वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन
टी. एस. कुनको कृति 'स्ट्रक्चर अफ साइन्टिफिक रिभोलूसन्स' को आधारमा सारांसहितको विश्लेषण

'वैज्ञानिक क्रान्तिको संरचना' थोमस एस. कुन (१८ जुलाई १९२२- १७ जुन १९९६) द्वारा लिखित बीसौं शताब्दीको विज्ञान-दर्शनको सबभन्दा प्रभावशाली पुस्तक हो । यसले विज्ञानको यथातथ्यवादी र सञ्चयवादी छवि (जसमा विज्ञानलाई सत्यतिर एक स्थिर र रेखीय यात्रा मानिन्छ) लाई मौलिक रूपले चुनौती दिइयो । थोमस कुन बीसौं शताब्दीका सबभन्दा प्रतिभाशाली विज्ञान-दार्शनिक र इतिहासकारमध्ये एक थिए । उनले विज्ञानको बोध र त्यसको इतिहासलाई हेर्ने दृष्टिकोण नै परिवर्तित गरिदिए ।
थोमस कुनले हार्वर्ड विश्वविद्यालयबाट भौतिकशास्त्रमा पीएचडीको उपाधि हासिल गरेका थिए । हार्वर्ड विश्वविद्यालयमा विज्ञानको इतिहास पढाउने क्रममा उनको रुचि भौतिकविज्ञानबाट हटेर विज्ञानको इतिहास र दर्शनतिर गयो । उनले हार्वर्ड विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय, बर्कले विश्वविद्यालय, प्रिन्सटन विश्वविद्यालय जस्ता प्रतिष्ठित संस्थानहरूमा अध्यापन गराए ।
थोमस कुनका विचारले विज्ञानको दर्शन र इतिहाससम्म मात्र सीमित नरहेर समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, शिक्षा र यहाँसम्म कि व्यवसाय व्यवस्थापन जस्ता क्षेत्रहरूमा पनि गहिराईपूर्वक प्रभावित गरे । कुन एक यस्ता विचारक थिए, जसले विज्ञान केवल किताबी ज्ञान मात्र नभएर यो मानवीय समुदायद्वारा सञ्चालन गरिने एक गतिशील, ऐतिहासिक र कहिलेकाहीँ क्रान्तिकारी प्रक्रिया पनि हो भन्ने कुरा सिकाए । पार्यो
थोमस एस. कुनको पुस्तक 'वैज्ञानिक क्रान्तिको संरचना' पहिलो पटक सन् १९६२ मा प्रकाशित भएको थियो । यसले विज्ञानको इतिहास, दर्शनशास्त्र र समाजशास्त्रमा गहिरो प्रभाव पार्यो । कुनले परम्परागत वैज्ञानिक प्रगतिको धारणा (जहाँ विज्ञान लगातार तथ्य र सिद्धान्त सङ्कलन गर्दै अघि बढ्छ भन्ने मान्यता थियो) लाई चुनौती दिए ।
कुनले विज्ञानलाई एक समसामयिक र अनुक्रमिक प्रक्रिया होइन, बरु एउटा 'परिचालनात्मक नमूना' (प्याराडाइम) को माध्यमबाट अघि बढ्ने प्रक्रियाको रूपमा वर्णन गरे । उनका अनुसार एउटा कालखण्डमा वैज्ञानिक समुदायले एउटा मान्यता वा 'परिचालनात्मक नमूना' को अनुसरण गर्दछन्, जसलाई 'सामान्य विज्ञान' भनिन्छ । जब त्यो नमूनामा केही 'विफलताहरू' देखा पर्दछन् र ती समस्या समाधान हुँदैनन्, तब वैज्ञानिक समुदायमा एउटा सङ्कट उत्पन्न हुन्छ र अन्ततः परिचालनात्मक नमूनामा क्रान्ति आउँछ, जसले नयाँ नमूना (प्याराडाइम शिफ्ट) स्थापना गर्दछ । नयाँ नमूनालाई पुराना सिद्धान्तहरूसँग तुलना गर्दा त्यसले पूर्ण नयाँ दृष्टिकोण र प्रश्नहरू प्रस्तुत गर्दछ, जसले वैज्ञानिक अनुसन्धानको दिशा नै परिवर्तन गर्दछ ।
कुनका अनुसार विज्ञानको विकास निरन्तरता मात्र हुँदैन, बरु एकदमै अनियमित तरीकाले हुन्छ, जहाँ परिचालनात्मक नमूनाहरूको प्रतिस्थापनले ठूलो प्रकारको परिवर्तन ल्याउँछ र विज्ञानको पुरानो अवधारणालाई खण्डन गर्छ ।
कुनले 'परिचालनात्मक नमूनाहरू' लाई विज्ञानमा अनुसरण गरिने आधारभूत सैद्धान्तिक संरचना र मान्यताको समूहको रूपमा व्याख्या गरे । यसले वैज्ञानिकहरूको सोचाई, समस्या समाधान गर्ने तरीका र प्रयोगशालामा गरिने मापनहरूलाई प्रभावित गर्छ । उनले यसलाई पूर्ण तर्कसङ्गत प्रक्रियामा नभए पनि एउटा सामाजिक, मनोवैज्ञानिक र सांस्कृतिक मिश्रणको रूपमा हेरिने दावी गरे ।
कुनका अनुसार विज्ञानको विकास निरन्तरता मात्र हुँदैन, बरु एकदमै अनियमित तरीकाले हुन्छ, जहाँ परिचालनात्मक नमूनाहरूको प्रतिस्थापनले ठूलो प्रकारको परिवर्तन ल्याउँछ र विज्ञानको पुरानो अवधारणालाई खण्डन गर्छ । उनले कोपरनिकन क्रान्ति, न्यूटनको यान्त्रिकी, लेभोजिएको रसायनशास्त्र र आइन्स्टाइनको सापेक्षतावादलाई महत्त्वपूर्ण उदाहरणको रूपमा प्रस्तुत गरे, जसले पुराना वैज्ञानिक विश्वदृष्टिकोणलाई परिवर्तन गर्यो।
कुनको यो पुस्तकले विज्ञानलाई केवल निष्पक्ष तथ्य सङ्कलनको प्रक्रिया मात्र नभएर सामाजिक प्रक्रियाको रूपमा पनि हेरिने दृष्टिकोण प्रस्तुत गर्यो । कुनले विज्ञानमा मानवीय, सांस्कृतिक र शैक्षिक संरचनाहरूको भूमिकामाथि जोड दिए । यसले वैज्ञानिक सहमतिहरू कसरी जन्मन्छन् वा कुनै नयाँ विचार कसरी स्वीकारिन्छ भन्ने विषयमा गहिरो बहस सुरु गर्यो ।
विज्ञानको प्रगतिको लागि निरन्तर 'सामान्य विज्ञान' का अवधिहरूको बीचमा क्रान्तिहरू आउँछन् । प्रत्येक क्रान्तिले नयाँ परिचालनात्मक नमूना स्थापित गर्दछ, जसले पुरानो नमूनाको अन्तर्विरोध र सीमाहरूलाई समाधान गर्छ । परिचालनात्मक नमूनाहरू बीचको अन्तर समानुपातिक वा सम्प्रेषणीय हुँदैन । वैज्ञानिक प्रगति केवल तथ्यहरूको सञ्चय मात्र होइन, बरु पुराना विश्वासहरूको पुनर्विचार र प्रतिस्थापन हो ।
विज्ञानको विकास सीधामा रेखा नभएर भूकम्प जस्ता विशाल झट्काबाट हुन्छ, जहाँ पुराना सम्पूर्ण भवन ढल्छन् र त्यसको ठाउँमा बिल्कुल नयाँ भवन खडा गरिन्छन् । थोमस कुन आफ्नो क्रान्तिकारी पुस्तकमा यही कुरा बताउँछन् । उनी विज्ञानको वास्तविकतालाई हेर्ने बिल्कुल नयाँ दृष्टिकोण प्रदान गर्छन् ।
यो पुस्तकमा थोमस कुनले सामान्य विज्ञानको संसारलाई बुझाएका छन्, जहाँ वैज्ञानिक पहिलेदेखि नै निर्धारित नियम अन्तर्गत पहेली (पजल) हरूको समाधान गर्छन् । यसमा सबै वैज्ञानिकहरूले सत्य ठानेर अगाडि बढ्ने तस्विरको बारेमा बताइएको छ ।
पुस्तकमा लेखकले 'प्याराडाइम' को शक्तिको खोज गरेका छन्, जसले वैज्ञानिक सोच र अनुसन्धानलाई आकार दिने अदृश्य नियमहरूको उजागर गर्छ । 'प्याराडाइम' लाई वैज्ञानिकहरूको एक सुरक्षित किल्ला जस्तै मानिन्छ । त्यसले उनीहरूलाई नियम प्रदान गर्छ, दिशा प्रदान गर्छ र सत्यको पहिचान गर्ने एउटा दृष्टि दिन्छ ।
यहाँ वैज्ञानिक क्रान्तिलाई जन्म दिने विसङ्गति र सङ्कटहरूमाथि पनि चर्चा गरिएको छ । यो पुस्तकले वैज्ञानिक क्रान्तिको प्रक्रियाको वर्णन गर्छ, जसमा पुराना सत्यलाई त्याग गरिन्छ र नयाँ सत्यको उदय हुन्छ । यसमा क्रान्तिपछिको परिवर्तित संसारमाथि प्रकाश पारिएको छ, जहाँ अतुलनीयताको विचारलाई समावेश गरिएको छ ।
सामान्य विज्ञान : विज्ञानका दैनिक पहेली
यो संसारलाई थोमस कुन सामान्य विज्ञान भन्दछन् । कुनै वैज्ञानिकको बारेमा सोच्दा हाम्रो दिमागमा प्रायः एउटा तस्विर आउँछ, जहाँ एउटा मानिसले प्रयोगशालामा बसेर केही नयाँ चीज खोजिरहेको हुन्छ, जसले संसारलाई परिवर्तित गरिदिनेछ । तर धेरैजसो समयमा धेरैजसो वैज्ञानिक यस्तो केही पनि गरिरहेका हुँदैनन् । उनीहरू क्रान्तिकारी हुँदैनन्, बरु पहेली (पजल) को समाधान गर्न लागेका हुन्छन् ।
समस्या समाधान गर्ने कुराको अर्थलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ । मानौं हामीसँग एक हजार हिस्सायुक्त एउटा 'पजल' छ । हामीलाई के थाहा छ भने सबै हिस्सा सही ठाउँमा लगाएपछि एउटा सुन्दर तस्विर बन्नेछ । डब्बाभन्दा माथि त्यो तस्विर देखिएको पनि छ । अब हाम्रो काम संसारलाई परिवर्तित गर्नु नभएर ती छरिएका हिस्सालाई सही ठाउँमा लगाएर त्यो तस्विरलाई पूरा गर्नु हुन्छ ।
