त्यो अग्निकाण्ड

दुई हजार तीस साल असार तीस गते सिंहदरबारमा भीषण आगलागी भयो । तीनै जिल्लाका अग्निशमन संयन्त्र लगाएर पानीका मोटामोटा मुस्ला बर्साउँदा पनि केही लागेन, झन् सारो तेल खन्याएजस्तो आगोले प्रचण्ड रूप लिँदै गयो । सबै मूकदर्शक भएर लप्काहरूको ताण्डव हेरिरहनुबाहेक कुनै उपाय थिएन । हाल प्रतिनिधिसभाको मोटर पार्किङ गर्ने प्राङ्गणमा प्रधानमन्त्री उभिएको ठाउँमा मानिसहरू झुम्मिने नै भए । विष्टज्यूले हलुका पारामा कुनै शास्त्रीय किसिमका मानिससित प्रश्न गर्नुभयो, “अग्नि कति प्रकारका हुन्छन् पण्डितजी ?”

“दावाग्नि, बडवाग्नि, जठराग्नि” आदि गरी पण्डितजीले तत्काल सबै अग्निहरूको प्रकार भट्टयाए ।

प्रधानमन्त्रीले अलि मलीन अनुहार लाएर मन्द स्वरमा पुन: प्रश्न गर्नुभयो, “यत्रो भवन र यसभित्रका अमूल्य अभिलेखहरूलाई खरानी पार्दै लैजाने यो कुन अग्नि हो र यसको उत्पत्ति कसरी हुन गयो, मैले केही बुझ्न सकिनँ ।”

यसको उत्तर कसरी दिने भनी त्यहाँ उपस्थित भएकाले विचार गर्दागर्दै परराष्ट्र मन्त्रालयतर्फको कुनाबाट त्यहीँका एक उपसचिव प्रकट भए । उनी ना‌ङ्गो खुट्टा थिए र आफ्नो सुरुवालको मोहोता घुँडासम्म सोहोरेर ल्याएका थिए । उनको दुवै हातमा राजारानीको फ्रेमजडित ठूलो तस्वीर थियो । उनले असिनपसिन भएर प्रधानमन्त्रीको नजिक आएर भने, “हजुर । मैले आगोसागोको परवाह नगरेर सरकारहरूको दुवै तस्वीर बचाएर ल्याएँ ।”

प्रधानमन्त्रीले दिक्दारीको स्वरमा भन्नुभयो, “धन्यवाद, विश्वजी ! तपाईँले राम्रो काम गर्नुभयो ।”

परराष्ट्र मन्त्रालयको जैसी कोठा, जहाँ देशको अमूल्य ऐतिहासिक धरोहर रहेको छ, आगोले आधा खाइसकेको थियो । उपसचिव विश्व प्रधानले प्राचीन ऐतिहासिक अभिलेखहरूका स्याहास्रेस्ता र पत्राचारहरूको कुनै ठूलो पोको घिच्याएर ल्याउनुसट्टा आफ्नो जेहनले दुई तस्वीर बोकेर ल्याउनु श्रेयस्कर सम्झे । पछि यिनी परराष्ट्र सचिव भए र सर्वाधिक महत्त्वपूर्ण ठाउँका राजदूत पनि भए ।

सिंहदरबार अग्निकाण्डको अभिभारा आफूउपर लिएर एक उच्च पदाधिकारीले नैतिक मूल्यको जगेर्ना कसरी गर्नुपर्दछ भन्ने अनुपम सिको दिएर कीर्तिनिधिले साहसपूर्वक प्रधानमन्त्रीको पद त्याग गरिदिनुभयो ।

तीस साल साउन एक गते नगेन्द्रप्रसाद रिजाल रिक्त प्रधानमन्त्री पदमा बहाल हुनुभयो । त्यस बखतसम्म उहाँ राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो । रिजालजीको छनौटमा धेरै मात्रामा कीर्तिनिधि बाबूको हात पनि रहेको हुँदो हो । त्यस बखत म रेखदेख दौडाहामा फालिएर हा.हि. गरी समय व्यतीत गरिरहेको थिएँ । मलाई कडा कमलपित्तले आक्रान्त तुल्याएको थियो । रिजालजीसित मेरो अत्यन्त झिनू परिचय थियो तर त्यहीँ टोलमा पाँच मिनेटको दूरीमा मेरो पनि घर भएकाले सकिनसकी गएर बधाईसम्म दिएँ । त्यहाँ राधाप्रसाद घिमिरे मेरा मित्र र पुराना सहपाठी पनि उभिइरहेका थिए । उनले एक कुनामा लगेर सोधे, “तिमी कुन मन्त्रालयमा छौ ?”

