जेन— जी विद्रोह र रुपान्तरण

भदौ २३ गतेको जेन्—जी पुस्ताको नाममा निस्केको  देशव्यापी विशाल जुलुस, त्यसमाथि सरकारको वर्वर दमन र नरसंहार तथा त्यसको प्रतिकृयाका रुपमा २४ गते फैलेको हिंसात्मक र विध्वंसात्मक गतिविधि नेपालको इतिहासमा जेन्जी विद्रोहको नामले परिचित भैसकेको छ  ।२३ गते संसद  भवनमा धावा वोल्दा २० जनाभन्दा धेरैले क्रूर तरिकाले ज्यान गुमाए भने भोलिपल्ट ५०जनाभन्दा बढीको ज्यान गयो । आगलागL र तोडफोडमा खर्बौको नोक्सान भएको अनुमान छ । सुरक्षाकर्मीसमेत मारिए भने हजारौं कैदी जेलबट भाग्न सफल भए । अर्थात् यस्तो खालको भीषण विद्रोह नेपालमा पहिले कहिल्यै भएको थिएन ।

नेपालीहरुको आर्थिक सामाजिक जीवनको अभिन्न अङ्ग भैसकेको  सामाजिक संजाललाई सरकारले हठात् वन्द गरेपछि प्रत्येक घर र व्यक्तिमा सरकार विरुद्ध आक्रोश भरिएपछि त्यही निहुँमा यो विद्रोह शुरु भएको हो । तर यो त निहुमात्र थियो । कांग्रेस र एमालेसहितको दुईतिहाइ बहुमतको सरकारले राजनीतिक स्थायित्वका नाममा दम्भ र अहङ्कार प्रदर्शनकासाथ गरेको स्वेच्छाचारी गतिविधि र भ्रष्टाचारबाट मानिसहरु वाक्क दिक्क भैसकेका थिए । यो जन आक्रोशको मौका छोपेर अन्तरराष्ट्रिय प्रभुत्ववादी शक्तिहरुले पनि चुच्चे नक्सा विवाद र चीन रुस  र उत्तर कोरियासँगको प्रधानमन्त्री के पी ओलीको घनिष्ठ हुनलागेको सम्बन्धको वदला लिन उपयुक्त अवसर ठाने र विध्वंसलाई मलजल गरियो भन्ने पनि विश्लेषण गरिदैछ  ।

जे होस्, नभन्दै विद्रोह भयो र २०८४सालसम्म एमाले र कांग्रेसले आरामले  प्रधानमन्त्री पद बाँडीचुडी हत्याउने, ठूलठूला राजनीतिक नियुक्तिका पदमा कुस्त घुसदिनसक्ने आफ्ना दलाललाई नियुक्ति दिने, ८४मा फेरि चुनाव जित्ने र कमिसन घुस खाँदै जाने दम्भीहरुको योजनामा पनि आगो लाग्यो । नेताका दासजस्ता बनेका सांसदहरुको पद पनि गयो । सरकार त भङ्ग भयो नै, सरकारमा जाने मान्छेको जिउज्यानको सुरक्षा पनि सेनाले गर्नुपर्ने अवस्था आयो । २४ गते नेपालको प्रशासनिक इतिहास र परम्पराको धरोहर बनेको सिंहदरवार, सर्बोच्च अदालतलगायत पनि डढेर खरानी भए ।

यसरी विद्रोहमा धेरै राष्ट्रिय सम्पत्तिको नोक्सान हुनमा  सेनाले सुरक्षा कारवाहीमा गम्भीर ध्यान नदिएकोले हो भन्ने शङ्कास्पद स्थितिको विश्लेषण पनि छ भने धेरै नरसंहारको सम्भावना पैदा भएकोले भीडमा गोली चलाउन नसकिएको सेनातर्पmको भनाइ छ । तर जे कारणले भए पनि दलहरुको सरकारको विरुद्ध विद्रोह भएपछि दलका नेताहरुको जिउज्यान जोगाउन भागाभाग हुँदा पनि सेनाले सत्तालिन सक्ने अवस्थामासमेत सत्ता नलिएको सत्य सबै सामु छ । २४ गतेको तोडफोड र आगजनी जेजसरी सुनियोजित ढङ्गले खास खास ठाउँ र व्यक्तिका घरमा  एकै समयमा देशव्यापी रुपमा गरिएको छ,त्यो कुनै संगठित शक्तले आन्तरिक रुपमा वदला लिने उद्देश्यले र बाह्यशक्तिका रुपमा  नेपाललाई चेतावनी वा उसको हित हेर्ने मोलमोलाइका रुपमा  गरेको आभास हुन्छ ।