सामान्य विज्ञानले बिल्कुल यसरी नै काम गर्छ । वैज्ञानिक समुदायले मिलेर पहिले नै एउटा तस्विर निर्धारित गरेका हुन्छन् । संसारले कसरी काम गर्छ भनेर एउटा ढाँचा बनाएका हुन्छन् । यसलाई नै 'प्याराडाइम' (वैज्ञानिकहरूले कुनै विषयलाई अध्ययन गर्न र व्याख्या गर्न प्रयोग गर्ने सिद्धान्त तथा मान्यताहरूको एक आधारभूत ढाँचा) भनिन्छ । वैज्ञानिकहरूसँग एउटा नक्सा हुन्छ र त्यो नक्सालाई अझ बढी स्पष्ट र विस्तृत बनाउनुपर्ने हुन्छ ।
एउटा खगोलशास्त्रीले ग्रह सूर्यको चारैतिर घुम्छन् त भन्ने प्रश्न सोध्दैन । ऊ त केवल दूरबिनद्वारा कुनै नयाँ सानो ग्रहको कक्षको सटिक गणना गर्ने प्रयास गर्नेछ । यसमा उसले पहिलेदेखि नै स्थापित नियमहरूको प्रयोग गर्नेछ ।
सामान्य विज्ञानको क्रममा वैज्ञानिक महत्त्वपूर्ण प्रश्न उठाउँदैनन् । उनीहरूले गुरुत्वाकर्षणको सिद्धान्त गलत छ वा प्रकाशको गति परिवर्तित हुन सक्छ भन्ने जस्ता प्रश्न सोध्दैनन् । उनीहरूले यी सिद्धान्तलाई सत्य मानेर काम गर्छन् । उनीहरू त केवल यो सिद्धान्त प्रकृतिका साना-साना घटनाहरूमा कसरी लागू हुन्छन् भन्ने कुरा जान्ने प्रयास गर्छन् । जस्तो कि एउटा खगोलशास्त्रीले ग्रह सूर्यको चारैतिर घुम्छन् त भन्ने प्रश्न सोध्दैन । ऊ त केवल दूरबिनद्वारा कुनै नयाँ सानो ग्रहको कक्षको सटिक गणना गर्ने प्रयास गर्नेछ । यसमा उसले पहिलेदेखि नै स्थापित नियमहरूको प्रयोग गर्नेछ । एउटा रसायनशास्त्रीले परमाणु वास्तवमा हुन्छन् कि हुँदैनन् भनेर सोध्दैन । उसले त दुई अलग-अलग रसायनहरूलाई मिलाउँदा पहिले स्थापित नियम अनुसार के परिणाम निक्लिनेछ भन्ने कुरा हेर्नेछ ।
यसो हुँदा एकप्रकारले सामान्य विज्ञान धेरै सुरक्षित र स्थिर काम हो । यसमा असफलताका गुन्जाइस धेरै कम हुन्छन् । किनकि नियम पहिलेदेखि निर्धारित हुन्छ र लक्ष्य पनि थाहा हुन्छ । यदि कुनै प्रयोग सफल भएन भने पनि सिद्धान्तलाई गलत मानिंदैन, बरु वैज्ञानिकले प्रयोग गर्नमा कुनै गल्ती गरे भन्ने ठानिन्छ । गल्ती उपकरण र गणनाको हुनसक्छ तर त्यो आधारभूत नक्सा वा सिद्धान्तको हुन सक्दैन, जसमाथि सबैले भरोसा गर्दछन् । यो एउटा यस्तो खेल हो, जसको नियम सबैलाई थाहा हुन्छ र सबैले ती नियमहरूको पालना गर्छन् ।
अब यहाँ सामान्य विज्ञानले कुनै नयाँ चीज खोज्दैन भने यसको के फाइदा हुन्छ त भन्ने प्रश्न उठ्छ । यसको धेरै ठूलो फाइदा छ । यही क्रममा नै विज्ञानले धेरै तीव्र र गहन रूपमा प्रगति गर्दछ । किनकि हजारौं वैज्ञानिक एकै दिशामा, एकै नक्सालाई आधार मानेर काम गरिरहेका हुन्छन् । यसरी उनीहरूले मिलेर त्यो नक्साको सानोभन्दा सानो जानकारीलाई पनि पूरा गरिदिन्छन् । उनीहरू प्रकृतिका पहेलीहरूलाई धेरै गहिराईसम्म गएर बुझ्नमा सफल हुन्छन् । यदि हरेक वैज्ञानिकले हरेक दिन उठेर न्यूटनको नियम गलत छ भन्नलागे भने कसैले पनि त्यो नियमलाई प्रयोग गरेर चन्द्रमामा रकेट पठाउने सटिक गणना कहिल्यै गर्न सक्दैन ।
सामान्य विज्ञानले प्रविधि र आविष्कार अवस्थित हुने बलियो नियम प्रदान गर्दछ । यो विज्ञानलाई विश्वसनीय र उपयोगी बनाउने श्रमले भरिएको दैनिक काम हो । यो ज्ञान एकत्रित हुने विज्ञानको क्रम हो, जस्तो थोपा-थोपा मिलेर गाग्री भरिन्छ । वैज्ञानिकले आफ्ना उपकरणलाई उत्कृष्ट बनाउँछन्, आफ्ना गणनाहरूलाई अझ सटिक बनाउँछन् र प्रकृतिको बारेमा आफ्नो बोधलाई अझ बलियो बनाउँछन् । यसले एकप्रकारको आत्मविश्वास पैदा गर्छ । दुनियाँलाई बुझ्ने र हामीसँग भएको नियम साँचो छ भन्ने भरोसा पैदा गर्छ ।
यद्यपि यहींनेर एउटा रोचक मोड आउँछ । एउटै पहेली वा समस्यालाई धेरै ध्यानपूर्वक र धेरै लामो समयसम्म समाधान गरिरहेको खण्डमा के हुन्छ त ? यसमा हाम्रो दृष्टि धेरै तीक्ष्ण हुन्छ । हामीले ती धेरै साना-साना चीजहरू पनि देख्न लाग्नेछौं, जुन सम्भवतः अरुले देख्न सक्दैनन् । र, कहिलेकाहीं पहेलीको समाधान गर्दागर्दै कतै पनि फिट नभइहेको हिस्सा हाम्रो हातमा आउँछ । हामी त्यसलाई हरेक ठाउँमा लगाएर हेर्छौं तर त्यो उक्त तस्विरको हिस्सा जस्तो लाग्दैन । शुरुवातमा हामी त्यसलाई बेवास्ता गरिदिन्छौं । हामी सम्भवतः हिस्सा नै खराब छ वा हामीबाट केही गल्ती भइरहेको छ भन्ने सोच्छौं ।
वैज्ञानिकले पनि ठीक यस्तै गर्छन् । जब कुनै प्रयोगले आशा नगरिएको र स्थापित सिद्धान्तको विरूद्ध जाने परिणाम प्रदान गर्छ, तब उनीहरूले त्यसलाई असङ्गगति मानेर बेवास्ता गरिदिन्छन् । उनीहरू शायद आफ्ना उपकरणमा कुनै खराबी थियो वा गणनामा कुनै भूल भयो भन्ने सोच्छन् । उनीहरू पछि यसको कुनै सरल स्पष्टीकरण प्राप्त हुनेछ भन्ने आशामा त्यो विचित्र परिणामलाई एक अपवाद मानेर अगाडि बढ्छन् । उनीहरू त्यो सुन्दर नक्सा, आफ्नो भरोसायोग्य नक्सामाथि प्रश्न उठाउन चाहँदैनन्, जसलाई बनाउनमा कयौं पुस्ताहरूको श्रम खर्च भएको छ ।
यो सामान्य विज्ञानको सबभन्दा गम्भीर अन्तर्विरोध हो । एकातिर यसको काम विद्यमान व्यवस्थालाई बलियो बनाउनु र त्यसलाई सही प्रमाणित गर्नु हो । यसको सम्पूर्ण ढाँचा नै हाम्रो विद्यमान सिद्धान्त सही छ भन्ने विश्वासमा टिकेको हुन्छ । तर अर्कोतिर वैज्ञानिकले यति गहिराईपूर्वक र सटिकतापूर्वक काम गरिरहँदा पनि उनीहरूले सबभन्दा पहिले यति साना-साना छिद्रलाई देख्दछन्, यो ढाँचामा आइरहेका हुन्छन् । उनीहरू ती पहेलीका हिस्सालाई सबभन्दा पहिले खोज्छन्, जुन कतै पनि फिट भइरहेका हुँदैनन् ।
सामान्य विज्ञानको उद्देश्य क्रान्ति ल्याउनु होइन तर अनजानमा नै त्यसले क्रान्तिको लागि जमिन तयार गरिदिन्छ । त्यसले ती असंगतिहरूलाई जन्म दिन्छ, ती असमाधेय प्रश्नहरूलाई सामुन्ने ल्याउँछ, जसलाई बेवास्ता गर्नु एक दिन असम्भव हुन्छ । यो ठीक त्यस्तै हुन्छ, जस्तो हामी एउटा स्पष्ट र सेतो कोठलाई दैनिक रूपमा सफा गर्छौं । हाम्रो उद्देश्य कोठालाई सफा राख्नु हो तर दैनिक सफा गरेकोले नै हाम्रो दृष्टि कहिंबाट आएको त्यो सानो कालो धब्बामा सबभन्दा पहिले जान्छ । विज्ञानको कोठालाई दैनिक रूपमा सफाई गर्नु जस्तै हो सामान्य विज्ञान । र, यही प्रक्रियामा त्यसले ती धब्बाहरूलाई उजागर गरिदिन्छ, जुन पछि एक विशाल तुफानको कारण बन्छन् ।
यसरी सामान्य विज्ञान एक शान्त र स्थिर नदी जस्तै हो, जुन विस्तारै-विस्तारै बग्छ र आफ्ना किनारालाई बलियो बनाउँछ । तर यही शान्त नदीभित्र त्यो शक्ति पनि हुर्किरहेको हुन्छ, जुन एक दिन बाढी बनेर सबै कुरा बगाएर लैजानेछ ।
यी वैज्ञानिक एक भव्य भवनको हेरविचार गरिरहेका पारिश्रमिक शिल्पकार हुन् । तर उनीहरूलाई थाहा छैन कि आफ्नो मेहनतले त्यो जगको उजागर गरिरहेको छ, जसमा दरार आइसकेको छ । यसो हुँदा कतै पनि फिट नहुने त्यो एक पहेलीको हिस्साको के हुन्छ भन्ने प्रश्न उठ्छ । यस्ता अरु पनि हिस्सा प्राप्त भएपछि के हुन्छ ? त्यो विचित्र परिणामलाई वैज्ञानिकले बेवास्ता गरेनन् भने के हुन्छ ?
