भारतमा माओवादी आन्दोलनको बदलिँदो अनुहार: संघर्ष कि समर्पण ?

भारतमा दशकौँदेखि जारी माओवादी सशस्त्र आन्दोलनले नयाँ मोड लिँदैछ भन्ने संकेत आएको छ। प्रतिबन्धित भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता “अभय” ले हालै जारी गरेको विज्ञप्तिमा संगठनले अस्थायी रूपमा संघर्ष रोक्ने र आवश्यक परेमा हथियारसमेत समर्पण गर्न तयार रहेको जनाएका छन्। यस्तो भाषा सामान्य माओवादी वक्तव्यभन्दा भिन्न छ, जसले आन्दोलन अब केवल जंगल र बन्दुकको आधारमा टिकिरहने स्थिति छैन भन्ने सङ्केत दिन्छ।

तर प्रश्न यहाँबाट सुरु हुन्छ—के यो वास्तविक परिवर्तन हो, वा केवल रणनीतिक विराम? विज्ञप्तिमा प्रयोग भएको “अस्थायी” शब्दले आन्दोलनले भविष्यमा पुनः संघर्ष सुरु गर्ने विकल्प खुला राखेको देखिन्छ। यसले पूर्ण शान्ति प्रक्रियाभन्दा बढी, संगठनभित्र भइरहेको पुनर्गठन र रणनीतिक समायोजनलाई इंगित गर्छ। भारतीय राज्यसत्ताले २०२६ को मार्चभित्र सबै माओवादीलाई सखाप पार्ने घोषित लक्ष्यका साथ भीषण दमनचक्र चलाइरहेको छ । माओवादीका महासचिव वशवराज लगायत थुप्रै नेताहरुको हत्या भइसकेको छ भने थुप्रै पक्राउ समेत परेका छन् । त्यस पृष्ठभूमिमा हालै भारतीय माओवादी पार्टी नेतृत्वमा नयाँ नाम आएका छन्, दलित र आदिवासी पृष्ठभूमिका नेताहरूलाई उच्च तहमा ल्याउने प्रयास भएको छ, र हिड्माजस्ता चर्चित कमाण्डरहरूको प्रभाव बढेको देखिन्छ। यी सबैले माओवादी आन्दोलन अब पुरानै शैलीमा अघि बढ्न कठिन भएको छनक दिन्छन्।

तर संगठनभित्र एकरूपता अझै देखिएको छैन। प्रवक्ता अभयले दिएको वक्तव्यलाई अन्य केन्द्रीय नेताहरूले स्पष्ट समर्थन गरेका छैनन्। यसले जमीनमा रहेका कमाण्डर र नेतृत्वबीच मतभेद हुन सक्ने आशंका बढाउँछ। यदि आन्दोलनभित्रै सहमति जुटेन भने, यो घोषणाले उल्टै विभाजन र फुटलाई गति दिन सक्छ।

सबैभन्दा मुख्य कुरा सरकारको भूमिकाले पनि निर्णायक असर पार्नेछ। माओवादीहरूले जतिसुकै शान्तिपूर्ण भाषा प्रयोग गरे पनि केन्द्र वा राज्य सरकारलाई भरोसा दिलाउन सकेन भने, वा सुरक्षा बलका कठोर अभियानहरू निरन्तर चले भने, शान्तिपूर्ण संवादको सम्भावना तुरुन्तै कमजोर हुन्छ। त्यसो त आन्दोलनको वास्तविक शक्ति केवल हतियारमा होइन, ग्रामीण समाजका असमानतामा आधारित छ। भूमिहीनता, आदिवासी अधिकारको अभाव, विकासमा चरम असमानता—यी प्रश्नहरू समाधान नभएसम्म जनसमर्थन फेरि उकासिन सक्नेछ।