जेन्जी विद्रोह पछि वंगलादेशमाजस्तै संसद बाहिरबाट पूर्ब प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम चुनावी  सरकार गठन भयो र अहिले सोही सरकार मातहत देशमा शासनचलि रहेको छ । र अहिलेसम्म सरकारका मुख्य दुई कार्यभार वताइएका छन् १— संसदको चुनाव गराउने, २—विद्रोहमा गरिएको दमन, हत्या र तोडफोड आगजनी आदिको छानविन गराउने  । तर यसवीच विभिन्न कोणबाट अनेक तर्क र प्रश्नहरु प्नि उठाइदै छन् । अन्तरिम सरकारको गठन नै संम्बिधान बमोजिम भएको छैन,  जेन्जी विद्रोहको मर्म र भावना अनुसार  सरकार गठन पनि भएन र घोषणा पनि गरिएन, विद्रोहबाट गठित सरकारले संम्बिधान निलम्बन गरेर प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था गर्नुपर्छ, प्रदेश सभा भङ्ग गर्नुपर्छ  आदि इत्यादि ।

एउटा अद्भूत विद्रोहपछि यस्ता सवालहरु उठ्नु स्वाभविक हो । विद्रोह वर्तमान र विद्यमान विकृति, विसंगति र भ्रष्टाचारी र सवैच्छाचारी राजनीतिक र प्रशासनिक नेतृत्व विरुद्ध भएकाले त्यस्ता खरावीका जड र कारण नष्ट हुनुपर्छ भन्ने माग जायज हो । ०७२को सम्बिधानले राजनीतिलाई नोकरशाहीकरण गरेर आक्रोशको विउ त रोपेकै छ । सेवा र समर्पणको कामलाई नोकरशाहीकरण गरेपछि जनतामाथि आर्थिक बोझ थपिएको छ । तर यो जेन्जी विद्रोहबाट मात्र यो बोझ हटेर जाने कुनै लक्षण देखिदैन । विद्रोहले तत्काल कुर्सीमा बसेकालाई त फालेको छ फेरि त्यही गल्ती दोरिदैन भन्ने प्रत्याभूतिलाई स्थापित गर्नसकेको छैन । किनभने विद्रोह केवल विद्रोह हो । यो क्रान्ति या रुपान्तरण होइन, रुपान्तरण गर्नूप¥यो भन्ने चेतावनी र सन्देश मात्र हो । विद्रोहले आफै कुनै समाधान दिदैन, समाधान सामाजिक संगठनले मात्र दिन सक्तछ । एक रणनीतिक र कार्यनीतिक उद्देश्य राख्ने संगठनले उद्देश्य प्राप्त नहुन्जेल जवर्जस्ती या शान्तिपूर्ण आदि अनेक विधिद्वारा समाजलाई रुपान्तरण गर्न सक्छ । विद्रोह त केवल भत्काउने हुण्डरी मात्र हो । समाजको आयश्रोत, उत्पादनपद्धति र सम्बन्धहरु अनुकूल नहुने प्रतिगामी या प्रतिकूल दवाव विरुद्ध विद्रोह गरिन्छ । समाजमा भिन्न भिन्न वर्गका भिन्न स्वार्थ हुन्छन् । तिनमा कोही विगतको प्रणाली मनपराउने हुन्छन् त कोही प्रणाली परिवर्तन गरेर नयाँ प्रणालीमा जान रुचाउँछन् । जेन्जी विद्रोह हुँदाको अवस्थामा सरकारले न नयाँ प्रणालीतर्फजाने चासो देखायो, न पुराने प्रणालीलाई अपनायो । उसले केवल आफ्नो मात्र, आफ्ना दलाल र कार्यकर्ताको हित मात्र सोचेर काम गर्‍यो । फलस्वरुप सवैपक्ष रुष्ट बने । सवै विद्रोहमा होमिए । खासमा जो जेन्जी थिए, तिनका प्रमुख माग दुईवटा मात्र थिए —एक, सामाजिक सञ्जालमाथिको रोक तुरुन्त हटाऊ दुई, शासनमा व्यप्त भ्रष्टाचार समाप्त गर । सरकार सामाजिक सञ्जालमाथिको प्रतिवन्ध तुरुन्त  हटाउन सक्थ्यो र भ्रष्टाचार बारेमा पनि उसले जेन्जीलाई लालीपप ख्वाउन सक्थ्यो तर परिस्थितिको आकलन गर्न आवश्यक नै ठानेन ओली नेतृत्वको दम्भी सरकारले । फलस्वरुप एकपछि अर्को गल्ती थपिदै गए र विद्रोहले भीषण रुपलियो । तर अहिलेसम्म विद्रोहको उपलब्धि भनेको  केवल ओली नेतृत्वको सरकार ढल्नु मात्र देखिएको छ । त्यो पनि पुनर्स्थापित हुन संगठित र लालायित हुन थालिसकेका छन् । २०७२को सम्बिधान भित्रको सरकार गठन भएकाले  विद्यमान सरकारले सम्बिधानमा संशोधन गर्ने कुनै आधार देखिदैन । न प्रदेश भङ्ग हुन्छन्, न त प्रत्यक्ष कार्यकारीको निर्वाचन नै हुन्छ । यसो हुनमा जेन्जीहरुको नेता र सङ्गठन नहुनु र यो एक अभियान मात्र हुनु नै कारण हो ।  तर चुनावी सरकारलाई निर्धारित मितिमा चुनाव गराउन नदिने अनेक षड्यन्त्रकारी गतिविधि हुनसक्ने  आधार भएकाले नेपालको राजनीति सरल ढङ्गले अगाडि जाला भन्ने कुरामा मानिसहरु विश्वस्त हुनसकेका छैनन् । 