मैले भनेँ, “जगेडामा ।”

यो दोस्रो दिनको कुरो हो । उनले पुनः भने, “हेर, हिजो राति प्रधानमन्त्रीको कार्यालयमा सचिव कसलाई ल्याउने भनी निकै छलफल भएको थियो । नाम धेरै आएका छन् तर मैले तिम्रो नाम प्रस्तावित गरेको छु । कहीं मानिहाले भने तिमीले नाइँनास्ति नगर्नू । मानसिक तयारीका लागि तिमीलाई अग्रिम सूचना दिइराख्या’ छु ।” यति भनेर प्रधानमन्त्रीले खोज्नुभयो भनी उनी उम्किहाले, म केही नभनी घर फर्केँ ।

दुई-तीन दिनपछि, एक दिन राधाप्रसादको फोन आयो । “बधाई” भनेर कान फुट्‌ने गरी कराए । मैले भनें, ”राधा ! व्यर्थमा तिमी मलाई यो झ्याउलोपूर्ण पद मेरा घाँटीमा घाँडोजस्तो झुन्ड्याउन लागेका छौ । ऐले हा.हि गरेर हाइसञ्चोमा म तलब पकाइरहेको छु । त्यहाँ गएपछि मेरो दुर्दशा हुन्छ । म साहित्यिक, लेखक मान्छे, त्यो राजनीतिक किच्चाघानमा पर्न चाहन्नँ । तिमीले भनेजस्तै म का.मु. सहसचिव भइहाले पनि मेरो अन्तिम ग्रेड र प्रथम श्रेणीको उठानको तलबमा डेढ-दुई सयको भन्दा बढी अन्तर छैन ।” आदि-आदि भनिरहें । राधाप्रसादले “मेरो वचन राखिदेऊ, मित्र भएर त्यति पनि….. ”

प्रधानमन्त्रीले मुख्य सचिव छेत्रविक्रम राणालाई डाकेर “मेरो कार्यालयमा का.मु. प्रथम श्रेणीको पद दिएर नियुक्त गर्ने गरी फलानोलाई आजै पुर्जी पठाइदिनुस्” भन्नुभएछ । तीन-चार दिन बितिसक्ता पनि म कार्यालयमा हाजिर हुन गइनँ । प्रधानमन्त्री कार्यालयबाट कुनै कर्मचारीले सोधे, “होइन, तपाईँ किन नआउनुभएको ? प्रधानमन्त्रीज्यू खोजिरहनुभएको छ, कि पुर्जी नै पाउनुभएको छैन ?”

मैले ‘पर्दैन’ भनिदिएँ ।

प्रधानमन्त्रीले पुनः जर्नेलसाहेबलाई डाकेर सोध्नुभो, “उसले पुर्जी पाएको छैन रे, कता अलमलिएछ, हेर्नुस् र आजै हातमा पार्न लाउनुस् ।”

“मैले पठाए पो उनले पाउने, प्रधानमन्त्रीज्यूले त्यस्तो व्यवस्थाविरोधी मानिसलाई आफ्नो कार्यालयमा सचिव राख्नु उचित होवैन, हजुरलाई मेरो सल्लाह छ ।” यति भनेर मु.स.ले दुईवटा कागत प्रधानमन्त्रीका सामु प्रस्तुत गरे । “यो बरफबागको ताजा रिपोर्ट हो, एउटामा उसलाई कम्युनिष्ट भने अर्कोमा काङ्ग्रेस भनिएको छ । यस व्यवस्थाको घोर विरोधी भएकाले पदोन्नति र तक्मा दुवैबाट हाललाई वञ्चित राख्नुपर्ने सी.आई.डी. रिपोर्ट पनि छ ।” खली खाएका राणा जर्नेललाई विश्वास थियो भर्खर पद पाएर आसनीसमेत तताउन नसकेका प्रधानमन्त्रीले मलाई निश्चय पनि मयलपोसको फेरमा उक्लिन लागेको कुनै विषालु कीराजस्तै हुत्त्याएर फालिदिनेछन् । फेरि उता, छेत्रविक्रम जर्नेल राजदरबारका विशेष कृपाबाट खाकी चोला त्यागेर झुसिलकीरा पुतली भएजस्तै मु.स. हुन पुगेका थिए । तर उनको धारणाको विपरीत प्रधानमन्त्रीले एकछिन छेत्रविक्रमका अनुहारतिर ट्वाल्ल हेर्नुभयो र हाँसेर भन्नुभयो, “जर्सा’ब ! प्रधानमन्त्री म कि तपाईँ ? मेरो आदेशानुसार आजै राति बाह्र बजे भए पनि तपाईंले पुर्जी पठाउनैपर्छ ।”

