जेन–जी आफ्नो भविष्य फिर्ता चाहन्छ! …

भ्रष्टाचार विरुद्धको विद्रोह

“तपाईं आफ्नो जीवनमा के चाहनु हुन्छ?” नेपालमा एकजना जेन–जी युवतीलाई यो प्रश्न सोध्दा उनले तुरुन्तै जवाफ दिइन्: “निराशा भएर ‘कसैको झोला बोकिबस्नु’ नपर्ने, राहत संस्थाहरूबाट दानको लागि हात थापिबस्नु नपर्ने, अरूको अधीनमा बसिरहनु नपर्ने। जीवनमा अगाडि बढ्न कसैको अनुमति पर्खनु नपर्ने।” अर्को शब्दमा भन्नुपर्दा, उनी आफ्नै जीवनको बाटो बनाउन सशक्तिकरण खोज्छिन्।

यो तीव्र इच्छा राख्नेमा उनी एक्लो छैनन्। पछिल्ला एक दुई महिनामा विश्वभरका अन्य आन्दोलनहरूलाई प्रेरित गर्ने गरी नेपालमा सुरु भएको विद्रोह जेन–जी युवाहरूको आवश्यकता बुझ्न समाजलाई जगाउने प्रयास हो। यो भ्रष्टाचार अन्त्य गरेर उनीहरूले रोजगार पाऊन्, खाना र भाडा तिर्न सकून्, र आफ्नो जीवनमा निर्णय गर्न सकून् भन्ने उद्देश्यले गरिएको आन्दोलन हो। यो समाजका सीमित तहमा थुप्रिएको सम्पत्तिलाई सतहमा ल्याउने र धोखाधडीपूर्ण शासन शैली अन्त्य गर्ने तथा जनताको गरिमा पुनर्स्थापना गर्ने प्रयास हो।

पछिल्ला एक दुई महिनामा विश्वभरका अन्य आन्दोलनहरूलाई प्रेरित गर्ने गरी नेपालमा सुरु भएको विद्रोह जेन–जी युवाहरूको आवश्यकता बुझ्न समाजलाई जगाउने प्रयास हो।

अनौपचारिक रूपमा ‘जुमर’ वा डिजिटल नेटिभ्स भनेर चिनिने जेन–जी त्यो पहिलो पुस्ता हो जो डिजिटल प्रविधि, इन्टरनेट र स्मार्टफोन प्रविधिसँगै हुर्किएको हो। सन् १९९७ देखि २०१२ बीच जन्मिएका उनीहरू अहिले तेह्रदेखि अठ्ठाइस वर्ष उमेरका छन्। अहिलेसम्मको विश्व परिवेशमा यी युवाहरू आफ्नो जीवनलाई सकारात्मक र नकारात्मक दुबै रूपमा अनुभव गरिरहेका छन् भन्न सकिन्छ ।

सकारात्मक पक्ष निकै स्पष्ट छ: उनीहरू बढी शिक्षित छन्, डिजिटल रूपमा साक्षर छन्, र मोबाइल उपकरणसँगै हुर्किएका छन् जसले उनलाई परिवार, विद्यालय र कार्यस्थलभन्दा टाढा रहेको विशाल समुदायसँग जोड्छ। उनीहरू इन्टरनेटका विभिन्न माध्यम र सामाजिक सञ्जालहरूको ठूलो दायरामा पोख्त/अभ्यस्त छन्, जसले आफ्नै र बाहिरी विश्वका ताजा समाचारहरुका बारे अद्यावधिक (अपडेट) रहन मद्दत गर्छ। तर यी पुस्तागत विशेषाधिकारहरू केही युवाहरूका लागि सित्तै आएका छैनन्। अत्यधिक पर्दा प्रयोगका कारण देखिएको असन्तुलन निद्राको कमीदेखि मानसिक स्वास्थ्य समस्या, तनाव, दृष्टिसम्बन्धी असामान्यता, र केही अनुसन्धानले देखाए अनुसार कमजोर प्रतिरक्षा प्रणाली र खानाको एलर्जीहरूसम्म फैलिएको छ।