 मथि भनिए झैं विद्रोहमा प्रतिगामी पनि सामेल भएभने सरकार विरोधी प्रगतिवादी शक्ति पनि उत्रिएका थिए । प्रतिगामीहरुले पहिलेदेखि प्रगतिवादी भनेर चिनिएका व्यक्तिमाथिपनि हमला केन्द्रित गरे भने स्वाभाविक रुपमा उनीहरुको उद्देश्य राष्ट्रिय सम्पत्तिको विध्वम्स पनि रह्यो । विद्रोह स्वस्फुर्त र आकस्मिक भएकाले सत्ता कब्जा गर्ने कुनै प्रयास कतैबाट हुनसकेन । अथवा यो विद्रोह चेतावनीको लागि मात्र उपयोग गरियो । राट्रिय र अन्तर्राष्ट्रिय प्रतिगामीहरुवीच कसलाई शासनमा राख्ने भन्ने कुनै तयारी थिएन, न त कांग्र्ैस र एमालेको सत्ता यति छिटो ढल्ला र हामीले सत्ता संभाल्नुपर्ला भन्ने नेपालका अन्य बामपन्थी शक्ति नै विद्रोहको तयारी अवस्थामा थिए । यदि दूरदर्शी र क्रान्तिकारी नेता कोही हुन्थ्यो भने उसले सत्ता कब्जा गर्नसक्ने अवस्था पनि थियो । त्यसैले नप्रतिगामी र न प्रगतिवादी रुपान्तरण भयो जेन्जी विद्रोहबाट । बरु अझै पनि अन्तर्राष्ट्रिय प्रतिगामी शक्तिहरुले नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने खेलको सम्भावन अझै अधिक देखिन्छ ।   भयो त केवल  अपार धनजनको क्षति मात्र । त्यतिमै सीमित भए त ठीकै थियोऽ अगाडि के कस्ता दवाव नेपालले झेल्नुपर्ने हो, नेपालीले मानसिक रुपले तयार भएर बस्नुपर्ने अवस्था देखिन्छ ।