यहींबाट विषय एक नयाँ मोडमा जान्छ । यो मोडलाई बुझ्नको लागि हामीले सबै वैज्ञानिकहरूले यति धेरै भरोसा गर्ने नक्सालाई बुझ्नुपर्छ । यो धेरै शक्तिशाली हुन्छ र वैज्ञानिक यसको विरुद्ध जाने सत्यतालाई पनि झुट सावित गर्ने प्रयास गर्छन् । अब यिनै प्रश्नहरूको केन्द्रमा रहेर थोमस कुन आफ्नो विचार अगाडि बढाउँछन् ।
'प्याराडाइम' को शक्ति - विज्ञानलाई सञ्चालित गर्ने अदृश्य नियम
यहाँ हामी त्यो रहस्यमय र शक्तिशाली चीजको बारेमा जान्नेछौं, जसलाई थोमस कुन 'प्याराडाइम' भन्दछन् । 'प्याराडाइम' केवल एउटा सिद्धान्त मात्र नभएर यो संसारलाई हेर्ने एउटा सम्पूर्ण दृष्टिकोण हो । यही दृष्टिकोण अनुसार सम्पूर्ण वैज्ञानिक समुदायले आफ्नो कामलाई अगाडि बढाउँछन् । 'प्याराडाइम' मा वैज्ञानिक सिद्धान्तसँगै कुन प्रश्न सोध्न लायक छन्, ती प्रश्नको उत्तर खोज्नको लागि कुन तरीका सही हुन्छ र त्यसको लागि कुन उपकरण प्रयोग गरिनुपर्छ भन्ने कुरा पनि सामेल हुन्छ । यो एकप्रकारको अलिखित नियम पुस्तिका हो, जुन एक पुस्ताबाट अर्को पुस्ताका वैज्ञानिकहरूलाई सिकाइन्छ ।
कुनै विद्यार्थीले विज्ञानको अध्ययन गर्न शुरु गर्दा उसलाई न्यूटनको नियम वा डार्विनको सिद्धान्त मात्र सिकाइंदैन । उसलाई त्यो 'प्याराडाइम' मा सोच्न सिकाइन्छ । उसलाई एउटा वैज्ञानिकले जसरी कसरी सोच्नुपर्छ भन्ने कुरा सिकाइन्छ ।
उदाहरणस्वरूप शाताब्दियौंदेखि एरिस्टोटल र टोलमीको 'प्याराडाइम' ले संसारमा शासन गरिरहेको थियो । यो 'प्याराडाइम' अनुसार पृथ्वी ब्रम्हाण्डको केन्द्र थियो र सूर्य, चन्द्रमा तथा सम्पूर्ण ग्रह त्यसको वरिपरि चक्कर लगाउँथे । यो केवल एउटा खगोलीय सिद्धान्त मात्र थिएन, यो एउटा सम्पूर्ण विश्वदृष्टिकोण थियो । यो धर्मसँध सम्बन्धित थियो, दर्शनसँग सम्बन्धित थियो र मानिसहरूको दैनिक सोचको हिस्सा थियो । यो 'प्याराडाइम' अन्तर्गत एक जना खगोगशास्त्रीले ग्रहहरूको गतिलाई पृथ्वीलाई केन्द्रमा नै रहनेगरी बुझाए । यहाँ के पृथ्वीले सूर्यको चक्कर लगाउन सक्छ त भन्ने प्रश्न कसैले सोधेको खण्डमा त्यसलाई मूर्खतापूर्ण र अवैज्ञानिक प्रश्न मानिन्थ्यो । यो प्रश्नलाई 'प्याराडाइम' भन्दा बाहिर मानिन्थ्यो ।
त्यसबेलाका वैज्ञानिक आफ्नो सम्पूर्ण ऊर्जा र बुद्धि कसरी ग्रहहरूको विचित्र गतिलाई बुझाउँदै पृथ्वीलाई आफ्नो ठाउँमा स्थिर राख्न सकिन्छ भन्ने काममा लगाउँथे । उनीहरूले यसको लागि धेरै जटिल गणितीय मोडेल पनि बनाएका थिए । उनीहरूले त्यो रहस्यको समाधान गरिरहेका थिए, जसको तस्विर पहिलेदेखि नै निर्धारित थियो र यो तस्वीर 'पृथ्वी ब्रम्हाण्डको केन्द्र हो' भन्ने थियो । 'प्याराडाइम' ले तिनीहरूलाई के हेर्ने र कसरी हेर्ने भन्ने कुरा बताउँथ्यो ।
'प्याराडाइम' को शक्ति त्यो अदृश्य हुने कुरामा हुन्छ । त्यसमा काम गरिरहेका मानिसहरूलाई आफूद्वारा एउटा विशेष प्रकारको चश्मा लगाइएको छ भन्ने कुरा महसुस नै हुँदैन । उनीहरूलाई संसार जस्तो छ, त्यस्तै देखिरहिएको छ भन्ने लाग्छ । उनीहरूलाई सीधा तथ्यहरूलाई देखिरहेको आभास हुन्छ । तर थोमस कुनका अनुसार कुनै पनि तथ्य स्वतः केही पनि हुँदैन । हामी तथ्यहरूलाई सधैं एउटा 'प्याराडाइम' को चश्माबाट नै हर्छौं र बुझ्छौं ।
टोलमीको 'प्याराडाइम' मा काम गर्ने एक खगोलशास्त्रीलाई विहान उदाएको सूर्यले पृथ्वीको चक्कर लगाइरहेको छ भन्ने कुराको तथ्य लाग्थ्यो । अर्कोतिर, कोपरनिकसको 'प्याराडाइम' मा काम गर्ने वैज्ञानिकको लागि त्यही उदाइरहेको सूर्य पृथ्वी आफ्नो धुरीमा घुमिरहेको छ भन्ने कुराको तथ्य हो । सूर्य उदाउने घटना एउटै हो तर 'प्याराडाइम' अलग भएको कारणले त्यो तथ्यको अर्थ पूर्ण रूपले परिवर्तित भयो ।
यही नै 'प्याराडाइम' को वास्तविक शक्ति हो । त्यसले केवल हाम्रा उत्तरलाई मात्र होइन, बरु हाम्रा प्रश्नहरूलाई पनि नियन्त्रित गर्छ । यसले कुन चीजलाई प्रमाण मान्ने र कुन चीजलाई बेवास्ता गर्ने भन्ने कुरा निर्धारित गर्छ । यो एकप्रकारको मानसिक कैद हो तर कैदीलाई आफू कैदमा छु भन्ने कुरा नै थाहा हुँदैन । उसलाई त आफू स्वतन्त्र छु र संसारलाई सही तरीकाले हेरिरहेको छु भन्ने लाग्छ ।
'प्याराडाइम' ले वैज्ञानिकहरूलाई एउटा दिशामा मिलेर काम गर्नमा मद्दत गर्छ । किनकि यसानुसार सबै एकै नियम पुस्तिकाको पालना गरिरहेका हुन्छन् । त्यसकारण उनीहरूले एक-अर्कोको कामलाई सहजतापूर्वक बुझिरहेका हुन्छन्, एक-अर्कोको परिणाममा भरोसा गर्न सक्छन् र मिलेर तीव्र रूपमा प्रगति गर्न सक्छन् । यो एक साझा भाषा र साझा लक्ष्य जस्तै हो । यसबिना विज्ञान विश्रृङ्खलित र अराजक हुनेछ, जहाँ जोकोहीले आ-आफ्नो डम्फू बजाउनेछन् र आ-आफ्नो राग अलाप्नेछन् ।
'प्याराडाइम' ले विज्ञानलाई एक अनुशासित र सङ्गठित गतिविधिमा सञ्चालित गर्छ । यसले युवा वैज्ञानिकहरूलाई प्रशिक्षित गर्ने एक ढाँचा पनि प्रदान गर्छ । ज्ञानको स्रोत मानिने पाठ्यपुस्तक वास्तवमा विद्यमान 'प्याराडाइम' लाई विद्यार्थीहरूको दिमागमा स्थापित गर्ने सबभन्दा महत्त्वपूर्ण उपकरण हुन्छन् । त्यसले विज्ञानको इतिहासलाई यसरी प्रस्तुत गर्छ, जस्तो कि विज्ञान सधैं एउटा सीधा रेखामा अगाडि गएको हुन्छ र आज हामी जुन 'प्याराडाइम' मा छौं, त्यही अन्तिम सत्य हो । त्यसले ती सबै क्रान्ति, बहस र सबै पराजित 'प्याराडाइम' हरूलाई इतिहासको रद्दीको टोकरीमा हालिदिन्छ, ताकि विद्यमान व्यवस्थामा विद्यार्थीहरूको विश्वास कायम रहोस् । त्यसले एउटा स्पष्ट कथा सुनाउँछ, जबकि विज्ञानको वास्तविक इतिहास उथलपुथल र सङ्घर्षहरूले भरिएको हुन्छ ।
यद्यपि हरेक चीजका दुई पक्ष हुन्छन् । 'प्याराडाइम' को यही शक्ति त्यसको सबभन्दा मुख्य कमजोरी पनि बन्छ । किनकि त्यसले वैज्ञानिकहरूलाई एक खास दिशामा हेर्नको लागि प्रशिक्षित गर्छ । त्यसकारण त्यसले बाँकी सबै दिशाको लागि तिनीहरूलाई अन्धो बनाइदिन्छ ।
वैज्ञानिक आफ्नो 'प्याराडाइम' मा फिट नहुने चीजहरूलाई देख्नै सक्दैनन् । 'प्याराडाइम' लाई चुनौती दिने कुनै प्रमाण अगाडि आउँदा तिनीहरूको पहिलो प्रतिक्रिया त्यो प्रमाणलाई खारेज गर्नु हुन्छ । उनीहरूले भन्नेछन्, प्रयोगमा कुनै गल्ती भएको हुनुपर्छ वा यो कुनै अपवाद हो । उनीहरू आफ्नो चश्मामाथि प्रश्न उठाउँदैनन्, बरु उनीहरू चश्माबाट ठीक ढङ्गले नदेखिएको चीजमाथि प्रश्न उठाउँछन् । यो एकप्रकारको मनोवैज्ञानिक रक्षा प्रणाली हो ।
