अल्झेछ क्यारे पछ्यौरी

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा

बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टामा

 

आउँछे कि चेली भनेर आमा दोबाटो धाइथिन्

तीजमा पनि बिर्सेछ क्यारे गरीब माइती

सल्लाझैँ आमा सुसाइरहिन्, एक्लै कोठामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा

 

छोरीलाई आशीष हाल्न पाइन अन्तिम सासैमा

भन्थे नि बाले आँसु खसाली टीकाको थालीमा

त्यै आँसु टीका पठाइदिऊँ कि, प्रवासको पतामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा

 

भन्थे नि दाइले भाइटीकामा बहिनी फर्केला

क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला

दिनभरि काग कराइरह्यो, बेलको ठुटामा

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा