भूराजनीतिक भुमरीमा नेपाल: जेन जेडको विद्रोह र सत्ता-सङ्कट

अन्तरिम सरकारले जेन जेडको आन्दोलनलाई सम्बोधन गर्न सकेन र पारदर्शी ढंगले चुनावको तयारी गर्न चुकेमा नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य बन्नेछ। यस्तो अवस्थामा चुनावी प्रक्रिया अस्थिर हुने, चुनाव ढिलाइ वा रद्द हुने खतरा निम्त्याउन सक्छ, जसले राजनीतिक संकटलाई झन् गहिरो बनाउनेछ।
नेपाल अहिले विश्वव्यापी शक्ति सन्तुलनको तीव्र परिवर्तनको केन्द्रमा उभिएको छ, जहाँ चीन र अमेरिकाबीचको भूराजनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय स्थिरतालाई निरन्तर चुनौती दिइरहेको छ। चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) र हरित प्रविधिमा लगानी विस्तार गरेर आफ्नो प्रभाव क्षेत्र बढाउँदै गर्दा, अमेरिका QUAD र AUKUS जस्ता सुरक्षा साझेदारीमार्फत शक्ति सन्तुलन कायम राख्ने प्रयासमा जुटेको छ। ताइवान र दक्षिण चीन सागर द्वन्द्वको मुख्य केन्द्र बन्दै गर्दा, यस विश्वव्यापी तनावको छायाँ दक्षिण एसियामा पनि फैलिएको छ, जसले यस क्षेत्रलाई सामाजिक विद्रोह र राजनीतिक संक्रमणको चक्रमा फसाएको छ। अमेरिका, चीन, भारत र रूस सबैको रणनीतिक नजर दक्षिण एशियाको अस्थिर राजनीतिमा केन्द्रित हुनुले नेपाललाई एक संवेदनशील निर्णायक मोडमा पुर्याएको छ, जहाँ युवापुस्ता, विशेषगरी जेन जेड, पुरातन राजनीतिक संरचनासँग जुध्न कम्मर कसेका छन्।
नेपालमा देखिएको जेन जेडको विद्रोह एक क्षेत्रीय लहरको प्रतिध्वनि हो। दक्षिण एसिया र प्रशान्त क्षेत्रका विभिन्न मुलुकमा युवा नेतृत्वको आन्दोलन तीव्र रूपमा बढेका छन्। उदाहरणका लागि, बंगलादेशमा दशकौं लामो शासनलाई विद्यार्थी आन्दोलनले घुमा दिएर नयाँ नागरिक पार्टीको उदयको संकेत दिएको छ भने इन्डोनेसिया र फिलिपिन्समा पनि भ्रष्टाचारविरुद्ध विद्यार्थी–श्रमिक र नागरिकको आन्दोलन चर्किएको छ। भारतको लद्दाखमा रोजगारी र राज्य मागका लागि चर्किएको आन्दोलनले पनि यसै तथ्यलाई पुष्टि गर्छ। यी सबै घटनाले के जनाउँछन् भने पुराना सत्ताको विरुद्धमा युवाले अब स्वतन्त्र, पारदर्शी र जवाफदेही राजनीतिक प्रणालीको माग गर्दैछन्। नेपालमा सुरुमा सामाजिक सञ्जाल बन्देजविरुद्ध उठेको आन्दोलन अहिले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक निष्क्रियताविरुद्धको राष्ट्रिय अभियानमा रूपान्तरण भइसकेको छ।