कसैले पनि आफ्नो सम्पूर्ण संसार र आफ्नो सम्पूर्ण बोधलाई एक झट्कामा त्याग्न चाहँदैन । खासगरी त्यतिबेला, जतिबेला उसले आफ्नो सम्पूर्ण जिन्दगी त्यही बोध निर्माण गर्नमा लगाएको हुन्छ । त्यसकारण 'प्याराडाइम' परिवर्तनको घोर विरोधी हुन्छ । त्यसले यथास्थिति कायम राख्न चाहन्छ । स्वयंलाई बचाउनको लागि त्यो कुनै पनि हदसम्म जानसक्छ । यो एउटा शक्तिशाली साम्राज्य जस्तै हो, जसले कुनै पनि विद्रोहलाई हुर्किनुभन्दा पहिले नै दबाइदिन चाहन्छ ।
यसो हुँदा 'प्याराडाइम' एउटा दुईधारे तरबार जस्तै हो । एकातिर यसले सामान्य विज्ञानलाई सम्भव बनाउँछ, जसबाट विज्ञान धेरै गहिराईसम्म जानसक्छ । यसले वैज्ञानिकहरूलाई एक समुदायको रूपमा सँगै ल्याउँछ र उनीहरूसँग मिलेर काम गर्ने शक्ति दिन्छ । तर अर्कोतिर यसले सोचलाई सीमित गर्दछ, नयाँ तथा क्रान्तिकारी विचारलाई दबाउँछ र वैज्ञानिकहरूलाई ती तथ्यहरूप्रति अन्धो बनाइदिन्छ, जसले उनीहरूको संसारलाई हल्लाउन सक्छन् । यो एक आरामदायी र सुरक्षित घर जस्तै हो । तर यसका पर्खाल यति बलिया हुन्छन् कि बाहिरको संसारमा के भइरहेको छ भन्ने खबर भित्रसम्म पुग्न सक्दैन । 'प्याराडाइम' त्यो अदृश्य शक्ति हो, जसले साँचो के हो, झुट के हो, के सम्भव छ र के असम्भव छ भन्ने कुरा निर्धारण गर्छ ।
यद्यपि यहाँ कतै पनि फिट नभइरहेको पहेलीको त्यो हिस्साको के हुन्छ भन्ने प्रश्न उत्पन्न हुन्छ । के त्यसलाई बेवास्ता गर्ने कुरा असम्भव हुन्छ त ? यस्ता हिस्सा पटक-पटक प्राप्त हुँदा के हुन्छ ? बलियो पर्खालमा छिद्र देखा परेपछि बाहिरको हावा आउँदा के हुन्छ ? यति शक्तिशाली र स्थिर लाग्ने 'प्याराडाइम' लडखडाउन लाग्दा स्थिति के हुन्छ ? यो क्रमले नै विज्ञानको सबभन्दा नाटकीय र रोमाञ्चक क्षणलाई जन्म दिन्छ । यो एउटा यस्तो सङ्कटको क्रम हो, जसले या त सबै कुरा ध्वस्त बनाइदिन्छ या एउटा नयाँ संसारलाई जन्म दिनेछ । अब थोमस कुन यही विषयलाई लिएर आफ्नो विचार अगाडि बढाउँछन् ।
असङ्गति र सङ्कटको अवधि, जहाँ नियम भङ्ग हुन लाग्छन्
'प्याराडाइम' लाई वैज्ञानिकहरूको एक सुरक्षित किल्ला जस्तै मानिन्छ । त्यसले उनीहरूलाई नियम प्रदान गर्छ, दिशा प्रदान गर्छ र सत्यको पहिचान गर्ने एउटा दृष्टि दिन्छ । तर ऐतिहासिक तथ्य अनुसार कुनै पनि किल्ला सधैं अभेद्य रहँदैन । कुनै पनि बेला कतै न कतैबाट पर्खालमा छिद्र आइ नै हाल्छ । विज्ञानको संसारमा यी छिद्रलाई थोमस कुनले असङ्गति भन्दछन् ।
असङ्गति कतै पनि फिट नहुने पहेलीको हिस्सा हो । यो विद्यमान 'प्याराडाइम' का भविष्यवाणीहरूसँग मेल नखाने प्रयोगात्मक परिणाम हो । यो पूर्ण रूपमा सञ्चालित हुने यन्त्रबाट अचानक आउने विचित्र आवाज हो । शुरुवातमा वैज्ञानिकले यसलाई बेवास्ता गर्दछन् । यो मानवीय प्रकृति हो । यदि हाम्रो वर्षौंदेखि राम्रोसँग चलिरहेको रुचिकर वाहनले कुनै दिन हल्का विचित्र आवाज निकाल्यो भने हामी तुरुन्तै इन्जिन खराब भयो भन्न मान्दैनौं । हामी सोच्छौं, सम्भवतः सडक खराब थियो वा सम्भवतः हाम्रो सुनाईमा नै केही गल्ती थियो ।
वैज्ञानिकहरू पनि ठीक यस्तै गर्दछन् । उनीहरूले आफ्ना उपकरणहरूलाई दोष दिन्छन्; आफ्ना गणनाहरूलाई पुनः जाँच गर्दछन् वा त्यो असङ्गत परिणामलाई एक दुर्लभ अपवाद मानेर आफ्नो अनुसन्धानलाई अगाडि बढाउँछन् । उनीहरू आफ्नो प्यारो 'प्याराडाइम' माथि र आफ्नो त्यो सुन्दर तस्विरमाथि शङ्का गर्न चाहँदैनन् । तर त्यसमा अरु विचित्र लक्षण देखिंदै जाँदा अवस्था के हुन्छ त भन्ने प्रश्न उठ्छ ।
असङ्गति पटक-पटक र अलग-अलग प्रयोगशालाहरूमा अलग-अलग वैज्ञानिकहरूले दोहोर्याएपछि त्यसलाई बेवास्ता गर्ने कुरा मुश्किल हुन्छ । अब त्यो केवल एक अपवाद मात्र नरहेर 'प्याराडाइम' को नियममाथि एउटा प्रत्यक्ष आक्रमण बन्छ । यहींबाट सङ्कटको अवधिको शुरुवात हुन्छ ।
सङ्कटको अवधिमा वैज्ञानिक समुदायमा आफ्नो 'प्याराडाइम' बाट विश्वास डगमगाउन लाग्छ । अहिलेसम्म पत्थरको रेखा समान लाग्ने नियम अब कमजोर र अधुरो लाग्न लाग्छन् । पहिले धेरै सजिलैसँग समाधान हुने पहेली अब अझ जटिल लाग्न लाग्छ । वैज्ञानिकहरूको बीचमा बेचैनी र असुरक्षाको माहौल पैदा हुन्छ ।
यसको एउटा शास्त्रीय उदाहरण अनुसार कोपरनिकसको क्रान्तिभन्दा पहिलेको अवधिमा टोलमीको 'प्याराडाइम' अर्थात् 'पृथ्वी केन्द्रित ब्रम्हाण्ड' ले शताब्दियौंदेखि काम गरिरहेको थियो । तर समयसँगै खगोलशास्त्रीहरूले अन्य उत्कृष्ट उपकरणहरूद्वारा ग्रहको गतिलाई हेर्न शुरु गरेपछि उनीहरूका गणना र भविष्यवाणी सटिक रहेका थिएनन् । ग्रह कहिले अगाडि गएका देखिन्थे भने कहिले पछाडि ।
यो असङ्गगतिलाई बुझाउनको लागि वैज्ञानिकहरूले टोलमीको मोडेलमा अझ बढी जटिलता सामेल गर्न शुरु गरिदिए । उनीहरूले 'एपिसाइकल' जस्ता धारणा बनाए । अर्थात् ग्रह एउटा विशाल गोलामा घुम्दै एउटा सानो गोलामा पनि घुमिरहेका छन् । विस्तारै-विस्तारै यो मोडेल यति बढी जटिल र भद्दा भयो कि त्यसमाथि विश्वास गर्ने काम जटिल हुनलाग्यो । अब त्यो हजारौं पाबन्दी लागेको यन्त्र जस्तै भएको थियो । असङ्गतिलाई ठीक बनाउने प्रयासले मोडेललाई अझ बढी जटिल बनाइरहेको थियो ।
सङ्कटको अवधिमा विज्ञानको स्वरूप नै परिवर्तित हुनजान्छ । पहेली समाधानको काम गर्ने सामान्य विज्ञान अब एकप्रकारको खुला बहसमा परिवर्तित हुन्छ । अब वैज्ञानिक केवल पहेलीको मात्र समाधान गर्दैनन्, उनीहरूले खेलका नियमहरूमाथि नै प्रश्न उठाउन लाग्छन् । पहिले अवैज्ञानिक र दार्शनिक मानेर खारेज गरिएको प्रश्नमाथि नै अब गम्भीर छलफल हुनलाग्छ ।
पुरानो 'प्याराडाइम' मा धेरै मूल्य नलगाएका युवा तथा नयाँ वैज्ञानिक बढी साहसी र विद्रोही हुन्छन् । उनीहरू विचित्र र निरर्थक लाग्ने नयाँ विचार प्रस्तुत गर्न लाग्छन् । चारैतिर एकप्रकारको बौद्धिक अराजकता फैलिन्छ । जोकोहीले समस्यालाई बुझिरहेको हुन्छ तर कोहीसँग पनि त्यसको समाधान हुँदैन । पुराना र स्थापित वैज्ञानिक आफ्नो सम्पूर्ण शक्ति लगाएर पुरानो 'प्याराडाइम' लाई बचाउने प्रयास गर्दछन् । उनीहरू भन्छन्, हामीले अझ मेहनत गर्नु आवश्यक हुन्छ, सटिक गणना गर्नु आवश्यक हुन्छ, त्यसपछि सबै कुरा ठीक हुनेछ । तर भित्रभित्रै उनीहरूको आत्मविश्वास पनि खोक्रो भइसकेको हुन्छ ।
