्था हो । उत्पादक शक्तिको बहुआयामिक विकासद्वारा आर्थिक क्षेत्रमा पर्याप्त प्रगति नगरी उक्त लक्ष्य प्राप्त गर्न सकिदैन । समाजमा व्याप्त पूंजीवादी एवम् साम्राज्यवादी शोषणका सबै रूपहरूलाई अन्त्य गरेर मात्रै त्यस्तो समाजवादी अर्थ व्यवस्थाको निर्माण हुनेछ । उत्पादनका साधनमाथि सार्वजनिक,सामुहिक र निजी स्वामित्व भएको नयाँ उत्पादन प्रणालीको स्थापनासँगै नयाँ उत्पादन सम्बन्ध कायम हुनेछन् । नयाँ उत्पादन सम्बन्धमा श्रम र प्रविधिको स्वतन्त्र विकास हुनेछ ।

समाजवादी अर्थतन्त्रको निर्माण र विकास विभिन्न चरण हुँदै अगाडि बढ्नेछ । पहिलो चरणमा सामान्यतः तीन खम्बे अर्थतन्त्रको रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योग धन्दाहरू विकास गरिनेछ । सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिने छ ।

आत्मनिर्भर तथा उत्पादनमुखी अर्थतन्त्रको विकास गरी न्यायोचित वितरण प्रणाली र बजार व्यवस्थित गरिने छ । अर्थतन्त्रको द्रुत विकास र सवलीकरणका लागि आवश्यक संरचनागत परिवर्तन गर्नुका साथै प्रगतिशील कर प्रणाली लागू गरिने छ । प्राकृतिक स्रोत साधनमा राज्यको स्वामित्व सुनिश्चित गरिने छ । आर्थिक सामाजिक रूपान्तरण अभियान सञ्चालन गरिने छ ।

वित्तीय एकाधिकार तथा दलाल पूजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवम् सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिने छ । स्वदेशी कच्चा पदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योग धन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिनेछ । देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई योग्यता अनुसारको काम र काम अनुसारको दाम' उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ ।

३. सामाजिक-सांस्कृतिक व्यवस्था सम्बन्धी समाजमा वर्गको उदयपछि सामाजिक-सांस्कृतिक सम्बन्धहरू पनि असमान र अन्तर्विरोधयुक्त हुँदै आएका हुन्। पूँजीवादले सामाजिक-सांस्कृतिक तथा मनोवैज्ञानिक सम्बन्धहरूलाई पनि नीजी स्वार्थको प्रतिस्पर्धामा धकेल्दै मानवीय सम्बन्धहरूलाई अमानवीय बनायो । समाजवादले सबै असमान सामाजिक तथा सांस्कृतिक सम्बन्धको जगलाई अर्थात् वर्ग अन्तर्विरोधलाई अन्त्य गर्नेछ र मानिस मानिस विचका सम्बन्धहरूलाई मानवीय बनाउने छ ।

समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैगिकलगायत सबै प्रकारका शोषण, दमन, उत्पीडन र विभेदको अन्त्य गरी स्वतन्त्रता, समानता र सामाजिक न्यायमा आधारित समाज निर्माण गरिने छ । मानवीय तथा राष्ट्रिय चेतनामा आधारित समाजबादी सामाजिक-संस्कृति निर्माण गरिने छ ।

पूंजीवादी समाजमा विज्ञानमाथि पूँजीले राज गर्छ । इतिहासदेखि सदै आएका रुढीवाद, अन्धविश्वास र कुरीतिहरूलाई समेत पूंजीवादले आफ्नो सेवामा प्रयोग गर्छ। समाजवादले विज्ञानलाई पूंजीको नियन्त्रणबाट मुक्त गरी पूर्णतः मानवीय बनाउने छ । वैज्ञानिक शिक्षा पद्धतिमार्फत समाजमा वैज्ञानिक दृष्टिकोण र व्यवहार स्थापित गरिनेछ । मानिसको ज्ञान र गरिमालाई कमजोर पार्ने सबै खालका अवैज्ञानिक तथा अमानवीय चलन र अभ्यासहरूको अन्त्य गरिने छ ।

