पृथ्वीबाहिर जीवन छ कि छैन ?

खगोलका केही रोचक जानकारीहरु

पृथ्वीबाहिर जीवन छ कि छैन भन्ने प्रश्नले सायद मानव सभ्यताको इतिहासमै सबैभन्दा धेरै जिज्ञासा जगाएको विषय हो। हामीले राति आकाशमा टल्किने ग्रह, ताराहरू र असंख्य धुला बादलहरू हेर्दा, कहिलेकाहीँ अनायासै सोच्छौं– के ती ठाउँमा पनि हामीजस्तै कसैले आकाश हेर्दै त्यही कुरा सोच्छ कि?

शनि ग्रहको चन्द्रमा टाइटन हेर्दा नै रोचक लाग्छ। त्यसको बाक्लो वायुमण्डलभित्र वैज्ञानिकहरूले जीवनसँग सम्बन्धित जैविक रासायनिक तत्वहरूको प्रमाण फेला पारेका छन्। यो देख्दा लाग्छ, सायद टाइटनमा जीवनको बीउ कतै गाढिएको त छैन? यता मङ्गल ग्रहबाट आएको एउटा ढुंगामा सन् १९८६ मा नासाले सूक्ष्म जीवको जीवाश्म जस्तो आकृति फेला पारेको दावी गरिएको थियो। यद्यपि, त्यो वास्तविक जीवनको प्रमाण हो वा केवल संयोग मात्र, यसबारे बहस अझै जारी छ।

जीवनका आधारभूत तत्वहरू पृथ्वीमै बनेका हुन् भन्ने धारणा धेरै वैज्ञानिकको छ। तर खगोलशास्त्री फ्रेड होयलले फरक कुरा भने। उनका अनुसार ती रासायनिक तत्वहरू पृथ्वीमा होइन, अन्तरिक्षकै गहिराइबाट आएका हुन्। अर्थात्, जीवन आफैंले पृथ्वीमा जन्म लिएको होइन, अन्तरिक्षले यहाँ ल्याइदिएको हुन सक्छ।

पृथ्वीबाहिर बुद्धिमान जीवन खोज्ने अभियान पनि निकै पुरानो हो। खगोलशास्त्री फ्र्यांक ड्रेकले Drake Equation नामक सूत्र प्रस्तुत गरेका थिए, जसले हाम्रो आकाशगङ्गामा कति सभ्यताहरू हुन सक्छन् भन्ने अनुमान गर्छ। उत्तर– लाखौँ। त्यही विचारले SETI कार्यक्रम सुरु भयो, जसले अन्तरिक्षबाट आउने रेडियो संकेतहरू सुन्छ र तीमध्ये कुनै संकेत बुद्धिमान जीवनको हुन सक्छ कि भनेर विश्लेषण गर्छ।

अन्तरिक्ष यात्राको कुरा गर्दा, त्यहाँ बाँच्नका लागि एउटा सानो गल्ती पनि घातक हुन्छ। उदाहरणका लागि, अन्तरिक्ष सूट केवल पोशाक होइन, त्यो एक मोबाइल जीवन-प्रणाली हो। हेलमेटभित्र अक्सिजनलाई घुमाइन्छ ताकि भिजरमा कुहिरो नजमाओस्। सूटका बीचका तहहरू बेलुन फुलाएझैँ फुलाइन्छन्, जसले शरीरमा आवश्यक दवाब दिन्छ– नत्र अन्तरिक्षको निर्वातमा शरीर उम्लन थाल्छ! पञ्जामा सिलिकोनका टुप्पा राखिएको हुन्छ ताकि यात्रुले वस्तु छोएको महसुस गर्न सकोस्। यस्तो एउटा सूट बनाउन करिब ११ मिलियन अमेरिकी डलर लाग्छ, जसको ७० प्रतिशत लागत केवल ब्याकप्याक र नियन्त्रण प्रणालीमा खर्चिन्छ।

अब सोचौं– आकाशीय पिण्डहरूबीच गुरुत्वाकर्षण कसरी गणना गरिन्छ? कुरा सजिलो छ। दुई वस्तुको द्रव्यमानलाई गुणा गरिन्छ र त्यो परिणामलाई तिनीहरूको दूरीको वर्गले भाग दिइन्छ। त्यो सूत्रले नै सूर्य, ग्रह र चन्द्रमाहरूको अद्भूत खगोलीय कलालाई सम्भव बनाएको हो।

त्यस्तै, जब हामी नेबुला (आकाशीय धुला बादल) हेर्छौं, त्यसले दिने रातो धमिलो उज्यालो केवल सौन्दर्य होइन, विज्ञान पनि हो। त्यो हाइड्रोजन ग्यास नजिकका ताराहरूको विकिरणले ततिँदा उत्पन्न भएको उज्यालो हो।

र अन्ततः, हामी बस्ने आकाशगंगा त केवल एउटा सानो टुक्रा हो– अन्तरिक्षमा फैलिएका अर्बौँ ग्यालेक्सीमध्येको मात्र एक। त्यसैले कहिलेकाहीँ यो सारा विशालताको सामना गर्दा लाग्छ, सायद हामी एक्ला छैनौं। केवल सुन्ने कान र बुझ्ने चेतना अनि त्यसलाई ग्रहण गर्ने उन्नत विज्ञान चाहिन्छ, जुन हामीले अझै भेउ पाइसकेका छैनौं।