यो एउटा धेरै तनावपूर्ण र असहज समय हुन्छ । वैज्ञानिक समुदायले आफ्नो सबभन्दा महत्त्वपूर्ण सम्पत्ति अर्थात् आफ्नो साझा विश्वासलाई गुमाइरहेका हुन्छन् । यो सङ्कटको अवधिको एउटा अर्को विशेष कुरा के हुन्छ भने सङ्कटको कारण बनेको असङ्गति प्रायः कुनै नयाँ खोज गरिएको चीज हुँदैन । त्यो चीजको बारेमा शायद दशकौं वा शताब्दियौंदेखि वैज्ञानिकलाई थाहा भएको हुन्छ तर पहिले त्यसलाई बेवास्ता गरिरहिएको हुन्छ । जस्तो कि युरेनस (अरुण) ग्रहको कक्षमा भएको समस्यालाई न्यूटनका नियमहरूको हिसाबले बुझाउन सकिंदैनथ्यो ।
यो कुरा वैज्ञानिकहरूलाई लामो समयदेखि थाहा थियो । तर न्यूटनको 'प्याराडाइम' प्रबलतापूर्वक कायम हुँदासम्म यसलाई सामान्य असमाधेय पहेली मानेर अलग गरियो । उन्नाइसौं शताब्दीको अन्तमा प्रकाशको व्यवहार जस्ता अरु पनि असङ्गतिहरू सामुन्ने आएपछि युरेनसको कक्षवाला पुरानो असङ्गति पनि अचानक धेरै बढी महत्त्वपूर्ण भयो ।
सङ्कटले हाम्रो हेर्ने दृष्टिकोणलाई परिवर्तित गरिदिन्छ । पहिले महत्त्वहीन लाग्ने चीजहरू अब व्यवस्थाको सबभन्दा मुख्य कमजोरीको रूपमा देखिन्छन् ।
सङ्कटको समयमा पुराना बिर्सिएका समस्याहरू पनि पुनः जीवित हुन्छन् र यसले पुरानो 'प्याराडाइम' को कफनमा कीलाको काम गर्छ । यो कुनै सम्बन्धमा छिद्र पैदा हुँदा वर्षौं पुराना साना-साना गुनासा पनि अचानक धेरै गम्भीर लाग्नु जस्तै हो । सङ्कटले हाम्रो हेर्ने दृष्टिकोणलाई परिवर्तित गरिदिन्छ । पहिले महत्त्वहीन लाग्ने चीजहरू अब व्यवस्थाको सबभन्दा मुख्य कमजोरीको रूपमा देखिन्छन् ।
सङ्कटको अवधि विज्ञानको लागि धेरै आवश्यक हुन्छ । यो समयले नयाँ विचारको लागि ढोका खोल्छ । पुरानो घर प्रबलतापूर्वक कायम रहुन्जेलसम्म कसैले पनि नयाँ घर बनाउने बारेमा सोच्दैन । तर पुरानो घर जर्जर भएपछि मात्र मानिस नयाँ घरको नक्साको बारेमा सोच्न शुरु गर्छन् ।
सङ्कटले वैज्ञानिकहरूलाई अहिलेसम्म कैद भएको बक्सभन्दा बाहिर सोच्न बाध्य बनाउँछ । त्यसले ती आधारभूत मान्यताहरूमाथि प्रश्न उठाउन उक्साउँछ, जसलाई उनीहरूले सोचविचार नगरिकन स्वीकार गरेका थिए । यो एकप्रकारले 'प्याराडाइम' लाई त्यसको निद्राबाट जागृत गर्नु जस्तै हो । यसले प्रकृति सधैं हामीले बनाइएका साना-साना पेटीहरूमा फिट हुन सक्दैन भन्ने देखाउँछ । कहिलेकाहीं हामीले पेटी नै परिवर्तित गर्नुपर्ने हुन्छ ।
यद्यपि एउटा नयाँ 'प्याराडाइम' बनाउनु कुनै सहज काम होइन । यो केवल पुरानो 'प्याराडाइम' मा केही सुधार गर्ने जस्तो काम होइन । यो सम्पूर्ण संसारलाई एक नयाँ दृष्टिबाट हेर्नु जस्तै हो । यसको लागि कल्पना, साहस र एउटा बिल्कुल नयाँ सोचको आवश्यकता हुन्छ ।
सङ्कटको अवधि एक अध्यारो रात जस्तै हुन्छ । पुरानो चन्द्रमा डुबिसकेको हुन्छ तर नयाँ सूर्य अझै उदाएको हुँदैन । जताततै अनिश्चितता र भ्रम हुन्छ । वैज्ञानिकहरूलाई उनीहरूको खुट्टामुनिको जमिन भासिएको जस्तो महसुस हुन्छ । पुरानो नक्सा बेकार भइसकेको हुन्छ र नयाँ नक्सा अझैसम्म बनिकसकेको हुँदैन ।
अब पुरानो 'प्याराडाइम' ले आफ्नो अन्तिम सास लिइरहेको हुन्छ । असङ्गतिहरूको बोझ असहनीय भइसकेको हुन्छ । वैज्ञानिक समुदाय एउटा गहिरो सङ्कटमा हुन्छन् । जोकोही एउटा उत्तरको खोजीमा हुन्छन्, एउटा नयाँ मार्गको खोजीमा हुन्छन् । माहौल तनाव, आशा र बेचैनीले भरिएको हुन्छ ।
यस्तो अवस्थामा सबै कुरा परिवर्तित गरिदिने नयाँ विचारको जन्म कसरी हुन्छ ? बिल्कुल नयाँ नक्सा लिएर आउने कुन चीज हुन्छ ? नयाँ विचार सामुन्ने आएपछि पुरानो 'प्याराडाइम' ले सहजैसँग हार मान्छ या इतिहासको सबभन्दा महत्त्वपूर्ण बौद्धिक सङ्घर्षमध्ये एकको शुरुवात हुन्छ ? त्यो यस्तो सङ्घर्ष हुनेछ, जहाँ तर्क र प्रमाणसँगै भावना, राजनीति र पुस्ताको टकराव पनि सामेल हुन्छ । अब थोमस कुन अगाडि यिनै प्रश्नहरूमा केन्द्रित रहेर यो महासङ्ग्राम वा एक वैज्ञानिक क्रान्तिको जन्मको बारेमा आफ्नो विचार व्यक्त गर्दछन् ।
वैज्ञानिक क्रान्तिको जन्म - पुरानो सत्यताको मृत्यु र नयाँको शुरुवात
सङ्कटको अध्यारो र अनिश्चितताले भरिएको अवधिपछि हामी नयाँ विहानीको पहिलो किरण देखिने क्षणमा प्रवेश गरिरहेका छौं । यो क्षणलाई नै थोमस कुन वैज्ञानिक क्रान्ति वा 'प्याराडाइम शिफ्ट' भन्दछन् । यो विज्ञानको इतिहासको सबभन्दा परिवर्तनकारी क्षण हुन्छ । यो कुनै शान्तिपूर्ण परिवर्तन होइन, जहाँ पुराना वैज्ञानिकहरूले नयाँ वैज्ञानिकहरूलाई प्रेमपूर्वक सत्ता सुम्पिऊन् । यो एक वास्तविक क्रान्ति हो; एक सङ्घर्ष हो, जहाँ एउटा नयाँ विश्वदृष्टिकोणले पुरानो विश्वदृष्टिकोणलाई उखेलेर फ्याँक्छ ।
एउटा वैज्ञानिक क्रान्ति त्यतिबेला मात्र हुन्छ, जब सङ्कटको अवधिमा कुनै एक वा केही वैज्ञानिकले एउटा बिल्कुल नयाँ 'प्याराडाइम' प्रस्तुत गर्दछन् । यो नयाँ 'प्याराडाइम' ले पुराना असङ्गतिहरूलाई मात्र बुझाउँदैन, बरु त्यसले सम्पूर्ण संसारलाई हेर्ने एउटा नयाँ तरीका प्रस्तुत गर्छ । यो खेलका नियममा हुने सामान्य परिवर्तन होइन, यसले सम्पूर्ण खेललाई नै परिवर्तित गरिदिन्छ ।
एउटा वैज्ञानिक क्रान्ति त्यतिबेला मात्र हुन्छ, जब सङ्कटको अवधिमा कुनै एक वा केही वैज्ञानिकले एउटा बिल्कुल नयाँ 'प्याराडाइम' प्रस्तुत गर्दछन् । यो नयाँ 'प्याराडाइम' ले पुराना असङ्गतिहरूलाई मात्र बुझाउँदैन, बरु त्यसले सम्पूर्ण संसारलाई हेर्ने एउटा नयाँ तरीका प्रस्तुत गर्छ ।
यसको सबभन्दा प्रमुख उदाहरण खगोलविज्ञानमा कोपरनिकसको क्रान्ति हो । टोलमीको 'पृथ्वीकेन्द्रित मोडेल' सङ्कटमा भएको बेलामा कोपरनिकसले एउटा क्रान्तिकारी विचार प्रस्तुत गरे । उनका अनुसार यदि पृथ्वीलाई केन्द्रबाट हटाएर त्यसको ठाउँमा सूर्यलाई राखियो भने के होला भन्ने थियो । यो विचार एक गणितीय परिवर्तन मात्र थिएन । यो एउटा भूकम्प थियो, जसले शताब्दियौं पुरानो मान्यताको जग हल्लाइदियो । अचानक ब्रम्हाण्डको बारेमा सबै कुरा परिवर्तित भयो । अहिलेसम्म स्थिर र महत्त्वपूर्ण मानिएको पृथ्वी अब केवल एउटा ग्रह मात्र बन्यो, जसले अरु ग्रहहरू जस्तै सूर्यको परिक्रमा गरिरहेको थियो । स्वयंलाई ब्रम्हाण्डको केन्द्र ठान्ने मानिस अब एक साधारण ग्रहको निवासी बन्यो । यो एउटा परिवर्तनले धर्म, दर्शन र मानिसको आफ्नो पहिचानमा गहिरो प्रश्न उठाइदियो ।
नयाँ 'प्याराडाइम' अर्थात् 'सूर्यकेन्द्रित मोडेल' ले ग्रहहरूको गतिलाई सरलता र सटिकतापूर्वक बुझाउनुका साथसाथै यसले पहिले कहिल्यै नसोचिएका प्रश्नहरू पनि उत्पन्न गरिदियो । जस्तो कि, यदि पृथ्वी घुमिरहेको छ भने हामीलाई महसुस किन हुँदैन ? यदि पृथ्वी एउटा ग्रह हो भने अरु ग्रहमा पनि जीवन हुन सक्छ त ?