नभन्दै राति आठ बजे पुर्जी पाएँ । पुर्जी तयार नगर्नका लागि अधिकृतहरू कसरी मेरो शल्यक्रिया गरेर प्र.म.लाई विमुख तुल्याउँदै छन् भन्ने मैले सुनिसकेको थिएँ । तिनताक मेरो सेवाकालको झन्डै पन्ध्र वर्ष भैसकेको रहेछ । यति लामो अवधिमा पनि मैले जरा गाड्ने त कुरै भएन, एउटा फितलो थाँक्रोको आधारसमेत सरकारी सेवामा पाउन सकेको थिइनँ ।

नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भएको अठारौँ दिन म कार्यालय पुगें । प्रधानमन्त्री कार्यालय त्यस बखत राष्ट्रिय पञ्चायतको काठघरमा थियो । तर केही दिनपछि नै ऐतिहासिक फुटबल ग्राउन्डको पूर्वपट्टि रहेको टहराको माथिल्लो तलामा सरेको थियो ।

सरकारी सेवामा प्रवेश गरेर निवर्तमान नभएसम्म मैले येनकेन कलमकै कमाइ खाइरहें । मेरो प्रविष्टि पद नै ‘सम्पादक झङ्कार’ भनी नियुक्ति-पुर्जीमा लेखिएको थियो । अहिले प्रधानमन्त्री कार्यालयमा पनि मेरो लेखनीले नै डोर्याएर पुर्‍याएको हो भन्ने मलाई थाहा थियो नत्र भने एक से एक भोटो फटाएका धुरन्धर प्रशासकहरू थिए र तिनका लागि प्रधानमन्त्रीसित ढेस्सिएर बस्न पाउनु ठूलो सम्मानको कुरो थियो । तर के गर्ने ती म जस्तो कलमजीवी थिएनन् । ती दुई-चार द्विअर्थी घुमाउरा वाक्यहरू, आफूलाई कतैबाट छिटा नपर्ने गरी टिप्पणीको पुछ्रौटोमा लेखेर पाँच-सातचोटि विभिन्न कोणबाट पढी दङ्गदास पर्थे । तर मेरो काम थियो अवसर र प्रसङ्ग सुहाउने गरी लामालामा चमत्कारपूर्ण भाषण लेख्नु र त्यसलाई प्रधानमन्त्रीका लागि सुस्वादु तुल्याउनु पनि । यसैले गर्दा अरू खेलाडीहरू नकआउटमा परे र अन्तिम छनोट मेरो हुन गयो ।

कार्यालयमा गएको पहिलो दिन प्रधानमन्त्रीलाई नमस्कार गरेर म बसेको मात्र के थिएँ प्रधानमन्त्रीले यसो साहुती गरेर टाँस्सिएको एकान्त कोठामा डाक्नुभयो । अफिस कोठामा मानिस टन्न बसेका थिए र सबका सामु मलाई आफूले पढ्‌ने भाषण लेख्नू भन्नु अलि उचित पनि थिएन । त्यस दिन संयोगले भारतीय स्वतन्त्रता दिवसको कुनै समारोह थियो जहाँ प्रधानमन्त्रीले केही बोल्नुपर्ने थियो । त्यो एकान्त कोठामा उहाँले मलाई “समय थोरै छ, तपाईँ आधा घण्टामा लेख्न सक्नुहुन्छ ?” भनी सोध्नुभयो । मैले सहमतिमा टाउको हल्लाएँ र लेख्न बसें । मनमनै भनें, “यो तेरो परीक्षा लिइएको हो । लेखोट ठीक भएन भने तँलाई त्यहाँबाट तत्काल लखेटेर पुनः रेखदेखको बियावानमा वर्षों भौतारिनका लागि थचारिदिनेछन् ।” राधाप्रसादले आफ्नो साथीलाई प्रधानमन्त्रीको पार्श्ववर्ती तुल्याउन उसको लेखाइबारे अनेक हेनतेन देखाए होलान्, कि न त एक पटक स्वयं पनि मूल्याङ्कन गर्ने भनी रिजालजीलाई लाग्यो होला । आधा घण्टा पुग्दा नपुग्दै मैले दुई पानाजति लेखेर प्रधानमन्त्रीको हातमा राखिदिएँ । उहाँले चस्मा लाएर मन्द गतिले दुई पटक पढ्नुभयो । मैले भनें, “केही नमिलेको भए म तत्काल सुधार गर्छु किनभने हडबड …….. ।” 

