फासीवाद: “मसँग शक्ति छ, त्यसैले म सही छु !”

‘फासीवाद’ शब्द सुन्दा हामी सामान्यतया यसलाई कठोर दक्षिणपन्थी विचारधारासँग सम्बन्धित ठान्छौं । यस शब्दको  ऐतिहासिक सम्झनाले हामीलाई मुसोलिनी र हिटलरसम्म पु-याउँछ। अझ सायद यस शब्दले हामीलाई शक्तिको प्रतीकको रुपमा प्रयोग हुने यसको प्राचीन रोमन उत्पत्तिको सम्झना गराउँछ । ‘फासीवाद’ शब्दको व्युत्पत्ति ल्याटिन शब्द ‘फासेस’ (इटालियन ‘फासियो’) बाट आएको हो, जसको अर्थ ‘गुच्छा’ वा ‘गाँठो’ हुन्छ, सामान्यतया लट्ठी वा डोरीको बण्डल, जसले समूहको शक्तिलाई प्रतिनिधित्व गर्छ।

त्यसैले हामीले फासीवादको अवधारणा प्राचीन समयदेखि नै अस्तित्वमा रहेको थियो भन्ने सम्झनुपर्छ, तर दोस्रो विश्वयुद्धका घटनाहरूले यसलाई आधुनिक स्वरूपमा पूर्ण बलका साथ लागू गर्‍यो। यस सन्दर्भमा, प्रसिद्ध इटालियन फिल्म निर्देशक फेडेरिको फेलिनीलाई एक पटक एक अन्तर्वार्तामा सोधियो, “तपाईं मुसोलिनीको समयमा, फासीवादको समयमा हुर्किनुभयो। के तपाईं हामीलाई बताउन सक्नुहुन्छ, फासीवादको विचारधारा वास्तवमै के हो?”*

उनले जवाफ दिए, “फासीवाद कुनै विचारधारा होइन। फासीवाद एउटा प्रविधि हो। र तपाईं यो प्रविधि कुनै पनि विचारधाराभित्र स्थापना गर्न सक्नुहुन्छ।”

अन्तर्वार्ताकारले सोधे, “त्यो प्रविधि के हो?”

फेलिनीले एउटा वाक्यमा जवाफ दिए: “‘बल प्रयोगको माध्यमबाट म ठीक छु।’” उनले थपे, “यो कुरा कुनै पनि विचारधारा वा प्रणालीभित्र लागू गर्न सकिन्छ।”

त्यसबाट देखिन्छ कि ‘इज्म’ भनेर फासीवादलाई सम्बोधन गर्नु गलत नाम हो। फासीवाद वास्तवमा शासन प्रणालीको विकार हो।

आजको हाम्रो सन्दर्भमा यसको अर्थ के हो? यसको अर्थ हो कि बलको माध्यमबाट ‘सधैं ठीक’ हुने यो उपकरण र प्रविधि कुनै पनि प्रणालीको सेवामा स्थापित गर्न सकिन्छ, जसमा लोकप्रियता (populism), राष्ट्रियता (nationalism), साम्यवाद, राजतन्त्र, गणतन्त्र, धर्मतन्त्र, र यहाँसम्म कि लोकतान्त्रिक प्रणालीहरू पनि पर्छन्। यस्ता अभ्यासहरू आज संसारका सबै महादेशहरूमा तीव्र रूपमा फैलिएका छन्।

“बलद्वारा म ठीक छु,” वा अरूले जसरी भनेका छन्, “बल नै अधिकार हो,” भन्ने कुरा केवल दक्षिणपन्थी वा वामपन्थी, लोकतान्त्रिक वा अधिनायकवादी घटनामात्र होइन। कुनै व्यक्ति, सरकार, राजनीतिक दल वा धर्मले कुनै पनि समयमा, आफ्नो सम्बन्ध वा युग जस्तोसुकै भए पनि, फासीवादी व्यवहार अपनाउन सक्छ भन्ने कुरा बुझ्नु निकै कठोर बोध हुन सक्छ।

फासीवादी सिक्काको दुई पाटा हुन्छन्: एउटा हो “मसँग शक्ति भएकाले म सधैं ठीक छु।” अर्को पाटो हो त्यो प्रविधि, जसद्वारा कुनै समूह वा व्यक्तिले चतुरतापूर्वक अरू ‘बेठीकहरु’लाई मानवताविहीन बनाउँछ, डर देखाउँछ र आक्रमण गर्छ । फासीवादी अभ्यासकर्ताको पक्षमा देखिने जनसमर्थन सिक्काको दोस्रो पाटो हो ।  किनभने सामान्यतया मानिसहरू शक्तिशाली पक्षमा रहन चाहन्छन्, विशेष गरी जब त्यो पक्षसँग राजनीतिक अधिकार र सैनिक शक्ति दुवै हुन्छ। यही कारण हो कि हामी हिटलरको समर्थनमा विशाल जनसमूह उभिएको कल्पना गर्न सक्छौं।

फासीवाद उदय हुनका लागि “सही आँधीमय वातावरण” त्यो बेला तयार हुन्छ, जब राजनीतिक झूट, अन्धराष्ट्रियता, कमजोर बनाइएका सरकारी संस्थाहरू, आत्ममुग्ध नेताको स्वभाव, जनआन्दोलन, असमानता, गरिबी, र ‘उनीहरू’प्रतिको डर जस्ता सबै अव्यवस्थित तत्त्वहरू “लट्ठीको गुच्छा” झैँ एकै ठाउँमा आउँछन्। त्यसपछि फासीवादी प्रविधि प्रयोग गरेर जनसंख्यालाई “ठीक” र “गलत”, “हामी” र “उनीहरू” भन्ने भ्रमपूर्ण श्रेणीहरूमा विभाजन गरिन्छ। यसरी संवाद र सहकार्यको सट्टा बल र डरद्वारा एजेन्डाहरू अघि सारिन्छन्। आँधीको सबैभन्दा खराब अवस्थामा, फासीवादी बण्डलले जनतालाई यति नराम्ररी पिट्छ कि सानो भ्रस्टाचार पनि हल्का राजनीतिक हावा जस्तो लाग्न थाल्छ।

हाम्रो जीवनकालमै फासीवादलाई चिन्ने कुरा निकै कठोर र शायद पक्षाघातजस्तो अनुभव हुन सक्छ। त्यस्तो पक्षाघातको पहिलो औषधि हो—फासीवादका प्रविधिहरूको पहिचान गर्नु र त्यसको प्रचारप्रसारबाट सचेत हुन सुरु गर्नु । हिंसाको निन्दा गर्नु र “हामी बनाम उनीहरू” भन्ने सोचविरुद्ध व्यक्तिगत र सामाजिक रूपमा उभिने कार्यले “लट्ठीको गुच्छा” टुक्र्याउने काम गर्छ। यसरी हामी विभिन्न सन्दर्भहरूमा फासीवादलाई वैधताविहीन बनाउन सक्छौं।

 

मोस्तफा भाजिरी

मोस्तफा भाजिरी (एम.डी, पीएचडी) स्वतन्त्र शोधकर्ता हुन् । उनी दर्शनशास्त्रका महान आचार्यहरूको तत्त्वहरू, वैश्विक न्याय, र उत्तर-धर्मनिरपेक्षताको सन्दर्भमा ती विषयहरूलाई प्रयोग गरी विश्लेषण गर्दै दृष्टिकोणमा आमूल परिवर्तन र मनोवृत्तिमा आधारभूत रूपान्तरणका बारेमा लेख्छन्; ।