एउटा क्रान्तिले केवल पुराना प्रश्नहरूको उत्तर मात्र दिंदैन, त्यसले नयाँ र बढी गहिरा प्रश्न सोध्ने मार्ग पनि खोज्दछ । यो परिवर्तन सजिलो हुँदैन । एउटा नयाँ 'प्याराडाइम' अगाडि आएपछि त्यसलाई तुरुन्तै स्वीकार गरिंदैन । धेरैजसो र खासगरी आफ्नो सम्पूर्ण जीवन पुरानो 'प्याराडाइम' मा काम गरेर व्यतीत गरेका पुराना पुस्ताका वैज्ञानिक नयाँ 'प्याराडाइम' को घोर विरोध गर्दछन् । उनीहरूको लागि नयाँ 'प्याराडाइम' लाई स्वीकार गर्नु आफ्नो सम्पूर्ण जिन्दगीको कामलाई गलत ठान्नु जस्तै हो । यो उनीहरूको लागि केवल एउटा बौद्धिक हार मात्र नभएर एक भावनात्मक र व्यक्तिगत हार पनि हुन्छ ।
पुराना 'प्याराडाइम' का समर्थक नयाँ 'प्याराडाइम' मा कमजोरी खोज्छन् र नयाँले पुरानाका कमजोरीहरूलाई उजागर गर्छन् ।
त्यसकारण पुराना र नयाँ 'प्याराडाइम' का समर्थकहरूको बीचमा एउटा सङ्घर्ष शुरु हुन्छ । यो सङ्घर्ष केवल तर्क र प्रमाणको आधारमा मात्र जित्न सकिंदैन । किनकि दुवै पक्ष दुई अलग-अलग संसारमा बाँचिरहेका हुन्छन् । उनीहरूका सत्य अलग हुन्छन् र उनीहरूका मानक अलग हुन्छ । उनीहरूले एक-अर्कोको भाषा नै बुझ्न सक्दैनन् ।
पुराना 'प्याराडाइम' का समर्थक नयाँ 'प्याराडाइम' मा कमजोरी खोज्छन् र नयाँले पुरानाका कमजोरीहरूलाई उजागर गर्छन् । यो एक राजनीतिक बहस जस्तै हुन्छ, जहाँ दुवै पक्ष आ-आफ्ना विश्वासलाई सावित गर्नको लागि प्रचार-प्रसार गर्छन् । यो सङ्घर्षमा जित प्रायः प्रमाणको कारणले नभएर एक अवधिबाट अर्को अवधि आएपछि हुन्छ ।
भौतिकशास्त्री म्याक्स प्ल्याङ्कका अनुसार एउटा नयाँ वैज्ञानिक सत्य आफ्ना विरोधीहरूलई सम्झाएर र तिनीहरूलाई प्रकाशित गरेर विजयी हुँदैन, बरु उसका विरोधी अन्ततः सकिएको कारणले मात्र विजयी हुन्छ । किनकि उसका विरोधी अन्ततः सकिन्छन् र एउटा नयाँ पुस्ता आउँछ, जो यससँग परिचित हुन्छन् ।
यो एउटा तीतो तर धेरै गहिरो सत्य हो । नयाँ 'प्याराडाइम' लाई प्रायः युवा वैज्ञानिकहरूले अपनाउँछन् । उनीहरूसँग गुमाउनको लागि बढी केही पनि हुँदैन र उनीहरूको दिमाग नयाँ विचारको लागि बढी खुला हुन्छ । विस्तारै जति-जति पुराना पुस्ताका वैज्ञानिक निवृत्त हुँदै जान्छन् वा सकिन्छन् र नयाँ पुस्ता विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण पदमा आउँछन्, त्यसपछि नयाँ 'प्याराडाइम' मुख्य धारा बन्छ । पाठ्यपुस्तकहरू परिवर्तित गरिन्छन् र बच्चालाई त्यही नै सदैव सत्य थियो भने जसरी नयाँ 'प्याराडाइम' को बारेमा सिकाइन्छ । कुनैबेला मानिसहरूले ज्यानसमेत दिएको पुरानो 'प्याराडाइम' लाई इतिहासको एउटा भूल वा एउटा आदिम सोच मानेर बिर्सिन्छ । क्रान्तिपछि विजेताले इतिहास लेख्छन् ।
वैज्ञानिकहरूले प्रकाशको गति र धेरै तीव्र गतिमा चल्ने चीजहरूको अध्ययन गर्न शुरु गरेपछि न्यूटनका नियम असफल हुनलागे । यी सङ्कट पैदा गर्ने असङ्गतिहरू थिए । त्यसपछि आइन्स्टाइनले एउटा बिल्कुल नयाँ 'प्याराडाइम' प्रस्तुत गरे ।
एउटा अर्को महत्त्वपूर्ण उदाहरणको रूपमा न्यूटनको भौतिकविज्ञानबाट आइन्स्टाइनको सापेक्षतातर्फ परिवर्तनलाई लिन सकिन्छ । शताब्दियौंसम्म न्यूटनको 'प्याराडाइम' विज्ञानको पर्याय थियो । उनका नियमले हरेक ठाउँमा काम गरिरहेका देखिन्थे । समय र स्थानलाई परम र स्थिर मानिन्थ्यो । तर उन्नाइसौं शताब्दीको अन्तमा वैज्ञानिकहरूले प्रकाशको गति र धेरै तीव्र गतिमा चल्ने चीजहरूको अध्ययन गर्न शुरु गरेपछि न्यूटनका नियम असफल हुनलागे । यी सङ्कट पैदा गर्ने असङ्गतिहरू थिए । त्यसपछि आइन्स्टाइनले एउटा बिल्कुल नयाँ 'प्याराडाइम' प्रस्तुत गरे । उनका अनुसार समय र स्थान परम नभएर ती देख्ने व्यक्तिको गतिको आधारमा परिवर्तित हुन्छन् । गुरुत्वाकर्षण कुनै बल नभएर स्पेस-टाइममा एक झुकाव हो ।
यी विचार यति धेरै क्रान्तिकारी थिए कि शुरुवातमा कसैले पनि तिनीहरूमाथि विश्वास नै गरेनन् । न्यूटनको 'प्याराडाइम' मा सोच्नेहरूको लागि यी कुरा निरर्थक र पागलपन जस्तै लाग्थे । तर विस्तारै-विस्तारै प्रयोगहरूद्वारा आइन्स्टाइनको सिद्धान्तलाई सही सावित गर्न शुरु गरेपछि युवा वैज्ञानिकहरूले यसलाई अपनाउन शुरु गरे र आज आइन्स्टाइनको 'प्याराडाइम' नै हाम्रो सामान्य विज्ञान हो । 'ब्ल्याक होल' र 'बिग ब्याङ' सिद्धान्त जस्ता सबै कुरा आइन्स्टाइनको 'प्याराडाइम' बिना सम्भव नै थिएनन् ।
यसरी एउटा वैज्ञानिक क्रान्ति एउटा पुरानो शासकलाई हटाएर एउटा नयाँ शासकलाई गद्दीमा बसाउनु जस्तै हो । एकपटक नयाँ शासक सत्तामा आएपछि उसले आफ्नो नियम लागू गर्छ, आफ्नो मुद्रा सञ्चालन गर्छ र आफ्नो हिसाबले इतिहास लेखाउँछ ।
क्रान्तिपछि विज्ञान पुनः सामान्य विज्ञान क्रममा फर्किन्छ । तर अब पहेली, नियम र तस्विर सबै कुरा नयाँ हुन्छन् । वैज्ञानिक पुनः पहेलीको समाधान गर्ने काममा लाग्छन् । तर अब उनीहरू एउटा नयाँ र बढी विस्तृत दुनियाँका पहेलीहरूलाई समाधान गरिरहेका हुन्छन् । क्रान्तिले संसारलाई सधैंको लागि परिवर्तित गरिदिन्छ । यसबाट के बुझिन्छ भने विज्ञान कुनै तथ्यहरूको सङ्ग्रह नभएर संसारलाई हेर्ने परिवर्तित भइरहेको दृष्टिकोणको एक कहानी हो । सत्य स्थिर हुँदैन, त्यो क्रान्तिकारी परिवर्तन भएर गुज्रिन्छ ।
यद्यपि यहाँ एउटा धेरै गहिरो र जटिल प्रश्न उत्पन्न हुन्छ । एउटा 'प्याराडाइम' ले अर्कोलाई परिवर्तित गर्दा सत्यको बढी नजिक आएको भन्न सकिन्छ या केवल एउटा कहानीको ठाउँमा अर्को कहानीलाई अपनाइन्छ ? र, पुरानो र नयाँ 'प्याराडाइम' मा काम गर्ने वैज्ञानिक कहिल्यै एक-अर्कोलाई बुझ्न पनि सक्छन् वा उनीहरू कुनै पुल नै नभएको दुई अलग-अलग संसारमा बाँचिरहेका हुन्छन् ? अब यो जटिल र दार्शनिक प्रश्नको केन्द्रमा रहेर थोमस कुन अगाडि रोचक विचार प्रस्तुत गर्छन् ।
संसारलाई हेर्ने एउटा नयाँ दृष्टिकोण - क्रान्तिपछिको परिवर्तित संसार
