आँखीझ्यालबाट हेर्दा लाल कान्छी

तमोरै खोलाको छाल कान्छी, छोटो छ जीवन लाल कान्छी

धानैमा नाचौं घुमेर, आउँदैन फेरी उमेर ।

ओ.......रि.......ल्लो ।

बाह्रैमा हाते बाबियो डोरी त्यो पनि मक्किन्छ

आज र भोलि दिन गन्दागन्दै जीन्दगी सक्किन्छ ।

ओ.......रि.......ल्लो ।

सुनिता थेगिम र डि.बी. लिम्बूको पाश्र्व गायकीमा सुरु हुने लाल कान्छी टेलिशृङ्खलाले हाक्पारे साम्लोको विरहमा पस्न बाध्य त बनाउँछ नै । लिम्बुवान भूमिको प्राकृतिक संगीतमा जीवन विताएकाहरुका लागि टेली शृङ्खलाको मूल गेट यो गीतका हरफ नै काफी छ ।

त्यसपछि सुरु हुन्छ सम्बाद:  

‘आज त कता मरेछन हउ ?

कोही पनि आउँदैनन त !

दिनमा एक लाल सुन आउने ‘याङ्’ त कमाउनै पर्छ ।

नत्र सपना कहाँ पुरा हुन्छ र !

ठूलै पो सपना देखियो की क्या हो ?’

रक्सी भट्टीमा अबेलासम्म ग्राहक नथुरेपछि यस्तै भाकामा ‘लाल कान्छी’ फतफताउँदै थिइन । ऐन मौकामा ‘नास्पाते’ त्यहीँ टुप्लुक्क आइपुग्छ । लाल कान्छीसंग एकैछिन इत्रिन्छ । र, एक गिलास रक्सी माग गर्छ । छिनभरको फरकमा ‘जारीवाल काँइला’ पनि त्यहीँ पुग्छ र ‘दुइ गिलास रक्सी है’ भन्दै भट्टीको ब्रेन्चमा बस्छ । यस्तै यस्तै सम्बादबाट सुरु हुन्छ ‘लाल कान्छी’ शृङ्खला ।

‘लाल कान्छी’ पूर्वी नेपाल लिम्बुवान थातथलो अन्तर्गत तेह्रथुमको विकट लिम्बू गाउँको दैनिक जीवनमा आधारित शृङ्खला हो । जतिबेला यो गाउँमा कुनै सवारी साधन चल्ने बाटोघाटो थिएन । यसैले यो सिरियल त्यसैबेलाको इतिहासको चस्मा लगाएर हेर्नुपर्छ । जहाँ टेलिफोन गर्न पनि सदरमुकाम म्याङलुङ धाउनु पर्दथ्यो । गाउँमा स्कूल, पाठशाला थिएन । स्वास्थ्य चौकी कहाँ हुने ? उही फेदाङ्मा, धामी, झाँक्री वजिुवाकै झारफुकको विश्वासमा जीवन बाँच्ने वाध्यता थियो ।

कथाको बेथा:

यता ‘लाल कान्छी’का २२ अंक प्रशारित भैसकेका छन् । सरासर अंक हेर्दा लिम्बू गाउँको लाल कान्छीको त्यो भट्टी मन बुझाउने सार्वजनिक चौतारो हो । गाउँलेको रसरंग गर्ने एकमात्र पौवा ।

लाल कान्छी अर्कै कुनै गाउँबाट यहाँ गुजारा चलाउन आइपुगिन । रक्सी–जाँड बेचेरै एक–एक लाल सुन किन्दै जाने उनको भित्री चाहना मुताविक सम्भवतः उनको नाम अनायस लाल कान्छी रहन गयो । यतिनै शृङ्खलामा पनि लाल कान्छी छपक्कै भिजेकी छिन । रक्सीको कारोबार मात्र हैन गाउँले सामाजिक जीवनमा आइपर्ने गर्जो खाँचोमा गच्छेअनुसार सहयोग गर्छिन । सर–सापट, अर्म–पर्म काम चलाउँछिन ।

