झोले: झोला बोक्ने कि विवेकशून्य?

राम्रा, होनहार, दूरदृष्टि भएका र इमान्दार युवाहरुलाई राजनीतिमा प्रवेश गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । कुनै पार्टीको सदस्यहुनासाथ त्यसलाई झोले देख्ने समाजमा कसरि राम्रो व्यक्तिले राजनीतिमा प्रवेश गर्लान् त? भन्ने नै आजको यक्षप्रश्न हो ।
मिक्स्ड मार्शल आर्ट (एम. एम. ए.) विधाको म्याट्रिक्स फाइट नाइट (एम. एफ. एन.) प्रतिस्पर्धाको ब्यान्टम वेट श्रेणीमा च्याम्पियन भएका खेलाडी रवीन्द्र ढाँटलाई जब सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा निमन्त्रणा गरी बधाई दिंदै सम्मान गर्नुभयो र चिया बिस्कुट खुवाएर बिदाई गर्नुभयो, तब सामाजिक संजाल लगायत नेपाली मिडियामा उक्त कार्यको प्रशंसा भन्दा नकारात्मक टिप्पणी बढी भयो । यस पंक्तिकारले संजालमा पोष्ट गरिएको कुनै एक नकारात्मक स्ट्याटसमा “राष्ट्रपतिले बोलाएर बधाई दिनु र सम्मान गर्नु पनि कुनै पुरस्कार भन्दा कम होइन, सकारात्मक बनौं” भनेर टिप्पणी गर्दा सबै भन्दा पहिलो कमेन्ट नै “झोले” भनेर नोटिफिकेसन आयो । त्यसो त धेरैले नकारात्मक कमेन्ट गर्नुको साथै केहीले मेरो टिप्पणीलाई सकारात्मकताका साथ लाइक पनि गरे । तर उक्त झोले भन्ने कमेन्टले मेरो मानसपटलमा एक प्रकारको हलचल नै मच्चायो, मेरो अस्तित्व र विवेकलेले उक्त झोले शब्द पचाउन सकेन र यो लेख लेख्न बाध्य भएँ ।
सम्माननीय प्रधानमन्त्री के. पी. वलीले आफू जनताको झोले भएको र जनताको कल्याणको लागि जनताको झोला बोकिरहने भन्ने भाव सहितको घोषणा पश्चात नेकपा एमालेले झोले अभियान नै चलाएको थियो । तर उक्त अभियानले सोचेको जस्तो समाजमा सकारात्मकता पैदा गरेन । मेरो राजनैतिक चेतनाले मूलधारका कुनै राजनैतिक पार्टीलाई समर्थन गर्न सक्ला तर हाल म कुनैपनि राजनैतिक पार्टीसंग आवद्ध छैन ।
झोले व्यक्ति हो कि मानसिकता ?
झोले भनेको सम्पत्तिको नाममा झोला मात्र भएको मान्छे वा झोला बोक्ने मान्छे वा चोक्टाको सट्टा झोल मन पराउने मान्छे वा लागु पदार्थको नशामा झुलिरहेका मान्छे वा के हो त झोले? नेपाल प्रज्ञा-प्रतिष्ठान द्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार झोले भनेको अर्काको झोला बोक्ने, झोल भएको रसदार र झोला भिरेर हिंड्ने भनेर अर्थ्याइएको छ ।
सत्यवादी, सोझा, इमान्दार र मेधावी व्यक्तिहरुलाई राजनीतिमा प्रवेश निषेध गर्ने उद्देश्यका साथ नेपालमा जालझेल र षड्यन्त्र गर्नसक्ने , खुट्टातान्ने प्रवृत्ति भएका, झुट्टा बोल्ने तथा आश्वासन दिन सक्ने, लाज नभएका, बाहुबली गुण्डा र बेइमानले मात्र राजनीति गर्नु पर्दछ भन्ने भाष्य तयार गरिएको छ ।