विज्ञान शान्त र सामान्य वैज्ञानिक अवधिबाट गुज्रिन्छ र त्यसले समयसँगै असङ्गति र सङ्कटलाई जन्म दिन्छ । त्यही सङ्कटबाट एक क्रान्तिको जन्म हुन्छ, जसले पुरानो 'प्याराडाइम' लाई उखेलेर फ्याँक्छ । क्रान्ति भइसकेको हुन्छ, नयाँ शासक गद्दीमा बसिसकेको हुन्छ र एउटा नयाँ सामान्य विज्ञानको क्रम शुरु भएको हुन्छ । तर क्रान्तिपछिको संसार कस्तो देखिन्छ भन्ने प्रश्न अगाडि आउँछ । के यो पुरानो संसारमा केही नयाँ सुधार जस्तै हो वा यो वास्तवमै एउटा बिल्कुल नयाँ संसार हो ?
यहीं आएर थोमस कुन आफ्नो सबभन्दा चुनौतीपूर्ण विचार अगाडि ल्याउँछन्, जसलाई उनी 'अतुलनीयता' भन्दछन् । यसको अर्थ धेरै गहन र सरल छ । यसको अर्थ दुई अलग-अलग 'प्याराडाइम' को आपसमा कुनै सीधा तुलना हुनसक्दैन भन्ने हो । किनकि तिनीहरूसँग मापन गर्ने कुनै साझा परिमाण नै हुँदैन । त्यो दुई अलग-अलग भाषा बोल्ने मान्छे जस्तै हुन्छ, जोसँग एक-अर्कोको लागि कुरा गर्ने कुनै अनुवादक हुँदैन ।
कोपरनिकसको शिष्य र टोलमीको शिष्यले बहस गर्दा उनीहरूले पृथ्वी घुम्छ वा सूर्य भन्ने कुरामा मात्र बहस गरिरहेका हुँदैनन्, उनीहरू ग्रह केलाई भनिन्छ, गतिको अर्थ के हो र एउटा असल वैज्ञानिक सिद्धान्तको प्रमाण कस्तो देखिनुपर्छ भन्ने कुरामा पनि बहस गरिरहेका हुन्छन् ।
यसलाई यसरी पनि बुझ्न सकिन्छ । एरिस्टोटलको 'प्याराडाइम' मा विश्वास गर्ने एउटा व्यक्तिको लागि गतिको अर्थ कुनै वस्तुले आफ्नो प्राकृतिक स्थानमा जाने प्रयास गर्नु हुन्छ । एउटा ढुङ्गा तल झर्छ, किनकि त्यसको प्राकृतिक स्थान पृथ्वी हो र धुवाँ माथि उठ्छ, किनकि त्यसको प्राकृतिक स्थान आकाश हो । अर्कोतिर, न्यूटनको 'प्याराडाइम' मा विश्वास गर्ने व्यक्तिको लागि गतिको अर्थ कुनै बाहिरी बलको कारण कुनै वस्तुकको स्थितिमा परिवर्तन हुन्छ । दुवैले गति शब्दको प्रयोग गरिरहेका छन् तर दुवैको लागि यसको अर्थ बिल्कुल अलग हुन्छ । उनीहरूले एकै शब्दको प्रयोग गरेर दुई अलग-अलग चीजहरूको बारेमा कुरा गरिरहेका छन् । यही नै अतुलनीयता हो ।
कोपरनिकसको शिष्य र टोलमीको शिष्यले बहस गर्दा उनीहरूले पृथ्वी घुम्छ वा सूर्य भन्ने कुरामा मात्र बहस गरिरहेका हुँदैनन्, उनीहरू ग्रह केलाई भनिन्छ, गतिको अर्थ के हो र एउटा असल वैज्ञानिक सिद्धान्तको प्रमाण कस्तो देखिनुपर्छ भन्ने कुरामा पनि बहस गरिरहेका हुन्छन् । उनीहरूको बीचमा कुनै सामान्य सहमतिको आधार नै हुँदैन । उनीहरूले एक-अर्कोलाई कहिल्यै पूर्ण रूपमा बुझाउन सक्दैनन् ।
थोमस कुनका अनुसार एउटा 'प्याराडाइम' बाट अर्कोमा जानु कुनै तार्किक कदम होइन, जहाँ हामी विस्तारै-विस्तारै खुट्किलो चढेर उच्च सत्यतासम्म पुग्नेछौं । यो एउटा धर्मान्तरण जस्तै अनुभव हो । यो एक झट्कामा हुने परिवर्तन हो, जहाँ हामी अचानक सम्पूर्ण संसारलाई एक नयाँ दृष्टिकोणबाट हेर्न लाग्छौं । यसलाई एक प्रकारको दृष्टिकोण परिवर्तन पनि भनिन्छ ।
क्रान्तिपछि वैज्ञानिक वास्तवमै एक अलग संसारमा काम गर्न शुरु गर्छन् । उनीहरूको लागि केवल संसारको बारेमा मात्र सिद्धान्त परिवर्तन नभएर संसार स्वयं परिवर्तित हुन्छ । अक्सिजनको खोजभन्दा पहिले काम गर्ने एउटा रसायनशास्त्रीले जल्दै गरेको पदार्थलाई हेरेर भन्थ्यो, त्यसबाट फ्लोजिस्टोन नामको तत्त्व निक्लिरहेको छ । अर्कोतिर क्रान्तिपछिको रसायनशास्त्रीले त्यही जलिरहेको पदार्थलाई हेरेर भन्छ, त्यसले हावाबाट अक्सिजन लिइरहेको छ । दुवैले एउटै घटना देखिरहेका हुन्छन् तर उनीहरूका आँखाले उनीहरूलाई बिल्कुल दुई अलग प्रक्रियाहरू देखाइरहेका छन् । उनीहरूको लागि तथ्य परिवर्तित भएका छन्, किनकि उनीहरूको 'प्याराडाइम' परिवर्तित भएको छ ।
यो विचारले हामीलाई विज्ञानको बारेमा पारम्परिक सोचमाथि प्रश्न उठाउनको लागि बाध्य बनाउँछ । हामी सामान्यतः विज्ञान सधैं सत्यको निकट गइरहेको छ भन्ने सोच्छौं । हामी आइन्स्टाइन न्यूटनभन्दा बढी सही थिए र न्यूटन एरिस्टोटलभन्दा बढी सही थिए भन्ने ठान्छौं ।
आइन्स्टाइनको 'प्याराडाइम' त्यो ब्रम्हाण्डको अन्तिम सत्यको धेरै निकट छ भनेर उत्कृष्ट भएको होइन, बरु त्यसले न्यूटनको 'प्याराडाइम' ले समाधान गर्ननसक्ने पहेलीलाई समाधान गर्नसक्ने भएकोले त्यो उत्कृष्ट भएको हो ।
थोमस कुन यो विचारसँग पूर्ण रूपमा असहमत छैनन् तर उनी यसलाई एक अलग तरीकाले हेर्छन् । उनका अनुसार विज्ञान कुनै अन्तिम परम सत्यतिर गइरहेको हुँदैन । विज्ञानको कुनै लक्ष्य हुँदैन, बरु विज्ञानले डार्विनको विकासवादको जसरी काम गर्छ । त्यो कुनै चीजतिर विकसित भइरहेको हुँदैन, बरु कुनै चीजभन्दा टाढा विकसित भइरहेको हुन्छ ।
हरेक नयाँ क्रान्ति विगतको 'प्याराडाइम' का समस्या र असङ्गतिलाई समाधान गर्ने एक उत्कृष्ट तरीका हुन्छ । आइन्स्टाइनको 'प्याराडाइम' त्यो ब्रम्हाण्डको अन्तिम सत्यको धेरै निकट छ भनेर उत्कृष्ट भएको होइन, बरु त्यसले न्यूटनको 'प्याराडाइम' ले समाधान गर्ननसक्ने पहेलीलाई समाधान गर्नसक्ने भएकोले त्यो उत्कृष्ट भएको हो । यो समस्याहरूलाई समाधान गर्ने क्षमताको विकासमा एउटा विकास हो, कुनै परम सत्यतर्फको यात्रा होइन ।
यो एउटा धेरै विनम्र र शक्तिशाली विचार हो । यसबाट के बुझिन्छ भने हामीले आफ्नो विद्यमान वैज्ञानिक ज्ञानमा घमण्ड गर्नुहुँदैन । किनकि भविष्यमा कुनै यस्तो क्रान्ति आउनसक्छ, जसले आजको हाम्रो सत्यलाई पनि एउटा पुरानो कहानी बनाएर राखिदिन सक्छ ।
हामी सबै आ-आफ्नो व्यक्तिगत 'प्याराडाइम' मा बाँचेका हुन्छौं । यो 'प्याराडाइम' हाम्रो हेरविचार, संस्कृति, शिक्षा र अनुभवहरूबाट बन्छ । यो दृष्टिकोणबाट हामी संसारलाई हेर्छौं । हाम्रो राजनीतिक विचार, धार्मिक विश्वास, नातासम्बन्ध, आदिलाई लिएर बन्ने हाम्रा धारणा जस्ता सबै कुरा हाम्रो 'प्याराडाइम' कै हिस्सा हुन् । हामीलाई आफू मात्र सही छौं भन्ने लाग्छ । हामीभन्दा अलग सोच्नेलाई या त मूर्ख ठानिन्छ वा गलत ।