त्यसै समयमा, जनावर अधिकारप्रति सजगता, वनस्पति-आधारित खाना रोज्ने, बढी साइकल प्रयोग गर्ने, र वातावरणप्रति सचेत हुने जेन–जी व्यवहार अत्यन्त सकारात्मक र जिम्मेवार देखिएको छ। जलवायु परिवर्तनको सन्दर्भमा उनीहरूको धारणा र सक्रियता प्रशंसनीय छ, राजनीतिक र मानव अधिकारका दमनहरूविरुद्धको उनीहरूको निडर संघर्षको त झन् कुरा नै गर्नुपर्दैन। यो वैश्विक सचेतता पछिल्ला दशकमा विभिन्न देशहरूमा मिलेनियल र जेन–जी द्वारा बढ्दो सडक प्रदर्शनहरूमा स्पष्ट देखिन्छ, जसको सुरुवात अरब स्प्रिङबाट, त्यसपछि इरानको ग्रीन रिभोल्युशन र त्यसपछि हङकङमा भएको थियो। जेन–जी आन्दोलनहरूमध्ये पहिलोमध्ये एक सन् २०२२ मा इरानी युवतीहरूले देशव्यापी विद्रोहको नेतृत्व गर्दा देखिएको थियो। पछिल्ला आन्दोलन सन् २०२५ को सेप्टेम्बरमा नेपालमा सुरु भए । यी आन्दोलनहरु लद्दाख-भारत, बङ्गलादेश, फिलिपिन्स, माडागास्कर, श्रीलङ्का, मोरक्को, पेरू र केन्या हुँदै अन्य अफ्रिकी देशहरूमा फैलिएका छन्।

जेन–जीलाई सामूहिक क्षमताबाट अलग गरिएको छ, अर्थपूर्ण सामाजिक सहभागिताबाट अवरुद्ध गरिएको छ, र आफ्ना देशहरूको वित्तीय र सामाजिक नीतिहरूको सुधार प्रक्रियामा राजनीतिक रूपमा सहभागी हुनबाट रोकिएको छ।

जेन–जी हुनुको नकारात्मकता पनि त्यत्तिकै स्पष्ट छ। विश्व दक्षिणका धेरैजसो युवाहरू (साथै उत्तर अमेरिकाका केही वर्गका मानिसहरू, दक्षिणी युरोपका केही देशहरू र रसियामा पनि) त्यस्ता परिवारहरूमा जन्मिएका छन् जहाँ उनीहरुका एक वा दुबै अभिभावक बेरोजगार छन् वा दैनिक–मजदुरी गर्ने सस्तो श्रमिकका रूपमा काम गर्छन् । उनीहरुसँग कुनै स्थायी काम, स्वास्थ्य सेवा, वा अवकाश सुविधा छैन, न त बचत नै। यो अवस्था यस पुस्ता र अघिल्ला पुस्ताका लागि अस्थिर नै रह्यो। तर आफ्नो अत्यधिक आपसी जोडाइका कारण, जेन–जीहरू माथिल्ला वर्ग, धनाढ्य र शक्तिशाली व्यक्तिहरूको नातावादप्रति सचेत रुपमा जागिरहेका छन् । त्यो वर्गले समाजलाई नियन्त्रण गरेर, रोजगारी आफ्ना परिवार र अयोग्य मानिसहरूलाई बाँडेर, केवल आफ्ना स्वार्थका लागि सोच्दै, उत्साही र संघर्षशील युवाहरूलाई पीडित बनाएका छन्। यस सन्दर्भमा, जेन–जीलाई सामूहिक क्षमताबाट अलग गरिएको छ, अर्थपूर्ण सामाजिक सहभागिताबाट अवरुद्ध गरिएको छ, र आफ्ना देशहरूको वित्तीय र सामाजिक नीतिहरूको सुधार प्रक्रियामा राजनीतिक रूपमा सहभागी हुनबाट रोकिएको छ।

जेन–जी युवा पुस्ता त्यो अभिशाप सामना गर्दै छन् जसको सम्पत्ति, स्रोत र सम्भावित उज्ज्वल भविष्यको हिस्सा ती व्यक्तिहरूले हडपेका छन् जसलाई हामी “भविष्य-भक्षक” भन्न सक्छौं । त्यो वर्गको घमण्ड र लोभले जेन–जीलाई आफ्नै वास्तविकता निर्माण गर्न र आफ्नो भविष्य निर्णय गर्नका लागि लगभग केही पनि बाँकी छोडिदिएको छैन। जेन–जी युवाहरू आफ्नो भविष्य फिर्ता चाहन्छन्! यस बिन्दुमा, जेन–जी युवाहरूले हामीलाई देखाइरहेका छन् कि विद्रोह नै सम्भवतः त्यो एक मात्र माध्यम हो जसद्वारा उनीहरूले सत्तामा बस्ने र सबै निर्णय गर्नेहरूलाई ‘अब अति भयो’ भन्ने संकेत पठाउन सक्छन्।