४. राष्ट्रिय हित र परराष्ट्र सम्बन्ध सम्बन्धी नेपाल कहिल्यै कसैको अधिनमा नरहेको एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । तथापि नेपाल राष्ट्र निर्माणका क्रममा नेपालीहरूले साम्राज्यवाद तथा विस्तारवादका अनेकौं आक्रमण र दबाबको सामना गर्नु परेको थियो । अहिले पनि नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता दबाबमुक्त छैन। साम्राज्यवाद तथा प्रभूत्ववादका आर्थिक, राजनीतिक, सांस्कृतिक र अन्य कुनै पनि प्रकारको दबाव, हस्तक्षप र आक्रमणबाट मुक्त स्वाधिन समाजवादी नेपालको निर्माण गर्नु समाजवादी क्रान्तिको एउटा मुख्य उद्देश्य हो ।
राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, सार्वभौमिकता, राष्ट्रिय हित र मुलुकको समृद्धिका लागि पञ्चशीलको सिद्धान्तमा आधारित स्वतन्त्र, असम्लग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरिने छ । कुनै पनि आर्थिक, राजनीतिक तथा सामरिक अहङ्कारबाट प्रभावित नहुने र कसैमाथि पनि दबाव र हस्तक्षप नगर्ने परराष्ट्र नीतिका आधारमा नेपालको राष्ट्रिय हित प्रबर्द्धन गरिनेछ। विभिन्न राष्ट्रका जनताको न्याय, समानता र समृद्धिको पक्षमा उभिने हाम्रो नीति हुनेछ ।

हाम्रो सैद्धान्तिक आधार र दृष्टिकोण:

हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो । माक्सवाद-लेनिनवाद एक गतिशील विज्ञान एवम् क्रान्तिकारी विश्वदृष्टिकोण हो । यसको प्रयोग समाजको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढगले हुन्छ । मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा विभिन्न विशिष्ठ व्यक्तित्वहरूबाट विशेष योगदान भएको छ। विकासको प्रक्रियामा युरोपभन्दा पछाडि रहेको रुसमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा लेनिनले गर्नु भएको योगदान र रुसभन्दा पनि अझ पछाडि अर्द्धसामन्ती एवम् अर्द्धउपनिवेशी अवस्थामा रहेको चीनमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने क्रममा माओले गर्नु भएका योगदाने विशेष उल्लेखनीय छन् हाम्रो पार्टी नेपालको विशिष्ट परिस्थिति अनुरूप मार्क्सवाद-लेनिनवादको सिर्जनात्मक प्रयोग विकास गर्न प्रतिबद्ध छ । हाम्रो सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो। जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवम् व्यक्तिगत उत्तरदायित्व बहन गर्ने गरी पार्टीको निर्माण र सञ्चालन हुनेछ । यो पार्टी जन आधारित कार्यकर्ता पार्टी हो। यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरिम विधानमा व्यवस्थित सङ्गठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्नेछौं । पार्टी कमिटीहरू सबै समावेशी हुनेछन् । हरेक कमिटीमा पैत्तिस प्रतिशत महिला विस प्रतिशत जेन्जी नवयुवा तथा युवा, पन्ध्र प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम रहने व्यस्था गरिने छ । नेतृत्व विकास र हस्तानतरणको वैज्ञानिक विधि स्थापित गरिने छ। पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोकिने छ ।

हाम्रो रणनैतिक लक्ष्य वैज्ञानिक समाजवाद हो । नेपाली जनताको लामो सङ्घर्षबाट सामन्ती शोषण, दमन र उत्पीडनको मूल रूपमा अन्त्य भएको छ तर वित्तीय एकाधिकार तथा दलाल नोकरशाही पूँजीवादी शोषण, दमन, विभेद र उत्पीडन अहिले पनि हाम्रो समाजमा विद्यमान छ। हामी समाजमा रहेका सबैखाले शोषण, दमन, विभेद र उत्पीडनको अन्त्य गरी शोषणरहित एवम् विभेदरहित र सातामूलक समृद्ध समाज निर्माण गर्न चाहन्छौं। त्यसका निमित्त समाजवादी क्रान्ति अपरिहार्य छ ।

हाम्रो समाजवादी क्रान्तिको मूलतः शान्तिपूर्ण हुनेछ किनभने कम्युनिष्ट पार्टीहरुको निर्णायक पहलकदमीमा आफ्नै मौलिक विशेषताका साथ सम्पन्न नेपालको पुँजीवादी जनवादी क्रान्तिको परिणामस्वरूप स्थापित समानुपातिक एवम् समावेशी चरित्रको समाजबाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आधारित भएर हाम्रो देशमा शान्तिपूर्ण एवम् वैधानिक ढङ्गबाट समाजवाद निर्माण गर्न सकिने प्रबल संभावना छ । तथापि क्रान्तिको स्वरूप र बाटो तात्कालिक वस्तुगत परिस्थितिले निर्धारण गर्ने विषय हो । परिस्थिति अनुरुप आत्मगत शक्ति तयार नभई वस्तुगत पक्ष तयार भएर मात्र क्रान्ति हुन सक्तैन। समाजवादी क्रान्तिको आत्मगत शक्ति भनेको बलियो कम्युनिष्ट शक्ति हो। कम्युनिष्ट शक्ति विभाजित रहिरहँदासम्म शक्ति सन्तुलन प्रतिकूल हुने, प्रतिगामी शक्तिहरू पुनर्स्थापित हुने र आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुग्ने जोखिम हुन्छ। त्यसैले कम्युनिष्ट शक्तिको एकीकरण आजको अनिवार्य आवश्यकता बन्न पुगेको छ ।