ब्रह्माण्डको कथा सुन्दा कहिलेकाहीँ लाग्छ– मानव मस्तिष्कले यसको विशालता साँच्चिकै बुझ्न सक्छ त? हरेक ग्रह, तारा र आकाशगङ्गा आफ्नै लयमा, आफ्नै रहस्यमय तालमा नाचिरहेका छन्। हामी ती सबैको बीचमा एउटा सानो, लगभग अहेलेख्य बिन्दुमा बाँचिरहेका छौं– तर त्यो बिन्दुबाट हामीले हेर्दा पनि ब्रह्माण्डको नृत्य अद्भुत लाग्छ।

हाम्रो मिल्की वे आकाशगङ्गा नै लिऊँ। यो केवल ताराहरूको समुद्र होइन– यो तीव्र गतिमा घुमिरहेको विशाल सर्पिल संरचना हो, जसले हाम्रो सूर्य र सबै अन्य ताराहरूलाई करिब १० करोड किलोमिटर प्रति घण्टाको गतिमा घुमाइरहेको छ। सोच्नुस्, सूर्यले आकाशगङ्गाको केवल एक परिक्रमा गर्न २० करोड वर्ष लाग्छ!

यस विशाल ग्यालेक्सीको बीचमा, वैज्ञानिकहरू अनुमान गर्छन्, एउटा विशाल कृष्ण विवर (ब्ल्याक होल) लुकेको छ– त्यो गुरुत्वाकर्षणको यस्तो कुरो हो जसले वरिपरिका ताराहरू र ग्यासहरूलाई तानेर च्यातेछ। कहिलेकाहीँ, त्यही च्यातेको ऊर्जा यति उज्यालो हुन्छ कि त्यो क्वासार बनेर सम्पूर्ण ब्रह्माण्डकै सबैभन्दा चम्किलो वस्तु बन्छ। अझ अचम्म त, यी कृष्ण विवरहरू विद्युत् उत्पन्न गर्नेसम्म सक्षम हुन्छन्– अर्बौँ किलोमिटर टाढासम्म विद्युत्का जेट फ्याँक्दै।

तर कुरा यत्तिमै सीमित छैन। वैज्ञानिकहरू भन्छन्, ब्रह्माण्डको उमेर करिब १५ अर्ब वर्ष हुनसक्छ। तर समस्या के छ भने– हाम्रो ग्यालेक्सीमै १४ देखि १८ अर्ब वर्ष पुराना तारा पनि भेटिएका छन्। त्यसो भए के ब्रह्माण्ड वास्तवमा अझ पुरानो हो? वा ती तारा नयाँ? उत्तर अझै अधुरो छ।

सबैभन्दा टाढा रहेका आकाशगङ्गाहरू त हामीबाट प्रकाशको गतिभन्दा ९० प्रतिशत तीव्र गतिमा टाढा भइरहेका छन्। यसले एउटा कुरा देखाउँछ– ब्रह्माण्ड अझै फैलिँदैछ, र त्यसको अन्त्यको सीमा हामी कल्पना गर्न पनि सक्दैनौं।

रोचक कुरा के छ भने, आइन्स्टाइनको सापेक्षता सिद्धान्तले ब्रह्माण्डलाई कुनै निश्चित केन्द्र वा किनाराविहीन भन्छ। गुरुत्वाकर्षणले अन्तरिक्ष–समयलाई यस्तो वक्रमा मोडिदिन्छ कि सबै कुरा अनन्त घुमाउरो वक्रमा फैलिन्छ। त्यसैले ब्रह्माण्डको अन्त्य कहाँ छ भन्ने प्रश्नको जवाफ सायद “कहीं छैन” नै हो।

पहिले त वैज्ञानिकहरू भन्थे– ब्रह्माण्ड भनेको सबै अस्तित्वको अन्तिम सीमा हो। तर Big Bang र inflation सिद्धान्तले अब यो धारणा उल्ट्याइदिएका छन्। अब भनिन्छ– हाम्रो यो ब्रह्माण्ड असंख्य अन्तरिक्ष–समयका बुलबुलामध्ये केवल एउटा मात्र हुन सक्छ। हामी केवल एउटा “cosmic bubble” मा बाँचिरहेका हुन सक्छौं।

तपाईंले कहिल्यै कल्पना गर्नु भएको छ– ब्लाकहोलभित्र खस्दा के हुन्छ? उत्तर अचम्मको छ। तपाईंको शरीर स्प्यागेटी झैँ लामो र पातलो बन्छ। त्यसपछि केही पनि बाँकी रहँदैन, केवल ऊर्जा र विकिरणको धुवाँ।

अनि त्यहाँ अझ एउटा कल्पना छ– सेतो विवर (White Hole) भन्ने। यो कृष्ण विवरको ठीक उल्टो हो, जसले पदार्थ र प्रकाशलाई फोहरा झैँ बाहिर फ्याँक्छ। यद्यपि, यसको अस्तित्व अहिले पनि केवल सैद्धान्तिक छ।

अन्तमा, पृथ्वीभन्दा नजिकैको बुध ग्रहलाई सम्झौं– त्यहाँको एउटा दिन हाम्रो ५९ दिन बराबर हुन्छ। कल्पना गर्नुस्, बिहान सुरु भएपछि अर्को बिहान आउन करिब दुई महिना लाग्ने संसार कस्तो होला?