विभिन्न देशहरूको राजनीतिक इतिहास, संस्कृतिहरू, स्रोतहरू, स्थिति, र अर्थतन्त्रका भिन्नताहरू हुँदाहुँदै पनि, यी सबै जेन–जी विद्रोहहरूबीचका असन्तुष्टिहरू धेरै हदसम्म साझा छन्। र यो अवस्था केवल विकासोन्मुख देशहरूमा सीमित छैन, विश्व उत्तरका देशहरू पनि आफ्ना युवाहरूबीच यस्तै शंका र सङ्घर्षहरू सामना गर्दै छन्।

हेक्कायोग्य कुरा के छ भने विभिन्न देशहरूको राजनीतिक इतिहास, संस्कृतिहरू, स्रोतहरू, स्थिति, र अर्थतन्त्रका भिन्नताहरू हुँदाहुँदै पनि, यी सबै जेन–जी विद्रोहहरूबीचका असन्तुष्टिहरू धेरै हदसम्म साझा छन्। र यो अवस्था केवल विकासोन्मुख देशहरूमा सीमित छैन, विश्व उत्तरका देशहरू पनि आफ्ना युवाहरूबीच यस्तै शंका र सङ्घर्षहरू सामना गर्दै छन्। उनीहरूको भविष्य क्षयकारी असमानता, अनिश्चितता, द्वन्द्व, जलवायु परिवर्तन र आफ्नै देशहरूको लापरवाह र दूरदर्शिताविहीन राजनीतिको कारण सिर्जित असुरक्षाको गम्भीर खतरा अन्तर्गत परेको छ।

आधुनिक समयमा, यस्ता समस्याहरूको प्रतिवर्ती उत्तर प्रायः यस्तो हुन्छ, “मतदान गर! चुनावमार्फत परिवर्तन ल्याऊ!” तर के चुनावहरू साँच्चिकै काम गरिरहेका छन्? विश्वव्यापी अन्याय र असमानताको मुद्दाबाट ध्यान हटाउने प्रयास प्रायः असन्तुष्ट जनसंख्यालाई सन्तुष्ट पार्न लोकतन्त्र र चुनावको विचारलाई प्रवर्द्धन गरेर छोपिन्छ। जेन–जी, र सम्भवतः विश्वभरका धेरै अन्य मानिसहरू, पश्चिमी देशहरू समेत, ती चुनावहरूबाट थाकिसकेका छन् जसले साधारण मानिसहरूका लागि कुनै ठोस परिणाम ल्याएको छैन।

रोचक कुरा के छ भने, एरिस्टोटेलियन दृष्टिकोणमा चुनाव र राजनीति अभिजात वर्ग र जनसाधारण  (विशेषाधिकार प्राप्त र वञ्चित) बीच पुलको रूपमा काम गर्नका लागि बनेका थिए। तर आज, चुनाव प्रक्रियामा भएको पक्षपात र हेरफेरले प्रायः कुनै ठोस परिवर्तन ल्याउन असफल भएको छ, वा कम्तीमा पनि सभ्य जीवनका लागि आवश्यक आधारभूत कुराहरू उपलब्ध गराउन सकेको छैन। अहिले त्यो ‘पुल’ ओलीगार्ग (oligarchs) तिर बढी झुकेको छ। देशको बजेट व्यवस्थापन र सबैलाई फाइदा हुने नीतिगत परिवर्तनहरूमा निष्पक्ष सहभागिताबिना लोकतन्त्र र चुनावका कपटी विचारहरू बेच्नु ठगी बाहेक केही होइन। यस्तो ठगी अन्ततः सतहमा आउँदैछ, यद्यपि धेरैजना अझै त्यसबाट फाइदा उठाइरहेका छन् भने अन्य धेरै देशहरूमा, पश्चिमी देशहरू समेत, धेरैजना अझै पनि यसबारे अनभिज्ञ छन्।