यति भनेर पनि, यो अवस्थालाई ऐतिहासिक अवसरका रूपमा लिन सकिन्छ। सरकार सचेत भयो भने शिक्षा, स्वास्थ्य, भूमि अधिकार र स्थानीय स्वशासनजस्ता मुद्दामा ठोस कदम चालेर माओवादीहरूलाई राजनीतिको मुख्यधारमा ल्याउन सकिन्छ। त्यसले माओवादी विरुद्धको अभियानको नाममा निर्दोष आदिवासीहरुको बर्बर हत्याचक्रलाई रोक्नेछ ।  दशकौँ लामो हिंसात्मक द्वन्द्वलाई संवाद र समावेशी विकासतर्फ मोड्न सकिने सम्भावना त्यतिबेला मात्रै प्रस्ट हुन्छ। तर यी आधारभूत प्रश्नहरू बेवास्ता गरिए भने, अभयको विज्ञप्ति केवल क्षणिक विश्राम मात्र सावित हुनेछ, र जंगल फेरि बन्दुकको आवाजले गुञ्जिन सक्छ।

स्रोत: द वायर

 

माओवादीभित्र अन्तरद्वन्द्व

सोसल मिडियामा सोनूको तर्फबाट जारी भएको भनिएको अर्को आत्मआलोचनात्मक प्रतिवेदन भाइरल भइरहेको छ। तेलुगु भाषामा लेखिएको उक्त प्रतिवेदनको पुष्टि त भइसकेको छैन, तर हेर्दा भने यो अभयको वक्तव्यको विस्तार मात्र जस्तो देखिन्छ। ध्यान दिनुपर्ने कुरा यो हो कि अभय र सोनू, दुवै नाम वेणुगोपालकै हुन्। उक्त प्रतिवेदनको मूल लेखक जो कोही भए पनि, त्यसले धेरै प्रश्नहरूको जवाफ दिन्छ भने, धेरै नयाँ प्रश्नहरू पनि खडा गरिदिन्छ।

सन्देहको पर्दा अझै हट्नु बाँकी छ

अभयको ताजा वक्तव्यानंतर अब प्रश्न यो उठ्छ कि पार्टी प्रवक्ताको हैसियतमा उनले प्रस्तुत गरेको ‘सशस्त्र संघर्षको अस्थायी विराम’ र ‘हथियार त्याग्ने’ प्रस्तावमा नयाँ महासचिव (यदि उनी निर्वाचित भएका हुन् भने) को स्वीकृति छ वा छैन?

यदि नयाँ महासचिवको चुनाव अहिलेसम्म भएको छैन भने, महासचिवको अनुपस्थितिमा पार्टीको तर्फबाट अभयले यो वक्तव्य दिइरहेको भन्ने कुरा स्पष्ट किन गरिएको छैन? जब उनी भन्छन् कि उनका प्रस्तावमा केही ठूला क्याडरहरूको मात्र सहमति छ, त्यसको अर्थ के यो हुने होइन कि यस प्रस्तावमा पार्टीभित्र आम सहमति वा व्यापक सहमति छैन?

माओवादीहरूले आफ्नो सबैभन्दा ठूलो आधार भनेको दण्डकारण्य क्षेत्रमा, त्यहाँका सबैभन्दा तेजतर्रार कमाण्डर र अहिले सम्भवतः दण्डकारण्य स्पेसल जोनल कमिटीका सचिव हिड्मा यस प्रस्तावसँग सहमत छन् वा छैनन्? प्रवक्ता अभयको नाममा जारी वक्तव्य बाहेक, पोलिटब्युरो सदस्य सोनूको नाममा जारी गरिएको आत्मआलोचनात्मक प्रतिवेदन पार्टीकै साझा प्रतिवेदन हो वा उनको व्यक्तिगत प्रतिवेदन हो?

बहुमतका आधारमा साझा निर्णय लिने आफ्नो नियम विपरीत, वेणुगोपाललाई किन व्यक्तिगत वक्तव्य जारी गर्नुपरेको छ? के उनी पार्टीभित्र वा केन्द्रीय समितिभित्र अलग-थलग परेका छन्? वा यो यस कुराको संकेत हो कि पार्टी पहिले नै दुई धारमा विभाजित भइसकेको छ र वेणुगोपाल सम्भवतः माओवादीहरूको एउटा धारको मात्र प्रतिनिधित्व गर्दैछन्?