राजनीति फोहोरी खेल हो । सत्यवादी, सोझा, इमान्दार र मेधावी व्यक्तिहरुलाई राजनीतिमा प्रवेश निषेध गर्ने उद्देश्यका साथ नेपालमा जालझेल र षड्यन्त्र गर्नसक्ने , खुट्टातान्ने प्रवृत्ति भएका, झुट्टा बोल्ने तथा आश्वासन दिन सक्ने, लाज नभएका, बाहुबली गुण्डा र बेइमानले मात्र राजनीति गर्नु पर्दछ भन्ने भाष्य तयार गरिएको छ । कथंकदाचित कोहि सोझो र इमान्दार व्यक्ति कुनै संस्था वा दलको नेतृत्व र कर्मचारी संयन्त्रको ठूलो ओहोदामा पुगी हाले पनि सर्वसाधारण जनता, नातागोता र छरछिमेकमा भएका व्यक्तिले गर्ने टिप्पणी चाहिँ यस्तो हुन्छ “ओहो ! वहाँ त सोझो हुनुहुन्छ वहाँले केहि गर्न सक्लान जस्तो लाग्दैन” । सर्वसाधारण जनताको अपेक्षा पनि कोहि चिने जानेको व्यक्ति ठूलो ठाउँमा पुगेमा उसले आफ्नो छोराछोरी वा आफन्तलाई राम्रो जागिर लगाई देओस्, लाभकारी पदमा नियुक्ति देओस्, भनेको ठाउँमा सरुवा र बढुवा गरिदेओस्, ठेक्का पट्टा मिलाई देओस्, आफ्नो संस्थालाई आर्थिक सहयोग गरिदेओस्, आफ्नो गाउँ ठाउँमा बढी बजेट छुट्टयाओस भन्ने हुन्छ । आफ्नो लागि त्यस्तो अपेक्षा गर्ने जनसमूहले आफूले भने जस्तो नभएपछि भोलिपल्ट देखि गाली गर्ने र कसैले नियमानुसार लाभ लिएको भए उसलाई झोलेको ट्याग झुण्ड्याई हाल्छन् । कोहि व्यक्ति कुनै प्रतिस्पर्धात्मक छनौट परीक्षामा पास भएमा आफै पास भएँ भन्छ भने आफू अयोग्य भएर असफल भएमा मलाई फेल गरियो भन्छ । आफू लाभमा हुन्जेल सम्म सबै ठीक र आफू बन्चित हुनासाथ गाली गर्ने प्रवृत्ति रहेको समाजले आफू बाहेक सबैलाई झोले नै देख्दछ । एक हिसाबले भन्नेहो भने यस्तो मानसिकता भएको समाजले राजनीतिकर्मीलाई पनि अवैध क्रियाकलाप गर्न उक्साउँछ । हाम्रो जस्तो व्यवस्थामा राजनीति गर्न जनसमर्थन चाहिन्छ र नियमानुसार गर्ने नेताले अपेक्षित जनसमर्थन पाउँदैन । हाम्रो समाजको मानसिकता नै झोले प्रवृत्तिको छ जसले आफू बाहेक सबैलाई झोले नै देख्दछ । राम्रो र नराम्रोको पहिचान नगरी विवेकशून्य समर्थन र विरोध गर्नु पनि झोले प्रवृत्ति नै हो ।
शब्दकोशमा जे सुकै अर्थ लाग्ने भए पनि नेपालको राजनैतिक वातावरणमा दास शब्दले विवेक भएका तर वाध्यताले बोल्न नसक्ने समुहलाई बुझाउँछ, अन्धभक्त शब्दले आफूसंग विवेक भए पनि विवेक प्रयोग नगर्ने बगाललाई बुझाउँछ भने झोले शब्दले आफ्नो विवेक बन्धकी राखेर गलतलाई पनि सहि भन्ने जमातलाई बुझाउँछ । तसर्थ, झोले भनेको कुनै अमुक व्यक्ति होइन यो त मानसिकता हो ।
मान सम्मान के हो?