एरिस्टोटेलियन दृष्टिकोणमा चुनाव र राजनीति अभिजात वर्ग र जनसाधारण  (विशेषाधिकार प्राप्त र वञ्चित) बीच पुलको रूपमा काम गर्नका लागि बनेका थिए। तर आज, चुनाव प्रक्रियामा भएको पक्षपात र हेरफेरले प्रायः कुनै ठोस परिवर्तन ल्याउन असफल भएको छ, वा कम्तीमा पनि सभ्य जीवनका लागि आवश्यक आधारभूत कुराहरू उपलब्ध गराउन सकेको छैन।

सामाजिक सञ्जालमा पहुँच र विश्वव्यापी साथीसँगको अद्भुत जोडाइका कारण, जेन–जी युवाहरू चुनावको पक्षपात, राजनीतिमा रहेको भ्रष्टाचार, सैन्य क्षेत्रमा रहेको पैसाको प्रभाव, र अभिजात वर्ग र उनका सन्तानहरूले विलासी जीवनशैलीका बीच उपभोग गरिरहेका विशेषाधिकारप्रति क्रमशः बढी सचेत हुँदै गइरहेका छन्, जबकि बाँकी जनताले आफ्नो जीवन गुजारा गर्न संघर्ष गर्नुपर्छ। प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिपरिषद् सदस्य वा कुनै पार्टीको परिवर्तन जनताको नकारात्मकतालाई निस्तेज पार्नका लागि बनाइएको हुन्छ। तर वास्तवमा, निकै थोरै कुरा परिवर्तन हुन्छ। चुनावमार्फत राजनीतिमा हुने अहिंसात्मक झूटो-परिवर्तनशीलता कहिलेकाहीँ नागरिकहरूलाई उनीहरूले पाउनुपर्ने अधिकारबाट ध्यान हटाउनका लागि नै बनाइएको जस्तो देखिन्छ। जनप्रियता र जनप्रिय भाषणहरूले धेरैलाई अहिलेसम्म शान्त र मौन राखेका छन्, तर जेन–जी अब ती भ्रामक वाचा र अभिजात वर्गको विचलित गर्ने नाटकीय राजनीतिविरुद्ध जाग्दैछ।

यसको सट्टामा, जेन–जी अब अदृश्य सत्ताको संरचनामा ध्यान केन्द्रित गरिरहेको छ। सन् २०२४ मा, इतिहासमा कहिल्यै नभएजति बढी चुनावहरू विश्वभरि सम्पन्न भए। त्यसैले, चुनावहरू त भइरहेका छन् र संविधानहरू पनि अस्तित्वमा छन्, तर सामान्य नागरिकहरूको हितका लागि आवश्यक संरचनात्मक परिवर्तनहरू अभावमा छन्।

जनप्रियता र जनप्रिय भाषणहरूले धेरैलाई अहिलेसम्म शान्त र मौन राखेका छन्, तर जेन–जी अब ती भ्रामक वाचा र अभिजात वर्गको विचलित गर्ने  नाटकीय राजनीतिविरुद्ध जाग्दैछ।

जेन–जी प्रश्न गरिरहेको छ: यदि चुनावहरू नै हाम्रा समस्याहरूको उत्तर हुन् भने, परिस्थिति अझै किन खराब छ?

भ्रष्टाचार के हो?

भ्रष्टाचारबारे यी जेन–जी आन्दोलनहरूमा झनै ठूलो स्वरमा कुरा हुन थालेको छ। यो आन्दोलन अब विशेष चुनाव वा सरकार परिवर्तनको माग मात्र होइन, बरु एक भ्रष्टाचारविरोधी आन्दोलन बन्दै गएको छ।

 “भ्रष्टाचार वास्तवमा के हो?” भनेर गम्दा हामी देख्न थाल्छौं कि यसका धेरै तहहरू छन्, देखिने र अदृश्य दुबै आयामहरू छन्। सरल रूपमा भन्नुपर्दा, भ्रष्टाचार राजनीतिक र सामाजिक तहमा रहेका ती व्यक्तिहरूको जबर्जस्ती र निर्दयता हो, जसले आफूभन्दा तल्लो तहका मानिसहरूलाई ठग्छन् र शोषण गर्छन्।

भ्रष्टाचारका विभिन्न रूपहरू हुन्छन्: भौतिक (सरकारी काम गर्न नागरिकसँग पैसा माग्ने, विशेष गरी जब प्रशासनिक प्रक्रिया प्रणालीगत वा विद्युतीय नभएर हातैले गरिन्छ), र अभौतिक (उपकार, झूट बोल्ने र अरूको अनैतिक कार्यलाई ढाकछोप गर्ने, र नीतिहरू जसले सार्वजनिक हितभन्दा व्यक्तिगत वा कम्पनी हितलाई प्राथमिकता दिन्छन्)।

