नेपालमा सत्ता पलट : क्रान्ति वा अर्को भ्रान्ति ?

चारैतिर यति अँध्यारो छ कि हामी प्रकाशको कुनै पनि किरणतिर दौडन थाल्छौं। चाहे त्यो टिमटिमाउने दियो होस्, वा उज्यालोको भ्रम दिने जुनकीरीको प्रकाश होस् वा फेरि आगो सल्काउने चिंगारी, हामी टाढैबाट देखिने हरेक बिन्दुमा आफ्ना असहाय आशाहरूको झोला टाँग्न आतुर भइरहन्छौं। केही त्यस्तै नेपालमा हालै भएको सत्तापलटका साथ भयो। एउटा समय थियो जब हामी नेपाललाई भित्रैदेखि जान्दथ्यौं, आजभोलि बाहिरी छविहरूमात्रैबाट चिन्छौं। हामीले टी.भी. र सामाजिक सञ्जालमा 'जेन-जी' का केही युवा अनुहार देख्यौं, राजनीतिक व्यवस्थाप्रति आक्रोश देख्यौं र रातारात सत्ता परिवर्तनको खबर आयो। हामीले त्यसलाई क्रान्ति ठानेर मोहित भयौं र भारतमै पनि त्यस्तै परिवर्तनको सपना देख्न थाल्यौं।
हाम्रा थकित आशाहरूको बोझ यति भारी भएको होला कि त्यसलाई बिसाउने हतारोमा हामी केही सरल प्रश्न सोध्न बिर्स्यौं- यो 'जेन-जी' के हो ? नेपालको राजधानीमा भेला भएका यी शहरी युवाले कुन अर्थमा नेपालको नयाँ पुस्ताको प्रतिनिधित्व गर्छन् ? कुनै देशको सत्ता केवल ४० घण्टामै कसरी ढल्न सक्छ ? ८ सेप्टेम्बरको गोलीकाण्डपछि भोलिपल्ट सडकमा भएको हिंसाको पछाडि को थियो ? यस प्रकरणमा नेपाली सेना र नेपथ्यमा उभिएका अपदस्थ राजाको के भूमिका थियो ? यी सामान्य वा विवरणात्मक प्रश्न होइनन्। यी प्रश्नको जवाफ बिना हामी यस सत्ता पलटको चरित्रको मूल्यांकन गर्न सक्दैनौं। अहिले हामी भन्न सक्दैनौं कि यो क्रान्ति हो वा केवल एउटा भ्रान्ति।
निश्चय नै, नेपालको राजनीति धेरै समयदेखि निकै खराब अवस्थामा गुज्रिरहेको छ। जनताले एकपटक होइन, दुईपटक क्रान्ति गरिसकेका छन् र दुवैपटक धोका खाइ सकेका छन्। पहिलोपटक १९५० मा राणा राजविरुद्ध विद्रोह भयो तर संवैधानिक राजतन्त्रको सट्टा पुरानो जमानाको राजशाही स्थापित भयो। फेरि २०६२–६३ मा दोस्रो जनआन्दोलन भयो, राजशाहीलाई अन्त्य गरेर लोकतान्त्रिक धर्मनिरपेक्ष नेपालको सुरुवात भयो। तर राजनीतिक दल र नेताहरूले जनआन्दोलनको भावनासँग खेलवाड गरे।
सात वर्षसम्म संविधानै बनेन र बनेपछि पनि विवादमुक्त रहेन। आफ्नै शैशवकालमा लोकतन्त्रलाई हुर्काउने फुर्सदै पाइएन। कमबेसी सबै पार्टी र नेताहरूले कुर्सीको होडमा हरेक नियम, कायदा, मर्यादालाई बेवास्ता गरे। घुमाएर उही दुई-चार अनुहार पटक–पटक प्रधानमन्त्री बन्दै गए र त्यसमाथि निर्बाध भ्रष्टाचार, जसबाट कुनै पार्टी मुक्त रहेन। सामान्यतया वामपन्थी आन्दोलन जस्तो वैचारिक पृष्ठभूमिबाट आएका दल र नेतामा चाँडै चारित्रिक पतन हुँदैन। तर यहाँ पुरानो नेपाली कांग्रेससँगै माओवादी आन्दोलनबाट आएका माओवादीका नेताहरू र अर्का कम्युनिस्ट पार्टी यू.एम.एल. माथि पनि भ्रष्टाचारका गम्भीर आरोप लागे।
त्यसो त नेपालको अर्थतन्त्र बलियो भएको छ, राष्ट्रिय आम्दानी बढेको छ तर साथसाथै बेरोजगारीको सङ्कट पनि बढेको छ। अब नयाँ पुस्ताका आँखामा नेताहरू र उनीहरूका छोराछोरीको ऐशआराम झन् झन् बिझाउन थालेको छ। राजनीतिका शिखरमा भइरहेको भ्रष्टाचारको कुनै उपचार छैन। न्यायपालिका समेत सबै नियामक संस्थाहरू असफल भइसकेका छन्, वा आफैं भ्रष्टाचारमा संलग्न भएका छन्। लोकतन्त्रको स्थापना भएको २० वर्ष पनि नपुग्दा सम्पूर्ण राजनीतिक व्यवस्था आफ्नो साख गुमाइसकेको छ।