“मैले मनमनै जस्तो सोचेको थिएँ त्यही लेख्नुभएछ । कुनै वाक्य फेरबदल गर्नुपर्ने मैले पाइनँ, धन्यवाद ।” प्रधानमन्त्रीले भन्नुभयो ।

त्यस दिनदेखि भाषण लेख्ने अविरल प्रवाह उहाँको कार्यकालसम्म चलिरह्यो र कुनै लेखोटमा कहीं फेरबदल, काटकुट वा थपथाप गर्ने मौकै आएन । रिजालजीको भाषण म लेख्छु भन्ने सारालाई थाहा थियो । त्यसबारे न उहाँले सट्याकसुटुक गर्नुभयो न मैले छलछाम गरी गोप्य तुल्याउने चेष्टा नै गरें । नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भएपछि राष्ट्रिय पञ्चायतको रिक्त अध्यक्ष पदमा अछामका नयनबहादुर स्वाँर निर्विरोध निर्वाचित हुनुभयो तर उपाध्यक्ष पदका लागि त्यसो हुन सकेन । त्यसका लागि दुई-तीन जना प्रत्याशी थिए । श्री ५ को सरकारले लोकेन्द्रबहादुर चन्दलाई त्यस स्थानमा पठाउने निर्णय सुनायो तर मतदानका दिन एक सहायक मन्त्रीले खुला किसिमबाट एक विरोधी प्रत्याशीलाई लोकेन्द्रबहादुरका विरोधमा जिताउनका लागि प्रचार गर्दै हिँडिन् र त्यहीअनुरूप आफ्नो मत पनि प्रदान गरिन् । ती सहायक मन्त्री थिइन् पृथुलाकार काया भएकी जुद्धशमशेरकी कान्छी छोरी कमल शाह जसले प्रधानमन्त्रीको निर्देशनको उल्लङ्घन गरेर के पो नापिहाल्छिन्- को हाँक दिएकी थिइन् ।

प्रधानमन्त्रीले आलोपालो आफ्ना मन्त्रीहरूलाई डाकेर सल्लाह गर्नुभयो, “यस्तो भएपछि के गर्ने ?” सबैले प्रकारान्तरले एउटै कुरा भने, “यस प्रसङ्गलाई बढाउनु उचित हुँदैन, समयको प्रवाहमा यो कुरा आउने-जाने भैहाल्छ । अतः नवनियुक्त प्रधानमन्त्रीले धेरै कुरा थाहा नपाएजस्तो गरिदिनु नै घटनाको सही उपचार हो ।”

उहाँले मुख्य सचिवलाई डाकेर यसबारे आफ्नो राय दिन भन्नुभयो । राणा जर्नेलले जिब्रो काढेर उताकी सारै मन परेकी भनेर दरबारतिर देखाए । “प्रधानमन्त्रीज्यू । उनलाई छुँदा सिस्नु समातेजस्तै हुनेछ । त्यसकारण मेरा विचारमा तैं चुप मैं चुप भएर यसलाई सामसुम पारिदिऊँ” भनी छेत्रविक्रमले व्यक्त गरे । तर प्रधानमन्त्रीलाई भने यस घटनाले काँडा बिझेजस्तै निरन्तर सुत्दा-उठ्दा च्वास्सच्वास्स पारिराखेको थियो ।

भोलिपल्ट शनिबार थियो । म र राधाप्रसाद घुम्दै-फिर्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्यौ । हामी दुवैलाई प्रधानमन्त्रीले डाकेर भित्र बसाउनुभयो । “यता मलाई त्यो थसुल्लीले ठूलो बेइज्जत गरी । अब जोसित सल्लाह लियो त्यसलाई नछो भन्छन्, जुद्धशमशेरकी छोरी, त्यसमा पनि भित्रैबाट उसको नाम मन्त्रीका लागि प्रस्तावित भएको रे ! मलाई भने यो अपमान निल्न बडो कठिन भएको छ । तिम्रो के भनाइ छ ?”

