म ढालिंदै गर्दा‚ के गर्दै थिए‚ मेरा मायालाग्दा स्वर्णिम सपनाहरु ?

(कञ्चनपुरका विपिन जोशीप्रति समर्पित)

स्वर्णिम भविष्यको सपना बोकेर विदेशिएको म

कुनै आतङ्कको चेपुवामा‚ त्यतै कतै अपिरिचित माटोमा

खेलाँचीमै ढालिएको मेरो अमूल्य मानव शरीर

आफ्नै सपनासँग हार खाएर ढलेपछि‚ वा भनौं

कसैको उन्मादी सपनासँग नराम्ररी ठोक्किएर ढलेपछि

तयार भएको छ झण्डा फहरिएको

कुनै "सुरक्षित" गाडी‚ मात्र मेरो लागि !

कुनै "मजबुत" बाकस‚ मात्र मेरो लागि !

अनि विदेशी भूमिमा‚ देशका राजदूत‚

त्यो पनि मात्र मेरै लागि !

म गुमनाम ढालिएर‚ फेरी भेटिएपछिको-

मात्र एक वतासे प्रश्‍न‚ "खै! त म ?"

अनि अर्को निरर्थक प्रश्‍न‚ "खै! त मेरा सपनाहरु ?"  

 

पृथ्वीको गर्भमा अवस्थित कुनै रमणीय बंकरबाट

मिठा यादगारहरु लिएर

विश्व परिभ्रमणमा निस्किए झैं

कुनै आतङ्कको चेपुवामा परेर जीवन ढलिसकेपछि

सोच्न पाउने भए‚ सोच्थेँ हुँला-

आहा… कति महत्वपूर्ण यात्रा !

आहा‚ हत्केलामा कोरिएको भाग्य रेखा पनि

कति लामो अनि कति स्पष्ट !

 

हिजोजस्तो गुमनाम छैन आज

पत्रकार र समाचारहरुले पछ्याइरहेका छन्

स्वदेशी विमानस्थलमा

बाकस बुझ्ने र बुझाउनेहरु

गम्भीर‚ जिम्मेवार‚ शिष्ट अनि एकदम तयार छन्

सोच्न मिल्ने भए‚ सोच्थेँ हुँला शायद-

यतिखेर स्वदेश फर्कदै गर्दा

हिजो देश छोडदाको जस्तो

भोक‚ अन्यौल र छटपटी छैन आज

शान्त छु‚ कतै पुग्‍नुको हतार पनि छैन

कसैलाई भेट्नका लागि मन व्यग्र पनि छैन

र बाकसभित्र

घडी‚ समय र मुटुको धडकन केही चलिरहेको पनि छैन

जिउँदो भएको भए लाग्थ्यो होला-

सबै तिर‚ सबै चिज ट..क्क अडिएको छ

शान्त छ र शान्ति छ

अनि लाग्थ्यो होला शायद-

किन चलिरहेछ बाकस बाहिर मानिसका हातहरु

कन्भेयरबेल्ट‚ फोर्कलिफ्ट र मेशिनहरु

अनि निरर्थक कागजपत्र र कमजोर कलमहरु ?

 

आज निश्चित देखिएका छन् बाटाहरु

अनि निर्धारित छन् विधि र प्रक्रियाहरु

भिआइपीहरुको भीड अनि पुष्पगुच्छाहरु

मलिन अनुहार अनि केही थोपा आँसुहरु

कविका कविता अनि श्रद्धाञ्जलीका शव्दहरु

सबै निर्धारित‚ मात्र मेरो लागि 

यतिखेर सोध्‍न मिल्ने भए‚ सोध्थेँ हुँला-

म ढालिंदै गर्दा के गर्दै थिए-

मेरा मायालाग्दा‚ स्वर्णिम सपनाहरु ?

अर्थात् तिम्रा मानव संवेदनाहरु ?

र म ढलिसकेपछि‚ अब के गर्दै छन्-

छरपस्टिएका मेरा‚ विचरा‚ टुहुरा सपनाहरु ?

अर्थात् तिम्रा मानव सभ्यताहरु ?

***

२०८२ कार्तिक ४‚ काठमाडौं

डा. राजेन्द्रप्रसाद अधिकारी

निर्माण व्यवस्थापन विज्ञ डा. अधिकारी मूलतः कवि हुन् र साहित्यका अरु विधामा पनि कलम चलाउने गर्छन्। उनी पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य-सचिव एवम् पूर्व अध्यक्ष हुन्।