भ्रष्टाचार परिस्थितिअनुसार र मान्यताअनुसार रूप लिने एउटा आकारविहीन घटना हो । मनोवैज्ञानिक रूपमा भ्रष्टाचार सम्मानको कमी, विश्वासको कमी, बाँच्नुपर्ने भावनाबाट उत्पन्न लोभ र सामूहिक समाजभन्दा आफूमाथि केन्द्रित हुने मानसिकताबाट जन्मिन्छ।

देखिने भ्रष्टाचार (मुख्यतः विकासोन्मुख देशहरूमा) र नदेखिने भ्रष्टाचार (जस्तै पश्चिमी, उदार लोकतन्त्रहरूमा, जसले कानुनी फोक्सोमार्फत वैध भ्रष्टाचारलाई समर्थन गर्छन्) पनि हुन्छन्।

भ्रष्टाचार परिस्थितिअनुसार र मान्यताअनुसार रूप लिने एउटा आकारविहीन घटना हो । मनोवैज्ञानिक रूपमा भ्रष्टाचार सम्मानको कमी, विश्वासको कमी, बाँच्नुपर्ने भावनाबाट उत्पन्न लोभ र सामूहिक समाजभन्दा आफूमाथि केन्द्रित हुने मानसिकताबाट जन्मिन्छ। परिणामस्वरूप, रिस, निष्ठा ङ्गता, टकराव, असशक्तता, र भत्किएको गरिमा, यी सबै भ्रष्टाचारका उदास बनाउने उप-उत्पादन हुन्। भ्रष्टाचार कुनै पनि समाजका लागि नष्टकारी हुन्छ। सत्तामा रहेका भ्रष्ट कथाकारहरूले स्रोतहरूमा आफ्नो नियन्त्रण कमजोर पार्ने कुनै पनि संरचनात्मक परिवर्तन नगरी राम्रो भविष्यको वाचा गर्छन्।

भ्रष्टाचार तब हुन्छ जब गैर-अभिजात मानिसहरूले अस्तित्वका स्वाभाविक सङ्घर्षहरूभन्दा बढी भागको बोझ वहन गर्नुपर्छ। स्रोतहरू जनतामाथि होइन, सत्ताको संरचनातर्फ मोडिनु भ्रष्टाचार हो। भ्रष्टाचार भनेको अर्थतन्त्रको चक्रमा फँसेका मानिसहरूसँग हातमुख जोहो गर्न विकल्पहरूको अभाव हुनु हो। भ्रष्टाचारको अर्थ स्वास्थ्य सेवा पहुँचमा नहुने र वहन गर्न नसक्ने हुनु पनि हो, किनकि कम्पनीहरूको स्वास्थ्यलाई मानव स्वास्थ्यभन्दा अगाडि राखिन्छ।

आपसमा गाँसिएको भ्रष्ट प्रणालीबाट मुक्त हुनु निकै कठिन हुन्छ, जहाँ एउटा तहको भ्रष्टाचार अर्को तहमा मिसिन्छ। के यो आश्चर्यजनक कुरा हो र? जेन–जी अब यी सबैबाट थाकिसकेको छ, र सरकारकै प्रकृतिमा परिवर्तनको माग गरिरहेको छ।

कुनै पनि रूप लिएको भए पनि, भ्रष्टाचारले समाजको सहकार्य र विश्वासको संरचनालाई अवश्य क्षति पुर्‍याउँछ। कहिलेकाहीँ यसले आफ्नै जीवन रूप लिन्छ। एक पटक जब भ्रष्टाचार कुनै समाजमा स्थानियकृत हुन्छ, यो अपेक्षित मान्यता बन्न जान्छ । यस्तो अवस्थामा, भ्रष्ट नहुनु अत्यन्त कठिन हुन सक्छ। आपसमा गाँसिएको भ्रष्ट प्रणालीबाट मुक्त हुनु निकै कठिन हुन्छ, जहाँ एउटा तहको भ्रष्टाचार अर्को तहमा मिसिन्छ। के यो आश्चर्यजनक कुरा हो र? जेन–जी अब यी सबैबाट थाकिसकेको छ, र सरकारकै प्रकृतिमा परिवर्तनको माग गरिरहेको छ।

आफ्नो भाग्यप्रतिको सशक्त नियन्त्रणको अनुभूति हुनु नै राम्रो भविष्यको संकेत हो। रेक्रविट्जका तर्कहरूको सन्दर्भमा प्रश्न यस्तो उठ्छ; आधुनिकता र प्रगतिले आजका युवाहरूलाइ के प्रदान गरिरहेका छन्?

जेन–जीले भोगिरहेको सशक्तिकरण र सम्भावनाको ह्रासलाई ‘प्रगति’ र ‘आधुनिकीकरण’का नाममा लुकाइएको छ। आधुनिकता र आधुनिकीकरणलाई मानवताको लागि आफैं राम्रो भविष्यको रुपमा बुझिनु हुँदैन। जर्मन समाजशास्त्री र सांस्कृतिक सिद्धान्तकार एन्ड्रियास रेक्रविट्जले आफ्नो ऐतिहासिक कृति Verlust (अर्थात् Loss) मा यसबारे औंल्याएका छन्– यहाँ एउटा विरोधाभास काम गरिरहेको छ: आधुनिकता र प्रगति एक प्रकारको उत्साह सिर्जना गर्छन्, जसले निरन्तर अगाडि बढ्ने अनुभूति दिन्छ, तर यसैसँगै यसले हाम्रो भविष्य, हाम्रो वातावरण, हाम्रो सामाजिक विशेषाधिकार र मानिसको रूपमा हाम्रो शक्ति पनि नाश गर्दै लगिरहेको छ। ह्रास हिंसाको वृद्धि र सैन्यीकरणमार्फत युद्धको सम्भावनामा देखिन्छ। ह्रास युवाहरूमा भविष्यप्रतिको घट्दो आशामा देखिन्छ। ह्रास भविष्यका पुस्ताका लागि वातावरणीय क्षरणमा देखिन्छ।

यसको विपरीत, आफ्नो भाग्यप्रतिको सशक्त नियन्त्रणको अनुभूति हुनु नै राम्रो भविष्यको संकेत हो। रेक्रविट्जका तर्कहरूको सन्दर्भमा प्रश्न यस्तो उठ्छ; आधुनिकता र प्रगतिले आजका युवाहरूलाइ के प्रदान गरिरहेका छन्? अर्को शब्दमा भन्नुपर्दा, के आधुनिकताको उत्साह हराउँदैछ र ह्रास तथा भ्रष्टाचारको तीतो सत्य अब प्रष्ट देखिन थालिरहेको छ?

जेन–जी “यसरी नै सधैं चल्दै आएको छ” भन्ने अवस्थाबाट थाकिसकेको छ। यसपटक, भ्रष्ट मानिसहरूले सत्तामा रहँदा र आफ्ना सुरक्षाबलहरू सम्हाल्दै गर्दा पनि लुकाउन सक्दैनन्। सामान्य र पर्याप्त दैनिक जीवन बिताउन जेन–जी युवाहरूका लागि, र सधैंझैं, यो संसारका दुर्भाग्यशालीहरूको लागि पनि, झनझन कठिन बन्दै गएको छ। सशक्त विद्रोहमा, सत्ताको र स्रोतहरूको साझेदारीमा जनसहभागिताको आह्वान गर्दै, विभिन्न देशहरूमा रहेको दीर्घकालीन भ्रष्टाचारको अन्त्यको माग गर्दै, र जनताको गरिमा पुनर्स्थापना गर्न माग गर्दै जेन–जी उठिरहेको छ ।

यस पुस्ताको परिपक्वता आधुनिकताको विरोधाभासहरू सम्बोधन गर्ने माध्यम हो, जसले विश्वलाई एक साझा गाउँ र व्यापक प्रबोधनतर्फ अगाडि बढाउँछ। उनीहरू आफ्नो भविष्य फिर्ता चाहन्छन्।

अक्टोबर २९, २०२५ – काठमाडौं, नेपाल

मोस्तफा भाजिरी

मोस्तफा भाजिरी (एम.डी, पीएचडी) स्वतन्त्र शोधकर्ता हुन् । उनी दर्शनशास्त्रका महान आचार्यहरूको तत्त्वहरू, वैश्विक न्याय, र उत्तर-धर्मनिरपेक्षताको सन्दर्भमा ती विषयहरूलाई प्रयोग गरी विश्लेषण गर्दै दृष्टिकोणमा आमूल परिवर्तन र मनोवृत्तिमा आधारभूत रूपान्तरणका बारेमा लेख्छन्; ।