लाल कान्छी को हुन ? कहाँबाट यो गाउँमा आइन ? कुनै खुट खबर छैन । विहे गरेकी छैनन्, ‘कन्ने’ छिन । एक्लै बस्छिन । उनको परिवारको अत्तोपत्तो छैन । कान्छीको छिमेक, परिवार, साथी संगाती जम्माजम्मी आधा दर्जन केही बढी गाउँले छन् ।  कथाको परिकल्पनाकारले लाल कान्छी शीर्षकमा कथाको मियो बनाउन खोजेको देखिन्छ , यतिन्जेल कान्छीको सिकुवामा शृङ्खला घुमेको घुम्यै छ । अहिलेसम्म कथाको गेडा यति नै हो ।

अर्ग्यानिक पात्रहरु:

कथालाई अर्ग्यानिक (प्रांगारिक) बनाउन पात्रहरुको नाम तपशिल बमोजिम राखिएको छ । सिरियलको प्रमुख पात्र ‘लाल कान्छी’ (विनु तुम्बाहाङ्फे) हुन । ‘घुमाउने माइला’ (कुशल थलङ), ‘जारीवाल काँइला’ (डिबी लिम्बू), ‘नास्पाते’ (मदन वनेम), ‘नास्पातेनी’ (गीता माबुहाङ), ‘घिउ कुमार’ (शिवकुमार सम्बाहाङ्फे), ‘गोगने’ (सञ्जय निङलेकु) र ‘राई अन्तरे’ (शिरकुमार साम्पाङ) महत्वपूर्ण पात्र हुन ।

त्यो समयको प्राकृतिक–सामाजिक अवस्था अनुरुपकै पात्रका नाम जुराइएका छन् । घर छेउ लप्सीको बोट हुने लप्सी बोटे, काभ्राको बोट छेउको काभ्रे, कटहरको बोट छेउको कटहरे, डाँडामा घर हुने डाँडा घरे भने जस्तै नास्पाते, नास्पातेनी । यस्तै ठूलो र कौशी, बरण्डा वरीपरी घर भएकोलाइ घुमाउने, गोगनको बुट्यानमा जन्मने गोगने, एकाध लाल सुन खोजी हिँड्ने लाल कान्छी आदि । रमाइलो प्रसंग त के छ भने एक जना अविभाहित पात्रको नाम ‘जारीवाल काँइला’ छ । उनले यो नाम जारी हर्कत गरी हिँड्ने आफ्नै बाबुको बंश विरासतमा पाएको सम्बादबाट थाहा हुन्छ ।

लिम्बुवानको गाउँ ठूलो: खानु के छ नाउँ ठूलो

लिम्बुवानको चौविस थुममा एउटा भनाइ छ, ‘लिम्बुवानको गाउँ ठूलो, खानु के छ नाउ ठूलो ।’ यो सिरियलमा यदाकदा मासु बिलो लगाइएको भएपनि रक्सी–जाँडकै प्रसंग बढी छ । जाँड–रक्सी लिम्बू समाजको सभ्यता–संस्कृतिसंग जोडिएको अभिन्न खाद्य (पेय) पदार्थ हो । जन्मेदेखि मृत्यु संस्कारसम्म रक्सीको महिमा कैरन गरेर साध्य छैन । तर आदिवासी समुदायले आविश्कार गरेको यो खाद्य पदार्थ मानव जातिकै लागि अनुपम उपहार भएकोमा भने शंका छैन ।

यदाकदा लिम्बू समुदायको सामाजिक काममा बाहेक यी शृङ्खलामा कुनै भोजभतेर हुँदैन । गाउँको हालखबर लाल कान्छीको भट्टी विमर्शबाट सुरु भएर त्यहीँ समापन हुन्छ । लिम्बुवान चौविस थुमको प्रचलित भनाइ बमोजिम सम्भवतः यो गाउँको नाउ पनि ठूलै भएकोले टेलि शृङ्खलाले महत्व पायो होला । खानु त च्याँख्ला, ढिँडो र उही तीनपाने मै कथा तन्किएको छ ।

पात्र चयन र अभिनय:

सिरियलमा एक जना राई अन्तरे बाहेक सबै लिम्बू समुदायका पात्र छन । राई अन्तरे गाउँमा मास्टरी गर्छन । गाउँलेलाई अर्ती उपदेश दिँदै हिँड्छन । परिवारको उन्नतीमा लागेका छन । कथाले मागे जस्तो उनको भूमिका कमजोर छ । अभिनय चैं जिवन्तभन्दा बढी नाटकीय लाग्छ ।