“सबले ठीकै भनेजस्तो लाग्छ । यो व्यवस्थामा पदासीन भएपछि धेरै पटक यस्ता रगतका घुट्‌काहरू आँखा चिम्लेर निल्नुपर्छ । नयाँ प्रधानमन्त्रीले त यस्ता सानातिना कुरामा ध्यानै दिनु हुन्न ।” राधाप्रसादले पनि सबैको लोलीमा लोली मिलाए । म पनि त्यहीँ चिया खाइरहेको थिएँ । रिजालले पुलुक्क मतिर हेर्नुभयो, “त्यसै गरौं होइन गौतमबाबू ?” (मलाई यही सम्बोधनबाट उहाँ सदैव बोलाउनुहुन्थ्यो) । प्रधानमन्त्रीको विवशताले गर्दा बडो पराजित अनुहार थियो, जस्तो कुनै विजित वीरले परास्त भएर आफ्ना विरोधीको चरणमा अस्त्रशस्त्र सुम्पिदिएपछि हुन्छ । यस घटनाको साङ्गोपाङ्ग निरीक्षण म पनि बडो चाख लिएर गरिरहेको थिएँ । ती सहायक मन्त्री भने प्रधानमन्त्रीले केही गर्न सक्तैन । अच्छयूँ खाएँ, बच्छयूँ खाएँ शैलीमा आफूलाई अति उच्च भावनाले ग्रस्त तुल्याएर र आफ्नो रोमरोमबाट अह‌ङ्कारको कुटिल हाउभाउ पोख्दै कार्यालय र सदन गरिरहेकी थिइन् । प्रधानमन्त्रीका लागि यो अव्यक्त हाँक हो भन्ने मैले ठानेको थिएँ । अतः मैले लिकबाट हटेर सङ्क्षिप्तमा भनेँ, “उनीबाट क्षमायाचना गराउनुपर्छ, मौखिक होस् वा लिखित ।” मेरो दृढ विचार सुनेर दुवै अवाक् भए ।

राधाले च्याँठ्ठिएर भने, “सानो समस्याका लागि दाइले ठूलो रिस्क बोक्नुपर्ने हुन्छ । नयाँ पदलाई बढी कुशन गरेर राख्नुपर्छ, पछि जे गर्नुपर्छ त्यो त छँदै छ।”

मैले मत बझाएँ, “उहाँको दायित्व पदीय कर्तव्य बहन गर्ने मात्र होइन पदको गरिमा र मर्यादालाई सुरक्षित राख्नु पनि प्रधानमन्त्रीको निष्ठापूर्ण आचरणभित्रै आउँछ । मन्त्रिमण्डलको नेतृत्व गर्ने व्यक्तिलाई एक सहायक मन्त्रीले हेपेको, हरेक कार्यालयका निम्नस्तरीय कर्मचारीले फुर्सतमा चुरोट सल्काएर थकाइ मार्न यही हास्यास्पद प्रसङ्ग झिकेर केही बेर रमाउने मौका पाउनेछन् । मेरो विचारमा त नयाँ प्रधानमन्त्रीले आफ्‌नो अनुशासनप्रियताको दरो उ‌द्घोष गर्ने यो राम्रो मौका हो ।”

राधाप्रसादले भने, “तिम्रो भनाइ चित्तबुझ्दो त छ तर उनी पनि पूर्वप्रधानमन्त्रीकी पुत्री हुन्, क्षमा मागिनन् भने नि ?”

“माथि जाहेर गर्ने, यस्ता अनुशासनहीन मन्त्रीसित काम गर्न सकिन्न, अतः अविलम्ब हटाइयोस्” मैले भनें ।

“राजाबाट कुनै सुनुवाइ भएन भने ?”