२०६२/६३ को जनक्रान्तिद्वारा सामन्ती राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि नेपाली क्रान्ति समाजवादी चरणमा प्रवेस गरेको छ । अब हुने क्रान्तिको चरित्र र कार्यदिशा समाजवादी हो । अहिलेको हाम्रो मूल कार्यनीति जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढ्ने हो । अबको हाम्रो सम्पूर्ण पार्टी काम समाजवाद उन्मुख हुनेछ । हामी अब समाजवादी कार्यदिशा अवलम्बन गरेर दृढतापूर्वक समाजवादको यात्रामा अगाडि बढ्ने छौं ।

हाम्रो प्रतिबद्धता

हामी तपशीलका विषय दृढतापूर्वक अवलम्बन गर्न प्रतिबद्ध छौं

१. नेपालको राष्ट्रिय स्वाधिनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने ।

२. राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान र समर्पित भई काम गर्ने ।

३. मार्क्सवाद-लेनिनवादका सार्वभौम सच्चाइहरूप्रति दृढ रहदै तिनलाई नेपालको विशिष्ट परिस्थिति अनुरूप सिर्जनात्मक ढङ्गले लागू गर्ने ।

४. समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिवद्ध रही नेकपाले आफ्नो स्थापना कालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने ।

५. लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहने र जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै गणतन्त्रको सुद्धिकरण र राज्यका सबै अङ्गहरूमा आवश्यक सुधार एवम् पुनसंरचना गर्न अग्रसर हुने ।

६. नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सबलिकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगाएत विषयमा अग्रगामी परिमार्जन गर्न तत्पर रही पहल गर्ने।

७. भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शिता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने ।

८. उच्चस्तरिय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानवीन गरी भ्रष्टाचारीहरूलाई कडा कार्बाही गराउन प्रभावकारी पहल गर्ने।

९. राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्त दुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आम जनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने ।

१०. वर्तमान नेपाली समाजमा रहेका सबैखाले शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, विभेद, असमानता र विकृति सिङगतिको अन्त्य गर्न सङ्घर्षरत रहने ।

११. महिला, दलित, उत्पिडित, अल्पसंख्यक र सिमान्तकृत समुदाय, आदिवासी जनजातिलगायत राज्यको मूल प्रवाहबाट बहिष्करण र बञ्चितिकरणमा परेका वर्ग, जाति, समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गर्न संघर्षरत रहने ।

१२. अनुसन्धान र विकासलाई उच्च प्राथमिकतामा राखी देशको समग्र विकाश कार्य अघि बढाउने ।

१३. स्वतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न, रोजगारी सिर्जना गर्न र गरिवीको अन्त्य गर्न विशेष पहल गर्ने ।

१४. वर्तमान नेपाली समाजको आर्थिक-सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न कृषि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग, पर्यटन र जलविद्युतको विकासलाई प्राथमिकतामा राखेर विशेष योजनाका साथ देशको विकास गर्न अग्रसर हुने।

१५. प्राकृतिक स्रोत र साधनको संरक्षण एवम् दिगो उपयोग गर्ने गरी विकासका अभियान सञ्चालन गर्ने ।

१६. जलवायु परिवर्तन र पर्यावरणमैत्री विकास योजना निर्माण तथा विपत् व्यवस्थापन गर्न प्रतिबद्ध रहने ।

१७. जनताका सुख दुःखमा जोडिदै देश र जनताका आवाज जोडदार रूपमा उठाउने ।

१८. जेन्जी पुस्ताका मुद्धा र आकांक्षको संबोधन गर्न प्रतिबद्ध रहने ।

१९. विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरीहरू सच्च्याउदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रुपान्तरण गर्दै अघि बढ्न तत्पर रहने ।

२०. पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने ।

२१. पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा सम्लग्न हुने ।

२२. कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने । २

३. सादा एवम् सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने।

कात्तिक १९ गते  बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा सार्वजनिक गरिएको नेपाली कम्युनिस्ट पाटीको घोषणापत्र