थोरै सांस्कृतिक चेत भएको पात्रको भूमिकामा नास्पाते छन । लिम्बू संस्कृतिमा उनले अन्तरंग भूमिका निभाउने भरमग्दुर प्रयास गरेका छन् । काटीकुटी लिम्बू तन्नेरीको झ्वाँक देखाउँदा उनले कथालाइ न्याय गरेका छन् । नास्पाते च्याबु्रङ बजाउँछन । रसरंग गर्न खप्पिस छन् । चर्को र अग्र्यानिक शब्द प्रयोग गरेर सम्बादलाइ निखारेका छन । उनको श्रीमती नास्पातेनीको छुच्ची लिम्बूनीको भूमिकामा कुनै खोट लाउनु छैन । बुढी बाख्राको छाला काढेर च्याब्रुङ बनाउन नपाएको झोँकमा नास्पाते, नास्पातेनीको घर झगडासम्म कथा आइपुगेको छ ।

बाँकी सबै पात्रको विहे भएको छैन । यसमध्ये जारीवाल काँइला पनि प्रमुख पात्र हुन । काँइलाको बनिबुतो गर्नु बाहेक अर्को उपाय नभएकोले ‘कन्ने’ छन । यिनले निभाएको भूमिका दूरदराज लिम्बू गाउँको लिम्बू तन्नेरीको सक्कल बमोजिम नक्कल दुरुस्त छ । घिउ कुमार सांस्कृतिक चेत फिर्दै गएको भूमिकामा छन् । बढी गम्भीरताले यिनको भूमिका खुम्चिएको छ । तर कथालाई अन्याय नै चैं गरि हालेका छैनन । गोगने सांस्कृतिक रुपले अचेत पात्रको भूमिकामा छन । अहिलेको ‘जेन–जी’ पुस्ताको उरण्ठेउलो भूमिकालाई थोरै मात्र न्याय दिएका छन् । यिनलाइ कथाले कमजोर भूमिका दिएको छ ।

सिरियलका कल्पनाकारले घुमाउने माइलालाइ प्रमुख पात्रकै रुपमा उभ्याउन खोजेका छन । गाउँमा पनि सम्पन्न माइला वैदेशिक रोजगारीबाट पैसा कुम्ल्याएर फर्किएका हुन । लाल कान्छीको भट्टी लगभग उनकै कमाइले चलायमान हुन्छ । माइला हङकङ आइडिमा जान तम्सिएका छन् । उनी हङकङ गएभने यो सिरियलको कथाले कता फेरो मार्ने हो एकिन छैन । तर पछिल्ला पटकथामा उनको आइडी प्रकरण अल्झिएको छ र बाबुको ओखतीमुलो गर्न लाल कान्छीसंग सहयोग जुटाउन पर्ने नौबतमा आइ पुगेका छन् । 

सबैभन्दा मियो पात्र लाल कान्छीको भट्टीवाला भूमिकामा कुनै कमी छैन । लिम्बूवानको संस्कृतिमा भिज्न उनको प्रयास प्रयाप्त नै छ । कथालाई न्यायपूर्ण सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निभाउलीन भन्ने कुरा उनको शारीरिक हाउभाउले देखाउँछ ।

सम्बादमा अश्लिलता:

लाल कान्छीका अनेक शृङ्खलामा दर्जनौ पटक ‘जाँठा’ शब्द सम्वादमा सहज प्रयोग भएको छ । यस्तो शब्द गैर–लिम्बू समुदायमा अनौठो वा असहज लाग्न सक्छ । लिम्बुवान मै बसेका गैर–लिम्बू समुदायका लागि चाहिँ सामान्य नै लाग्छ । हुनतः कतिपय खस नेपाली भाषाका शब्दहरु लिम्बू भाकामा श्लिल छैनन् । बहु–भाषिक समाजमा यस्तो हुनुलाइ अनौठो मान्नु हुँदैन ।

अर्को लिम्बू समुदायमा यौवनिक मनोविज्ञानमा जिस्क्याउने परम्परा नै छ । देवर–भाउजुबीच जिस्किने छिल्लिनु असमान्य होइन । गैर–लिम्बू (लिम्बुवान बाहिरका)लाई पचाउन हम्मे पर्ला । यसो त दूर्घटना नहुने गरी जिस्कनु लिम्बुवानमा मनोरञ्जनकै पाटो हो । दूर्घटना भै हाले त ‘जारी’ गर्ने परम्परागत प्रकरण त छँदैछ ।