आन्दोलनको दबाबकै कारण देशमा अन्तरिम सरकार गठन भई चुनावको तयारी भइरहेको छ। तथापि, राजनीतिक दलहरू सरकारमा प्रत्यक्ष नहुँदा पनि उनीहरूको 'छायाँ प्रभाव' अझै बलियो छ, जसले अन्तरिम व्यवस्थालाई पूर्ण रूपमा काम गर्न दिएको छैन र जेन जेडको आक्रोशलाई थप बढावा दिएको छ। नेपालमा युवा पुस्ता राजनीतिक रूपले अत्यन्त सचेत बनेका छन् र पुराना राजनीतिक दलहरूको भाषण, आश्वासन तथा प्रतीक्षा अब उनीहरूका लागि अर्थहीन बन्न थालेका छन्। यो असन्तुष्टिले वर्तमान राजनीतिक प्रणालीलाई गहिरो वैधताको संकटतर्फ धकेल्दैछ, जसले सत्ताधारी शक्तिहरूका लागि एक गम्भीर चेतावनीको रूपमा काम गरेको छ।
यसैबीच, विश्वको ध्यान गाजा युद्धका कारण मध्यपूर्वको मानवीय संकटमा केन्द्रित छ। अमेरिका अझै इजरायलको पक्षमा छ भने चीन र रूसले प्यालेस्टिनी पक्षलाई समर्थन गर्दै नयाँ अन्तर्राष्ट्रिय गठबन्धनको आकृति बनाउन थालेका छन्। मध्यपूर्वको यो संकटले अमेरिका–चीन प्रतिस्पर्धालाई थप गहिरो बनाएको छ, जसको परोक्ष प्रभाव नेपालजस्ता साना राष्ट्रमा समेत पर्न सक्छ। यो शक्ति प्रतिस्पर्धाको छायाँ नेपालजस्ता सानो देशका लागि असहज भूराजनीतिक दबाबको कारण बन्न सक्छ, जसले बाह्य शक्तिहरूलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने थप अवसर प्रदान गर्न सक्छ।
यदि अन्तरिम सरकारले जेन जेडको आन्दोलनलाई सम्बोधन गर्न सकेन र पारदर्शी ढंगले चुनावको तयारी गर्न चुकेमा नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य बन्नेछ। यस्तो अवस्थामा चुनावी प्रक्रिया अस्थिर हुने, चुनाव ढिलाइ वा रद्द हुने खतरा निम्त्याउन सक्छ, जसले राजनीतिक संकटलाई झन् गहिरो बनाउनेछ। यसैगरी, राजनीतिक अस्थिरतासँगै आर्थिक असहजता चुलिँदै लगानी, वैदेशिक सहायता र रोजगारी प्रभावित हुँदा सामाजिक असन्तोष झनै बढ्नेछ। जेन जेडको विद्रोह निर्णायक चरणमा छ: यो सफल भए नयाँ दल र विचारको उदय हुनेछ, तर असफल भए निराशा हिंसामा परिणत हुने सम्भावना रहन्छ।
अन्त्यमा, नेपाल अहिले बहुध्रुवीय विश्वका प्रभावहरू, आन्तरिक असन्तोष र युवाको आकांक्षाबीचको जटिल मोडमा छ। भूराजनीतिक खेलमा भारत र चीन दुवैले नेपालको अवस्था आफ्नो पक्षमा मोड्ने प्रयास गर्नसक्छन्, जसले देशको स्थिरतालाई थप जोखिममा पार्नेछ। यदि वर्तमान नेतृत्वले आगामी ६ महिनाभित्र समयमै चुनावमार्फत जनभावनालाई सम्बोधन गर्न सके, नेपाल स्थायित्वतर्फ जान सक्छ। नभए, यो आन्तरिक विद्रोहले प्रणालीमै गहिरो अस्थिरता निम्त्याउनेछ, जुन न केवल नेपालको लागि, तर सम्पूर्ण दक्षिण एशियाको राजनीतिक दिशा निर्धारण गर्न महत्त्वपूर्ण हुनेछ।

जेन— जी विद्रोह र रुपान्तरण

नेपालमा सत्ता पलट : क्रान्ति वा अर्को भ्रान्ति ?

नेपाल: हल्लै हल्लाको देशदेखि कन्स्पिरेसीको देशसम्म

हुगली मे आग लग जाएगी

झोले: झोला बोक्ने कि विवेकशून्य?

भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

टेम्केमा किरात गणराज्य टावर

प्रतिक्रिया