जन जनको मन मनमा आदर र प्रेम सहित बस्नु मान सम्मान हो । कसै प्रति उनले गरेको काम, हासिल गरेको सफलता र उनको भावनाको कदर गर्दै स्वस्फुर्त रुपमा अधिकांश जनताको मनमा निज प्रति निस्कने प्रेम र आदर नै वास्तविक मान सम्मान हो । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश अनुसार मान भनेको आदर, सत्कार, सम्मान, प्रतिष्ठा, दर्जा, पदवी लगायत अनेक अर्थहरु हुन्छन् त्यस्तै सम्मान भनेको प्रतिष्ठा, इज्जत, विशेष मान, ठूलो आदर, सत्कार हो । मान सम्मानको लागि पैसा भन्दा पनि इज्जत र आदर जरूरी हुन्छ । पुरस्कार हो भने त्यसमा केही उपहार, मेडल, पारितोषिक वा इनाम दिइन्छ ।
कसै प्रति उनले गरेको काम, हासिल गरेको सफलता र उनको भावनाको कदर गर्दै स्वस्फुर्त रुपमा अधिकांश जनताको मनमा निज प्रति निस्कने प्रेम र आदर नै वास्तविक मान सम्मान हो ।
पंक्तिकारले शुरुवातमा भने जस्तै राष्ट्र प्रमुखले राष्ट्रपति कार्यालयमा निमन्त्रणा गरेर प्रसंशा गर्नु, बधाई दिनु र सम्मान गर्नु पनि त ठूलो मान हो । जो कोहीलाई त्यसरी राष्ट्र प्रमुखले मान सम्मान दिंदैनन् र यस्तो मान सम्मान पैसाले किन्न पनि सकिन्न । जो कोहीलाई राष्ट्रपति निवासमा बिनाकाम प्रवेश गर्न पनि निषेध गरिएको हुन्छ । मान सम्मान गर्न कुनै मूल्यवान वस्तुको आवश्यकता हुँदैन । सर्वसाधारण नागरिकको लागि कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको उपलब्धिमा कुनै व्यापारीले दिएको लाखौं रकमको इनाम भन्दा राष्ट्रको अभिभावक राष्ट्र प्रमुखले दिएको धन्यवाद मुल्यवान हुन्छ र ऐतिहासिक पनि । पैसा चलायमान हुन्छ अस्थायी हुन्छ तर सम्मान चीरस्थायी हुन्छ । एम. एफ. एन. च्याम्पियन रवीन्द्र ढाँटलाई सरकारले रु. पांच लाख दिने घोषणा गरिसकेको छ साथै उचित समयमा थप सम्मानित र पुरस्कृत गर्ने नै छ तर विना पुरस्कार राशीको सम्मानलाई पनि हामीले अपमान गर्नु हुँदैन राम्रो कुराको प्रशंशा पनि गर्न सिक्नु पर्दछ ।
किन नकारात्मकता?
संसारमै नेपाल यस्तो देश हो जहाँ सबैभन्दा बढी राजनीतिकै गफ हुन्छ । यस्तो लाग्छ चिया पसलदेखि पाँचतारे होटलसम्म, कार्यालय सहायकदेखि सचिवसम्म, मगन्तेदेखि खर्बपतिसम्म, दूरदराजका कुना कन्दरा देखि शहरबजारसम्मका सबै व्यक्तिहरु राजनीति शास्त्रका धुरन्धर विद्वान् हुन् ।
नेपालका हरेक तह र तप्कामा राजनीतिकरण भन्दा पनि पार्टीकरण भएको छ । विद्यार्थी, शिक्षक, पत्रकार, व्यापारी, न्यायसेवा, निजामती सेवा, किसान, मजदूर लगायत यावत क्षेत्रमा यहाँ सम्म कि देवालय र मन्दिरमा समेत पार्टीकरणले गाहिरो जरो गाडेको छ ।
उनीहरुलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीश लगायत सबै उच्च ओहोदामा पदासीन व्यक्तिहरुले के गर्नुपर्छ र कसरि गर्नुपर्छ भन्ने कुराको सबै समाधान हुन्छ तर उनीहरुले एक लिटर पेट्रोल वा एक क्वार्टर रक्सी वा मासुभात वा सामान्य आश्वाशनमा आफ्नो विवेक र चेतना साटिएको कुरा थाहा नै पाउँदैनन् । नेपालका हरेक तह र तप्कामा राजनीतिकरण भन्दा पनि पार्टीकरण भएको छ । विद्यार्थी, शिक्षक, पत्रकार, व्यापारी, न्यायसेवा, निजामती सेवा, किसान, मजदूर लगायत यावत क्षेत्रमा यहाँ सम्म कि देवालय र मन्दिरमा समेत पार्टीकरणले गाहिरो जरो गाडेको छ । कहिलेकाहीं त यस्तोलाग्दछ कि नेपालका देवता हरुपनि पार्टीमा विभाजित छन् ।
नेपालमा सामाजिक संजालका प्रयोगकर्ता अनियन्त्रित भएका छन् । कसैको मान, सम्मान र प्रतिष्ठाको ख्याल नगरी खुल्ला रुपमा गालीगलौज गर्ने र अपमान गर्ने प्रवृत्ति बढेको छ । सामाजिक संजालमा राष्ट्रपति, प्रधानमन्त्री लगायत अति विशिष्ट र विशिष्ट व्यक्ति देखि विपक्षी दलका नेता, सरकारी कर्मचारी, नाम चलेका व्यापारी, कलाकार सबैको दोहोलो काढिएको हुन्छ । मूलधारका पार्टीहरुमा दशकौंदेखि नेतृत्व परिवर्तन नहुनु, सत्तास्वार्थमा आफ्नो सिद्धान्तलाई बिर्सनु, सिद्धान्तहीन र एजेन्डाहीन गठबन्धन परिवर्तन गरिराख्नु, वर्ष फेरिनु भन्दा बढी फेरिने सरकार, सयौं मन्त्री, हजारौं भूतपूर्व मन्त्रीहरु, टोलै पिच्छे माननीय र तिनका कार्यकर्ताहरु, हरेक ठाउँमा भागबन्डा र कोटाको किचलोले जनतामा चरम निराशा छाएको छ सामाजिक संजालमा देखिने सघन नकारात्मकता शायद यस्तै क्रियाकलापको उपज हो र समग्रमा भन्ने हो भने यो अवस्थाको लागि नेता जनता सबै जिम्मेवार छन् ।
निष्कर्ष
जनताले सुशासन, स्थिरता, शान्ति र विकासको साथै मूलधारका पार्टीहरुमा नेतृत्व परिवर्तन चाहेको कुरा कसैबाट लुकेको छैन । हरेक दशकमा व्यवस्था परिवर्तन गर्दा गर्दा थाकेका जनताले व्यवस्था होइन अवस्था परिवर्तन चाहेका हुन् । अहिले राजनीतिलाई हेर्ने दृष्टिकोण र राजनीति राम्रो मान्छेले गर्ने कुरोहोइन भन्ने भाष्य परिवर्तन गर्नु नितान्त जरूरी छ । राम्रा, होनहार, दूरदृष्टि भएका र इमान्दार युवाहरुलाई राजनीतिमा प्रवेश गर्ने वातावरण बनाउनु आजको आवश्यकता हो । कुनै पार्टीको सदस्यहुनासाथ त्यसलाई झोले देख्ने समाजमा कसरी राम्रो व्यक्तिले राजनीतिमा प्रवेश गर्लान् त? भन्ने नै आजको यक्षप्रश्न हो । देश हाँक्ने नै राजनीतिले हो र राजनीतिमा योग्य मान्छे हुनै पर्दछ भन्ने आम बुझाई हो । राजनीति गर्न पार्टी चाहिन्छ, पार्टी हुन सदस्य चाहिन्छ र सदस्यतामा नै राम्रा व्यक्ति निषेध गरिए कसरि राम्रो नेतृत्व निर्माण हुन्छ? हाम्रो समाजको झोले मानसिकताको अन्त्य नभएसम्म देशको उन्नति र प्रगतिमा झोले बाधक नै बनेर तेर्सिई रहनेछ ।

भारतले छिमेकीहरुको अस्तित्वलाई सम्मान गर्न जानेन

टेम्केमा किरात गणराज्य टावर

धर्म, राजनीति र महत्वाकांक्षा: पाकिस्तान र भारतको विभाजनको दु:खान्त

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

प्रतिक्रिया