यस्तो अवस्थामा जनताको क्षोभ र युवाको आक्रोश बुझ्न सकिन्छ, विशेष गरी जब सरकारले २० युवालाई प्रहरीले गोली हानी मारिदियो। तर यसको तुलना श्रीलंका वा बंगलादेशमा भएको सत्ता परिवर्तनसँग गर्नु हतार हुनेछ। श्रीलंकाको जनआन्दोलन महिनौंसम्म चलेको थियो। त्यसको शीर्ष राष्ट्रपति भवन अगाडि थियो तर त्यस आन्दोलनको जराहरू टापुको कुनाकाप्चासम्म फैलिएका थिए। प्रहरीले सामना गरेका शहरी युवा थिए, तर त्यसको आधार चरमरिएको अर्थतन्त्रको सिकार श्रीलंका का गरिब र अधीनस्थ वर्ग थिए।
त्यसको पृष्ठभूमिमा एउटा वैचारिक आन्दोलन थियो। बंगलादेशमा सत्ता पलट नेपालझैं नाटकीय नै थियो, तर त्यसको पछाडि धेरै लामो संघर्ष थियो, प्रतिरोधका जराहरू बंगलादेशका गाउँ-गाउँसम्म पुगेका थिए। यसको वैचारिक रुझान श्रीलंका को प्रतिरोधभन्दा उल्टो थियो। बंगलादेशको सत्ता पलटको पछाडि साम्प्रदायिक शक्तिहरू सक्रिय थिए तर यसमा ठूलो जनसहभागिता पनि थियो भन्नेमा कुनै शंका छैन।
नेपालमा अहिलेसम्म यस परिवर्तनको चरित्र स्पष्ट छैन। जेन-जीको झण्डा मुनि भेला भएका यी युवासँग न संगठन छ, न कुनै विचार। हाललाई यसलाई अर्को जनआन्दोलन भन्न कठिन छ। हामीलाई यत्तिमात्र थाहा छ कि आक्रोशको विस्फोट जम्मा गरेर काठमाडौँ उपत्यकासम्म सीमित थियो। अहिले नै भन्न गाह्रो छ कि बाँकी देशमा यसलाई कति समर्थन छ। ओली सरकारले युवामाथि गोली चलाएपछि भोलिपल्ट जुन तरिकाले हिंसा र अराजकताको ताण्डव भयो, त्यसमा जेनजी अभियानको नेतृत्व असहाय देखियो।
त्यस हिंसाले छोटो समयमै देशको राजनीतिक नेतृत्वलाई बेदखल गरिदियो, त्यसले यस सत्ता पलटको पछाडि केही अदृश्य शक्तिको हात रहेको शंका उत्पन्न हुन्छ। निश्चय नै नयाँ प्रधानमन्त्री सुशीला कार्की भ्रष्टाचारविरुद्ध मुखर आवाज रहेकी छिन् तर त्यस प्रतिरोधका बाँकी नेताबारे त्यस्तो भन्न कठिन छ। केही नेताको भ्रष्टाचारविरुद्ध लड्ने इतिहास छ भने केही आफैं भ्रष्टाचारमा डुबेका छन्।
नेपालको राजनीतिक तन्त्र अचानक भत्किएको यस नाटकीय घटनाक्रमको पछाडि तीन बाह्य शक्तिको भूमिकामाथि नजर राख्न आवश्यक छ– सेना, पूर्व राजा र विदेशी खेलाडी। अहिलेसम्म नेपाली सेनाले नेपालको राजनीतिमा ठूलो वा खराब भूमिका निभाएको छैन तर यस प्रकरणमा सेनालाई दिइएको जिम्मेवारीलाई जसरी राष्ट्रपति माथि दबाब दिन प्रयोग गरियो, त्यो भविष्यका लागि राम्रो सङ्केत होइन। नेपालमा यो कसैलाई थाहा नहोस कि सत्ताच्युत भूतपूर्व नेपाल नरेश ज्ञानेन्द्र नेपथ्यमा बसेर आफ्नो फर्किने सम्भावना खोजिरहन्छन् । अनि यस सानो पहाडी देशमा छिमेकी र महाशक्तिहरूको चासो पनि कुनै नयाँ कुरा होइन।
नयाँ सरकारले संसद् भंग गर्ने निर्णयलाई नेपालको सबै प्रमुख पार्टीहरूले विरोध गरेका छन्, तर यी पार्टी र नेताहरूको साख यति घटिसकेको छ कि तिनीहरू जाँदा पनि आँसु झार्ने कोही हुने छैन। कतै यस भ्रष्ट राजनीतिक तन्त्रको विदाइ नै नेपालमा लोकतन्त्रको विदाइ त साबित हुने होइन ? यस्ता तमाम प्रश्नको उत्तर नआउँदासम्म नेपालको यस 'क्रान्ति' मा मोहित हुने समय आएको छैन।
[email protected]
नवोदय टाइम्सको १७ सेप्टेम्बर २०२५ अंकमा प्रकाशित लेखको नेपाली अनुवाद

भूराजनीतिक भुमरीमा नेपाल: जेन जेडको विद्रोह र सत्ता-सङ्कट

जेन— जी विद्रोह र रुपान्तरण

नेपाल: हल्लै हल्लाको देशदेखि कन्स्पिरेसीको देशसम्म

हुगली मे आग लग जाएगी

झोले: झोला बोक्ने कि विवेकशून्य?

भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

टेम्केमा किरात गणराज्य टावर

प्रतिक्रिया