टेली सिरियलको भिड:

सूचना प्रविधिको अभूतपूर्व विकासले ल्याएको सामाजिक पोर्टलका कारण यस्ता सिरियलको हटिया लागेको छ । राम्रो त यो छ की आफुलाइ जँचेको सिरियलबाट सूचना, सन्देश, शिक्षा र मनोरञ्जन लिने हो । शृङ्खलाका उत्पादकले कुनै काँचका पर्दा रुँगेर, समय खरिद गरेर पर्खनु अब पर्दैन । रामायण, महाभारत र कतिपय सामाजिक आरोह अवरोहका टेली शृङ्खला दृश्यपान गरिएकै हो । नेपालकै कमेडियन सिरियल हिजो आजका कुरा, जिरे खुर्सानी, मेरी बास्सै लगायतको रस्वास्वाद लिएकै हो । माथि उल्लेखित कतिपय सिरियल बन्द भए । तर नयाँ नयाँ शृङ्खलाको भिड लागेकै छ । यस्तै भिडमा लाल कान्छी जुनकिरी झैं देखा परेको छ ।

मदन वनेमको परिकल्पना÷गीत÷संगीत र निर्देशनमा प्रशारित लाल कान्छीको संगीत संयोजन रणदीप भुजेलले गरेका छन । सुनिता थेगिम र डि.बि. लिम्बूको सुगम पाश्र्व गायकी छ । सञ्जय निङ्लेकुको सम्पादन, शीरकुमार साम्पाङको क्यामेरामा कैद लाल कान्छी स्टुडियो किङ र ग्लोरी मिडियाको सहभागितामा जिएम प्रोडक्सन प्रालिले निर्माण गरेको हो । गजब त के छ भने सबै कलाकारले उत्पादन प्रविधिमा पनि भूमिका निभाएका छन ।

मनको कैरन: 

पूर्वी नेपालको कुनै गाउँको प्रकृति, मानव वस्ती र त्यहाँको सामाजिक सांस्कृतिक लयमा खेलिएको यो कथाले पूर्वी पहाडको सिमान्तकृत लिम्बू समुदायलाई त बोकेकै छ । अर्थात समग्रमा यो क्षेत्रीय ‘प्राकृतिक–सामूदायिक’ तथा सांस्कृतिक रुपरेखा हो । त्यहाँको भूगोल, प्रकृति, जीवन–जगत, सुखान्त, दुखान्त गाउँको कथा समेटिएकोले कथा गाउँमा हुन्छ भन्ने भनाइ प्रस्ट भएको छ ।

अक्सर कथा त गाउँमै हुन्छ । श्रम, दुःखजिलो, पीडा, शोषण, उत्पीडन, अभाव दूर दराज र विकट गाउँमा हुने हो । सूचना सञ्चारका अनेक विधाले यसैमा बोल्ने हो । यसमानेमा सिरियलले पहाडि गाउँको प्रकृति र समाजलाई उधिनेर बोल्यो । तर यस्ता कथा हरेक गाउँ र समुदायमा हुन्छ ।

रहलपहल:

लाल कान्छीले गाउँमा कुखुरा चोरेको प्रसंगबाट बसाएको पञ्चायतीदेखि सुरु शृङ्खलाले स्थानीय सिमान्तकृत संस्कृतिलाई ब्रम्हाण्डीकरण गरेको छ । जारीवाल काँइलाको आमाको उपचारमा अंक रोकिएको छ । घुमाउने माइला मुगलान हान्निने कुरा यथास्थितिमा छ । यहाँनेर आएर कथानकले कोल्टे फेरेन भने लाल कान्छीको भविष्य सिमित हुने देखिन्छ ।

हाक्पारे साम्लो गाउँदाको लय ‘ओ.............. रि......ल्लो’ गाए जस्तो एकहोरो कथा एकनास रहन सक्तैन । जिउँदो कथा त अविरल वग्ने हिम नदी जस्तै हो । लाल कान्छीमा घरीघरी पाश्र्व गीतले भने जस्तै चैं नहोस ।

बाह्रैमा हाते बाबियो डोरी त्यो पनि मक्किन्छ,

आज र भोली दिन गन्दागन्दै जिन्दगी सक्किन्छ ।