अर्को व्यक्ति मूर्ख वा गलत नभएर ऊ केवल अलग 'प्याराडाइम' बाट संसारलाई हेरिरहेको हुनसक्छ । हामीले कसैसँग बहस गर्दा प्रायः तथ्यहरूको आधारमा टक्कर गर्छौं तर सम्भवतः वास्तविक टक्कर 'प्याराडाइम' को हुन्छ । सम्भवतः हामी दुवै अलग-अलग भाषा बोलिरहेका हुन्छौं । यो बुझाईले हामीलाई अरुप्रति बढी सहानुभूतिपूर्ण र आफ्नो सोचप्रति बढी विनम्र बनाउन सक्छ । यसले हामीलाई के मेरो विश्वासमा पनि कुनै असङ्गति छ, मेरो 'प्याराडाइम' मा फिट नभएको कुनै प्रमाणलाई मैले बेवास्ता गरिरहेको त छैन भन्ने जस्ता प्रश्न सोध्नलाई प्रेरित गर्छ । आफ्नो जिन्दगीमा 'प्याराडाइम शिफ्ट' को अनुभव गर्ने कुरा धेरै जटिल छ तर धेरै आवश्यक हुनसक्छ । यसले हामीलाई अगाडि बढ्न र एक असल मानव बन्नमा मद्दत गर्छ ।
जिन्दगीको लागि विज्ञानको शिक्षा
थोमस कुनको यो पुस्तकमा सत्य स्थिर छैन, ज्ञान सीधा रेखामा अगाडि बढ्दैन र क्रान्ति शान्तिपूर्ण हुँदैन भन्ने कुरालाई स्पष्ट बनाइएको छ । यसमा सामान्य विज्ञान र 'प्याराडाइम' को बारेमा स्पष्ट रूपमा बुझाइएको छ । धेरैजसो समय विज्ञानको काम पहेली समाधान गर्ने हो, जुन एउटा स्थापित विश्वदृष्टिकोण अर्थात् 'प्याराडाइम' भित्र रहेर गरिन्छ ।
कुनै पनि क्षेत्रमा गहिरो प्रगतिको लागि अनुशासन र एक साझा ढाँचा हुने कुरा धेरै आवश्यक हुन्छ । तर यो ढाँचामा पनि खतरा हुन्छ । हामी सबै आ-आफ्नो 'प्याराडाइम' को चश्माले संसारलाई हेर्छौ, चाहे त्यो वैज्ञानिक, सामाजिक वा व्यक्तिगत नै किन नहोस् । हामीले सधैं आफ्नो चश्मामा प्रश्न उठाउनको लागि तयार हुनुपर्छ ।
वास्तविक विकास त्यतिबेला मात्र हुन्छ, जतिबेला हामी यी असङ्गतिहरूको सामना गर्ने साहस देखाउँछौं । सम्भवतः हामी गलत हुनसक्छौं भन्ने कुरा स्वीकार गरेपछि मात्र वास्तविक विकास हुन्छ ।
प्रगतिको मार्ग आरामदायी हुँदैन । यो विचित्र र जटिल तथ्यहरू भएर गुज्रिन्छ, जुन हाम्रा मान्यतामा फिट हुँदैनन् । हाम्रो प्रवृत्ति यस्ता चीजहरूलाई बेवास्ता गर्नेखालको हुन्छ । तर वास्तविक विकास त्यतिबेला मात्र हुन्छ, जतिबेला हामी यी असङ्गतिहरूको सामना गर्ने साहस देखाउँछौं । सम्भवतः हामी गलत हुनसक्छौं भन्ने कुरा स्वीकार गरेपछि मात्र वास्तविक विकास हुन्छ ।
हाम्रो व्यक्तिगत जिन्दगीमा पनि सङ्कटको अवधि हुन्छ, जहाँ हामीलाई केही पनि सही भइरहेको छैन भन्ने लाग्छ तर यो प्रायः सबभन्दा विशाल परिवर्तन र विकासको अग्रदूत हुन्छ । सङ्कटले हामीलाई आरामपूर्वक रहिरहेको बक्सभन्दा बाहिर गएर सोच्न बाध्य बनाउँछ । त्यसकारण असङ्गति वा सङ्कट आउँदा त्यसबाट भयभीत हुनुको सट्टा त्यसलाई एक अवसर वा एउटा क्रान्तिको आवाजको रूपमा हेर्न सकिन्छ ।
महत्त्वपूर्ण परिवर्तन विस्तारै हुँदैन, बरु झट्कामा आउँछ । एउटा 'प्याराडाइम शिफ्ट' ले संसारलाई सधैंको लागि परिवर्तित गरिदिन्छ । यसबाट के बुझिन्छ भने कहिलेकाहीँ सामान्य सुधार पर्याप्त हुँदैनन्, कहिलेकाहीँ हामीले सम्पूर्ण जगलाई नै परिवर्तित गर्नुपर्ने हुन्छ । यसले हामीलाई विशाल र साहसिक विचारको शक्ति प्रदान गर्छ ।
कोपर्निकस, डार्विन र आइन्स्टाइन जस्ता क्रान्तिकारीहरूले हामीलाई एउटा व्यक्तिको विचारले पनि संसारलाई परिवर्तित गर्ने शक्ति राख्छ भन्ने कुरा सिकाए । यो कुराले हामीलाई आफ्नो सोचमा क्रान्तिकारी हुनको लागि प्रेरित गर्छ ।
अन्तमा, यो पुस्तकले अतुलनीयता र प्रगतिको प्रकृतिको बारेमा धेरै राम्रोसँग स्पष्ट बनाएको छ । थोमस कुनका अनुसार हामी सम्भवतः कुनै अन्तिम सत्यतिर गइरहेका हुँदैनौं । हामी केवल जटिलभन्दा जटिल समस्याको उत्कृष्ट समाधानकर्ता बनिरहेका हुन्छौं । यसले हामीलाई वैचारिक कट्टरताबाट बचाउँछ । हामीभन्दा अलग सोच राख्ने मानिस सम्भवतः गलत नभएर अलग हुन्छन् । उनीहरूले एक अलग 'प्याराडाइम' बाट संसारलाई हेरिरहेका हुन्छन् । यसबाट सम्वाद र सहानुभूतिको महत्त्व थाहा हुन्छ ।
आजको हाम्रो सत्यता भोलिको कथा बन्न सक्छ । जस्तो कि हिजोको सत्यता आज एक मिथक बनिसकेको छ । त्यसकारण थोमस कुनको यो पुस्तक विज्ञानको दर्शनको पुस्तक मात्र नभएर सोच्ने तरीकाको बारेमा पनि लेखिएको पुस्तक हो । यसले ज्ञान कसरी बन्छ, परिवर्तित हुन्छ र कहिलेकाहीँ मर्छ पनि भन्ने कुरा सिकाउँछ । यसले हामीलाई आफ्ना मान्यताहरूमा प्रश्न उठाउन, परिवर्तनलाई अपनाउन र अरुको दृष्टिकोणलाई सम्मान गर्न सिकाउँछ ।
सन्दर्भ स्रोतहरू
- Kuhn, Thomas S. (1962). The Structure of Scientific Revolutions. University of Chicago Press.
- https://www.ebsco.com/research-starters/literature-and-writing/structure-scientific-revolutions-thomas-s-kuhn
- Kuhn, Thomas S. (1977). The Essential Tension: Selected Studies in Scientific Tradition and Change. University of Chicago Press.
- Fuller, Steve. (2000). Thomas Kuhn: A Philosophical History for Our Times. University of Chicago Press.
- Hoyningen-Huene, Paul. (1993). Reconstructing Scientific Revolutions: Thomas S. Kuhn's Philosophy of Science. University of Chicago Press.
- https://www.lri.fr/~mbl/Stanford/CS477/papers/Kuhn-SSR-2ndEd.pdf
- https://ndpr.nd.edu/reviews/kuhn-s-the-structure-of-scientific-revolutions-revisited/
- https://plato.stanford.edu/entries/thomas-kuhn/
- Stanford Encyclopedia of Philosophy: "Thomas Kuhn"
- Study and Research of various websites, blogs, online portals, youtube channels, etc.

सबै मानिसहरु ताराको धूलोको कण !

लगभग हरेक चीजको सङ्क्षिप्त इतिहास

पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र: प्रशान्त महासागरको ‘रिङ अफ फायर’

रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) !

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

प्रतिक्रिया