“पद त्याग गर्ने र उनैलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरिदिने ।”

राधाप्रसाद आत्तिए । अर्को पुनर्गठनमा मन्त्री हुन उनी धोती फेरेर बसेका थिए ।

“यो त ज्यादै अतिवादी तर्क भयो ।” राधाप्रसाद मेरो खण्डन गर्दै थिए ।

प्रधानमन्त्री जुरुक्क उठेर कराउनुभयो, “सेमन्त । सहायक मन्त्री कमल शाहलाई दश मिनेटभित्र यहाँ आउन भन ।” अनि फेरि भन्नुभयो, “राधाबाबू । मलाई उहाँ (मतिर देखाएर) को कुरा ठीक लाग्यो । पदको मर्यादाको जगेर्ना पनि गर्न नसक्ने लुते प्रधानमन्त्रीमा भोलिका लागि मलाई दरिनु छैन । राजालाई पनि राज्यसञ्चालनका लागि बलियो राज्यप्रमुख नै चाहिन्छ ।”

यसबीच कमल शाह आइपुगिन् । म र राधाप्रसाद अन्यत्र अन्तर्ध्यान भयौँ । तर उहाँहरूको कुराकानी भने सुनिरहेका थियौँ । वार्तालाप यस प्रकार भयो, ‘शाहजी । तपाईंबाट अनुशासनको पालना नभएकोले एउटा लिखित क्षमायाचना दिनुस् ।”

“मैले जे गरें आफ्नो आत्माले भनेको गरें । म कुनै क्षमायाचना लिखित त के कुरा मौखिक पनि दिन तयार छैन ।”

“आफ्नो आत्माले भनेको गर्ने भए मन्त्रिमण्डलबाहिर गएर गर्नुस् । म क्याबिनेटको नेता हुँ, तपाईंले मेरो आदेश पालन गर्नुहुन्न भने अहिले नै राजीनामा दिनुस् ।”

”तपाईंलाई र मलाई राजाले नियुक्त गरिबक्सेको, तसर्थ म तपाईंलाई कुनै राजीनामा दिन्नँ ।” यति भनेर उनी एकाएक उठेर हिँडिन्, न बिदावारी, न नमस्कार । दुवै उत्तेजित थिए, प्रधानमन्त्रीको अनुहार अपमानको आगोले रातो-रातो भएको थियो । उहाँले एक क्षण पनि नपर्खी राजाका प्रमुख सचिवलाई फोन गरेर सबै वृत्तान्त सङ्क्षेपमा सुनाउनुभयो र आजै सहायक मन्त्रीलाई पदबाट हटाउन सरकारमा जाहेर गर्न अनुरोध पनि गर्नुभयो ।

राधाले कुनामा लगेर भने, “मैले फकाईफुल्याई सबै सामसुम पार्न लागेको थिएँ, तैंले आगो लाइदिस् ।”

मलाई पनि झस्स लाग्यो ज्यादै कठोर कदम उठाउन लगाएँ कि ? घटनाले यस्तो मोड लेला भनी चिताउन सकिएन । राधालाई के उत्तर दिने, म हाँसिरहेँ, अब जे होला होला हेर्दै जाऊँ ।

प्रधानमन्त्री भएको कोठामा पुग्यौं, उहाँ चिन्तामग्न भएर कोठामा ओहोरदोहोर गरिरहनुभएको थियो । हामीतिर हेरेर सोध्नुभयो, “कति बज्यो होला ? तै-तै अब बेलुकाको रेडियो समाचार सुनेरै जाओ ।” एक-डेढ घण्टा बाँकी थियो । रिजाललाई एक्लै घोत्लिनका लागि छाडेर हामी बगैंचातिर लाग्यौं ।

मुटु ढुकढुक पारेर साँझको रेडियो नेपाल सुन्न बस्यौं । शीर्ष समाचारमै कमल शाहले चढाएको राजीनामा श्री ५ बाट स्वीकृत गरिबक्सेको समाचार आयो । सबैको जीउ हलुङ्गो भयो । प्रधानमन्त्रीले पिठ्यूँमा धाप मारेर मलाई स्नेहपूर्ण धन्यवाद दिनुभयो ।

‘सम्झनाका गल्छेडाहरूमा’बाट साभार

तस्विर: https://www.youtube.com