हुगली मे आग लग जाएगी

घटना पश्चिम बंगालको हो । सन् २०११ भन्दा अघिको यो घटना हो । सन् २०११ पछि भारतीय मार्क्सवादी पार्टीको नराम्रो हार भयो । त्यसअघि ३४ वर्षसम्म पश्चिम बंगालमा मार्क्सवादी पार्टीको एकछत्र सरकार थियो । ज्योती बसुले मुख्यमन्त्रीको रुपमा लामो कार्यकाल बिताए । यसपछि बुद्धदेव भट्टाचार्य मुख्यमन्त्री भए । उनको कार्यकाल नै मार्क्सवादी पार्टीको अन्तिम सरकार थियो ।

बसुकै कार्यकालको कुरा हो । पश्चिम बंगालको हुगली समष्टि (जिल्ला) निर्वाचन क्षेत्रमा विधानसभा  (नेपालको प्रदेशसभा जस्तै) मा ६ सिट रहेछ । त्यो ६ सिटमा एकजना बनर्जी वा चटर्जी (पुरानो कुरा भएकोले अहिले नाम थर विर्सेँ । दुइ मध्ये एक थर हो ।) भएका बंगाली दादाको कब्जा जस्तै रहेछ । नेपालका कम्युनिस्टले लाल किल्ला भने जस्तै । तीनै बंगालीले समर्थन गरेको उम्मेदवारले मात्रै जित्दथ्यो । बाँकी ५ सिटसहित बंगाली दादा आफु पनि जितेर आउँथे । तीनले कुनै पार्टीबाट टिकट नपाए निर्दलीय  (स्वतन्त्र) भएर पनि ६ वटै सीट जित्दथे । बाँकी ५ सीटमा पनि उनकै पक्षका विजयी हुन्थे ।

एकपटक मार्क्सवादी पार्टीको सरकार बनाउन उनको समर्थन जरुरत भयो । उनैले ६ सीटको समर्थन गरे, सरकार बन्यो । सरकार बनेको केहिदिन पछि तीनै बंगाली दादा मूख्यमन्त्रीको कार्य कक्षमा पुगेर मन्त्रीको टेबल ठटाउँदै भनेछन्, ‘हुगली मे आग लग जायेगी ।’ आदि इत्यादि । यो सुनेर बसु छक्क परे । हुगली भनेको नदी हो । नदीमा पानी हुन्छ । पानीमा कसरी आगो लाग्छ ? बसुको गिदी ह्ययाभ्स भएछ ।

दारु मन्त्रालय !

ती सांसद बसुको कार्यकक्षबाट बाहिरिए पछि त्यहाँ भएका बसुका सल्लाहकारले भनेछन्,  ‘यसले मन्त्री खोजेको हो, मन्त्री बनाउनुस । नत्र सरकार ढालिदिन्छ ।’ बसुले मन्त्री मण्डल विस्तार गरिसकेका थिए । बाँकी मन्त्रालय थिएन । सरकार जोगाउन मन्त्री नदिइ पनि भएन । धेरै माथापच्छि भएपछि उनले फाल्टै मन्त्रालय गठन गर्ने निधो गरे । त्यो मन्त्रालयको नाम थियो दारु मन्त्रालय । दारु मन्त्री पनि तिनैलाइ नियुक्त गरे । सरकार पनि जोगियो । यसरी ती बंगाली दादा बाचुन्जेल दारु मन्त्री भइरहे । उनी मरेपछि दारु मन्त्रालय पनि बसुले खारेज गरिदिए ।

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई पनि आजभोली यस्तै चपेटा आइलागेको छ । एक से एक पात्र सामाजिक सञ्जालदेखि बालुवाटार, शितल निवाससम्म घेराबन्दी, जुलुस मध्य रातसम्म गर्दै हिँडेका छन् । देशका विभिन्न भागबाट मन्त्री खान ओरिएका छन् । सामाजिक सञ्जालमा अबको मन्त्री यी यी हुनुपर्छ भन्दै विज्ञापन दिक्कलाग्दो गरी आएको आयै छ । फलाना चिलाना वा म मन्त्री भइनँ भने यो सरकार केहि छिन नटिक्ने, केही गर्न नसक्ने फरमान जारी गरेका गर्यै छन् । म मन्त्री भइनँ भने पानीमा आगो लाग्छ भने जसरी । त्यहीमाथि कार्कीसंग त अझै मालदार मन्त्रालय बाँकी नै छ । दारु मन्त्रालय खोलीरहनु पर्दैन । जेन जी आन्दोलनले ल्याएको यो अवसर कतिपयको लागि बगेको गंगा हो । बहती गंगामा हात धुन जस्ले पनि कोशिस गर्न सक्छ । कि कसो ?