न लेखिएको हो कि?

न लेखिदिएको हो कि?

न देखिएको हो कि?

आजभोलि देशमा

साहित्य, कला, संस्कृति...

मौन छन्, अँध्यारो छ,

गोठालोबिनाको बथानझैँ।

 

खँदिला गोष्ठीहरू—

विचार र अनुभूतिको सागर उर्लिने थलोहरू—

लोप भएका छन्,

धुलो र चुप्पी मात्र बाक्लिँदैछ।

 

प्रबुद्ध मनहरू, कता हराउनु भयो?

लौ न, कोही कलम चलाउनुहोस्,

देशको धड्कन सुकेर जान्छ जस्तो छ।

विषयको कमी छैन,

कलम र कलमधारीको कमी छ।

 

दिनहुँ हजारौँ छोरीछोराहरू

उड्छन् परदेशको बाटो समातेर;

त्यसैको कथा लेखौं न,

घरभित्र पैसाको कमीले

छोराछोरीबाट अपमानित

बाबुआमाको पीडा उतारौं न।

 

अझ लेखौं भने,

कफिनभित्र सुतेर फर्किने

देशका उज्याला सपनाहरूको

आर्यघाटमा पालो कुरिरहेको

मौन कथा भर्न सकिन्छ।

 

खै, कता हुनुहुन्छ तपाईँहरू?

भ्रष्टाचार अब राष्ट्रिय धर्मजस्तो भइसकेको छ,

सत्ता चढ्न र नेता बन्न

भ्रष्ट हुनैपर्ने संस्कार उब्जिएको छ।

त्यो लेखौं न!

 

आस्था र निष्ठा हराउँदै

देश बिनासको छेउछाउ पुगेको छ;

न्यायालयमा कारोबार,

विधि विधानको हार,

संस्कार र संस्कृतिको अपमान

सबै कथा बनेर पर्खिरहेका छन्।

 

राष्ट्र र राष्ट्रियता

धन र स्वार्थको दलदलमा बन्दकी परेको बेला,

तपाईंहरू कहाँ?

कतै विदेशी भिसाको तेल लगाएर

एनआरएन सन्तानको भोजभतेरमा

व्यस्त त हुनुन्न?